१-७ साउन २०७४ | 16-22 July 2017

अनियमितताको अड्डा

Share:
  
- रामु सापकोटा
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कमिशन खाने गरी मेशीन खरीदको बाटो खोल्न कर्मचारी नियुत्तिा्क र पैसा वितरणको निर्णय गरेको छ।

सविता श्रेष्ठ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको १३ जेठको बैठकले रेडियसन विभागका एक विशेषज्ञ चिकित्सक, एक मेडिकल फिजिसिस्ट र चार जना टेक्निसियनलाई बिहान–बेलुका दुई–दुई घण्टा थप समय काममा लगाएर मासिक तलब दोब्बर बनाउने निर्णय गर्‍यो, त्यो पनि पाँच दिनअघि अर्थात् ८ जेठबाट लागू हुने गरी।

संचालक समितिको त्यही बैठकले रेडियोडायग्नोसिस एण्ड इमेजिङ्ग तथा न्यूक्लियर मेडिसिन (आरआईएनएम) विभागमा पनि तीन टेक्निसियन, दुई वरिष्ठ टेक्निसियन र पाँच टेक्नोलोजिष्टलाई ८ जेठदेखि नै लागू हुने गरी आधा महीनाको अतिरिक्त तलब दिने निर्णय गर्‍यो। समितिले आरआईएनएम विभागका प्राविधिकहरूलाई दैनिक कार्यालय समय (आठ घण्टा) भित्रै दिने गरी आपतकालीन सिटी स्क्यान, एमआरआई, म्यामोग्राफी र अल्ट्रासाउण्ड सेवाबापत एक दिनको तलब बराबरको रकम थपिदिने निर्णय समेत गरेको छ। (हे.इन्फो)

संचालक समितिका अध्यक्ष प्रकाशराज न्यौपाने कर्मचारीलाई थप तलब दिने व्यवस्था अस्वाभाविक नभएको बताउँछन्। अस्पताल स्वायत्त संस्था भएकाले संचालक समितिले कर्मचारी सुविधाबारे निर्णय गर्न सक्ने उनको भनाइ छ।

मुख थुन्न पैसा

'कमिशनको लागि' उपकरण खरीद गर्दा विरोध नहोस् भनेर संचालक समितिले कर्मचारीलाई 'पैसा बाँड्ने निर्णय गरेको' अस्पताल स्रोत बताउँछ। अस्पतालका एकजना कन्सल्ट्यान्ट सर्जनले दुई वटा विभागका कर्मचारीलाई मात्र लक्षित गरेर कार्यालय समयमा बिरामी जाँच्दा दोब्बर तलब दिने निर्णयलाई 'मुख बुझ्ो लगाउने उपाय' भने।

२०७३ भदौमा अस्पतालले ब्राकि थेरापी र लिन्याकलगायतका उपकरण बिग्रिएपछि नयाँ खरीद गर्न अगाडि बढाएको प्रक्रियालाई कर्मचारीहरूले 'कमिशनको चक्कर' भन्दै विरोध गरेर रोकेका थिए। अस्पताल संचालक समितिले २४ वैशाख २०७४ मा डा. विजयचन्द्र आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेर विरोध गर्ने कर्मचारीहरूको बोली पैसाले थुन्न थालिएको स्रोत बताउँछ।

जुनियर डाक्टरलाई निर्देशक बनाउन चलखेल भएपछि आवेदन दिए पनि अन्तर्वार्तामा सहभागी भइनँ।

डा. जया श्रेष्ठ

प्रमुख, अंकोलोजी विभाग

बीपी कोइराला मेमोरियल

क्यान्सर अस्पताल

उपकरण खरीदमा संचालक समितिको कमिशनको खेल कतिसम्म छ भने, लिन्याक, ब्राकि थेरापी र कन्भेन्सनल सिमुलेटर मेशीनको स्पेसिफिकेसन र लगत इष्टिमेट तयार गर्न १४ वैशाख २०७३ मा गठित (मूल्यांकन) समितिले गरेको सिफारिशलाई लत्याएर नयाँ समिति बनाई खरीदको सिफारिश गर्न लगाइएको थियो। पहिलो मूल्यांकन समितिले रु.१७ करोडमा मेशीन खरीद गर्न सिफारिश गरेकोमा संचालक समितिले अर्कै मूल्यांकन समिति बनाएर रु.१८ करोडमा 'एनालग लिन्याक' मेशीन किन्न सिफारिश गर्न लगाएको थियो, त्यो पनि कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला।

स्वार्थीहरूको खेल

पछिल्लो मूल्यांकन समितिले अमेरिकी कम्पनी भेरियनलाई टेन्डर पार्न अरू कम्पनीको निवेदन दिने बाटै बन्द गरिदिएको थियो। अर्को अमेरिकी कम्पनी इलेक्ट्राका नेपाल एजेन्ट सिसास मेडिटेक कम्पनीका प्रबन्ध निर्देशक सरस श्रेष्ठ अस्पताल संचालक समितिले भेरियन कम्पनीबाट रु.१८ करोडमा किन्ने निर्णय गरेको लिन्याक मेशीनको बजार मूल्य साढे १२ करोड मात्र रहेको बताउँछन्। “भक्तपुरको काठमाडौं क्यान्सर केयर एण्ड रिसर्च सेन्टरले त्यही मेशीन त्यही मूल्यमा किनेको हो” श्रेष्ठ भन्छन्, “भरतपुर क्यान्सर अस्पतालले भने भेरियनसँग रु.१८ करोडमा किन्ने सम्झौता २७ असारमा गरेको छ।”

अस्पतालका उप–निर्देशक डा. देजकुमार गौतम संस्थाको हित हेरेको भए त्यति पैसाले नयाँ प्रविधियुक्त मेशीन किन्न सकिने बताउँछन्। उनका अनुसार, चीन सरकारले अनुदानमा लिन्याक मेशीन दिने तयारी गर्दा पनि उक्त मेशीन चलाउन नसकिने प्रतिवेदन बनाएर अमेरिकी मेशीन खरीद गर्ने प्रक्रिया अघि बढाइएको थियो। अस्पताल संचालक समितिले ब्राकि थेरापी मेशीन खरीदका लागि पनि बढी कमिशन दिने कम्पनीको टेन्डर पार्न चलखेल गरिरहेको छ।

ब्राकि थेरापी मेशीनका लागि २८ भदौ २०७३ मा टेन्डर आह्वान गर्दा अमेरिकी कम्पनी भेरियन र जर्मनीको एक्रेट एण्ड जिग्लर बेबिगको निवेदन परेको थियो। एक्रेटले कोबाल्ट स्रोत र भेरियनले इरेडियम स्रोत भएको मेशीन उपलब्ध गराउने उल्लेख गरेका थिए। एक्रेटले रु.२ करोड ९१ लाख र भेरियनले रु. २ करोड ७२ लाख ५० हजार मूल्य प्रस्ताव गरेका थिए। तर, भेरियनले टेन्डरमा खुलाएको शर्त पूरा गर्न नसकेपछि अस्पतालले टेन्डर रद्द गर्‍यो। एक्रेटको मेशीन खरीद गर्न सकिने विकल्प हुँदाहुँदै अस्पतालले जसरी पनि भेरियनकै मेशीन खरीद गर्न नयाँ टेन्डर आह्वान गर्‍यो।

१८ चैतमा आह्वान गरिएको टेन्डरमा एक्रेटको रु.२ करोड ३२ लाख र भेरियनको रु.२ करोड ८० लाख ८० हजार मूल्य प्रस्तावित भयो। त्यतिबेला अमेरिकी कम्पनी इलेक्ट्राको पनि टेन्डर परेको थियो। अस्पतालको प्राविधिक समितिले भेरियनको ब्राकि मेशीन खरीद गर्न सिफारिश गर्‍यो। अस्पतालले एक्रेट कम्पनीको 'म्यानुअल ह्याण्ड क्रयाङ्क' फिचर (विशेषता) भएको ब्राकि मेशीन खरीद गर्दा कमिशन नपाउने देखेपछि टेन्डरमा सहभागी नै गराएन।


निर्देशक नियुत्तिा्कमा दुराशय

अस्पताल संचालक समितिका अध्यक्ष प्रकाशराज न्यौपानेको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यकारी निर्देशक सिफारिश समितिले तीन जनाको नाम सिफारिश गरेकोमा संचालक समितिले तीमध्ये डा. विजयचन्द्र आचार्यलाई नियुक्त गर्‍यो। सिफारिश समितिमा संचालक समितिका सदस्य संयोजक हुने नियम भए पनि अध्यक्ष न्यौपाने संयोजक बनेका थिए। त्यहींनेर दुराशय देखिएको अधिवक्ता टीकाराम भट्टराई बताउँछन्।

कार्यकारी निर्देशकमा नियुक्त हुन कन्सल्ट्यान्ट वा वरिष्ठ कन्सल्ट्यान्ट चिकित्सक हुनुपर्नेमा डा. आचार्यलाई छानियो, जो अन्तर्वार्तामा नाम निस्केका १२ चिकित्सकमध्ये सबभन्दा कनिष्ठ थिए। अस्पताल संचालक समितिले ५ वैशाखमा गठन गरेको सिफारिश समितिले १४ वैशाखमा पाँच दिनको समय दिएर कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। त्यसका लागि अस्पतालका १३ चिकित्सकले आवेदन दिएकोमा जया श्रेष्ठ बाहेक सबैले अन्तर्वार्ता दिएका थिए। अंकोलोजी विभाग प्रमुख रहेका डा. श्रेष्ठ अस्पतालका जुनियर डाक्टरलाई निर्देशक बनाउने खेल थाहा पाएपछि आवेदन दिए पनि २४ वैशाखको अन्तर्वार्तामा सहभागी नभएको बताउँछन्।

सिफारिश समितिले डा. चीनबहादुर पुन, डा. विनयकुमार ठाकुर र डा. आचार्यको नाम सिफारिश गरेको थियो। तीमध्ये कनिष्ठ डा. आचार्यको कन्सल्ट्यान्टमा बढुवा हुन १७ वैशाखमा मात्र मिति पुग्ने भए पनि अस्पताल संचालक समितिले २७ चैत २०७३ मा नै पदोन्नतिको पत्र दिइसकेको थियो। (हे.पत्र)संचालक समितिले कार्यकारी निर्देशक पदका लागि निवेदन माग गर्दा पनि 'आवेदन दिने अन्तिम समयसम्म योग्यता पुगेका व्यक्ति कार्यकारी निर्देशक पदका लागि योग्य हुने' उल्लेख गर्न छुटाएको थिएन।

यसरी डा. आचार्यलाई दुराशयपूर्ण योजनाका साथ कार्यकारी निर्देशकमा नियुक्त गरेपछि अस्पतालका सात जना चिकित्सक अदालत पुगेका थिए। उनीहरूले २९ वैशाखमा सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा 'कार्यकारी निर्देशक नियुक्त गर्ने सम्बन्धमा भएका सम्पूर्ण कामकारबाहीलाई बदर गर्न' परमादेशको माग गरिएको छ। यस सम्बन्धमा सिफारिश समितिका संयोजक प्रकाशराज न्यौपानेेले १२ जेठमा अदालतमा पेश गरेको लिखित जवाफमा 'प्रतिस्पर्धीमध्ये सबभन्दा योग्य चिकित्सकलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको' उल्लेख छ।

comments powered by Disqus

रमझम