प्राकृतिक शीतलता

Share:
  

गोपेन राई
गर्मीयाममा बाहिर निस्कँदाको समस्या त छँदैछ, घरसमेत तात्ने भएकाले दैनिक जीवनयापन असहज हुन्छ। उकुसमुकुस कम गर्न विद्युतीय सामान– पंखा, एअरकण्डिसनर, कुलरको प्रयोग गरिन्छ। तर, विद्युत् नभएको अवस्थामा भने यी सामान हुनुको कुनै अर्थ हुँदैन। गर्मीबाट प्राकृतिक रुपमै पूर्णतया छुटकारा पाउने सम्भावना कमै छ। तर, घरमा थोरै मात्र ध्यान दिने हो भने गर्मीको सास्ती कम गर्न सकिन्छ।

काठमाडौं इन्जिनियरिङ कलेजकी सहप्राध्यापक शलिता मानन्धर जोशी घरमा केही सामान्य परिवर्तन गरे मात्र पनि तापक्रम व्यवस्थापन गर्न सकिने बताउँछिन्। “घर बनाउनुअघि कुन कोठा कता राख्ने भन्नेमा ध्यान दिनुपर्छ” उनी भन्छिन्, “उपयुक्त स्थानमा झ्याल राखे मात्र पनि कोठाभित्रको गर्मी आधा कम गराउन सकिन्छ।” उनका अनुसार, सूर्यको प्रकाश सोझै कोठामा प्रवेश गर्न नपाओस् भनी दक्षिण तथा पश्चिम दिशामा झ्याल बनाउनुपर्छ। झ्याल र ढोका विपरीत स्थानमा पर्ने गरी बनाउँदा 'क्रस भेन्टिलेसन' समेत हुने उनको भनाइ छ।

धेरै गर्मी हुने ठाउँमा डबल (बीचमा खाली राखेर) वाल बनाएर घर बनाउने गरिन्छ। यसले गर्मीमा बाहिरको तातो र जाडोमा चिसो घरभित्र जान रोक्छ। झ्यालमाथि सेड (छाना) राख्नुपर्छ। झ्यालमा डबल लेयरको पर्दा लगाउनुपर्छ। यसले बाहिरपट्टि राखिने पातलो पर्दाको बलले हावालाई कोठामा छिर्न मद्दत गर्छ। फर्निचरहरू पनि झ्याल नछेकिने गरी राख्नुपर्छ।

शीतल घर

मौसमअनुसार घरको सजावट पनि फरक गर्न सकिन्छ। घरलाई 'फ्रेस' देखाउन हल्का पहेंलो, सेतो, आकाशे नीलोलगायत हल्का किसिमका रङ लगाउनुपर्छ। तापक्रमलाई सकेसम्म भित्र पस्नबाट रोक्ने 'हिट प्रुफिङ पेन्ट' छतमा लगाएमा पनि घरभित्रको गर्मी कम हुन्छ। बाहिरी भित्तामा सेतो रङ लगाउँदा सूर्यको तातो 'रिफ्लेक्ट' हुन्छ।

इन्टेरियर डिजाइनर निस्ता गिरी गर्मीमा पर्दा, सोफा कभर, बेड सिट, शिरानीको कभरलगायतमा उज्यालो र चम्किलो रङको कपडा प्रयोग गर्नुपर्ने बताउँछिन्। “कोठामा आवश्यक र हल्का खालका फर्निचर र फाइबर फ्लोरिङ प्रयोग गर्नुपर्छ। घरभित्र कम बत्तीको प्रयोग गर्नुपर्छ”, उनी भन्छिन्। ह्याङ्गिङ ल्याम्प, टेबल ल्याम्पले घर सजाउनुपर्छ। आइरन, वासिङ मेशीनलगायतका विद्युतीय सामान दिउँसोको सट्टा बिहान–बेलुका प्रयोग गर्नुपर्छ। आवश्यकता नहुँदा टिभी, कम्प्युटरलगायतका सामान बन्द गर्नुपर्छ।

गर्मीबाट थोरै भए पनि जोगिन इन्डोर प्लान्टस्, कट फ्लावरलाई पनि राख्न सकिन्छ। झ्यालमा हर्बल प्लान्टस् राखेर भित्र आउने हावालाई 'फ्रेस' बनाउन पनि सकिन्छ। बिहान–बेलुका झ्याल खुला राख्ने र सबैभन्दा गर्मी हुने समय दिउँसो १२ देखि ३ बजेसम्म बन्द गर्नुपर्छ। घरभित्रको तातोलाई बाहिर निकाल्न भान्सामा चिम्नी र सबै रुममा भेन्टिलेसन राख्नुपर्छ।

गर्मीमा सकेसम्म अँध्यारो रंगको लुगा लगाउनुहुँदैन। तापक्रम सोस्ने भएकाले कालो त झनै हुँदैन। खानेकुरामा समेत ध्यान दिनुपर्छ। धेरै गर्मी अनुभव भए फ्यान अगाडि एउटा भाँडामा केही टुक्रा बरफ तथा बकेट राखेमा पनि शीतलता मिल्दछ। दक्षिण र पश्चिम दिशामा घरबाहिर बोटबिरुवा रोप्दा घरलाई प्राकृतिक रुपले शीतल बनाइराख्न सकिन्छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम