मानिसमा मर्करी!

Share:
  
- रामु सापकोटा
उद्योग–कलकारखानाको फैलावटसँगै उत्पादन र प्रयोग व्यापक बनेको मर्करी प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।

के हो मर्करी

मर्करी सामान्य तापक्रम र चापमा पाइने तरल धातु हो। सामान्य तापक्रममा पनि मर्करी तरल पदार्थको रुपमा रहन्छ। मर्करी फलामजस्तो कडा बन्न एकदमै कम तापक्रम भएको वातावरण हुनुपर्छ। मर्करी खुला राखे हावामा उडेर जान्छ। उडेको मर्करी बोट–बिरुवा, जीवजन्तु, पानीसम्म पुग्छ। त्यहाँबाट मानिसमा प्रवेश गर्छ।

मा्रझी समुदायको मुख्य पेशा भनेकै माछा मार्ने र डुंगा खियाउने हो। नदी, खोला, ताल, तलाउसँग अकाट्य सम्बन्ध भएका उनीहरूको खानामा माछा सितिमिति टुट्दैन।

बढ्दो मानव अतिक्रमण र प्रदूषणका कारण नदीमा माछा घट्दै गएको चिन्ता बरोबर सुनिन्छ। यसले नदीमा आश्रित माझी समुदायलाई वैकल्पिक पेशा खोज्न बाध्य पारेको छ। तर, पछिल्लो एक अध्ययनले माछालाई नै आहाराको सहारा बनाएका माझीहरूको स्वास्थ्य जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ। कारण हो– पारो अर्थात् मर्करी, जुन अन्य कुनै स्रोतबाट नभई माछाबाटै उनीहरूको शरीरमा पसेको हो।

सन् २०१३ मा इन्टरनेशनल पप्स् इलिमिनेसन नेटवर्क र नेपालस्थित जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) ले पोखराको फेवातालका माझी समुदायमा यस्तो अध्ययन गरेको थियो। २५ देखि ६२ वर्ष उमेर समूहका १५ जना माझीमा गरिएको अध्ययनमा १३ जनाको शरीरमा १.७२ पीपीएम (पर पार्ट पर मिलियन) भन्दा बढी मर्करी पाइएको थियो। चार जातका १२२ माछामा गरिएको अध्ययनमा भेटिएको मर्करीमध्ये मिथाइल मर्करीको मात्रा ८२ प्रतिशतभन्दा बढी थियो।

फेवातालका माझीमा देखिएको मर्करीको मात्राले देशभरका माझीको अवस्था यस्तै नहोला भन्न सकिन्न। राष्ट्रिय जनगणना २०६८ अनुसार, देशभर ८३ हजार ७२७ माझी छन्।

माछाबाट मानिसमा

सन् २०१४ मा इन्टरनेशनल जर्नल अफ इन्भारोन्मेन्टल रिसर्च एण्ड पब्लिक हेल्थ मा प्रकाशित अर्को अनुसन्धानमा फेवातालका माझीमा मात्र नभई अन्य तालको माछा खानेमा समेत मर्करी भेटिएको उल्लेख छ। काठमाडौं विश्वविद्यालय (केयू), चाइनिज एकेडेमी अफ साइन्सेज (सीएएस) र फिनल्याण्डको लप्पिनरान्ता युनिभर्सिटी अफ टेक्नोलोजीको संयुक्त टोलीले तालको माछा खाने १७० जनामा गरेको अनुसन्धानले ६ जनामा १.६ माइक्रोग्राम पर केजी मिथाइल मर्करी भेटिएको निष्कर्ष निकाल्यो। ती सबै सातामा कम्तीमा एक केजी माछा खानेहरू थिए।

अध्ययनमा सहभागी सिफेडका कार्यकारी निर्देशक रामचरित्र साह माछाको माध्यमबाट शरीरमा प्रवेश गरेको मर्करी जीवाणुको संसर्गबाट विषालु मिथाइल मर्करी बन्ने बताउँछन्। उनको भनाइमा मिथाइल मर्करीबाट संक्रमित मानिसको स्नायु प्रणालीमा असर पर्ने, मांसपेशी कमजोर हुनुका साथै गर्भे शिशुको शारीरिक तथा मानसिक विकासमा असर पर्छ। “मर्करी जति सानो परिमाणमा भए पनि मानव स्वास्थ्यका लागि घातक हुन्छ”, साह भन्छन्। उनका अनुसार, मानिसमा मर्करी संक्रमण भए/नभएको नङ, कपाल, रगत र पिसाब परीक्षणपछि थाहा हुन्छ।

केयूको वातावरण तथा इन्जिनियरिङ विभागका सहायक प्राध्यापक छत्रमणि शर्मासहितको टोलीले गरेको अनुसन्धानमा फेवाताल क्षेत्रमा होटल सञ्चालन र कामदारहरूमा पनि मिथाइल मर्करीको संक्रमण पाइएको थियो। (हे.इन्फो) “होटलका सञ्चालक र कामदारले बिक्री नभएको माछा खाने गरेका कारण पनि यसो भएको हो”, उनी भन्छन्।

मर्करी कसरी माछाको शरीरसम्म पुग्छ त? वातावरणविद्हरू यसमा मानिसकै असावधानी र प्रदूषणलाई प्रमुख कारण ठान्छन्। कलकारखानाका फोहोर, मर्करीयुक्त विषादी, श्रृंगार सामग्री, बिग्रेका ब्याट्री तथा स्वास्थ्य उपकरण, आयुर्वेदिक औषधि, ट्यूबलाइट, सीएफलएल चिम र सानो स्तरका सुनखानी मर्करी निस्कने स्रोत हुन्। जैविक चक्रअनुसार, मर्करी संक्रमित साना जीवलाई माछाले खाएपछि मर्करी बोसोमा जम्मा भएर बस्छ। त्यही माछा खाएमा मानव शरीरमा मर्करी पस्दछ।

वातावरणविद् भूपेन्द्र देवकोटा मिथाइल मर्करी सामान्य मर्करीभन्दा सय गुणा बढी विषालु हुने बताउँछन्। त्यसैले पनि कलखारखानाबाट निस्कने फोहोर व्यवस्थापनमा होशियारी अपनाउनुपर्ने उनको भनाइ छ।

आयातित मर्करी

केयूसहितको टोलीले फेवाताल र लाङटाङ राष्ट्रिय निकुञ्जको गोसाइँकुण्ड तालको पानीमा पनि मर्करीको परिमाण अध्ययन गरेको थियो। दुवै तालको एक लीटर पानीको नमूनामा गरिएको परीक्षणमा गोसाइँकुण्ड तालमा ५.६७ र फेवातालमा ३.१ नानोग्राम मर्करी भेटिएको थियो।

अनुसन्धानमा संलग्न केयूका छत्रमणि शर्मा गोसाइँकुण्डमा पाइएको मर्करी मिथाइल मर्करी जस्तो हानिकारक नभएको बताउँछन्। उनका अनुसार, गोसाइँकुण्डमा कलकारखानाबाट निस्किएको फोहोर हावा र पानीको माध्यमबाट तालमा मिसिएको हो। “गोसाइँकुण्ड ताल क्षेत्र वरपर मर्करीको स्थायी स्रोत सुन र मर्करी खानी देखिएन”, उनी भन्छन्।

सन् २०१६ मा केयू, सीएएस र क्यानडास्थित युनिभर्सिटी अफ मनिटोबाले नेपालका तीन र चीनका पाँच ताल क्षेत्रको पिंधको माटोमा पनि मर्करीको अनुसन्धान गरेको थियोे। तालको गहिराइबाट १० सेन्टिमिटरसम्म माटोको नमूना संकलन गरेर हेर्दा सन् १८०० देखि २०११ सम्म दुई सय वर्षभन्दा बढी समयदेखि जम्मा भएको मर्करी भेटियो। पहिलो विश्वयुद्धअघि र पछिको तुलनात्मक अध्ययनमा औद्योगिकीकरणको युग शुरू भएको दोस्रो विश्वयुद्धपछिको समयमा बढी मर्करी भेटियो।(हे.इन्फो)

मर्करी पानीमा मिसिएपछि रूख, बिरुवामा पनि पुग्ने भएकाले काठ बाल्दा धुवाँको माध्यमबाट पनि मर्करी वायुमा मिसिन्छ। कोइलाका कारण बढी मर्करी उत्सर्जन भएर जैविक तथा मानवीय पक्षमा असर परेको भन्दै समाधानको उपाय खोज्न सीएएसले केयूसँग मिलेर अनुसन्धान गरेको थियो। जस्तो इन्धनको स्रोतको रूपमा कोइलाको प्रयोग बढी हुने भएकाले पनि चीनमा मर्करी उत्सर्जन धेरै हुन्छ।

नेपालमा भने मर्करी उत्पादनको स्थायी स्रोत छैन। त्यसैले यहाँ देखिएका मर्करी 'आयातित' हुन्। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७३/७४ को पहिलो १० महीनामा मात्र रु.३ करोड ३६ लाख ४४ हजार मूल्य बराबरको चार लाख ६८ हजार ५५३ थान मर्करीयुक्त ट्यूबलाइट र सीएफएल बल्ब नेपाल भित्रियो। त्यस्तै, रु.३ लाख १४ हजार मूल्य बराबरको २१३ केजी मर्करी आयात भएको थियो।

जोखिममा कामदार

फेवातालमा आश्रित माझी समुदायमा मर्करी भेटिएपछि अमेरिकाको युनिभर्सिटी स्कूल अफ मेडिसिनसहित चिकित्सकहरू, वैज्ञानिक तथा वातावरणविद्को टोलीले मर्करीको आर्थिक क्षतिबारे थप अध्ययन गरेको थियो। सन् २०१६ मा जर्नल अफ इन्भायरोन्मेन्टल म्यानेजमेन्ट मा प्रकाशित उक्त अध्ययनमा पोखराको जनसंख्या, जन्मदर र मर्करी प्रभावितको संख्या विश्लेषण गरिएको थियो। अध्ययनका अनुसार शरीरमा एक पीपीएम मर्करी भए त्यसले ०.१८ बौद्धिक क्षमता (आईक्यू) घटाउँछ। नेपालीको आईक्यू औसत ६८ मान्ने गरिएको छ।

ललितपुर खोकनाका सरोज महर्जन (३६) ले १५ वर्षदेखि मूर्ति कुँद्ने र त्यसमा सुनको लेप लगाउने काम गर्न थाले। यस्तो लेपमा मर्करी मिसाइएको हुन्थ्यो। सात वर्षपछि उनलाई हात काम्ने समस्या देखियो। उपचारका क्रममा उनलाई मर्करीको असर देखियो। अहिले उनी मूर्ति बनाउने काम छाडेर वैदेशिक रोजगारका लागि दुबई गएका छन्।

सरोजका भाइ नरेन्द्र भने अहिले सुरक्षित 'थ्रीजी मास्क' लगाएर मूर्तिमा लेप लगाउँछन्। “मूर्तिमा सुन मात्र लगाउँदा टाँसिंदैन। त्यसैले मर्करीको लेप लगाएर टाँस्छौं” नरेन्द्र भन्छन्, “मर्करीको प्रयोगले कम सुन प्रयोग गरेर लेप लगाउन सकिने भएकाले सुन बढी खर्च हुँदैन।”

भाइलाई परेको समस्या देखेर दाजु नरेन्द्र सचेत भए पनि मूर्ति बनाउन र लेपनमा संलग्न थुप्रैलाई मर्करीको असरबारे थाहा छैन। सिफेडले वातावरण मन्त्रालय र नेपाल हस्तकला महासंघको समन्वयमा मंसीर २०७३ मा मूर्ति लेपन कार्यमा सक्रिय ललितपुरका २० महिलामा मर्करीको मात्रा मापन गरेको थियो। उनीहरूमा न्यूनतम ०.३५ देखि अधिकतम २८.४३ माइक्रोग्राम पर केजी मर्करी भेटिएको थियो।

हिमाल आर्काइभ
मूर्तिमा मर्करी मिश्रित सुनको लेप लगाइँदै।
लेप लगाइएको मूर्ति तताउँदा भने मर्करी उड्छ र सुनको जलप मात्र मूर्र्तिमा टाँसिन्छ। मूर्तिमा मर्करीको लेप लगाउनेदेखि डढाएर उडाउनेसम्मको प्रक्रियामा कामदार मर्करीबाट संक्रमित हुने जनसंख्या तथा वातावरण मन्त्रालयका इन्जिनियर तुलसीनारायण महर्जन बताउँछन्। “कतिपय मूर्तिकारहरू मर्करीको असरले दीर्घकालीन रोग निम्तिएर काम नै गर्न नसक्ने अवस्थामा पुगेका छन्”, महर्जन भन्छन्। मर्करीको उच्च जोखिममा काम गरिरहेका यस्ता कामदारले विद्युतीय तरंगको सहायताले गरिने 'इलेक्ट्रोप्लेटिङ' र मर्करीको सीधा सम्पर्कबाट जोगिन 'ब्याक फिल्टर' आदिको प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

सरकारको 'औपचारिकता'

स्वास्थ्य मन्त्रालयले २१ फागुन २०६९ मै आर्थिक वर्ष २०७०/७१ देखि लागू हुने गरी स्वास्थ्य क्षेत्रमा प्रयोग हुने मर्करीयुक्त उपकरणहरूको खरीद, आयात र प्रयोग बन्द गर्ने र निजी क्षेत्रलाई पनि खरीद तथा आयात गर्न नदिने निर्णय गरेको थियो। तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्र चिकित्सा पेशामै मर्करीको प्रयोग हटाउनुपर्ने बताउँछन्। “थर्मामिटरलगायतका मर्करीयुक्त उपकरणको प्रयोग रोक्न सरकारी निर्णयको कडाइका साथ पालना हुनुपर्छ”, उनी भन्छन्।

त्यसो त विश्वलाई नै मर्करीमुक्त बनाउन अभियान पनि चलिरहेको छ। अभियानका क्रममा संयुक्त राष्ट्रसंघले 'मिनामाटा अभिसन्धि' तयार गरी सबै राष्ट्रलाई हस्ताक्षर गर्न अपील पनि गरेको छ। मन्त्रालयले नेपालमा मर्करीको प्रयोग भइरहेको परिमाणबारे अध्ययन गर्ने तयारी गरिरहेको छ। तर, जनसंख्या तथा वातावरण मन्त्रालयका इन्जिनियर महर्जन नेपालमा भएको मर्करीको परिमाणबारे थाहा हुन नसकेकै कारण अभिसन्धि अनुमोदनमा कठिनाइ भएको बताउँछन्।

मर्करीमुक्त अभियानका लागि विश्वव्यापी रूपमा भइरहेका पहलका कारण यसको प्रयोग तुलनात्मक रूपमा कम हुँदै गइरहेको वातावरणविद् भूपेन्द्र देवकोटाको भनाइ छ। तर, अरू धातुजस्तो नष्ट नहुने भएकाले मर्करीको व्यवस्थापन अर्को चुनौती बनेको छ। वातावरण मन्त्रालयसँग मर्करीयुक्त सामग्री व्यवस्थापनको कुनै कार्ययोजना पनि छैन। नेपालले म्याद गुज्रेका ४० थरीका मर्करी मिश्रित विषादी (पेष्टिसाइड) लाई व्यवस्थापन गर्न नसकेपछि सन् २०११ मा जर्मनी पठाएको थियो।

वातावरणविद् देवकोटा मन्त्रालयले मर्करीयुक्त सामग्री व्यवस्थापनका लागि नीति नै बनाउनुपर्नेमा जोड दिन्छन्। टुटफुट हुने सामग्रीमा भएको मर्करी व्यवस्थित तरिकाले छुट्टै भाँडोमा जम्मा गरेर राख्न सकिने थापाथलीस्थित कलेज अफ अप्लाइड साइन्सका प्रधानाध्यापक समेत रहेका उनी भन्छन्, “मर्करीलाई कुनै रसायनसँग प्रतिक्रिया गराएर सल्भ मर्करीमा परिणत गरेर राख्न पनि सकिन्छ।”


दाँतमा सुधार

पूर्व स्वास्थ्यसचिव तथा दन्त चिकित्सक प्रवीण मिश्र २०४३ सालतिर जनकपुर अञ्चल अस्पतालमा कार्यरत हुँदा दैनिक ८ देखि १० जनाको दाँतमा मर्करीयुक्त अमाल्गम भर्थे। सन् १९९६ मा विशेषज्ञ तह उत्तीर्ण गरेपछि भने मर्करी नभएको कम्पोजिट रिस्टोरेटिभ मटेरियल प्रयोग गर्न थाले।

सन् २०१३ मा भएको एक अध्ययनले दाँतमा मर्करीयुक्त अमाल्गम भरेका ५० व्यक्तिको शरीरभित्र ०.०९७ देखि ०.५४७ पीपीएम मर्करी पाइएको थियो। वातावरणविद् भूपेन्द्र देवकोटा दाँतमा अमाल्गम भरेका व्यक्तिलाई टाउको दुख्ने समस्या देखिएको बताउँछन्। “तर, अहिले विकल्प आइसकेकाले यसको प्रयोगमा कमी आइरहेको छ”, उनी भन्छन्।

comments powered by Disqus

रमझम