राष्ट्र ध्वजावाहकसँग

Share:
  
- कनक दीक्षित
आक्रोशबाट अपनत्वको बाटोमा हिंडेको रहेछ राष्ट्र झण्डा।

कनकमणि दीक्षित
पहिलो लोकतन्त्र दिवस ११ वैशाख, २०६४। माओवादी वेगका साथ खुला राजनीतिमा आएको बेला गणतन्त्रमा लोकतान्त्रिक, जनताप्रेमी छाप लागोस् भनेर केही अभियन्ता मिलेर बसन्तपुर डबलीमा ठूलो सभा आयोजना गर्‍यौं। सुशील प्याकुरेल, दीपेन्द्र झा, यज्ञ थापासहितको हाम्रो टोलीलाई ट्रेड युनियन र विद्यार्थी युनियनहरूको पनि सहयोग मिल्यो। र, २०६२–६३ सालको जनआन्दोलनपछिकै ठूलो हुनपुग्यो त्यो बसन्तपुरको कार्यक्रम।

एक्कासि भीडमाझ थप कोलाहल, असनतिरबाट एउटा जमात नारा लगाउँदै छिर्‍यो, र छिचोल्दै खडा गरिएको अग्लो मञ्चतर्फ आयो। वाईसिएल पहिलो पटक सार्वजनिक भएको रहेछ शहरमा। ठिटाहरूको मुहारमा आक्रोश देखिन्थ्यो, अधिकांशले स–सानो झोला भिरेका थिए, पिस्तोल बोक्नका लागि।

सबै दलका नेतृत्व डाएसमा बसेका थिए, भीड नियन्त्रणबाट बाहिर जाँदैथियो, कतिले मञ्चमै उक्लेर ताण्डव गरे। र, डाएसको एकापट्टिको भाग भाँचियो पनि। सुशीलजी भीडलाई संयमित बनाउन माइक प्रयोग गर्दै हुनुहुन्थ्यो, म भने थप मानिसलाई मञ्चमाथि आउनबाट रोक्न थालें, डिलमा बसी खुट्टाले छेक्दै। माओवादी नेतालगायत सबैलाई जोगाउन त्यसो गरियो, तर भोलिपल्ट माओवादी मिडियाले मेरो प्रयासलाई 'सामन्ती प्रवृत्ति' को रुपमा चित्रण गरे!

मञ्चमा जमातको चाप बढ्दै र अवस्था झनै अनियन्त्रित बन्दै गयो। त्यसै बेला कसैले मेरो हातमा जेलको डण्डीभित्र कैद ज्ञानेन्द्रको अनुहार भएको ठूलो प्लेकार्ड थमाइदियोजो माओवादीले नै मुद्रण गरेको हुनुपर्छ। अप्रिय घटना हुन नदिनु थियो तसर्थ मैले प्लेकार्डलाई माथि उक्लिएर मन्दिरको आडमा सबैले देख्ने गरी अड्याइदिएँ। त्यसले काम गर्‍यो, वातावरण शान्त हुँदैगयो र कार्यक्रम अगाडि बढ्यो। पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदि नेतासँग मक्ख परी बसेका (आजैसम्मका) 'नागरिक अगुवा' हरूले सिन्को भाँचेनन्, म सम्झन्छु।

'कनकमणिले राजाको पोष्टर जनताको हातबाट थुते' भन्ने प्रचार पनि भयो, एक टुक्रा मोन्टाज् भिडियो क्लिपको भरमा। ममा भने सधैं एउटा कौतुहल रहिरह्यो– तनावग्रस्त अवस्था बुझिकन जमातलाई शान्त पार्ने उपायसहित त्यो प्लेकार्ड मेरो हातमा थमाउने को थियो?

त्यो कौतुहलको जवाफ मैले असार १६ गते शुक्रबार बिहान इच्छुमती (टुकुचा) सफाइ अभियानको बेला पाएँ। नेपालका सुपरिचित 'झण्डा अभियन्ता' कालीमाटी घर भएका लक्ष्मीनारायण शिल्पकारसँग त्यहाँ भेट भयो। उनी ज्यान भन्दा ठूलो राष्ट्र झण्डा बोकेर ढल र फोहोर सरसफाइमा लागेकाहरूलाई हौसला दिन आइपुगेका रहेछन्। म उनको तस्वीर खिच्न अघि बढें। बडो आत्मीयताका साथ लक्ष्मीनारायणजीले भने, “चिन्नुभो? तपाईंको हातमा ज्ञानेन्द्रको पोष्टर थमाइदिनेलाई!”

१६ असार शुक्रबार बिहान टुकुचा किनार भेटिएका लक्ष्मीनारायण शिल्पकार।
र, एकदशक पश्चात् मैले उनलाई धन्यवाद दिएँ। उनको 'क्राउड कन्ट्रोल' सोचले त्यो बसन्तपुर सभालाई नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सघाएको थियो, आजैजस्तो थियो मेरो लागि त्यो क्षण।

मेरो लागि मौका नै भयो। राष्ट्रध्वजा काँधमा बोकेर, दौरा–सुरुवाल र इष्टकोटमा ठाँटिने यी एक्लो अभियन्तासँग भेट्ने, कुराकानी गर्ने अवसर जुर्‍योपो! एक हप्ता अगाडि मात्र लक्ष्मीनारायणजीले सिंहदरबार चौबाटोमा पृथ्वीनारायणको सालिकमुनि झण्डा फहराएको तस्वीर खिचेको थिएँ।

जनआन्दोलनको बेलासम्म उनी पुर्ख्यौली पेशा काठको कारिगरी गर्दारहेछन्, तर लम्बिएको संक्रमणकालमा विस्तारै जनताको आत्मबल खस्किएको देखेर कुनै 'नागरिक समाज' मा नलागिकन दौरा–सुरुवाल लगाएर राष्ट्रध्वजा बोकेर एक्लो जनतामाझ हिंड्ने प्रण गरे– धूलो, धुवाँ, घामपानी सबै सहेर।

आजसम्म आउँदा उनी मुलुकका प्रायः भूभाग घुमिसकेका रहेछन्, र यस अन्तरालमा नागरिकको सोचाइ र मूड फेरिएको देखेछन्। पहिला पहिला झण्डा बोकेर हिंड्दाको परिस्थितिलाई 'विषम' नै भन्नुपर्छ। झण्डालाई देश/मुलुक/वतनसँग नभई 'राष्ट्रवाद' सँग जोड्न रुचाउँथे माओवादी तथा कतिपय 'आइडिन्टीटी जुझारु' हरू।

लक्ष्मीनारायणजी भन्छन्, “मैले यो झण्डा बोकेर हिंड्दा तँ राजावादी, राप्रपा, के–के के–के भन्थे। त्यस्तो थियो अवस्था। तर म जवाफ दिन्थें– तिमीहरूले बुझेका छैनौं राजाको झण्डा अर्कै हुन्छ, उभिएको सिंह छ त्यसमा। ज्ञानेन्द्रले यो राष्ट्र झण्डाको महत्व बुझेनन्। त्यस्तै आजका नेताहरूले पनि यो राष्ट्र झण्डाको मर्म बुझेका छैनन्, र त जनताको सेवा गर्नबाट चुकेका छन्।”

ठाउँठाउँमा लक्ष्मीनारायणजीलाई चिया खुवाउँछु भनेर बोलाउने धेरै थिए रे! विशेषगरी राप्रपाका सदस्यहरूले आफ्नै ठानेर पसलमा लैजान्थे, तर उनको लोकतान्त्रिक गणतन्त्रवादी कुरा सुनेपछि चटक्क छोडिदिन्थे। उनी भन्छन्, “मेरो विचारधारा त कम्युनिष्ट हो, तर मेरो बुझाइमा यो मुलुकमा कोही पनि वास्तविक कम्युनिष्ट छैन।”

तराई–मधेश झर्दा कतै कतै आन्दोलित युवाहरूले झण्डा झार्न लगाए भने कतै अलि पाका नागरिकले थन्क्याएको झण्डा पनि फहराउन लगाए। लक्ष्मीनारायणजी प्रफुल्ल मुद्रामा भन्छन्, “आज आएर राजपा–नेपाल पार्टी समेत आफ्नो कार्यक्रममा चन्द्र–सूर्य लिएर हिंड्न थाल्यो।”

राष्ट्रध्वजावाहक लक्ष्मीनारायण शिल्पकारलाई भेट्दा एक त दशक अगाडिको त्यो क्षण र दृश्य आँखा अगाडि आयो, र धन्यवाद दिने मौका मिल्यो। अर्को, राष्ट्रध्वजाको बिम्बबाट मुलुकको बदलिएको समाजशास्त्रीय र राजनीतिक परिवेश बुझ्ने मौका पनि भयो। यो ध्वजाको अपनत्व बढ्नु भनेको राजनीतिक स्थिरता र आर्थिक प्रगति अब छेवैमा आइपुग्यो भन्नु हो।

comments powered by Disqus

रमझम