'देश हेर्ने नेता'

Share:
  
पटक–पटक प्रधानमन्त्री भए पनि आफ्नो जन्मथलोलाई नहेरेका शेरबहादुर देउवालाई गाउँलेले 'देश हेर्ने नेता' मानेर प्रशंसा गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको रुवाखोला गाउँ।
डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारबाट २१ किलोमिटर पूर्वमा छ, रुवाखोला गाउँ। विभिन्न जातिका दुईसय घरपरिवारको गाउँलाई दायाँ–बायाँ पार्दै बगेको खोलाको नाम पनि रुवाखोला नै छ। अहिले कन्यापधुरा गाउँपालिका–१ मा परेको यो गाउँमा उहिले रुई (रुवा) खेती गरिने हुनाले गाउँ र खोला दुवैको नाम रुवाखोला बस्यो। ३० जेठ २००३ मा यही रुवाखोलामा जन्मिएका शेरबहादुर देउवा २३ जेठ २०७४ मा चौथो पटक देशको प्रधानमन्त्री बनेका छन्। २३ जेठमा खेतबाट घाँस बोकेर घर फर्केकी देउवाकी कान्छी हजुरआमा पार्वती देउवा (८९) निकै खुशी थिईन्। “घरमा काम गर्न पटक्कै मान्दैनथ्यो”, उनले भनिन्, “देशले मान्ने भयो।”

दुई बिहे गरेका तामिलदार प्रसादसिंह देउवाका ६ छोरा र ४ छोरीमध्ये शेरबहादुर जेठा हुन्। परिवारको जेठो भए पनि उनले घरको समस्यामा कहिल्यै चासो नराखेको काका डम्बरदेव देउवा सम्झ्न्छन्। उनका अनुसार, शेरबहादुरले कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढेका थिए। “पढाइ राम्रो थियो, अरूलाई पनि पढ भन्थ्यो” डम्बरदेव भन्छन्, “स्कूल नजानेलाई कुटपिट गर्न पनि बेर लगाउँदैनथ्यो।”

अहिले देउवाका धेरैजसो औंलामा औंठी देखिन्छन्। तर, पहिले उनले धामीझाँक्री, ग्रहदशा, बुटी–आंैठीमा पटक्कै विश्वास नराखेको रुवाखोलाका पाकाहरू बताउँछन्। “पहिले क्रान्तिकारी थियो, अहिले औंलाभरि ज्योतिषीले दिएका औंठी लगाएको देख्दा अचम्ममा पर्छु”, देउवाका दौंतरी रामदत्त भट्ट भन्छन्।

हजुरआमा पार्वतीका अनुसार, गाउँमा रहुञ्जेल शेरबहादुर जिद्दी थिए– अरूले भनेको नमान्ने, आफैंले सोचेको मात्र गर्ने। कक्षा चार पढिरहेका बेला बिहे गरिदिन खोज्दा शेरबहादुर मान्दै नमानेको र एसएलसी गरेपछि बनारस पठाउन खोज्दाखोज्दै काठमाडौं पसेको उनले सम्झिइन्।

प्रधानमन्त्रीकी कान्छी हजुरआमा पार्वती देउवा ।
शेरबहादुर पटक–पटक प्रधानमन्त्री भए पनि रुवाखोलामा त्यसको केही प्रभाव देखिंदैन। गाउँलाई ११ किलोमिटर पश्चिममा भीमदत्त राजमार्गसँग जोड्ने कच्ची सडक बनेको छ, तर कतिपय ठाउँमा मोटरसाइकल कटाउन पनि कठिन। बिजुलीको तार छ, तर बिजुली नियमित छैन। टेलिफोन सेवा आएको छ, तर फोनमा बात गर्न मुश्किल पर्छ। देउवाले कक्षा ७ सम्म पढेको असिग्राम निमावि भने उमावि भएको छ, स्वास्थ्य चौकी पनि आएको छ। गाउँलेहरूले शेरबहादुर देश हेर्ने मान्छे भएकोले गाउँ हेर्न नपाएको सम्झेर चित्त बुझाएका छन्। गाउँमा सरकारी जागिरे छैनन्। पछिल्लो समय केही युवा सेना र प्रहरीमा भर्ती भएका छन्। देउवाका सबै भाइबहिनी सामान्य खेतीपाती गर्छन्।

शेरबहादुर देउवा त्रिचन्द्रमा विद्यार्थी रहँदा २०२८ मा नेपाल विद्यार्थी संघको सभापति बनेका थिए। २०३५ सालमा बीपी कोइरालासँग देश दौडाहामा गएपछि नेपाली कांग्रेसभित्र आफ्नो दायरा बढाएका उनी २०४४ सालमा बेलायत पढ्न गएर २०४६ को आन्दोलन सफल भएपछि फर्किएका थिए। २०४८ सालको आम निर्वाचनमा उनी सुदूरपश्चिममा आफूसहित सबै कांग्रेसलाई जिताउन सफल भए। त्यसपछि गृहमन्त्री बनेका देउवा नेकपा (एमाले) को अल्पमतको सरकार ढलेपछि २०५२ मा पहिलो पटक प्रधानमन्त्री भए।

२०५६ मा डडेल्धुराबाट तेस्रो पटक सांसद् निर्वाचित उनी कांग्रेस संसदीय दलको नेता बन्न पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग चुनाव लडेर हारे। २०५७ मा भएको कांग्रेसको १०औं महाधिवेशनमा सभापतिका लागि कोइरालासँगै भिडे, सफल भएनन्। २०५८ मा कांग्रेस संसदीय दलको नेताका लागि सुशील कोइरालालाई पराजित गरेपछि दोस्रो पटक प्रधानमन्त्री बने। त्यसबेला पार्टी सभापति गिरिजाप्रसादसँग विवाद बढ्दा ८ जेठ २०५९ संसद् विघटन गरेपछि प्रधानमन्त्री देउवा कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परे अनि २०५९ असारमा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। २०६१ मा तेस्रो पटक प्रधानमन्त्री बनेका देउवालाई १९ माघमा राजा ज्ञानेन्द्रले 'अक्षम' भन्दै अपदस्थ गरेका थिए।

२०६२/६३ को जनआन्दोलन सफल भएपछि २०६४ असोजमा पार्टी एकीकरण भयो, देउवा वरिष्ठ नेता बने। त्यसपछिको संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइरालालाई समर्थन गरेका उनी २०६६ मा रामचन्द्र पौडेलसँग पराजित भए भने दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दलको नेतामा सुशील कोइरालासँग। सुशील कोइरालाको निधनपछिको १३औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति भए। संसदीय दलको नेतामा पनि पौडेललाई पराजित गरेका देउवा नेकपा (माओवादी केन्द्र) लगायतका दलको समर्थन जुटाएर देशको प्रधानमन्त्री भएका छन्।

बच्चु विक, रुवाखोला, डडेल्धुरा

comments powered by Disqus

रमझम