किन सुस्तायो?

Share:
  
- मनिष झा
मधेशका मुद्दा सही भए पनि तिनलाई बोकेका अभियन्ताहरूको कमजोरीका कारण आन्दोलन सुस्ताएको छ।

विश्वको सबैभन्दा पुरानो आन्दोलन भनेर महिला समानताको आन्दोलनलाई मानिन्छ। १६औं शताब्दीबाट शुरू भएको यो आन्दोलन अहिले पनि त्यत्तिकै सान्दर्भिक र प्रभावकारी मानिन्छ। यूरोपको आइसल्यान्ड, स्वीडेन, हल्यान्ड, आयरल्यान्ड, नर्वे जस्ता देशमा महिला अधिकार निकै राम्रो भएतापनि अमेरिका जस्तो विकसित राष्ट्रमा २०औं शताब्दीको शुरूआततिर आएर मात्र मताधिकार पाएका हुन्। नेपाल अहिले महिला लैंगिक समानताको कुरामा ११०औं स्थानमा पर्छ।

लैंगिक समानताको लागि चार शताब्दी भन्दा लामो महिला आन्दोलनको सन्दर्भले यो कुरा पनि प्रष्ट हुन्छ कि आन्दोलन सजिलो खेल हैन र हल्का रूपले उद्देश्य प्राप्ति नहुन पनि सक्छ।

पछिल्लो समयमा १ प्रतिशत विरुद्ध ९९ प्रतिशतको आवाज भनेर अमेरिकामा भएको 'आकुपाई वालस्ट्रिट' नामक विरोध प्रदर्शन र अरब स्पि्रङ्गलाई लामो आन्दोलनको रूपमा लिइन्छ। ब्राजिलमा भ्रष्टाचार विरुद्धको आन्दोलन र थाइल्यान्डको रातो सर्ट विरोध पनि लामो समयसम्म चल्यो। यी सबै प्रदर्शन र आन्दोलनमा एक समानता छ– त्यो हो लामो समयसम्म सबै अभियन्ता मागमा अडिक रहे। असमानता चाहिं यो छ कि सबैले सफलता पाएनन्।

आन्दोलन भनेको न अजेन्डा मात्र हो, न त प्रदर्शनमा सहभागी भीड मात्र नै। आन्दोलन भनेको स्पष्ट अजेन्डासहितको त्यस्तो अभियान हो, जसमा सहभागीको निरन्तरता हुन्छ। भारतमा भएको सत्याग्रहको सफलताको एक कारण नै त्यसको मागमा रहेको स्पष्टता थियो– 'यो हाम्रो भूमि हो र हामी हाम्रो भूमिमा अरूबाट शासित हुन्नौं।' नेपालमा प्रजातन्त्रको लागि भएको १३ वर्ष लामो सत्याग्रहमा पनि त्यो स्पष्टता थियो र सफल भयो।

यी सब आन्दोलनको सन्दर्भमा अब मधेश आन्दोलनबारे छोटो चर्चा गरांै। मधेश आन्दोलनका मुद्दाहरू सही छन्, ती मुद्दालाई राजनीतिकरण गरेर बोक्ने अभियन्ताहरू गलत। दोस्रो चरणको निर्वाचन पश्चात हामी सजिलै अनुभव गर्न सक्छौं कि मधेश आन्दोलन कमजोर बन्दैछ। मुद्दाले होइन अभियन्ताहरूको अप्रभावकारिताबाट आन्दोलन कमजोर हुँदैछ। यो सन्दर्भमा मधेश आन्दोलनबारे थप छलफल जरूरी छ।

मापक, साख र साझेदारी

अहिले पनि काठमाडौं उपत्यकाका शिक्षित जमातलाई थाहा छैन कि पछिल्लो मधेश आन्दोलनका मागहरू के के हुन्। यसलाई मधेश आन्दोलनप्रति गैर–मधेशी समुदायको उदासीनता पनि भन्न सकिएला, तर त्यो चासो सृजना गर्न नसक्नु आन्दोलनकारीको कमजोरी हो। उपत्यकामा समय समयमा सभा गरेर सबै साझ्ेदारलाई जानकारी गराउन आवश्यक थियो। संचारजगतले चासो नदिएको भए समय किनेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न सकिन्थ्यो। तर, बन्द नै हो आन्दोलनको सूत्र भन्ने सोचले तराईवासीलाई पनि आजित बनायो, काठमाडौंलगायत मधेश बाहिरको नेपाललाई आन्दोलनको भावनाले कहिल्यै छोएन।

आन्दोलनको मापक शहीदको संख्या र बन्द भएका दिनहरूको गन्ती मात्र हुन सक्दैन। श्रीलंकाली तमिल, अरबका आईएसआईएस, भारतका माओवादीलगायतको हिंसात्मक आन्दोलनमा मृतक त धेरै भए तर समर्थन किन घटिरहेको छ? किनकि आन्दोलन केवल मृतक संख्या हैन, त्यो मृत्रुयुको कारण र अर्थ पनि हो। मधेश आन्दोलनताकाको शहीदप्रति सम्मान छ तर अभियन्ता वा अगुवाहरूले उनीहरूको मृत्युको अर्थ–महत्व प्रष्ट्याउन नसकेकोमा दुःख र खेद छ। आन्दोलनमा ज्यान गए रु.५० लाख दिन्छौं, उपत्यकाको दानापानी बन्द गर्छौं भन्ने जस्ता अभिव्यक्तिले शहीदको योगदान धमिल्याएको छ।

मधेशको लागि लागिपरेका छौं भन्ने आभियन्ताहरूको राजनीतिक साखमा धेरै शंका गर्ने ठाउँहरू छन्। हुन त यो नेपाली राजनीतिकै चरित्र हो तर यो मामिलामा मधेश झ्नै कमजोर देखियो। परिवर्तनको दुहाइ दिनेहरूले मौका परेको बेला अरूले झ्ैं गरे। पाएको एकमात्र सभासद्को पद पनि आफ्नै परिवारमै राख्नु, भएका अरू पद पैसा र सम्बन्धमा साट्नु गलत राजनीतिक प्रवृत्ति हो, जुन मधेश आन्दोलनसँग जोडिएकाहरूमा धेरै देखियो।

आन्दोलनमा अभियन्ताले साझेदार बढाउँदै लैजानुपर्ने हुन्छ। यसमा मधेश आन्दोलनको ठूलो कमजोरी छ। मधेशवादी दलहरूले उपत्यकामा रहेका मधेशी समुदाय, मधेशका अन्य समुदाय कसैसँग सहकार्य नगर्नु कमजोरी हो। नेपाल र भारतमा भएका विभिन्न आन्दोलनको सफलताको कारण नै जोडदार सहभागिता थियो। भारतको सत्याग्रहमा नेपालीको सहभागिता, नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतीय सहयोग त्यसका उज्ज्वल दृष्टान्त हुन्।

म विश्वास गर्न चाहन्छु, मधेश आन्दोलन सकिएको छैन र यसरी नै सकिनु पनि हुँदैन। अब यो अधिकार प्राप्ति र स्वाभिमानको अभियानले नयाँ स्वरूप, नयाँ तरिका र नयाँ अनुहार खोजेको छ, जसले अरूलाई उनीहरूकै भाषामा मधेशको पीडा बुझाउन, साझेदारी–सहकार्य बढाउन सकोस्। मधेशमा आगो बालेर, मधेशलाई नै पीडा दिएर मधेश आन्दोलन सफल हुन सक्दैन।

comments powered by Disqus

रमझम