प्रश्नमा निर्भर

Share:
  
- मनोज पण्डित
चलचित्र क्षेत्रमा पनि थुप्रै 'शेरबहादुर देउवा' छन्, जो आफ्ना चलचित्रमाथि प्रश्न होइन, प्रशंसा मात्र खोज्छन्।

तपाईं बढी बोल्दै हुनुहुन्छ! प्रधानमन्त्री शेरबहादुर देउवाले एक टेलिभिजन अन्तर्वार्तामा प्रश्नकर्तालाई उल्टै थर्काउँदै भनेको यो भनाइ अहिले चर्चामा छ। लोकतन्त्रको आधारभूत तत्व भनेकै जनताको अभिव्यक्ति स्वतन्त्रता हो। यो स्वतन्त्रताकै कारण शासनलाई जनताप्रति जवाफदेही हुन बाध्य पार्छ। तर, प्रधानमन्त्रीले जनताको प्रश्न गर्ने अधिकारमाथि नै प्रश्न गरेको पाइयो।

प्रधानमन्त्रीको यस्तो जवाफले मलाई एकाएक हाम्रा कतिपय चलचित्रकर्मीको व्यवहार सम्झायो। “यति राम्रो चलचित्रमा त्रुटि देखाउने? मेरो चलचित्र बुझ्न त चलचित्र पढेको हुनुपर्‍यो नि”, स्वयं चलचित्रकर्मी नै दर्शकलाई यसखाले जवाफ दिइरहेका हुन्छन्। दर्शकप्रतिको हेपाइका अनेक उदाहरण छन्।

राजनीतिका लागि जनता जस्तै हुन्, चलचित्रका लागि दर्शक। जनता पछि नलागे जित हासिल हुँदैन, दर्शक हलसम्म नगए चलचित्र चल्दैन। तर, यो वास्तविकतालाई बिर्सेर पटकपटक नेता र चलचित्रकर्मी जनता र दर्शकको मानमर्दन गर्न अघि सर्छन्।

प्रश्नसँगको भय

प्रसिद्ध चिनियाँ लेखक तथा युद्ध रणनीतिकार लु सुनले द आर्ट अफ वार पुस्तकमा लेखेका छन्, “यदि तिमी युद्ध जित्न चाहन्छौ भने सर्वप्रथम आफ्नो दुश्मनलाई चिन, सम्मान गर।” तर, हामी त दुश्मनलाई घृणा र बहिष्कार गर्छौ।

हामी प्रश्न रुचाउँदैनौं, डराउँछौं। प्रश्न नभइदिए, नआइदिए, नसोधिदिए हुन्थ्यो भन्ने चाहन्छौं। कारण, प्रश्नले हाम्रो अभिमान, स्वार्थ, अकर्मण्यता, गैरजिम्मेवारी र अज्ञानतालाई चुनौती दिन्छ। त्यसकारण पनि हामी प्रश्नबाट परै बस्न चाहन्छौं। तर, प्रश्नसँग वैमनस्य हुनुको अन्तर्य के हो त? कतै यो हाम्रै धर्मसंस्कृति सिर्जित मनोविज्ञान त होइन? हामीले मानिआएको धर्मले आस्था र भक्तिमा लीन हुन भन्यो, प्रश्न गर भनेन। ईश्वरका कथा र किम्बदन्तीहरूमाथि प्रश्न गरिएन। हुँदाहुँदा कर्मकाण्डी पण्डितहरूले तय गरेका कतिपय सामाजिक नियम र सिद्धान्त पनि बहसभन्दा पर्तिर लाग्दै गयो।

पश्चिमाहरूले भने पटकपटक आफ्ना स्थापित मूल्य मान्यता माथि प्रश्न गरे, यसो गर्दा धेरैले सूली चढ्नु, विष पनि पिउनुपर्‍यो। तर त्यही प्रयत्नले त्यो समाजलाई समृद्ध तुल्यायो। प्रश्न गर्ने संस्कृतिको विकास गर्दै पश्चिमाहरूले मानवीय मस्तिष्कको आधारभूत चरित्रलाई सृजनात्मक बनाए। किनकि मस्तिष्कको आधारभूत चरित्र नै प्रश्न गर्नु हो। त्यहाँ चेतनाले प्रश्नको रुप लियो।

तर, अक्सर शासक र शक्तिवानहरू विना प्रश्न आफूले निर्माण गरेका सत्यलाई सबैले स्वीकारुन् भन्दै आतंक उत्पन्न गराउँछन्। दुर्भाग्य त तब देखिन्छ जब प्रश्न गरेरै यहाँसम्म आइपुगेका नेताहरू आफूलाई चाहिं प्रश्नभन्दा माथि ठान्छन्। इतिहासमा लडिएका जति पनि क्रान्ति छन् ती सबैको जन्म प्रश्न नै हो। प्रश्नले नै हो, जसले नायक जन्माउँछ, खलनायक बनाउँछ, इतिहास लेख्छ, कथा जन्माउँछ। त्यही कथाले चलचित्रको सृजना हुन्छ।

चलचित्रः एउटा युद्ध

चलचित्र पनि एउटा सिर्जनात्मक 'युद्ध' हो, स्रष्टा–दर्शकबीचको। युद्धमा स्रष्टाले जिते दर्शक आनन्दित हुन्छन् तर जब स्रष्टा हार्छन्, दर्शक निराशा बोकेर फर्कन्छन्। कला र साहित्यको संवेदनाले भरिएको यो यस्तो अचम्मको युद्ध हो जहाँ दर्शक समय र पैसा खर्चेर हार्न तयार हुन्छ।

तर, दर्शकलाई हराउन कहाँ सजिलो छ र? यसका लागि चलचित्रकर्मीले दर्शकको मस्तिष्कमा उठ्ने हरेक प्रश्नहरूलाई परास्त गर्न सक्नुपर्छ। यदि चेतनशील दर्शकलाई चलचित्र देखाउने हो भने त्यस्ता प्रश्नहरूलाई सधैं स्वीकार गर्नुको विकल्प छैन। नेपाली चलचित्रको सफलता/असफलता, विकास/विनाश यही प्रश्न र उत्तरमै अल्झिएको छ।

भनिन्छ, 'चलचित्र खिच्ने क्यामेराले मस्तिष्क खिच्छ।' नहोस् पनि कसरी; दृश्य, पात्र, घटना सबै मस्तिष्ककै उपज हुन्। जब यो विचारको स्वीकारोक्ति हुँदै गयो त्यसपछि अत्यन्त शक्तिशाली चलचित्रहरू निर्माण भए। नेपाली चलचित्रकर्मीले पनि यो सत्यसँग अनुभूत गर्ने हो भने कालजयी चलचित्र बनाउन सकिन्छ। त्यसको पहिलो पाइला भनेको मस्तिष्कमा उठ्ने प्रश्नहरूको खोजी नै हो।

तर, यसो भनिरहँदा मुलुकमा प्रश्न गर्ने वातावरणबारे पनि घोल्लिनुपर्ने विडम्बनापूर्ण अवस्था आइलागेको छ। अवस्था कस्तो आइपरेको छ भने, स्वयं प्रधानमन्त्री नै प्रश्नप्रति घृणा गर्छन्। यस्तो बेला के एउटा स्रष्टाले सत्ता र शक्तिसँग विना भय प्रश्न गर्न सक्छ? के हाम्रा चलचित्रले विकृत राजनीति, अराजकता, भ्रष्टाचार, असङ्गतिमाथि प्रश्न गर्न सक्छन्? प्रधानमन्त्रीको उत्तर के होला?

comments powered by Disqus

रमझम