खाडीः संकटको उपज

Share:
  
- सञ्जीव शर्मा
इरान र साउदी अरबबीचको कटुताको उपज ठानिएको कतार संकट बढ्दै गए विश्व राजनीति नै ध्रुवीकृत हुने सम्भावना छ।

कतारको दोहास्थित अल जजिरा को न्यूजरुम।
आतंकवादलाई प्रश्रय दिएको, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, यमन र लिबियाले गएको जून ५ र ६ मा कतारसँग सम्बन्ध विच्छेदको घोषणा गरे। अकस्मात् सतहमा देखिएको यो घटनाले खाडी/अरबको भूराजनीतिक संकट एकाएक छताछुल्ल पारिदियो।

कतारले भने आतंकवादलाई प्रोत्साहन र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्ने कुराको खण्डन गरेको छ। ९ जूनमा रोयटर्स सँग कुरा गर्दै कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले आफ्नो मुलुक प्रगतिशील र शान्तिकामी रहेकोले आफूहरूलाई एक्ल्याउने प्रपञ्च रचिएको बताएका छन्। अन्य देशहरूले निराधार आरोप लगाउँदैमा आफ्नो देशको अन्तर्राष्ट्रिय नीतिमा कुनै परिवर्तन नहुने उनको भनाइ थियो।

प्रतिबन्धको अन्तर्य

विश्वमै धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्नेमध्येको, ठूलो विमान कम्पनी कतार एअरवेज भएको, खाडीमा हस्तक्षेपरहित (कतारी राजतन्त्रको आलोचना नगर्दासम्म) अल जजिरा टेलिभिजन च्यानल भएको तुलनात्मक रूपमा उदार देश कतारसँग सीमा जोडिएको ठूलो छिमेकी साउदी अरबको ईर्ष्यामिश्रित द्वन्द्व पहिलेदेखि चल्दै आएको थियो।

इरानसँग राम्रो सम्बन्ध भएको कतारले इजिप्टमा मुस्लिम ब्रदरहुडलाई समेत समर्थन गरेपछि इरानको परम्परागत दुश्मन साउदी अरब झ्नै चिढिएको थियो। यहीबीच गत २० मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि साउदी झ्नै हौसियो। यद्यपि, अमेरिकाको ठूलो सैन्य बल कतारमा रहेको छ। यसबाहेक खाडी क्षेत्रमा देखिएको यो संकटका क्षेत्रीय र ऐतिहासिक कारण पनि छन्। तर जड भने इरान–साउदी अरबको वैमनस्यतालाई नै मानिएको छ।

इरानले आफूलाई धार्मिक सम्प्रदाय सिया समुदायको रक्षक र प्रवर्द्धक ठान्छ भने साउदी अरबले सुन्नी समुदायको वकालत गर्छ। इरान र इराकबीचको लामो युद्धको कारण यी दुई सम्प्रदायको द्वन्द्व नै थियो। तर, आपसको सीमावर्ती क्षेत्रमा रहेको प्राकृतिक ग्याँसको भण्डार बाँडफाँडका लागि पनि कतारले इरानसँग राम्रो सम्बन्ध राख्नै पर्ने बाध्यता छ। त्यसमाथि कतारका शेख तमिम विन हमाद अल थानीले क्षेत्रीय शान्तिका लागि पनि इरानलाई बेवास्ता गर्न नमिल्ने भन्ने अभिव्यक्ति दिएपछि साउदीसँगको उसको तनाव बढेको थियो।

पश्चिमाहरूले मध्यपूर्व भन्ने खाडी क्षेत्रका पहिलेदेखिका दुई ठूला शक्ति हुन् इरान र साउदी अरब। दुवै देश पूरै खाडीमा प्रभाव विस्तारका लागि प्रयासरत छन्। फेरि दुवै देशको राजनीति र कूटनीतिको केन्द्रमा धर्मको दबदबा छ। बारम्बार तनाव निम्त्याउने कारण यिनै हुन्।

कुनै बेला आफ्नै प्रभावमा रहेको तर अहिले सम्पन्न भएपछि कतारले विश्वमा स्वतन्त्र प्रभाव फैलाउँदै जानु साउदीका लागि सह्य हुने कुरै भएन। त्यसमाथि कतारको शाही परिवारको खाडी/अरबमा एकआपसमा लडिरहेका समूहसँग बढ्दो सुसम्बन्धले साउदी चिन्तित थियो। कतारले एकातिर इरानको समर्थन रहेका लडाकूविरुद्ध लड्न साउदीसँगै मिलेर यमनमा आफ्नो सेना पठाएको थियो भने अर्कोतिर सिरियामा इरानकै समर्थन रहेको बसर अल असदविरुद्ध लडिरहेको विद्रोही समूहलाई समर्थन गरेको थियो।

साउदी प्रेस एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साउदी अरबका राजा सलमान विन अब्दुल्लाजिज अल साउद।
सिरियाली गृहयुद्धको चपेटामा परेका नागरिकलाई सुरक्षित गन्तव्य पुर्‍याउन मध्यस्थकर्ता कतार नै थियो। तर, यसका लागि उसले त्यहाँ फसेका आफ्ना नागरिकको उद्धारका लागि विद्रोही समूहसँग सौदाबाजी गरेको आरोप लागेको थियो। अफगानिस्तानमा युद्धरत तालिवान र सरकारबीच गत वर्ष कतारमै वार्ता भएको थियो। उता साउदी भने अफगानिस्तानमाथि आफ्नो प्रभाव खोजिरहेको छ। त्यसो त इरानसँगको कतारको हिमचिम अमेरिकाले पनि रुचाएको छैन।

मध्यपूर्व एशियामा सन् २०११ मा भएको 'अरब क्रान्ति' का बेला परिवर्तनका लागि भन्दै कतार, इजिप्टको विद्रोही समूह मुस्लिम ब्रदरहुडको पक्षमा उभिएको थियो तर साउदीले तत्कालीन राष्ट्रपति होस्नी मुबारकलाई समर्थन गरेको थियो। मुबारकको बहिर्गमनसँगै सत्तामा आएका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताबाट अपदस्थ गरिएसँगै इजिप्ट–कतार सम्बन्धमा दरार बढ्यो। मोर्सी संलग्न संगठन मुस्लिम ब्रदरहुडलाई अन्य अरब राष्ट्रहरू आतंकवादी मान्छन्।

उता कतारमाथि नाकाबन्दीको तार लिबिया संकटसँग पनि जोडिएको छ। लिबिया सन् २०११ मा मुहम्मद गद्दाफीलाई सत्ताबाट अपदस्थ गरिएपछि उत्पन्न संकटबाट गुजि्ररहेको छ। कतारले आफ्नो मुलुकमा अस्थिरता मच्चाउन आतंकवादी संगठनलाई समर्थन दिएको उसको आरोप छ।

सम्भावित जोखिम

छिमेकी देशहरूको हवाई मार्ग समेत प्रतिबन्धित भएपछि कतार एअरवेजका लागि यूरोप र अन्य देशहरूमा उडान भर्न कठिन भइरहेको छ। लामो रुटबाट यात्रा गर्नुपर्ने भएपछि कतारलाई ट्रान्जिट बनाएर उड्ने विमानहरू त्यहाँ नआउने सम्भावना छ। त्यसैगरी इन्धन खर्च र हवाई भाडामा हुने वृद्धि पनि टाउको दुखाइको विषय बन्न सक्छ। अहिले कतार एअरवेजले रुट परिवर्तन गरी इरान हुँदै अफ्रिका र यूरोपका लागि उडान भरिरहेको छ।

तीनतिरबाट समुद्रले घेरिएको प्रायद्वीप कतारमा नाकाबन्दीपछि खाद्य वस्तुको मूल्य बढेको छ। उसले अन्य देशबाट सामान आयात गर्दा समुद्र वा आकाशमार्गबाट गर्नुपर्छ जुन छिमेकी साउदीबाट जस्तो सहज छैन।

सन् २०२२ मा विश्वकप फूटबल आयोजनाका लागि धमाधम भौतिक पूर्वाधार निर्माण गरिरहेको कतारले अहिले नयाँ बन्दरगाह, मेट्रो ट्रेन र आठ नयाँ स्टेडियम निर्माण गरिरहेको छ। स्थलमार्ग बन्द भएपछि निर्माण सामग्री आयातमा पनि समस्या हुने देखिन्छ। यूरोपेली र अन्य एशियाली देशहरूसँग राम्रै सम्बन्ध रहेकाले अहिलेको प्रतिबन्धले कतारलाई तत्कालका लागि ठूलो समस्या नभए पनि दीर्घकालीन असर भने पर्ने नै छ। प्रतिबन्धको एक साता नपुग्दै कतारको शेयरबजारमा ९ प्रतिशतको गिरावट आएको थियो।

कतारमा अहिले करीब १ लाख ८० हजार इजिप्टका नागरिक छन् जसमध्ये धेरै इन्जिनियरिङ, मेडिसिन र कानून जस्ता पेशामा आबद्ध छन्। उनीहरूले कतार छोडेको अवस्थामा कतारलाई दक्ष कामदारको पनि अभाव हुने देखिन्छ। उसो त संकट गहिरिंदै जाँदा कतारमा आयोजना हुने विश्वकपको विरोध गरिरहेका कतिपय यूरोपेली राष्ट्रहरूले पनि बलियो निहुँ पाउने देखिन्छ।

विभाजित विश्व

कतारको विश्व कूटनीतिमा महत्वपूर्ण स्थान रहनुमा त्यहाँको संचारगृह अल जजिरा को विशेष योगदान मानिन्छ। कतारका छिमेकी खाडी देशहरूका लागि भने यो चिन्ताको विषय बनिरहेको छ।

इजिप्ट र साउदी अरबले त अल जजिरा लाई आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएका छन्। पूर्व राष्ट्रपति मोर्सीलाई हटाउनुलाई सैन्य 'कु' भन्दै अल जजिरा ले आलोचना गर्दै आएको छ। विश्वमै लोकप्रिय मानिने अल जजिरा लाई आलोचकहरू कतारको विदेश नीतिको मुख्य संयन्त्रका रूपमा परिभाषित गर्छन्।

संयुक्त राष्ट्रसंघलगायत रूस, अल्जेरिया, इरान, सोमालिया, सुडान, ट्युनिसिया, टर्की र पाकिस्तानले समेत कतार संकट शान्तिपूर्ण वार्ताबाट सुल्झाउन आग्रह गरेका छन्। जर्मनी, टर्की र पाकिस्तान त कतारका पक्षमा खुलेरै लागेका छन्। उता टर्कीको संसद्ले आफ्नो सेना कतार पठाउन सकिने गरी ऐन पारित गरिसकेको छ।

जर्मनीले खाडीमा द्वन्द्व बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको मूख्य भूमिका रहेको आरोप लगाएको छ। राष्ट्रपति ट्रम्पले साउदी राजकुमारलाई फोन गरी खाडी देशहरूमा एकता ल्याउन प्रयास थाल्न आग्रह गरेका छन्। ट्रम्पले यसो गरेर अमेरिकी हतियार आयातकर्ता साउदीलाई उक्साएको आरोप लगाउनेहरू पनि छन्। संकटको समाधानका लागि कुबेतको दौडधूप पनि जारी छ।

तर, अहिलेको तनाव बढ्दै गयो भने इरान–कतार अझ् नजिक हुने, चीनको समेत चासो प्रकट हुने अवस्थाले कतारको पछिल्लो अवस्था खाडीका अन्य मुलुकहरू मात्र होइन, अमेरिकाका लागि पक्कै पनि सुखद हुने देखिंदैन।

समस्या सुल्झाउन कतारले अमेरिकी साथ खोजेको छ। अमेरिकास्थित कतारका राजदूत मेशल विन हमाद अल थानीले राष्ट्रपति ट्रम्पको पहलले समस्या समाधान हुनेमा विश्वस्त रहेको बताएका छन्।

संकट समाधानको मध्यस्थता गरिरहेका कुवेती कूटनीतिज्ञहरूले कतारी अधिकारीहरूसँग इरानसँगको सम्बन्ध तोड्नुपर्ने, मुस्लिम ब्रदरहुड र हमासका कार्यकर्तालाई देशनिकाला गर्नुपर्ने, अल–जजिरा को 'स्वच्छन्दता' मा अंकुश लगाउनुपर्ने, अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने शर्त राखेको सञ्चारमाध्यमहरूले जनाएका छन्।


विश्वकै धनी देश

कतारको जनसंख्या करीब २६ लाख छ, जसमध्ये कतारी नागरिक ३ लाख १३ हजार मात्रै छन्। बाँकी भने आप्रवासी कामदार छन्।

विश्वकै तेस्रो ठूलो प्राकृतिक ग्याँस र तेल भण्डार रहेको कतारको प्रतिव्यक्ति आय विश्वमै सबैभन्दा धेरै छ। सन् २०१० मा कुल गार्हस्थ उत्पादनमा १९.४० प्रतिशतका दरले वृद्धि गरेकोे कतारको अहिले पनि आर्थिक वृद्धिदर तीव्र नै छ।

कतारको कुल निर्यातमा खनिज तेल र प्राकृतिक ग्याँसको योगदान ८५ प्रतिशत छ। सन् २०१० मा कतारको कुल निकासी मूल्य ५७.८२ अर्ब डलर थियो। पेट्रोलियम पदार्थ, रासायनिक मल र स्टील कतारले निर्यात गर्ने मुख्य वस्तु हुन्। सरकारी तथ्यांक अनुसार, कतारमा बेरोजगारी दर ०.२ प्रतिशत मात्रै छ।

कतारको विदेशमा प्रत्यक्ष लगानी ५३ अर्ब डलर छ भने कतारमा ३६ अर्ब डलर प्रत्यक्ष लगानी भएको अनुमान गरिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार मानव विकास सूचकांकमा अरब मुलुकहरूमा सबैभन्दा माथिल्लो स्थानमा छ कतार।

२३ वर्षअघि स्थापना भएको कतार एअरवेजका १९६ विमानहरू विश्वका ७३ भन्दा धेरै देशका १५१ गन्तव्यमा उडान भरिरहेका छन्। कतारको सरकारी सहयोग प्राप्त सञ्चार संस्था अल जजिरा विश्वमै चर्चित छ।

सन् १९४० देखि खनिज तेल उत्खनन्को काम शुरु गरेको कतारले त्यसको ९ वर्षपछि पहिलो पटक तेल निर्यात गरेको थियो। त्यसअघि माछा र मोती निर्यात गर्ने यो देश खाडीको सानो र गरीब भनी चिनिन्थ्यो। सन् १९९७ पछि तेलको मूल्यमा भएको वृद्धिले कतारको अर्थतन्त्र आकाशिएको हो।

comments powered by Disqus

रमझम