१-७ साउन २०७४ | 16-22 July 2017

धन्यवाद धनगढी

Share:
  
- बच्चु विक
उपमहानगरपालिकामध्ये एक धनगढीमा मेयर निर्वाचित दलित समुदायका नृप वड यहाँका मददाताले समाज परिवर्तनको गतिलो संकेत दिएको बताउँछन्।

दीर्घराज उपाध्याय
नृप वड, मेयर धनगढी उपमहानगरपालिका।
९ असारमा धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले क्याम्पसचोकमा आयोजित आमसभामा तीनपटक दोहोर्‍याएर गरेको आह्वान थियो– “तपाईंहरूले नमस्कार गर्नुपर्दैन, नृप आफैं घर–घरमा आएर नमस्कार गर्नेछन्। उनलाई यस्तो गर, उस्तो गर भन्न सक्नुहुन्छ, अरूलाई सक्नुहुन्न। आफूले अह्राउन सक्ने मान्छेलाई भोट दिनुस्।”

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले जोड दिएर त्यसो भन्नुुको कारण थियो– अझै पनि तुलनात्मक रूपमा चर्को जातीय विभेद रहेको प्रदेश–७ को एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा दलितले भोट पाउँदैनन् भन्ने हल्ला। कतिसम्म भने, नृप वड उम्मेदवार बन्नुअघि कांग्रेसभित्रै एक थरीले 'जनताले जिताए भने उनलाई हामीले पनि नमस्कार गर्नुपर्छ, त्यसैले टिकट दिनुहुन्न' भनेर विरोध गरेका थिए। र पनि, टिकट पाएका वडको चुनावी सभामा प्रधानमन्त्री देउवाले दोहोर्‍याई तेहेर्‍याई जुन खालको कुरा बोले, त्यसले उल्टो असर पार्छ कि भन्ने चिन्ता पनि गरिएको थियो।

तर, जातीय–क्षेत्रीय विवादलाई बेवास्ता गरेका धनगढीका मतदाताले ४५ वर्षीय नृप वडलाई १४ हजार ३२४ भोटका साथ मेयरमा निर्वाचित गरे। स्वतन्त्र उम्मेदवार बनेका व्यवसायी गोपाल हमाल ११ हजार ५२७ मतका साथ वडका निकटतम प्रतिद्वन्द्वी हुन पुगे भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले क्रमशः तेस्रो र चौथो स्थानमा रहे।

कठोर यात्रा

अछामको साँफेबगर नगरपालिका–३ घुँघुरकोटका किसान करन वड नेपाली कांग्रेस समर्थक भए पनि राजनीतिमा खटेर लागेनन्। पाँच सन्तान भएपछि गुजारा सहज पार्न कैलाली सदरमुकाम धनगढी नजिकैको जाई गाउँमा झ्रेका उनले छोराछोरीलाई जसोतसो धनगढीमै पढाए। तिनैमध्येका माइलो नृप वड बुवाको कांग्रेस निकटताका कारण त्रिनगर माविमा १० कक्षामा हुँदा नेपाल विद्यार्थी संघमा आबद्ध भए। “कैलाली बहुमुखी क्याम्पसमा नेविसंघको लागि प्रतिबद्ध भएर काम गरें” वड भन्छन्, “२०४८ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि पढाइ छोडेर पार्टी राजनीतिमा लागें।”

२०४९ सालमा पार्टीको क्रियाशील सदस्यता पाएका उनी २०५१ मा धनगढी–५ जाईका वडा सभापति र २०५७ मा धनगढी नगर सचिव बने। त्यसरी जिल्लामा कांग्रेस नेता चाहिंदा र गाउँमा कसैलाई गाह्रोसाह्रो पर्दा खोजिने नाम बन्यो, नृप वड। माओवादी द्वन्द्वको समयमा पनि उनले गाउँ छाडेनन्। द्वन्द्वकै बेला नगर सभापति बनेका उनले धनगढीमा २०६२/६३ को आन्दोलनको नेतृत्व गरे। त्यो बेला कांग्रेस र एमालेका धेरैजसो जिल्ला नेता काठमाडौं या भारत पलायन भएका थिए।

त्यसरी कैलालीमा सुपरिचित बनेका वड राजनीतिमा सफल बन्दै जाँदा आर्थिक सकसमा पर्दै गए। दैनिक खर्च मात्र बढ्दो थियो, तर आयस्रोत केही भएन। त्यसमाथि, अप्ठ्यारोमा परेकालाई सकेसम्म सहयोग गर्ने उनको बानी। परिणाम, हरेक वर्ष अलिअलि जग्गा बेच्दै गए। “बुवाले जोड्नुभएको सात बिघामा अब डेढ बिघा मात्र छ” उनी भन्छन्, “मैले जग्गा बेच्दै राजनीति गरेको असर परिवारमा पनि पर्‍यो, भाइबहिनीले राम्ररी लेखपढ गर्न पाएनन्।”

नृपकी दिदीले पहिल्यै बिहे गरिन्। साहिंलो भाइ जाईकै बोर्डिङ स्कूलमा पढाउँछन्, कान्छो ट्रयाक्टर चलाउँछन्। नृपका दुई छोरा र दुई छोरीको पठनपाठनको व्यवस्था पनि उनीहरूले नै गरेका छन्। अर्थोपार्जनका लागि नृपले धनगढीमा खोलेको होटल पुष्पाञ्जली केन्द्रबाट आउने कांग्रेस नेता र स्थानीय नेता–कार्यकर्ताको जमघटस्थल त बन्यो, तर त्यही कारण घाटामा गएर लगानी डुब्यो।

चुनौती नै चुनौती

आठ वर्षदेखि धनगढी नगर सभापति रहेका नृप वड स्थानीय तह निर्वाचनमा मेयरको स्वाभाविक दावेदार थिए। तर, सबै कुरा सहज रूपमा चल्दैन, उनले टिकट नपाउने सम्भावना बढ्यो। राजनीतिक चेत पलाएदेखि कांग्रेसमा काम गरेका उनले टिकट पाउने बेलामा आफू 'दलित' भएको महसूस गर्नु पर्‍यो। पार्टीकै कतिपयले 'दलितलाई मेयरको टिकट दिए कसैले भोट दिंदैनन्, दिए भने नमस्कार गर्नुपर्छ' भन्दै निकृष्ट शैलीको विरोध गरे। “वास्तवमै म निराश भइसकेको थिएँ”, नृप भन्छन्।

हुन पनि, सुदूरपश्चिममा शहरी क्षेत्र अपवाद हुन सक्छ, तर गाउँघरमा आफूभन्दा जतिसुकै कम उमेरको भए पनि पहिले गैर–दलितलाई नै नमस्कार गर्नुपर्छ। त्यसकारण 'नृपलाई नमस्कार गर्नुभन्दा टिकट नै नदिउ' भन्ने सानोतिनो अभियान चल्यो कैलाली कांग्रेसभित्र, जुन धनगढीमा सीमित रहेन, केन्द्रमा पुग्यो। प्रधानमन्त्री हुनुअघि २६ चैतमा धनगढी आएका कांग्रेस सभापति देउवाले डिभोटी होटलमा स्थानीय नेताहरूबीच नृपलाई सोधेका पनि थिए, “यहाँका बाहुन–क्षेत्रीले तिमीलाई भोट दिन्छन् त?”

सभापतिले यसो भन्नुमा 'दलितलाई नमस्कार गर्नुपर्ने भएपछि कसैले भोट दिंदैनन्' भनी उछालिएको त्यही अफवाह थियो, जुन देउवाले काठमाडौंमै सुनेका थिए। तर, नृपलाई कमजोर बनाउन उछालिएको यो अफवाह नै उनको बलियो पक्ष बन्यो, केन्द्रले उनैलाई टिकट दियो।

त्यसरी टिकटको चुनौती चिरेका नृपका अगाडि एमालेका दुर्गादत्त जोशी र माओवादी केन्द्रका रामसमझ् राना अर्को चुनौतीको रूपमा खडा थिए। हरेक निर्वाचनमा जातीय, क्षेत्रीय नारा लाग्ने धनगढीमा डोटीबाट आएकाहरू २७ प्रतिशत छन्। पुर्ख्यौली घर डोटी भएका जोशीलाई कांग्रेसभित्रका नृप विरोधीहरूको पनि समर्थन रहेको बताइन्छ भने माओवादीले ४० प्रतिशत थारू मत हेरेर रामसमझ् रानालाई मेयरमा उठाएको थियो। अर्का चुनौती थिए, गोपाल हमाल, जो 'सुन्दर सुदूरपश्चिम' अभियानबाट चर्चित थिए। 'एक पैसा' अभियानबाट धनगढी विमानस्थल कालोपत्रे गरेको जस समेत लिएका उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा थिए। कांग्रेसमा आबद्ध सुदूरपश्चिमका केही व्यवसायीहरू समेत खुलेरै हमालको प्रचारमा लागिसकेका थिए। “र पनि टिकट पाएँ भने चुनाव जित्छु भन्ने लाग्थ्यो”, नृप भन्छन्।

सुदूरपश्चिमका खास गरेर युवा पुस्ता र शहरी बासिन्दामा जातीय संकीर्णता हराएको निर्वाचनपछि उनको अनुभव छ। अब त दलित समुदायबाट नेतृत्वमै आउन सक्ने कुरा धनगढीको चुनावले देखाइसकेको उनी बताउँछन्। “यहाँका मतदाताले हर दृष्टिबाट न्यायिक र आधुनिक सोच देखाएका छन्” नवनिर्वाचित मेयर नृप वड भन्छन्, “उनीहरूले यो जात हेर्ने युग होइन भन्ने सन्देश दिंदै जातीय, क्षेत्रीय विभेदलाई अस्वीकृत गरेका छन्।”

अर्को चुनावमा महानगर

उपमहानगरपालिकाको मेयर भएपछि नृप वड चुनौतीमुक्त भएका छैनन्। धनगढीलाई सुन्दर, आधुनिक र सुरक्षित शहर बनाउने काम अबको मुख्य चुनौती रहेको उनी बताउँछन्। सबैलाई सहज हुने गरी, सबैको साथ लिएर कामहरू अगाडि बढाउने उनको योजना छ। निर्वाचनको बेला उनले थुप्रै प्रतिबद्धता गरेका छन्, जसमध्ये विकास प्रमुख छ।

पानी पर्‍यो कि धनगढी डुबानमा पर्छ। ढल निकासको अभाव छ, सडकहरू साँघुरा छन्। अव्यवस्थित बसोबास र फोहोर व्यवस्थापनको अभावमा 'सुन्दर नगर एक सपना' बनेको छ। चुनावी दबाबका बेला मेयर वडले 'स्मार्ट सिटी' को कुरा गरेका छन्, तर नगरमा शौचालयको समेत अभाव छ। त्यसमाथि छ– सबै दलको भोट राजनीतिसँग जोडिएको जग्गा अतिक्रमण, सुकुम्बासी, भूमिहीन, मुक्त कमैयालगायतका 'क्रोनिक' समस्या।

धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने, क्रिकेट स्टेडियम, चक्रपथ, आधुनिक बसपार्क निर्माण गर्ने योजना मेयर वडको प्राथमिकतामा छन्। पदभार ग्रहण गरेपछिको उनको पहिलो निर्णय नै छ– अत्तरिया र धनगढी मिलाएर महानगरपालिका बनाउने। अर्को स्थानीय निर्वाचन धनगढी उपमहानगरको होइन, महानगरपालिकाको गराउने उनको लक्ष्य छ। “समस्याका बीच गर्नुपर्ने काम धेरै छन्” मेयर वड भन्छन्, “सबैको सहयोग जुटाएर धनगढीलाई सुन्दर महानगर बनाउँछु।”

comments powered by Disqus

रमझम