बौद्ध खानपानका चियोचर्चा

Share:
  
- बसन्त महर्जन
शाकाहारलाई अहिंसासँग जोडेर भोजनमा माछामासु वर्जित गर्नु मात्र अहिंसा होइन।

बसन्त महर्जन
हालै एउटा कार्यक्रमपश्चात भोजनका बेला एक जना मेरो पछि लागेका रहेछन्, के–के खाँदोरहेछ भनेर हेर्न। उनकै योजनाअनुरूप बसाइ पनि एउटै टेबलमा थियो। खान थाल्नासाथ उनले बौद्ध धर्मलाई जोड्दै मांसाहारबारे सोध्न थाले। उनले सामान्य लाग्ने, तर प्रतिनिधि प्रश्नहरू सोधेका थिए, जसको सही जवाफ सम्प्रेषण नहुँदा भ्रमसँगै नकारात्मक धारणाले ठाउँ पाइरहेको छ।

अन्य समुदाय वा धर्मावलम्बीहरूमा बौद्ध पहिचान देखाउनेहरूको रहनसहन, सोचविचार के–कस्तो हुन्छ भन्ने जिज्ञासा वा कौतुहल हुनु स्वाभाविक हो। अहिंसावादी धर्म भनेपछि बौद्धहरूको खानपानमा चासो हुने नै भयो। कतिले त्यसका लागि चियोचर्चा गर्छन्। चियोचर्चा र त्यसपछिका टिप्पणीहरू चाहिं प्रायः बेतुकका हुन्छन्। बुद्ध र बौद्ध धर्मको आधारभूत मान्यताबारे जानकारी भए यसखालको समय कटनी शायदै हुनेथियो।

सामान्यजन हुन् वा उच्चतहका भिक्षु, दैनिक जीवनमा पालना गर्नैपर्ने बौद्ध शीलमा जाँडरक्सीलगायतका लागूपदार्थ सेवन नगर्न भनिएको छ। हरक्षण सतर्क रही धर्ममा चित्त लगाउन प्रेरित गर्ने बौद्ध धर्मले प्रायः अचेत वा मदहोश बनाउने कुराबाट विरक्त हुन वा त्यसबाट टाढा रहन यस्तो शीलको प्रावधान राखेको बुझन सकिन्छ। भोजनबारे भने शाकाहारी वा मांसाहारी भनेर किटान छैन। मानव देहलाई कष्ट दिंदैमा धर्म नहुने मान्यता रहेको बौद्ध धर्मले शरीरलाई स्वच्छ–स्वस्थ बनाउनुपर्नेमा जोड दिन्छ, अस्वस्थ भए दैनिक जीवनका सम्पूर्ण काम प्रभावित हुने भएकोले।

बौद्धहरूका लागि निर्धारित पहिलो शील नै साना–ठूला, राम्रा–नराम्रा कुनै पनि प्राणीको हत्या नगर्ने हो। प्राणी हत्यालाई अकुशल कर्ममा राखिएको छ। यसले पुण्य संचयमा प्रभाव पार्छ। प्राणी हत्या नगरी मासु प्राप्त नहुने भएकोले मासु खानै हुँदैन, मासु खाएपछि मान्छे भ्रष्ट हुन्छ वा त्यस्तो मान्छे बौद्ध हुन सक्दैन भन्ने तर्क अतिवादी सोचबाट प्रभावित छ। बौद्ध धर्मदर्शन कुनै पनि खालको अतिवाद नभएर मध्यममार्ग हो। शाकाहारी हुनु आफैंमा राम्रो हो, तर बौद्ध भएपछि शाकाहारी नै हुनुपर्छ भन्ने आग्रह व्यक्तिगतस्तरमा मात्र सही हुनसक्छ। दोस्रो व्यक्तिमा पनि यस्तो आग्रह थोपर्नु त बौद्ध भावना विपरीत हुन जान्छ।

गौतम बुद्ध आफैं पनि पूर्ण शाकाहारी थिएनन्। उनले भिक्षु, भिक्षुणी र गृहस्थहरूमा पनि कहिल्यै मांसाहार निषेध गरेनन्। त्रिपिटकमा मांसाहारका थुप्रै प्रसंग छन्। ८० वर्षको उमेरमा सुँगुरको मासु पचाउन नसक्दा बुद्धको महापरिनिर्वाण भएको थियो। उनले खाएको 'सुकरमद्दप' नामक उक्त खाद्यपदार्थ सुँगुरको मासु नभई च्याउ भएको भनाइ पनि छ।

बौद्ध समुदायमा मांसाहार गर्ने सर्वसाधारण होउन् वा भिक्षु–भिक्षुणी, एउटा शर्त भने पालना गर्नै पर्छ, त्यो हो त्रिकोटी परिशुद्ध मांस। भोजनका लागि पशुपक्षीको वध गर्न आदेश नदिएको, वध गरेको नदेखेको र आफ्नो लागि भनी प्राणीवध गरेको कुरा थाहा नपाएको मासु त्रिकोटी परिशुद्ध मांस हो। यस्तो मांसमा हिंसाभाव नहुने भएकोले भोज्य पदार्थको रूपमा लिइएको हुन्छ। मासु होस् वा अन्य भोज्य पदार्थ, स्वादमा भने आसक्त हुनुहुँदैन भनिएको छ। स्वादमा आसक्त हुँदा तृष्णा उत्पन्न हुन्छ। बौद्ध दर्शनले तृष्णालाई समस्याको जड मान्दछ। बौद्धहरू हरप्रकारको तृष्णा नियन्त्रण गर्ने अभ्यासमा हुन्छन्।

गौतम बुद्धको समयको वैदिक समाजमा यज्ञ र होममा पशुबलि दिने चलनले विकृतिको रूप लिएको थियो। त्यो अवस्थामा बुद्धले वेदका आधारभूत मूल्यमान्यताका साथै दैनन्दिनका विकृतिहरूमाथि प्रहार गरेर आफ्नो मत स्थापना गरेका थिए। पछि वैदिक पुनरुत्थानको क्रममा अगुवाहरूले वैदिक मूल्यमान्यतामा सुधार गरेर बलि निरुत्साहन र सात्विक भोजनमा जोड दिए।

गौतम बुद्धभन्दा केही अघि महावीर वर्धमानद्वारा स्थापित जैन धर्ममा अहिंसा र शाकाहारमा जोड दिइएको थियो। तर, बुद्धले महावीरको दृष्टिकोणलाई पनि 'अतिवाद' मानेर 'मध्यममार्ग' मा जोड दिए। यी दुई व्यक्तित्वका हिंसाबारेका धारणा फरक छन्। अहिंसा र शाकाहार फरक विषय हुन्। बौद्ध धर्ममा मांसाहारी हुनुलाई व्यक्तिगत कुरा मानिन्छ।

comments powered by Disqus

रमझम