'रन'मा मन

Share:
  
पूर्वी नेपालको कञ्चनजंघादेखि पश्चिम हिल्सासम्मको १७ सय किमी दूरीको हिमाली दौड पूरा गर्ने पहिलो नेपाली महिला हुन्, छेची शेर्पा राई (२८)।

फ्रान्सेली संस्था 'द नाइट्स अफ द विण्ड' को सक्रियतामा ९ अप्रिलदेखि २४ मेसम्म आयोजित 'द ग्रेट हिमाल रेस २०१७' मा सहभागी छेची महिलामा प्रथम र समग्रमा तेस्रो भइन्। पाँचजना महिला सहभागीसहित विभिन्न मुलुकका ४५ जना रनर सहभागी प्रतियोगिता पूरा गर्न उनले ४५ दिनसम्म दौड्नुपर्‍यो।

धेरैले दौड कठिन र लामो समयको भएको भन्दै नजान सुझाएका थिए। “धेरैले सकिंदैन नजाऊ भन्थे तर, जसरी भए पनि एकपटक त यो प्रतियोगितात्मक दौड पूरा गर्छु भन्ने इच्छा थियो”, उनी भन्छिन्।

सोलुखुम्बु, खरिग्वालाकी छेचीले दौड्न थालेको सात वर्ष मात्र भयो। पहिलोपटक काठमाडौंमा भएको 'कान्तिपुर हाफ म्याराथन' मै महिलातर्फ पहिलो भएपछि उनी हौसिइन्। त्यसपछि 'तेञ्जिन–हिलारी एभरेष्ट म्याराथन' मा महिलातर्फ तेस्रो र 'एभरेष्ट म्याराथन' मा महिलातर्फ पहिलो भइन्। त्यसयता २० भन्दा बढी दौड प्रतियोगितामा सहभागी भइसकेकी छेचीले लामो दूरीका तीन वटा दौड पनि भ्याइसकेकी छन्। काठमाडौंको बौद्धबाट लमजुङ बेसीशहरसम्मको ४०० किमीको 'थ्री भ्याली ट्रायल २०१२' ५५ घण्टा १० मिनेट १४ सेकेन्डमा पूरा गर्दै समग्रमा पाँचौं र महिलातर्फ पहिलो भइन्। जिरीबाट लुक्लासम्मको ३०० किमीको 'सोलुखुम्बु ट्रायल रेस' मा पनि महिलातर्फ पहिलो हुने छेची नै थिइन्। धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनी सहभागी त भइन् तर, परिणाम सोचेजस्तो भएन। हिमाल, पहाडमा दौडिरहने उनलाई गर्मीले छेक्यो। “हावापानी मिलेन, धेरै गर्मी अनि दौडनै सकिनँ”, उनी भन्छिन्।

आमा रनर

९ कक्षामा पढ्दै गर्दा आमाको मृत्यु भएपछि छेचीले पढाइ छाड्नुपर्‍यो। उनी खुम्बुकोे होटलमा काम गर्न थालिन्। खुम्बुमा हरेक वर्षजसो एभरेष्ट म्याराथनको चहलपहल हुन्थ्यो। उनलाई पनि दौडन मन त लाग्थ्यो तर, दौडने सबै केटाहरु हुन्थे। फेरि दौडेर खान पुग्ने पनि त थिएन। सात वर्षअघि एक अमेरिकी नागरिकको सानेपास्थित बासस्थान रेखदेखको काम पाएपछि छेची काठमाडौं आइन्। अनि मात्र उनको दौडने इच्छा पूरा भयो।

गोपेन राई

छेचीसँग अहिले अढाइ वर्षको छोरो छ। श्रीमान् अविरल राई ट्रेकिङ गाइड हुन्। त्यसैले पनि छेचीलाई दौडन रोकतोक छैन। घर मालिकले दौडन सामान र खर्च मात्र होइन, आवश्यक पर्दा छुट्टी पनि सहजै दिन्छन्। दौडप्रतिको लगाव, छोरो १० महीना पुग्दानपुग्दै उनी प्रतियोगितामा भाग लिन पुग्थिन्।

सन्तान घरैमा छाडेर लामो दूरीको प्रतियोगितामा भाग लिन निकै कठिन हुन्छ। आफन्तहरुले दौडन छाडेर बच्चाको हेरचाहमा लाग्न पनि सुझाव दिन्छन्। तर, उनले दौड छाड्न सकेकी छैनन्। दौड्दा आनन्द र ऊर्जा थपिने उनको भनाइ छ।
विदाको दिन शनिबार पारेर दौडको अभ्यास गर्ने छेचीलाई पारिवारिक जिम्मेवारी र दौडलाई कसरी सँगसँगै लैजाने भन्ने चुनौती छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम