सावर इन्क्लोजर

Share:
  

पहिले शौचालय, स्नान र लुगा धुने ठाउँलाई फरक फरक कोठा बनाइने गरे पनि अहिले एउटै ठाउँमा यी दुवैलाई समेटिने गरेको छ। परिवर्तित स्वरुप अनुसार, यो कक्षको नाम पनि फेरिंदो छ, जस्तो कि ट्वाइलेट, बाथरुम, वासरुमहुँदै रेष्टरुम।
जुनसुकै नाम दिए पनि यसको महत्व भने पहिलेभन्दा बृहत् भएको छ। ओछ्यानपछि दिनको शुरुआत रेष्टरुमबाटै हुने भएकोले पनि यो कक्ष आरामदायक, आकर्षक र 'रिफ्रेस' हुन जरुरी छ। अत्यन्त निजी क्षण बिताउने ठाउँ भएकोले पनि यसतर्फ ध्यान जानु आवश्यक छ।

रेष्टरुम शौच, नुहाउने र लुगा धुनेका अतिरिक्त आनन्द लिने ठाउँ पनि बनेको छ। त्यसैले यसभित्र सजावट र सुविधाका पूर्वाधारहरु थपिने क्रम बढ्दो छ। त्यसैको पछिल्लो उदाहरण हो– सावर इन्क्लोजर।

सानेपा, ललितपुरका सुदीप पाठकले हालै मात्र बनाएको घरको पाँच वटै रेष्टरुममा सावर इन्क्लोजर राखेका छन्। यसअघिको घरमा भने सावर इन्क्लोजर थिएन। रेष्टरुम सुक्खा हुँदा सफा हुने र चिप्लेर लड्ने डर समेत नहुने उनी बताउँछन्। “नुहाउन एक पटक रेष्टरुम पसेपछि यसको प्रयोग धेरै कामका लागि गरिन्छ” उनी भन्छन्, “सावर इन्क्लोजरले रेष्टरुम आकर्षक र सुरक्षित बनाएको छ।”

अहिले चीनबाट आयात गरिएका तयारी सावर इन्क्लोजरले बजार लिएको छ। त्यसो त आफ्नो आवश्यकता अनुसारको सावर इन्क्लोजर यहीं पनि बनाउन नसकिने भने होइन।

सुक्खा रेष्टरुम

अहिले अधिकांश रेष्टरुममा ट्वाइलेट प्यानको सट्टा कमोडको प्रयोग गरिन्छ। अमात्य ग्लास सेन्टरका सञ्चालक गजेन्द्र अमात्य सावर एरियालाई कमोडबाट अलग राख्ने काम सावर इन्क्लोजरले गर्ने बताउँछन्। २५ वर्षदेखि ग्लासको कारोबार गर्दै आएका अमात्यका अनुसार सात वर्ष यता सावर इन्क्लोजरको प्रयोग बढेको छ। उनका अनुसार, रु.३० हजारदेखि रु.७० हजारसम्ममा सावर इन्क्लोजर बनाउन सकिन्छ।

रेष्टरुमको साइज अनुसारको सावर इन्क्लोजर राख्न सकिन्छ। पूरा वा आधा, पूरामा पनि स्लाडिङ र स्वीङ सिस्टमको ढोका बनाउन सकिन्छ। यसमा मल्टी फ्लो, ओभर हेड तथा ह्यान्ड सावर पनि राख्न सकिन्छ।

हुनत बनिसकेको घरमा पनि सावर इन्क्लोजर राख्न सकिन्छ तर पानीको प्रबन्ध मिलाउन घर बन्दाबन्दै यसबारे सोच बनाउनु उत्तम मानिन्छ। सावर इन्क्लोजरमा सिसाको प्रयोग हुने भएकोले फराकिलो समेत देखिन्छ। सिसाबाट बनाइने इन्क्लोजर सफा गर्न पनि सहज हुन्छ।

उज्यालो र घाम लाग्ने तथा हावा लाग्ने ठाउँमा रेष्टरुम बनाउनु उपयुक्त मानिन्छ। साथमा भेन्टिलेटर तथा एडजस्ट फ्यान राख्नुपर्छ। सोकेस, ह्याङ्गर राख्न सकिन्छ। डेकोरेटिभ लाइट्सको प्रयोगले बाथरुम थप आकर्षक पनि बनाउन सकिन्छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम