बाढी आउँछ बजेट फिर्ता जान्छ

Share:
  
- श्रवणकुमार देव, राजविराज
यस वर्ष मध्य असारमै डुबानमा परेका तिलाठीवासी बाँकी रहेको सिंगो वर्षायाम सम्झेर झस्किरहेका छन्।

तस्वीरहरुः श्रवणकुमार देव
ललितनारायण कर्ण।
२० असार दिउँसो यो संवाददाता सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१, तिलाठी पुग्दा गाउँमा चार दिन अघिको बाढीको हिलो सुक्दैथियो। गाउँले भिजेका लत्ताकपडा र धान सुकाउने चटारोमा थिए। गाउँका घरभित्र पसिनसक्नु हिलो थियो। तिलाठीमा हरेक वर्षायाम कहर बनेर आउँछ। फरक कति मात्र भने, त्यो कहर कहिले छिटो आउँछ, कुनै वर्ष अलि ढिलो। जीवनभर बाढीको सामना गर्दै आएका ललितनारायण कर्ण (७०) भन्छन्, “कुनै वर्ष अलि कम बाढी आयो भने ठूलो राहत मान्नुपर्छ।”

सेवानिवृत्त शिक्षक हरिनन्दन मिश्र (६७) लाई आठ वर्षको हुँदा पहिलो पटक बाढीले बगाएको थियो। त्यसबेला गाउँलेले बचाएका उनी त्यसपछिका हरेक वर्षात्मा अरूको उद्धारमा तम्तयार हुँदै हुर्किए। गाउँ छाडेर खाँडो नदीबाट भाग्न नमिल्ने भएपछि यसको सामना गर्नुपर्ने बाध्यता स्वीकारेको उनी बताउँछन्। काँचो हिलो गन्हाइरहेको वातावरणमा गाउँलेसँग कुरा गरिरहँदा बेल्ही टोलकी कागतीदेवी राय (६६) ले बाढीकै बेला तीन छोरा र एक छोरी जन्माएर हुर्काएको बताइन्। उनी भन्छिन्, “हरेक साल घरमा बाढी पसेपछि रातभर जागा बसेर काखैमा छोराछोरी हुर्कायौं।”

वडा कार्यालयमा भेटिएका सुकदेव कामत (७०) सँग कुरा गर्न लाग्दा एक्कासि पानी दर्कियो। कामत, नागेन्द्र झा (६०) लगायतका स्थानीय धान र लत्ताकपडा जोगाउन आ–आफ्ना घरतिर दौडिए। सचिव मिथिलेश झाले आफ्नो वडा कार्यालयतिर आउने बाटो अबको चार महीनासम्म यस्तै हिलाम्मे रहने बताए। नजिकैको स्वास्थ्य चौकी देखाउँदै उनले भने, “अब यहाँ हिउँद नलागी बिरामी ल्याउन असम्भव जस्तै हुन्छ।”

खाँडो बन्यो घाँडो

मैथिल ब्राह्मणबहुल तिलाठीलाई खाँडोले सिंचन गरेको छ। मैथिल समाजमा खोला, नदी, ताल, पोखरी आदिको ठूलो महिमा छ। तर, ७० वर्षीय जीवानन्द झा आफूहरूका लागि खाँडो नदी वरदान कम अभिशाप बढी भएको बताउँछन्। “मेरै जीवनकालमा यो नदीले तीन पटक धार परिवर्तन गरिसक्यो” उनी भन्छन्, “अहिले यो जहाँ छ, हरेक वर्षात्मा कुनै न कुनै ठाउँमा बाँध भत्काएर गाउँतिर पस्छ।”

साबिक लौनियाँ गाविसमा मुहान भएको खाँडोले वहाब परिवर्तन गर्दा हरेक पटक तिलाठीलाई केन्द्र बनाएको यहाँका पाका बासिन्दाहरू बताउँछन्। उनीहरूका अनुसार, पहिलो पटक २००१ सालमा तिलाठी नजिकै लोखरमा आएको यो नदी २०१३ सालमा गाउँको पश्चिमहुँदै २०१८ सालमा गाउँको मध्य भागमा र २०२५ सालदेखि गाउँको पूर्वी भागबाट बग्न थाल्यो। “२०२८ सालमा एक्कासी वहाब मोडेर सकरपुरातिर सर्‍यो” गाउँका अगुवा देवनारायण यादव (५७) भन्छन्, “२०४५ सालसम्म त्यतै बगेको बेला खाँडोको नापनक्शा पनि गरिएको थियो।”

कागतीदेवी राय।

जीवानन्द झा र राजेन्द्र मिश्र।

२०४५ पछि तिलाठीतर्फ मोडिएको खाँडो बाढी नियन्त्रणको विषयमा समेत घाँडो बन्न पुगेको उनी बताउँछन्। उनका अनुसार, नदीमा तटबन्ध निर्माण गर्ने प्रयास बहावको नक्शाभित्र परेका जमीनका कारण अगाडि बढ्न सकेन। उमेश यादव सिंचाइ मन्त्री हुँदा जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमार्फत शुरू भएको लौनियाँदेेखि दशगजा क्षेत्रसम्म बाँध बनाउने काम बहाव क्षेत्रभित्र जमिन परेका किसानको विरोधका कारण रोकियो। २०२८ साल अघि खाँडो जहाँ बग्थ्यो, त्यही नापनक्शाको आधारमा नदी नियन्त्रणको काम हुनुपर्ने उनीहरूको भनाइ छ।

उनीहरूले गत २९ माघमा पत्रकार सम्मेलन समेत गरेर अहिलेकै धारमा बाँध बनाउने हो भने आफूहरूको एकहजार बिघाभन्दा बढी जग्गाको मुआब्जा पाउनुपर्ने माग गरेका थिए। यो विरोधका कारण नदी नियन्त्रणको काम त रोकियो नै, बजेट समेत फ्रिज भइसकेको छ।

बाढीसँगै बग्छ बजेट

खाँडो नदी नियन्त्रणका लागि २०५२ सालपछि गाविसले खर्च गर्न थालेकोमा २०६४ बाट जनकपुरस्थित जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन–२ कार्यालयबाट पनि बजेट आउन थाल्यो। त्यसपछि गाविसले खाँडो नियन्त्रणको लागि विनियोजन गर्न छाडेको जानकारी आफूलाई भएको वडा सचिव झाले बताए। पूर्व शिक्षक हरिनन्दन मिश्रले खाँडो नियन्त्रणका लागि हरेक वर्ष सरकारी बजेट आउँछ भनेर बुझेको, तर त्यो कहाँ जान्छ भन्ने चाल नपाएको बताए। उनका अनुसार, गाविसमा निर्वाचित जनप्रतिनिधि रहँदासम्म कुल बजेटको आधा बाढी नियन्त्रणमा छुट्याएको सुनिन्थ्यो। “जनप्रतिनिधि नहुँदा त्योभन्दा ठूलो बजेट जनकपुरबाट आउन थाल्यो” मिश्र भन्छन्, “तर, त्यसको काम कहिल्यै देखिएन।”

तिलाठीको बाटो ढलान गरिंदै।
जल उत्पन्न प्रकोप कार्यालयबाट आउने बजेट खर्च गर्न तिलाठीमा उपभोक्ता समिति बनाइएको छ, जसका अध्यक्ष छन्– देवनारायण यादव। यादव तिनै व्यक्ति हुन्, जो गत वर्ष दशगजा क्षेत्रमा बाँध बनाउने भारतीयहरूसँग भिडेर राष्ट्रिय चर्चामा आएका थिए। तिलाठीमा खाँडो नियन्त्रणको लागि हरेक वर्ष रु.८ लाखदेखि रु.१० लाखसम्म सरकारी बजेट आउने उनले स्वीकारे। खिलराज रेग्मी नेतृत्वको सरकारमा उमाकान्त झा सिंचाइ मन्त्री हुँदा खाँडो नियन्त्रणको लागि आएको रु.१५ लाख बजेट खर्च गर्ने पनि यादव नै थिए। “बाँध मर्मत गर्ने, बालुवा भरेको बोरा राख्ने काम मेरै नेतृत्वमा भइरहेको छ, तर पुगिरहेको छैन”, उनी भन्छन्।

पछिल्लो समय तिलाठी गाविसको सबै बजेट सडकमा लगानी गरिंदैछ। चालू आर्थिक वर्षमा पनि सबै बजेट माटो भर्न र ग्राभेल गर्नमै खर्च भएको वडा सचिव झ्ा बताउँछन्। उनका अनुसार, सांसद् (उमेश यादव) विकास कोषको रु.१० लाखले एकसय मिटर सडक ढलान र दुईसय मिटर ग्राभेल हुँदैछ। र, तिनलाई पनि खाँडोको भेलले बगाउनेछ। भैंसी चराउँदै गरेका हेमनारायण मिश्र (६४) ले हाँस्दै मैथिलीमा भने, “बजेट जुनसुकै ठाउँबाट आए पनि आधा गाउँका ठूलाबडा र नेताहरूले खान्छन्, आधा खाँडोले बगाउँछ।”

ललितनारायण कर्णले भने यस विषयमा आक्रोश पोखे। उनले यो वर्षको बाढी खाँडो नदीले नभई नेताहरूले ल्याएको बताए। खाँडोले हरेक वर्ष बाढीसँगै राहत र नदी नियन्त्रणको लागि बजेट ल्याउने तर सप्तरीका नेता र तिलाठीका टाठाबाठाले बाढी गाउँतिर पठाएर बजेट खाने गरेको आरोप लगाए। अधिकांश तिलाठीवासीले ठूलाबडाले 'खाँडोलाई कमाउने भाँडो' बनाएको गुनासो गरे।

comments powered by Disqus

रमझम