त्यसो त वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी नेपालीको संख्या पनि मलेशियामै छ। क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार, हाल ९ लाख ५० हजार नेपाली मलेशियामा कार्यरत छन्।
दूतावासको तथ्यांक अनुसार, सन् २०१७ को जूनसम्म मात्र ज्यान गुमाउने नेपाली संख्या १९६ पुगिसकेको छ। मृत्यु हुनेमा सबैजसो नेपाली कामदार उत्पादनशील अर्थात् २२ देखि ४० वर्ष उमेर समूहका छन्। सक्दो धेरै युवा विदेशिन प्रोत्साहित गर्ने र विप्रेषण भित्र्याउने लालची सरकार मलेशियामा सुतिरहेकै बेला मृत्यु हुने कामदारहरूप्रति खासै संवेदनशील देखिंदैन।
कारण खोतल्ने प्रयास
ढिलोगरी पछिल्लो पटक जेठ २०७४ स्वास्थ्य मन्त्रालयले मलेशियामा मृत्यु हुने नेपालीको मृत्युको कारण र उपचार पहिल्याउन ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य विभागका प्रा.डा. केदार बरालको संयोजकत्वमा चार सदस्यसहितको अध्ययन टोली गठन गर्यो। टोलीका सदस्यहरूमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सह–सचिव सनत केसी, उप–सचिव राजीव पोखरेल र श्रम तथा रोजगार मन्त्रालयका उप–सचिव अर्जुनप्रसाद खनाल थिए।
अध्ययन टोलीले १८ देखि २४ असारसम्म क्वालालम्पुर र केलाङ पुगेर नेपाली कामदार बस्ने र काम गर्ने स्थान, रोजगारदाता कम्पनीका प्रतिनिधि, नेपाली दूतावासका अधिकारी, श्रम सहचारीलगायतसँग कुराकानी गरेको थियो। “प्रारम्भिक चरणको अध्ययनमा असन्तुलित भोजन, कार्यस्थलको असुरक्षा, अव्यवस्थित र अपर्याप्त आराम, न्यून तलब, स्वास्थ्यमा लापरवाही र पारिवारिक दबाब प्रमुख कारण रहेको पाइयो”, टोलीमा संलग्न डा. रामेश कोइराला भन्छन्।
टोलीका सदस्यहरूले एउटै कोठामा ८० जना नेपाली कोचिएर सुत्ने गरेको पनि भेटे। जहाँ पर्याप्त अक्सिजन समेत थिएन। करीब ४० डिग्री सेल्सियससम्म तापक्रम भएका उद्योगहरूमा विना आराम कामदारहरू दैनिक १६ घण्टासम्म काम गरिरहेका थिए।
काम अनुसारको तलब नपाउने, भनेका बेला विदा नपाउने, चाडवाडमा घर आउन नपाउनेलगायतका कारणले बढेको मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढेको छ। टोलीका सदस्य राजीव पोखरेल कामदारले निद्रा लागोस् भनेर भियतनाम, इन्डोनेशिया र मलेशियामै बनेका गुणस्तरहीन रक्सी सेवन गरेको पाइएको बताउँछन्।
हरिया सागपात महँगो भएकाले दैनिक कुखुराको मासुसँग भात खाने गरेको देखियो। अतिरिक्त समय काम गर्दासमेत अधिकांश नेपालीको तलब औसतमा रु.२४ हजार जति हुने गरेको छ। “लामो समयसम्म काम गरेर फर्केपछि सुतिहाल्ने र भोलिपल्ट उठ्ने बित्तिकै काममा खटिंदा आराम नपुग्ने भएकाले स्वास्थ्यमा प्रतिकूल असर त पर्ने नै भयो”, उनी भन्छन्।
सुतेको सुत्यै
मलेशियामा मृत्यु हुने अधिकांश नेपाली कामदारले सुतेकै बेला प्राण त्याग्ने गरेको तथ्य नयाँ होइन। (हे.इन्फो)तर, यसको कारण भने लामो समयदेखि पत्ता लागेको छैन।
त्यसो त पछिल्लो अध्ययन टोलीले पनि सुतेको सुत्यै हुने मृत्युको कारण पत्ता लगाउन सकिरहेको छैन। टोलीका संयोजक डा. केदार बराल टोलीले प्रारम्भिक सूचना मात्र संकलन गरेका कारण अहिले नै यसै भन्न नसकिने बताउँछन्। बरालका अनुसार, यसको कारण पत्ता लगाउन पोस्टमर्टम रिपोर्ट अध्ययन गर्नुपर्नेछ। तर, मृतक अधिकांशको पोस्टमर्टम रिपोर्ट न कामदारका परिवारसँग छ न दूतावाससँग।
सुतेकै अवस्थामा हुने नेपाली कामदारको मृत्यु प्रमाणपत्रमा भने अस्पतालले 'सडन कार्डियाक अरेष्ट (एक्कासी मुटुको चाल बन्द हुने) र हृदयघात' कारण उल्लेख गर्दै आएको छ। यस्तो समस्या म्यानमार, बंगलादेश, फिलिपिन्स, इन्डोनेशियालगायतका देशहरूका कामदारमा पनि देखिएको छ। तर, अधिकांश कामदारमा किन यस्तो समस्या देखिन्छ त? यसको उत्तर आइसकेको छैन। “सुतेको सुत्यै मर्नुमा 'सडन कार्डियाक अरेस्ट' नै प्रमुख कारण हुन सक्छ, तर मुटुको चाल एक्कासी किन बिग्रियो भन्नेमा अनुसन्धान हुन बाँकी छ”, अध्ययन टोलीका अर्का सदस्य डा. कोइराला भन्छन्।
रोजगारदाता कम्पनीले सामान्य बिरामी हुँदा विदा नदिने र अलि साह्रो भए कडा खालका एन्टिबायोटिक औषधि दिने गरेको पनि टोलीले फेला पार्यो। कडा एन्टिबायोटिकको प्रयोगले रोग प्रतिरोधक क्षमतालाई कम गर्नुका साथै शरीरका अन्य अंगहरूमा पनि आक्रमण गर्छ। 'नो वर्क नो पे' प्रणाली लागू भएका कारण कतिपय कामदार सहन सकुञ्जेलसम्म काम गर्ने गरेका छन्।
उपचारमा महँगो शुल्क लाग्ने भएकाले पनि कामदारले आवश्यक उपचार पाउन नसकेको पाइएको छ। स्थानीय भाषाको राम्रो ज्ञान नहुँदा कामदारहरूले आफ्नो समस्या राम्रोसँग बताउन नसकेका कारण पनि थप स्वास्थ्य समस्या बेहोर्नु परेको टोलीको निष्कर्ष छ।
२४ असारमा अध्ययनबाट फर्केको टोलीले अचानक हुने मृत्युको कारण पत्ता लगाउन मलेशियास्थित नेपाली दूतावासमार्फत पछिल्लो दुई वर्षमा मृत्यु भएका कामदारका पोस्टमर्टम रिपोर्ट मगाएर थप अनुसन्धान गर्ने भएको छ। टोलीले यसका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्वालालम्पुरस्थित मलाया विश्वविद्यालयसँग संयुक्त अनुसन्धानको प्रस्ताव पनि राखेको छ।
मृत्युको कारण पत्ता लगाउनुभन्दा पनि यस्तो अवस्था नै आउन नदिनु महत्वपूर्ण हुन्छ। तर, सरकारले कामदारहरूको स्वास्थ्य सचेतनाबारे ध्यान दिएको पाइँदैन। सरकारले प्रत्येक कामदारलाई मलेशियाको वातावरण, रोजगारदाता कम्पनीको अवस्थाका साथै त्यहाँको स्वास्थ्य सेवाबारे पनि जानकारी दिनुपर्ने टोलीको सुझ्ाव छ। “कामदार विदेश जानुअघि दुई दिनसम्मको स्वास्थ्य सम्बन्धी कक्षा संचालन गर्नैपर्ने देखिन्छ”, डा. कोइराला भन्छन्।
मलेशियामा काम गर्ने कामदारको सरकारले हरेक वर्ष नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन नेपाली चिकित्सक खटाउनुपर्ने र नेपालका स्वास्थ्य संस्थाबाट तयार पारिने स्वास्थ्य परीक्षण रिपोर्ट मलेशियासँग मिल्दो हुनुपर्ने कोइरालाको भनाइ छ। उनी भाषिक समस्याका कारण पनि मलेशियामा कार्यरत नेपालीको उपचारमा नेपाली चिकित्सक नै खटाउन सके उत्तम हुने बताउँछन्।
टोलीले सरकारले कामदारको सुरक्षार्थ न्यूनतम पहल पनि नगर्ने कम्पनीमा कामदार पठाउन रोक्नुपर्ने र जोखिमयुक्त ठाउँको पहिचान गरेर सुरक्षित ठाउँमा मात्र कामदार पठाउने पहल थाल्न ढिला गर्न नहुने सुझ्ाव पनि दिएका छन्।
त्यसो त ६ चैत २०७१ मा संसदीय समितिका सभापति प्रभु साहको संयोजकत्वमा गठित अध्ययन समितिले पनि कामदारका लागि मलेशिया असुरक्षित भएको निष्कर्ष निकालेको थियो। समितिले कार्यस्थल, सडक दुर्घटना मात्र होइन, मलेशियाका प्रहरी र लुटेराबाट समेत नेपालीलाई जोखिम रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर, प्रतिवेदनमा व्यक्त सुझाव कार्यान्वयनमा सरकार गम्भीर देखिएन।