बढ्दैछ नेपालीको उँचाइ

Share:
  
- सञ्जीव शर्मा
नेपालमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएपछि बालमृत्युदर र पुड्कोपनमा उल्लेख्य कमी आएको छ।

नेपालमा लागू भएको बहुक्षेत्रीय पोषण योजनाले मातृशिशु स्वास्थ्यमा उल्लेख्य सुधार ल्याएपछि तीन महीनाअघि ताजकिस्तानको सरकारी टोली अध्ययन भ्रमणमा आएको थियो। अफगानिस्तान र इथियोपियाले पनि मातृशिशु स्वास्थ्य योजनामा नेपालकै सिको गरेका छन्। नेपाल अब बहुक्षेत्रीय पोषण योजनाको दोस्रो चरणमा प्रवेश गर्दैछ।

गत २३–२६ चैतमा नेपाल भ्रमण गरेकी राष्ट्रसंघकी सहायक महासचिव एवं 'ग्लोबल सन मूभमेन्ट' संयोजक गेर्डा भर्वर्गले नेपालले अपनाएको मातृशिशु पोषण नीति सबैका लागि अनुसरणीय भएको बताएकी थिइन्। राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशीका अनुसार बहुक्षेत्रीय पोषण योजना लागू गरेका देशमध्ये नेपाल मात्रै यस्तो देश हो, जसले पहिलो चरणको योजना सफल पारेर दोस्रो चरणमा प्रवेश गर्दैछ।

राम्रो नतिजा

नेपालमा सन् २०११ मा प्रति एकहजार जीवित जन्ममा पाँच वर्षको उमेरभित्र ५४ बालबालिकाको मृत्यु हुने गरेकोमा अहिले त्यो संख्या ३९ मा झ्रेको छ। त्यस्तै, जन्मेको एक वर्षभित्र मृत्यु हुनेको संख्या प्रति हजारमा ३२ छ भने २८ दिनभित्र मृत्यु हुनेको संख्या २१। २०११ मा यो दर क्रमशः ३३ र ४६ थियो। बालमृत्युदरमा आएको कमीसँगै पुड्कोपनको समस्या पनि घटेको छ। नेपालमा जन्मिने कम तौलका बालबालिकाको प्रतिशत गत १६ वर्षमा १६ प्रतिशत घटेर २७ प्रतिशतमा झ्रेको छ। यो समस्या २०११ मा २९ प्रतिशत थियो।

२०१५ सम्मका लागि संयुक्त राष्ट्रसंघद्वारा निर्धारित लक्ष्य (सहस्राब्दी विकास लक्ष्य) २८ दिनसम्मका बालबालिकाको मृत्युदर प्रति हजारमा १६, एक वर्षसम्मकाको प्रति हजारमा ३२ र पाँच वर्षमुनिकाको प्रति हजारमा ३८ मा झ्ार्ने थियो। त्यसअनुसार एक वर्ष र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर कम गर्ने लक्ष्य हासिल भएको छ भने नवजात शिशुको मृत्युदरमा कमी आए पनि लक्ष्य पूरा हुनसकेको छैन। राष्ट्रसंघको सहस्राब्दी लक्ष्य अनुसार बालमृत्युदरमा कमी ल्याएकोमा भने नेपाल पुरस्कृत समेत भइसकेको छ।

कुपोषणको समस्याले बालमृत्युदर उच्च हुने, बालबालिकाको शारीरिक–बौद्धिक विकास नहुँदा सम्बन्धित देशले कुल गार्हस्थ उत्पादनको २–३ प्रतिशत चुकाउनुपर्ने विश्व ब्याङ्कको सर्वेक्षणले देखाएको थियो। कम तौलमा जन्मिने शिशुहरूको शारीरिक विकास नहुँदा उनीहरूको अर्थोपार्जन क्षमता ह्रास भई गरीबीले एकबाट अर्को पुस्तामा निरन्तरता पाउँछ। नेपालमा अपर्याप्त आहार, किशोरावस्थामा गर्भधारण, गर्भावस्थामा उचित आहारको कमी, उच्च दरको संक्रमण, स्वच्छ खानेपानीको अभाव लगायतलाई कुपोषणका मुख्य कारण मानिन्छ।

नेपालमा विभिन्न मन्त्रालय र संस्थाहरूले आ–आफ्नै हिसाबले काम गर्दा प्रभावहीन भएपछि २०६९ सालदेखि राष्ट्रिय योजना आयोगको नेतृत्वमा बहुक्षेत्रीय पोषण योजना शुरू गरियो। यसमा आयोगले विभिन्न मन्त्रालय, विकास साझेदार र गैससदेखि राष्ट्रसंघीय निकायहरूसम्मका कार्यक्रमहरूलाई संयोजन गरेको छ। मानव विकास सूचकांकमा पछि परेका पहाड र तराईका २८ जिल्लाबाट शुरू भएको कार्यक्रम अब सबै स्थानीय तहमा विस्तार हुने आयोगका सदस्य जोशी बताउँछन्।

१६ वर्र्षअघि (सन् २००१) को सर्वेक्षणले नेपाली बालबालिकामा पुड्कोपन ५७ प्रतिशत रहेकोमा अहिले ३६ प्रतिशतमा झ्रिसकेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण– २०१६ ले २०११ यता नेपालीको पुड्कोपन ५ प्रतिशत घटेको देखाएको छ। यो समस्या मुख्यतः ग्रामीण क्षेत्रका गरीब परिवारका बालबालिकामा बढी पाइएको छ। स्वास्थ्य मन्त्रालयले हरेक पाँच वर्षमा जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्छ।

कम तौल र पुड्कोपन न्यूनीकरणमा उल्लेख्य प्रगति भए पनि ख्याउटेपन घटाउन अझ्ै धेरै प्रयास गर्नुपर्ने देखिन्छ। नेपाली बालबालिकामा ख्याउटेपन २००१ मा ११ प्रतिशत, २००६ मा १३ प्रतिशत र २०११ मा ११ प्रतिशत थियो भने अहिले १० प्रतिशत छ। नेपालले सन् २०१५ सम्ममै ख्याउटेपन ५ प्रतिशतमा झ्ार्ने लक्ष्य लिएको थियो। आगामी सन् २०३० सम्म सबै खालको कुपोषणको अन्त्य गर्ने राष्ट्रसंघीय दिगो विकास लक्ष्य पूरा गर्न नेपालले आगामी २०२२ सम्ममा पुड्कोपनलाई १ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले किशोर अवस्थामै गर्भवती हुने महिलाको संख्या १६.७ प्रतिशत देखाएको छ। यसमध्ये पनि प्रदेश २ मा सबभन्दा धेरै २७.३ प्रतिशत किशोरावस्थामै गर्भवती हुन्छन् भने प्रदेश ३ मा सबभन्दा कम १०.१ प्रतिशत। महिलाहरूमा रक्तअल्पताको समस्या पनि विकराल छ। योजना आयोगका सदस्य प्राध्यापक जोशी यी सब समस्या न्यून गर्न बहुक्षेत्रीय पोषण योजना–२ मा पहिलेका कमजोरी दोहोरिन नदिने बताउँछन्।

सुनौला हजार दिन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मानव मस्तिष्कको विकास आमाको गर्भमा रहेका बेला (सरदर २७० दिन) देखि दुई वर्ष (७३० दिन) सम्मको हजार दिनभित्र ८० प्रतिशत भइसकेको हुन्छ। त्यसपछिको पाँच वर्षमा १० प्रतिशत र बाँकी अवधिमा थप १० प्रतिशत विकास हुन्छ। त्यसैले, गर्भ रहेदेखि दुई वर्षसम्मको अवधिमा बालबालिकालाई पोषण र स्याहार धेरै चाहिन्छ।

बालबालिका कुपोषित हुँदा मुलुकको भावी जनशक्ति शारीरिक र मानसिक रूपमा कमजोर बन्छ। बालबालिकालाई कुपोषणबाट जोगाउन आमाले राम्रो खानपान र हेरचाह पाउनुपर्छ। यो तथ्यलाई ध्यानमा राखेर दोस्रो चरणमा मातृशिशुको रक्तअल्पतालगायत सबै स्वास्थ्य समस्या समाधान गर्ने कार्यक्रम थप्न लागिएको पोषण तथा खाद्य सुरक्षा सचिवालयकी सविता मल्ल बताउँछिन्।

comments powered by Disqus

रमझम