पानी घोडा

Share:
  
- बच्चु विक

गाडी नपुगेका पहाडी क्षेत्रमा अहिले पनि एकठाउँबाट अर्को ठाउँ पुग्ने, सामान ओसार्ने भरपर्दो माध्यम घोडा नै हो। तर, धेरै ठाउँमा गाडी पुगेसँगै घोडाको सान्दर्भिकता कम हुँदै गएको छ। मेलौली नगरपालिका–१ बैतडीका विजय नायक भने यतिबेला घोडालाई पानी बोकाइरहेका छन्। बिजु होटलका सञ्चालक नायक भन्छन्, “घोडा राखेर सजिलो भएको छ, नत्र पानी बोक्दाबोक्दै घाम डुब्थ्यो।”

मेलौली वडा नं. १, ६ र ७ मा पर्ने बजार क्षेत्रको जनसंख्या पाँच हजारको हाराहारीमा छ। यसबाहेक सरकारी तथा गैरसरकारी संस्था, मणिलेक बहुमुखी क्याम्पस र उच्च माविलगायतमा कार्यरत कर्मचारी र विद्यार्थीको आवतजावत त छँदैछ। शिवनाथ र पञ्चेश्वर गाउँपालिका पुग्न पनि मेलौलीको यही बाटो हुँदै जानुपर्छ।

तस्वीरः बच्चु विक
पानीको मुहान।

मुहानको पानी ग्यालनमा थापेर घोडालाई बोकाइँदै।

मेलौली बजारतर्फ लगिंदै।

मेलौली बजार पुर्‍याएपछि।

मेलौलीको मुख्य समस्या भन्नु नै खानेपानी र बिजुली हो। सबैभन्दा नजिकको मटेना खोला पुग्न एकघण्टा लागे पनि पालो पर्खने र फर्किंदाको उकालोले ठूलो सास्ती दिएको छ। कहिलेकाहीं त बिहान हिंडेको बेलुकी मात्र घर आइपुगिन्छ ।

“बिजुली आए त मोटरले पानी तान्न मिल्थ्यो होला, अरु त उपाय नै छैन”, नायक भन्छन्। वर्ष दिन अघि पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनास्थल पुग्ने गरी मेलौलीमा सडक पुगे पनि बिजुली कहिले आउने हो टुंगो छैन।

comments powered by Disqus

रमझम