११-१७ असार २०७४ | 25 June - 1 July 2017

कक्षा ११ पढ्ने मापदण्ड

Share:
  
- मस्त केसी
कक्षा ११ मा पढ्ने विषय रोजाइको आधार एसईईको ग्रेड हुने प्रावधान छ।

किस्ट कलेज, कमलपोखरी, काठमाडौं।
शिक्षा ऐनको आठौं संशोधन अनुसार कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तह मानेपछि कक्षा १० मा हुँदै आएको एसएलसी अब १२ कक्षामा हुनेछ। ऐन संशोधनसँगै विद्यार्थीले कक्षा १० मा एसईई (सेकेण्डरी एजुकेशन एक्जामिनेसन) अर्थात् माध्यमिक शिक्षा परीक्षा दिने व्यवस्था गरियो।

एसएलसीको नाम मात्र परिवर्तन भएको छैन, वि.सं. १९९० देखिको विद्यार्थी उत्तीर्ण–अनुत्तीर्ण काइदा नै बदलिएको छ। जसअनुसार प्रतिशत र डिभिजनमा निकालिने परीक्षाफल ग्रेडिङ प्रणालीमा रूपान्तरण भएको छ। एसईई परीक्षाको नतिजालाई ए, ए–प्लस, बी, बी–प्लस, सी, सी–प्लस, डी, डी–प्लस र ई गरी ९ ग्रेडमा विभाजन गरिएको छ।

कक्षा ११ र १२ को समन्वय गर्ने निकाय उच्च माध्यमिक शिक्षा परिषद् पनि राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण भएको छ। बोर्डले निश्चित विषयमा निश्चित ग्रेड ल्याए मात्र चाहेको विषय लिएर कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था गरेको छ। बोर्डकी उपनियन्त्रक जयन्ती सत्यालका अनुसार, कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीले कम्तीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १.६० सहित डी–प्लस ग्रेड ल्याएको हुनुपर्छ। तर १.६० ल्याउँदैमा चाहेको विषय अध्ययन गर्न पाइँदैन।

उपनियन्त्रक सत्याल परीक्षाफल समग्रतामा नभएर विषयगत रूपमा ग्रेडिङ गरेर निकालिने भएकोले माथिल्लो तहमा जुन विषय पढ्न चाहने हो त्यसमा निश्चित मापदण्ड पुर्‍याउनुपर्ने बताउँछिन्। जस्तो, कक्षा ११ मा विज्ञान पढ्न चाहने विद्यार्थीले एसईईको नतिजामा न्यूनतम जीपीए २ सहित गणित र विज्ञानमा सी–प्लस र अंग्रेजीमा सी ल्याउनुपर्ने हुन्छ। तर, अन्य विषयका हकमा भने न्यूनतम जीपीए १.६ ल्याए पुग्छ। तर, विषय छनोट अनुसार डी–प्लस ल्याउनुपर्ने विषयहरू फरक पर्न सक्छन्।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी ग्रेडिङ र जीपीएका आधारमा विद्यार्थी भर्ना लिने वा नलिने कुरा सम्बन्धित विद्यालयमा निर्भर हुने बताउँछन्। उनका अनुसार, कुनै विद्यालयले जीपीए २ लाई मापदण्ड बनाउँछ भने कुनैले २.८० बनाउन सक्छ। बोर्डको मापदण्डभन्दा कम ग्रेड ल्याएका विद्यार्थीले भर्ना गर्न नपाउने रेग्मी बताउँछन्। ग्रेड र जीपीएका कारण कक्षा ११ पढ्न नपाउने विद्यार्थीले के गर्ने त? “मापदण्ड पुगेको शैक्षिक संस्था वा प्राविधिक विषय पढ्ने वा पुनः परीक्षामा सामेल हुनेमध्ये कुनै एक विकल्प रोज्न सक्छन्”, उनी भन्छन्।

गत चैतको एसईईमा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ र आंशिकतर्फ १६ हजार ५७२ गरी कुल ४ लाख ६२ हजार १३६ विद्यार्थी सामेल थिए। तीमध्ये १.६० भन्दा कम जीपीए ल्याउने नियमिततर्फ ७५ हजार ८७७ र आंशिकतर्फ ६ हजार ३६४ विद्यार्थी कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन्।

एसएलसीको नाम परिवर्तन र ग्रेडिङमा परीक्षाफल प्रकाशित हुनु बाहेक अन्य परिवर्तन भने हुनसकेका छैनन्। कक्षा १० देखि १२ सम्मको पाठ्यक्रम पुरानै छ। परीक्षा नियन्त्रक रेग्मी अहिलेलाई उच्च माध्यमिकलाई माध्यमिक तह मात्र बनाइएको बताउँछन्।

comments powered by Disqus

रमझम