शाह राजाबाट बिर्ता थमौती

Share:
  
- ज्ञानमणि नेपाल
सेन राजाहरूबाट विश्वेश्वर अर्जेलले पाएका सबै बिर्ता रणबहादुर शाहबाट जस्ताको तस्तै थामिए।

पृथ्वीनारायण शाहले गोरखाको राजसिंहासनमा विराजमान बनेकै दिनदेखि राजा भएपछि दिग्विजय गर्नुपर्छ र सम्राट हुनुपर्छ भन्ने संकल्प गरे। गोरखा राज्य लमजुङबाट फुटेर सं. १६१६ मा द्रव्यशाहद्वारा स्थापित भएको हो। शुरूदेखि नै यस नयाँ राज्यले आफ्नो सुरक्षाका लागि संघर्ष गरिरहनुपरेको थियो। यसको भोट बेपार पनि थिएन, तराई पनि थिएन, त्यसैले गरीब थियो। जम्मा १२ हजार घरधुरी जनताले पनि जीवन निर्वाहमा निकै कष्ट गर्नुपर्दथ्यो।

त्यसै कारण रामशाहको पालामा गोरखाले राज्य बढाउन यताउता पाउ फैलाउन खोजेका थिए। रामशाहले आफ्नो नामका साथै दैनिक कामकारबाही चलाउन केही लौकिक व्यावहारिक स्थिति–बन्देज बाँधेका थिए। त्यसैले उनलाई स्थिति बाँध्ने राजा भनेर पनि चिनिन्छ, भनिन्छ। उनको पनि महत्वाकांक्षा चक्रवर्ती राजा हुने नै थियो। यसैले उनले गिरिराजचक्रचूडामणि (हिमाली राजाहरूमध्ये चक्रवर्ती सम्राट) भन्ने उपाधि लिए।

पुर्खादेखि चल्दै आएको यो उपाधि लिएपछि पृथ्वीनारायण यसलाई सार्थक पार्न कस्सिएर लागे। उनले पहिलो झ्मटमै कान्तिपुर राज्यको प्रमुख किल्ला नुवाकोट कब्जा गरे। नुवाकोट कान्तिपुरको लागि भोट बेपारको ढोका थियो। केरुङ जाने बाटै त्यही थियो। त्यसकारण पृथ्वीनारायण नुवाकोटमै दरबार बनाएर रहन लागे। नेपालदुनका मल्ल राज्य, पश्चिमका चौबीसी र पूर्वका सेन राज्य विजय गर्ने तारतम्य मिलाउन थाले। तिनीहरूको सैन्यबल कस्तो छ, जनताको भावना के छ बुझ्ेर जाहेर गर्नु भनी सबैतिर आफ्ना दूत पठाए।

उनलाई पूर्वतिर बढ्दा पश्चिमका चौबीसीले दगा गर्लान् भन्ने शंका थियो। त्यसो हँुदा उनले गोरखालाई बलियो बनाइराख्नुपर्छ, मल्ल राज्य जितेपछि मात्र पूर्व–पश्चिम बढ्न जोग्य होला भन्ने सोचेका थिए। पृथ्वीनारायणले 'पूर्वका सेन राज्यको खरखजाना माफिकै छ भन्ने सुनिन्छ, पहिले ती राज्य हात पार्न पाए, पश्चिम दख्खल गर्न वेश होला' भन्ने ठहर्‍याई डोटी–कुमाउ गएर ज्योतिष पढेका र बातचित गर्न होशियार विश्वेश्वर अर्जेललाई 'किरात मुलुक गई सेन राजाका फौज खरखजाना कति छ, भारदार कस्ता छन्, हात आउने जतिलाई हात लिनू र सबै बेलीबिस्तार जाहेर गर्नू' भनी पठाए। तीर्थयात्री भएर हिंडेका अर्जेलले पहिले चौदण्डी पुगेर राजा मुकुन्द सेन (द्वितीय) लाई ज्योतिष परिचय दिंदा राजाले 'म हात्ती खेदा (हात्ती पकड्न) जाँदैछु, राम्रो साइत हेरिदेऊ, मेरो कार्यसिद्धि भो भने तिम्रो मनोवांक्षा पुर्‍याइदिउला' भनेछन्। नभन्दै, राजाको कार्यसिद्धि भएछ अनि अर्जेललाई राजकुमार–राजकुमारी पढाएर यहीं बस भन्दै सं. १८१६ मा सप्तरी वैरवा मौजा कुश बिर्ता दिएर राखे। त्यसरी विश्वेश्वर अर्जेल दरबारी ज्योतिषी भएर चौदण्डी राज्यमा बसे।

मुकुन्द सेन (द्वितीय) का सेखपछि कर्णसेनले पनि १८२४ मा अर्जेललाई सप्तरीकै प्रगन्ना पकरिया मध्य दुधैला मौजा कुश बिर्ता दिए। वि.सं. १८२५ मा उनै कर्ण सेनले अर्जेललाई फेरि सप्तरी जगदरमध्य मौजा मुसहर्निया ससिम कुश बिर्ता दिए। मुकुन्द सेन र कर्ण सेनले राजज्योतिष विश्वेश्वर अर्जेललाई पट्टा स्याहामोहर बमोजिम सर्वकर माफ गरी दिएका चारै कुश बिर्ता (वैरवा, मुसहर्निया, दुधैला र हथिना) पछि १८३५ सालमा राजा प्रतापसिंह शाहका छोरा शिशु राजा रणबहादुर शाहले लालमोहर गरी सदर गरी जस्ताको तस्तै थामिदिए। वैरवा कोशी किनार भारदह उत्तरपट्टि र मुसहर्निया राजविराजको मध्यमा पर्छ।

रणबहादुरको लालमोहरमा फटके साक्षी बस्ने चौतरिया, काजी चार जना छन्, नाम चाहिं काजी सर्वजित राना र अमरसिंह रानाको मात्र उल्लिखित छ। शाह राजाहरूले प्रायः आफ्ना भाइछोरालाई मात्र चौतरिया पद दिने चलन थियो। सेन राजाहरूले चाहिं स्थानीय राईहरूलाई पनि चौतरिया बनाए। मुकुन्द सेनको स्याहामोहरमा रुजु सिंहदेवराय मात्र लेखेको छ, कर्ण सेनका स्याहामोहरमा चौतरिया अजित राय रुजुमा रहेका छन्। मुकाम चाहिं राजा बसेकै स्थान लेखिएको छ। मुकुन्द सेनको मुकाम शिखरमाडी र कर्ण सेनको मुकाम चौदण्डी दरबार नै छ। शिखरमाडी चौदण्डीगढीको दक्षिण फेदीमा पर्छ।

अहिले चौदण्डी किल्लाको ५–६ हात अग्लो अवशेष मात्र बाँकी छ। मोटा लामा कुँदेका काला ढुंगा फलामका लामा चुकुल ठोकेर बज्रलेप गराएर मिलाएर मोटो गारो लाएको देखिन्छ। राजाको हिउँदे मुकाम तल तराईको अमरपुरमा थियो। सेन राजाको मुकाम भएरै त्यसलाई राजविराज भनियो।


रणबहादुर शाहले विश्वेश्वरका चारै बिर्ता साविक बमोजिम थामिदिएको लालमोहर (सं. १८३५)

श्रीदुर्गाज्यू सहाये

स्वस्ती श्रीगिरिराजचक्रचुडामणिनरनारायणेत्यादिविविधविरुदा–

वलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज–श्रीश्रीमहाराज–

रणबहादुरसम्सेरजङ्गदेवानां सदा समरविजईनाम्

आगे अर्ज्याल विस्वेस्वर जोईसीके प्रगन्ना सप्तरितरफ खालिसामध्ये मौजे बैरवा ससिम मौजे एक ऐ अैतरफ जगदरमध्ये मुसहर्निञा ससिम मौजे एक १ औ प्रगन्ना सप्तरितरफ प्रगन्ना पकरियामध्ये दुधैला ससिम मौजे एक १ औ प्रगन्ना सप्तरितरफ खालिसामध्ये हथिना ससिम मौजे एक १ ज्मा ससिम मौजे चारि ४ अघि राजमकुवानिलेे कुसविर्ता गरिदियाको रहेछ, तसै पट्टाबमोजिम सर्व अंक सायेर कुसविर्ता बक्स्यौ आफ्ना खातिर ज्मासँग भोग्य गर हामीलाई आसिर्वाद दिदै रहु सम्बत १८३५ साल आषाढ सुदि १ रोज ५ मोकाम कान्तिपुर शुभम् (पीठमा)

मार्फत चौतरिआ २ काजि चार

काजी सर्वजित राना अम्बरसिं राना

(रामेश्वर अर्जेलको सौजन्यबाट प्राप्त सेन राजाको स्याहामोहर गतांकको हिमालमा प्रकाशित छ।)

comments powered by Disqus

रमझम