थेग्लान् जिम्मेवारी?

Share:
  
- पुरञ्जन आचार्य
विरुप छविका साथ गणतन्त्र नेपालको प्रम हुन आइपुगेका शेरबहादुर देउवा ८ होइन, ६८ महीना प्रम हुनसक्ने परिस्थिति छ।

बिक्रम राई
२४ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिंदै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा।
शेरबहादुर देउवा प्रथमपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री भएका छन्। उनी संवैधानिक राजतन्त्र अन्तर्गत तीनपटक प्रधानमन्त्री भएका हुन्। त्यो बेलाको अनुभव, भूराजनीतिक परिदृश्य र मानसिक अवस्था अहिलेको नेपालमा काम लाग्दैन। देउवाले बास गर्ने बालुवाटार, काम गर्ने सिंहदरबार र सत्संग गर्ने समाज उही हुन सक्छ, विगत र आज पनि; तर गणतन्त्र नेपालमा समाजको सनातनी बनोट र राजनीतिक संरचनाको रूपान्तरण भइसकेको छ।

आज देशको राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्र र राज्य संरचनामा समेत व्यापक परिवर्तन आएको छ। नेपाली समाज स्वराजउन्मुख भएकोले प्रम देउवाको सोच पनि सोही अनुरूप रूपान्तरण हुन जरूरी छ। नेपाली कांग्रेस पार्टी र यसका नेताहरूको सोचमा अझै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको ठाउँमा पुरानै विचारको धङधङी बाँकी रहेको आरोप लाग्दै आएको छ। देउवाले पुराना सोच–संगत त्यागेर नयाँ दृष्टिकोणका साथ अगाडि बढ्न सक्छन्, सक्दैनन् भन्ने कुरा नयाँ नेपाल निर्माणको शर्त बन्न पुगेको छ।

भाग्यमानी देउवा!

शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएको 'लाइभ टेलिकास्ट' आइरहँदा नयाँबानेश्वरको चियापसलमा एकजना पाका व्यक्तिले 'शेरेको भाग्य नै बलियो' भन्दै सुस्केरा हाले। पसलमा उपस्थित सबैले उनीतिर आँखा लगाउने नै भए। एकजनाले त सोधे पनि, “चिन्नुहुन्छ, देउवालाई?”

प्रम देउवाका समवयी ती कांग्रेस योद्धाले विद्यार्थी जीवनमा सँगै आन्दोलन गरेको, सँगै जेल बसेको, काठमाडौंका गल्लीहरूमा वर्षौं सँगै भौंतारिएर पनि हिंडेको बताए। उनले एक सासमा भने, “बरु उसले २०४६ सालको आन्दोलन बेलायत बसेर हेर्‍यो, म त त्यसमा पनि होमिएँ। तर आज उही प्रममा रेकर्ड राख्दैछ, शेरेको भाग्य नै बलियो!”

शेरबहादुर देउवा भाग्यको कारण मात्र देशको राजनीतिक शिखरमा पुगेका हुन् त? निःसन्देह होइनन्। उनी ४५ वर्षमा गृहमन्त्री र ५० वर्षमा प्रम बने, पहिलो पटक। भाग्यले एउटै मान्छेलाई पटक–पटक साथ कहाँ पो दिएको छ र विश्वमा? फेरि देउवा विराटनगरका कोइराला, काठमाडौंको सिंह र मिथिलाको निधि जस्तो पारिवारिक विरासत बोकेर कांग्रेस पार्टीमा स्थान बनाएका नेता पनि होइनन्। देउवा आफैं भन्ने गर्छन्, “जुँगाको रेखी राम्ररी नबस्दै म प्रजातान्त्रिक आन्दोलनमा होमिएँ, करीब एकदशक जेल बसें।”

उच्च मध्यम वर्गले हालीमुहाली गरेको कांग्रेस नेतृत्वमा आज शेरबहादुर छन् भने त्यसको कारण २०४६ अघि उनले निष्ठापूर्वक गरेको प्रजातान्त्रिक संघर्ष नै हो। २०४६ पछि उनी कांग्रेसभित्र क्षेत्रीय शक्ति आर्जेर राष्ट्रिय नेता भएका हुन्। कांग्रेसमा राष्ट्रियस्तरको नेता भनी दाबी गर्नेहरू धेरै छन्, तर तिनको हैसियत आफ्नो जिल्ला र क्षेत्रमा पनि प्रभावकारी छैन। २०४७ र २०५६ को आम निर्वाचनमा कांग्रेसलाई संकटबाट उठाएर सत्तामा पुर्‍याउनमा देउवाको नेतृत्वदायी भूमिका थियो।

देउवा यस अर्थमा भाग्यमानी छन् कि कांग्रेसमा उनी भन्दा त्यागी, सक्षम र संघर्ष गरेका तर, संसद्को ढोकासम्म हेर्न पनि नपाएका सयकडौं योद्धा छन्। देउवा भने इतिहासको एउटा कालखण्डमा गरेको त्याग, संघर्ष र गुटगत राजनीतिको कारणबाट गणतन्त्र नेपालको पनि प्रधानमन्त्री भएका छन्। अब उनका अगाडि भाग्यले होइन कर्मले चौथो पटक प्रम भएको पुष्टि गर्न सफा, स्वस्थ संयुक्त सरकार चलाउने, संविधान कार्यान्वयन गर्ने र कांग्रेस पार्टीको सभापतिको हैसियतमा पनि सक्षम–सफल हुने चुनौती छ।

देउवालाई अवसर

संयुक्त सरकारको प्रम भएका देउवालाई संविधान संशोधन गरेर मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) लाई राजनीतिको मूलधारमा ल्याउने चुनौती छ। मधेशकेन्द्रित दलहरू चुनावमा नआउँदा संविधानको स्वीकार्यता कमजोर भइरहेको छ। भारतले संविधानसभाबाट जारी नेपालको संविधानलाई अझै स्वागत गरेको छैन। संविधानको स्वीकार्यता बढाएर देशमा शान्तिसुुरक्षा कायम राख्दै तीनवटा निर्वाचन गराउने जिम्मेवारी प्रम देउवाको काँधमा छ। यी जिम्मेवारी पूरा गर्न उनीसँग प्रभावशाली मन्त्रिमण्डल र जिम्मेवार निजी सचिवालय हुनुपर्छ।

प्रम देउवाले पहिलो चरणमा बनाएको मन्त्रिमण्डलले आम जनमानस र कांग्रेस भित्र पनि सकारात्मक सन्देश प्रवाह गर्न सकेन। नेपाली जनताले मन्त्रिमण्डलमा थोरै नै भए पनि कांग्रेसका गगन थापा, माओवादीका जनार्दन शर्मा जस्ता अनुहारहरू समेटिएको हेर्न चाहेका थिए, जसबाट राम्रो कामले निरन्तरता पाओस्। तर, देउवाले जुन खाले मन्त्रिमण्डल गठन गरे, त्यसबाट सबभन्दा क्षति उनकै व्यक्तित्वमा पुगेको छ। उनको छवि निर्माण आजको ठूलो आवश्यकता हो। प्रम देउवाको छविमा कांग्रेसको पनि भविष्य जोडिएको छ।

देउवाले अब गल्ती गर्न पाउँदैनन्। उनले गर्ने गल्तीले अब कांग्रेस पार्टी, लोकतन्त्र र देशलाई असर गर्नेछ। अबको सानो गल्तीले पनि विगतमा उनले गरेका भीमकाय गल्तीहरू स्मरण गराउँछ। प्रम देउवा र कांग्रेस सभापति देउवा दुई फरक जिम्मेवारीमा रहेका एकै व्यक्ति हुन्। उनलाई हरक्षण यो हेक्का रहनुपर्छ। उनको व्यक्तित्वले असाधारण किसिमले उँचाइ लिन सके मात्र देश, पार्टी उनी स्वयम्को भविष्य प्रकाशमय हुनेछ।

अढाइ दशकअघि देउवाका राजनीतिक संरक्षक कृष्णप्रसाद भट्टराईले नयाँ संविधान कार्यान्वयनमा जुन चुनौतीको सामना गर्नुपरेको थियो प्रम देउवा अहिले त्योभन्दा कैयन् गुणा बढी चुनौतीका बीच विराजमान छन्। संभावनाहरू पनि उत्तिकै छन्। उनी ८ महीना होइन, ६८ महीना प्रम हुनसक्ने परिस्थिति छ, निर्वाचनमा जितेर। आठ महीनामा उनले त्यो तयारी गर्न सक्छन्? उनले ७ माघ २०७४ भित्र तीनवटा निर्वाचन गरेर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्नेछ। देशलाई समृद्धिको बाटोमा लैजाने काम त्यसपछि बल्ल शुरू हुन्छ। देउवाले त्यसको नेतृत्व लिने अवसर पाएका छन्।

संयुक्त सरकार भनेको क्षेत्रीय भावनाहरूलाई राष्ट्रिय भावनासँग जोड्ने अवसर पनि हो। नेपालमा संयुक्त सरकारको युग शुरू भएको एक दशक भयो। भावी दिनमा पनि यसैमा अभ्यस्त हुनुपर्ने संवैधानिक व्यवस्था जस्तै छ। नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको कारण संयुक्त सरकार राष्ट्रिय अखण्डताको लागि पनि उपयुक्त हुनसक्छ। संयुक्त सरकारको लागि निर्वाचनमा औचित्यपूर्ण र स्वस्थ तालमेल, गठजोड गर्नुपर्ने हुन्छ। त्यसतर्फको तयारीमा कांग्रेस सभापति भएकाले देउवाबाट लहडको होइन, गम्भीरताको अपेक्षा गरिन्छ।

देउवाले सत्ताको लागि भरतपुरमा निवर्तमान प्रम पुष्पकमल दाहालपुत्रीलाई कृपा गरे भन्ने सन्देश गयो। यो प्रकरणमा कांग्रेसजनको शिर निहुरियो। यस्तो भ्रमित सत्ता समीकरण र लेनदेनबाट देउवाले त्यही रूख काटेका छन्, जसको हाँगामा उनी बसेका छन्।

ठीक ढंगले सत्ता समीकरण र संचालन गर्न नसक्ने पार्टीहरू आफ्नै इतिहासमा हराएका छन्। भारतमा मनमोहन सिंहको सरकार यूपीए–२ भ्रष्टाचार प्रकरणका कारण पतनको बाटोमा गयो। पार्टी अध्यक्ष सोनिया गान्धी पनि कांग्रेसका नेता र सत्ता गठबन्धनका पात्रहरूको भ्रष्टाचार टुलुटुलु हेरेर बस्नमा सीमित भइन्। भारतलाई स्वतन्त्र पारेको गान्धी, नेहरू र पटेलहरूको भारतीय कंग्रेसले संसद्मा १० प्रतिशत सीट ल्याउन पनि नसकेर विरोधी दलको हैसियत बनाउन सकेन। देउवाले यो उदाहरणबाट उच्च नैतिक आचरणबाट सरकारलाई नेतृत्व दिनुपर्ने शिक्षा लिन सक्छन्।

नेपालमा संयुक्त सरकार समस्या मात्र हो भन्ने सोच धेरैमा देखिन्छ। विगतको तितो अनुभवबाट यस्तो सोच बन्न गयो। नेपालको जातीय विविधतालाई हेर्दा व्यापक जनपरिचालनबाट फराकिलो लोकतान्त्रिक संयुक्त समावेशी सरकार निर्माण हुनसक्ने देखिन्छ। प्रम देउवाले त्यसको आधारशिला अहिले राख्न सक्छन्। संविधानले बहुमतीय सरकारलाई अपत्यारिलो बनाएकोले सबै राष्ट्रिय पार्टीहरू संयुक्त सरकारमा अभ्यस्त हुन मानसिक रूपले तयार रहनुपर्छ।

अपेक्षा र सन्देह

देउवाका असंख्य सहयोद्धाहरू सिंहदरबार छिर्न नसके पनि बदनाम छैनन्, स्वाभिमानी जीवन बाँचेका छन्। पटक–पटक सिंहदरबार हाँक्ने मौका पाएका देउवाले जीवनको उत्तरार्द्धमा नेपाली जनतामाझ् आफूलाई राम्ररी उभ्याउने अन्तिम अवसर पाएका छन् र यसमा उनी नचुक्ने अपेक्षा गरिएको छ। उनी कसरी उभिन्छन्, त्यसैमा निर्भर छ– कांग्रेसको भविष्य र नेपाली जनताको समृद्धिको सपना पनि।

देउवाले पाएको दोहोरो जिम्मेवारी सफलताका साथ पूरा गर्न सक्छन् भन्नेमा सन्देह छ। देउवाको ठाउँमा अरू नै कोही भए पनि अहिलेको दोहोरो जिम्मेवारी सम्हाल्न गाह्रै हुने थियो। एकातिर देश चलाउनु छ, अर्कोतिर नेपाली कांग्रेसलाई नेतृत्व दिनुपर्नेछ। यसको लागि देउवाको मन्त्रिमण्डल र निजी सचिवालयमा मानसिक–शारीरिक रूपले सक्षम र देशप्रति समर्पित सहयोगी समूह हुनुपर्नेछ।

comments powered by Disqus

रमझम