११-१७ असार २०७४ | 25 June - 1 July 2017

प्रकाश संयोजन

Share:
  

आधुनिक जीवनशैलीमा घरको भित्री तथा बाहिरी भागको सजावट विशेष प्राथमिकतामा पर्ने गरेको छ। उज्यालो दिन जसरी नै रातलाई पनि बत्तीको सहयोगबाट उज्यालो बनाउन सकिन्छ। त्यसैले पनि बत्ती विनाको जीवन असंभव जस्तै भइसकेको छ।

बत्तीको सुविधाले कामलाई मात्र सहज बनाएको छैन, सजावटमा पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको इन्टेरियर डिजाइनर कल्पना भट्टचन बताउँछिन्। भान्सा, लिभिङ रुम, बेडरुम, बाथरुम, भर्‍याङ मात्र होइन, आँगन तथा बगैंचामा पनि विद्युतीय लाइटको प्रयोगले आकर्षक बनाउन सकिन्छ। विभिन्न खालका लाइटको प्रयोगले घर भित्र र बाहिर सौन्दर्य थप्ने उनी बताउँछिन्।

गोपेन राई
पहिले मैनबत्ती, टुकी, लालटिनको प्रयोग हुने गरेकोमा अहिले विद्युत् र सोलारका बल्बको प्रयोग गरिन्छ। जीएलएफ, सीएफएलहुँदै अहिले एलइडी बल्बको खपत बढ्न थालेको छ। विद्युत् व्यवसायी महासंघ नेपालका अध्यक्ष तेजनारायण खरेल अहिले कम विद्युत् खपत गरी बढी उज्यालो दिने बल्बहरू रुचाइन थालेको बताउँछन्। “घरको सजावटमा पनि बत्तीको प्रयोगमा उपभोक्ताको ध्यान जाने गरेको छ”, उनी भन्छन्।

सिलिङ, मिरर, पिक्चर, गार्डेन, टेबल ल्याम्प, ह्यांगिङ, सान्डेलियरलगायतका विभिन्न मोडल, डिजाइन र रंगहरूका लाइट बजारमा पाइन्छन्। रेस्टुरेन्ट, पार्टी प्यालेस, शपिङ मललगायतका ठाउँमा एउटै बल्बले धेरै रङ दिने बल्बको प्रयोग हुने गरे तापनि घरमा भने सेतो र पहेंलो रङको लाइटको प्रयोग धेरै हुन्छ।

ठाउँ अनुसार रङ

राति धेरै र मधुरो उज्यालोमा बसेर काम गर्दा आँखामा असर पर्छ। नेत्र चिकित्सक विनोद पाण्डेका अनुसार अल्ट्राभायोलेट किरण निस्कने बल्बको त प्रयोग नै गर्नुहुँदैन। त्यसैले बत्ती किन्नुअघि सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। धेरै कलरफुल लाइट्सको प्रयोगले आँखालाई प्रत्यक्ष असर नगरे पनि 'दृश्य पोलुसन' ले नकारात्मक प्रभाव पार्न सक्ने उनी बताउँछन्।

झ्ाुमर तथा दीपवृक्ष भनिने सान्डेलियर लिभिङ रुममा राख्नु उपयुक्त हुन्छ। भर्‍याङ, बेडरुम, ढोकामा सिलिङ लाइट राख्न सकिन्छ। पेन्टिङ, पारिवारिक तस्वीर वा मूर्तिमा पिक्चर लाइट सुहाउँछ। डाइनिङ टेबल माथि, भान्छा तथा अरु कोठामा पनि पेन्डान्ट/ह्यांगिङ लाइटमार्फत सजाउन सकिन्छ। यसबाहेक विभिन्न आकर्षक डिजाइनका बल्ब र टेबल ल्याम्प पनि प्रयोग गर्न सकिन्छ।

भान्सा, पढ्ने कोठा, काम गर्ने ठाउँमा अलिक चहकिलो तथा सजावटका लागि मधुरो खालका बत्तीको प्रयोग गर्नुपर्छ। सजाउने नाममा आवश्यक भन्दा बढी लाइटको प्रयोगले घरको सुन्दरता बढाउ्नुको साटो घटाउने इन्टेरियर डिजाइनर भट्टचन बताउँछिन्। कोठामा प्रयोग गरिने बत्तीले फर्निचर तथा अन्य सजावटका सामग्रीलाई पनि फरक र आकर्षक देखाउने भएकोले लाइटको संयोजनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

लाइट छनोटमा रंगीचंगी भन्दा हल्का 'डिम' रंगको पहेंलो लाइट राखेर घरमा शान्त र आनन्द वातावरण बनाउन सकिन्छ। पहेंलो लाइटले मैन, लालटिन, आगो बाल्दा जस्तै प्राकृतिक रंगको भाव दिने भट्टचन बताउँछिन्। “यस्तो लाइटले आँखालाई पनि शीतलता प्रदान गर्छ”, उनी भन्छिन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम