हदैसम्मको बदमासी

Share:
  

प्रकाश सिंह
वैशाखको पहिलो साताबाट पढाइ शुरू हुने भनिएको बाजुराको हिमाली गाउँपालिका–३ गुम्बा गाउँस्थित हिमाल भक्ति प्राथमिक विद्यालय अहिलेसम्म सुनसान छ। अरूका लागि यो खबर अस्वाभाविक भए पनि गुम्बावासीका लागि भने सामान्य हो। किनभने, यो विद्यालयमा वर्षभरि नै मुश्किलले दुई महीना पढाइ हुन्छ।

२०३७ सालमा स्थापित यो विद्यालयमा कक्षा–३ सम्म पढाइ हुन्छ। हाजिरी खाताका अनुसार, विद्यालयमा कक्षा–१ मा १० जना, कक्षा–२ मा दुई जना र कक्षा–३ मा दुई गरी १४ जना विद्यार्थी छन्। “विद्यार्थी त आउँथे होलान्, तर शिक्षक नै आउँदैनन्”, स्थानीय जगत थापा भन्छन्।

विद्यालयका प्रधानाध्यापक भिमी गिरी र शिक्षक रत्नलाल विकलाई गाउँलेले महीनौंदेखि देखेका छैनन्। शिक्षक नै नआएको भन्दै गाउँकै विद्यालय सहयोगीले पनि विद्यालय खोलेका छैनन्। वास्तविकता के छ भने विद्यालयको अनुगमनका लागि भनी आजसम्म कुनै सरकारी कर्मचारी आएको गाउँलेलाई थाहा छैन।

कक्षा–३ सम्मको पढाइ गाउँमै हुने भनिए पनि विद्यार्थीले कक्षा–४ देखि कक्षा–८ सम्म पढ्न एक दिन टाढाको बौडी गाउँ पुग्नुपर्छ। कक्षा–९ र कक्षा–१० का लागि भने दुई दिनमा पुगिने देउसैनमै बस्नुपर्छ।

त्यसो त गुम्बा गाउँको मात्र होइन, हिमाली गाउँपालिका–२ को ठूलाकोट निम्न माध्यमिक विद्यालयको अवस्था पनि झ्ण्डै झ्ण्डै उस्तै छ। विद्यालयमा चार जना शिक्षकको दरबन्दी छ। तर, प्रअ माधवप्रसाद अवस्थी स्वयंले बाँकी तीन जना शिक्षकलाई भेटेका छैनन्। बूढीनन्दा प्राविमा पनि दुईमध्ये एक जना मात्रै शिक्षक कार्यरत छन्।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक उमेश रेग्मी विकट भौगोलिक अवस्थितिका कारण त्यस क्षेत्रका विद्यालय अनुगमनमा जान नसकेको स्वीकार्छन्। “सरहरूले हाजिर र विद्यालयको अवस्था पठाउने गरेका छन्, त्यसैलाई पत्याएर निर्णय गर्छौ”, उनी भन्छन्।

परिचरको भर

सदरमुकाम मार्तडीदेखि करीब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित बूढीनन्दा प्राविमा चैतको दोस्रो सातामै परीक्षा सिध्याएर निस्किएका शिक्षकहरू अहिलेसम्म आएका छैनन्। शिक्षकहरू नआए पनि विद्यालय परिचर धर्मबहादुर बोहोराले नै परीक्षाफल प्रकाशित गर्नुपर्‍यो। कक्षा–५ सम्म अध्यापन हुने यो विद्यालयमा ११० विद्यार्थी छन्।

शिक्षकको लापरबाहीले वैशाख पहिलो सातादेखि नै शुरू हुनुपर्ने भर्ना अभियान भने प्रभावित भएको छ। परिचर बोहराले नै विद्यार्थीको नाम टिपिरहेका छन्। विद्यालयमा निजी स्रोतका दुई जनासहित पाँच शिक्षक कार्यरत छन्। शिक्षकको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्क बोहराले प्रअ दामोदर रेग्मीलाई बारम्बार फोनसम्पर्क गर्ने प्रयास गरे। “तर प्रअले वास्तै गरेनन्”, बोहोरा भन्छन्। प्रअलगायतका शिक्षकको निरन्तरको बेवास्तापछि उनले जिल्ला शिक्षा कार्यालयमा गुनासो सुनाएका छन्।

बूढीनन्दाका स्रोतव्यक्ति प्रेमराज रेग्मी पनि विद्यालयमा शिक्षकहरूको लापरबाही बढेको बताउँछन्। तर, यस्ता गैरजिम्मेवार शिक्षकलाई तह लगाउन जिल्ला शिक्षा कार्यालयसँग कुनै तयारी देखिंदैन।

प्रकाश सिंह, बाजुरा


विद्यालय हाताभित्र उद्योग

विद्यालय सञ्चालनमा नआए पनि हिमालभक्ति प्राविको हाताभित्र एक वर्षदेखि गैरकानूनी रुपमा जडीबुटी प्रशोधन केन्द्र भने चलिरहेको छ। (हे. तस्वीर) केन्द्रका सञ्चालक हुन्, हुम्लाका पूर्व मन्त्री छक्कबहादुर लामा। लामा राजा ज्ञानेन्द्र शाहको शाही शासनकालमा भौतिक योजना तथा निर्माण मन्त्री बनेका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा भने नेकपा (माओवादी) बाट उम्मेदवार बनेका उनी हुम्ला–१ मा पराजित भएका थिए।

लामाले कम्पनी दर्ताका क्रममा अर्कैको जग्गाधनीपुर्जा देखाएर विद्यालय हाताभित्र टहरामा प्रशोधन केन्द्र सञ्चालन गरेका हुन्। सरकारी निकायले पनि अनुगमनविना नै उद्योगको स्वीकृति दिएको देखिन्छ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नरबहादुर खड्का उद्योग विद्यालय हाताभित्र रहेको भन्ने कुरा आफूलाई थाहा नभएको बताउँछन्। स्थानीयवासी, गाविस र वन कार्यालय समेतको सिफारिशमा कम्पनीलाई स्वीकृति दिइएको बताउँदै उनी भन्छन्, “विद्यालय हाताभित्र उद्योग खोल्नु गैरकानूनी हो, अनुगमन गरी कारबाही गर्छौ।”

प्रशोधन केन्द्रका कामदार रुपबहादुर अयडीले केन्द्रबाट एक वर्षयता ६० क्वीन्टल जटामसी प्रशोधन गरिएको बताउँछन्। अयडीका अनुसार उद्योग सञ्चालक लामा अहिले अमेरिकामा छन् ।

comments powered by Disqus

रमझम