१-७ साउन २०७४ | 16-22 July 2017

पर्दा कला

Share:
  

बिक्रम राई
पर्दा (कर्टेन) घरको अनिवार्य आवश्यकता हो। झ्याल, ढोका सानो, ठूलो जस्तो भए पनि पर्दा चाहिन्छ।

पक्की घरमा बनाइएका धेरैजसो कोठाका तीन दिशाका भित्तामा झ्याल राखिएको पाइन्छ। घरमा ठूला ठूला झ्याल बनाउने प्रचलन पनि चलेको छ।

एउटै कोठामा धेरै र ठूला झ्याल राख्न थालेसँगै पर्दाको महत्व झनै बढेको आर्क डिजाइन एण्ड डाइमेन्सनकी इन्टेरियर डिजाइनर सृष्टि प्रधान बताउँछिन्। अचेल सुरक्षाको लागि राखिने पर्दा इन्टेरियर डिजाइनिङमा पनि महत्वपूर्ण बन्दै गएको बताउँदै उनी भन्छिन्, “त्यसैले पनि हरेक वर्ष पर्दाका कपडा र डिजाइनमा नयाँ–नयाँ ट्रेन्ड भित्रिरहेको छ।”

ललितपुर कुमारीपाटीस्थित पसल 'अट्रयाक्सन' का सञ्चालक चन्दन अग्रवाल कटन, सिल्क र अँध्यारो रंगको कपडा पर्दाको लागि बढी प्रयोग गरिने बताउँछन्। ११ वर्षदेखि यो व्यवसायमा सहभागी अग्रवालका अनुसार पछिल्लो केही वर्षयता उपभोक्ताहरु पर्दाको कपडा र रंग छनोटमा सजग देखिन्छन्। “किन्नुअघि उपभोक्तामा कपडाको गुणस्तर, प्रकार र डिजाइन हेर्ने क्रम बढेको छ”, उनी भन्छन्।

पहिलेपहिले पर्दाको एक तह मात्र राख्ने गरिएकोमा अहिले दुईतह समेत राख्ने गरिएको छ। यसले पर्दालाई 'फेन्सी आइटम' बनाएको अग्रवालको तर्क छ। घरको फर्निसिङमा ध्यान दिन थालेसँगै गुणस्तरीय तथा 'फेन्सी लुक्स' दिने पर्दाहरु भित्रिएको इन्टेरियर डिजाइनर प्रधान बताउँछिन्। “प्रायः बाहिरैबाट देखिने ठाउँमा पर्दा लगाइने भएकाले पर्दाको सही प्रयोगले घरलाई कलात्मक पनि बनाउन सकिन्छ”, उनी भन्छिन्।

कहाँ, कस्तो?

आवश्यकता र इच्छा अनुसार पर्दाको प्रयोग गर्न सकिने भएकाले पर्दालाई कलात्मक बनाउन सकिन्छ। आकर्षक डिजाइनका पर्दा झ्याल, ढोका, प्रवेशद्वारसँगै बेडरुम, लिभिङरुम, बाथरुम, किचनमा पनि प्रयोग गर्न सकिन्छ। बाथरुममा 'वाटरप्रुफ सावर कर्टेन' राख्दा सावरबाट आउने पानी बाथरुमभरि छरिन पाउँदैन। किचन तथा रुममा झ्यालको आधा मात्र ढाक्ने गरी क्याफे कर्टेन पनि प्रयोग गर्न सकिन्छ।

पर्दामा कति क्रिज राख्ने, खोल्न र बन्द गर्न सजिलो होस् भनेर कस्तो डण्डी, पाइपमा रिङ राख्ने भन्ने सहजै तय गर्न सकिन्छ। यसबाहेक रुचि अनुसार बाक्लो, पातलो, लेस भएको, नेट भएको तथा सादा र बुट्टेदार पर्दा पनि प्रयोग गर्न सकिन्छ। पाइपको क्षमता अनुसार हल्का तथा गह्रौं पर्दा राख्नुपर्छ।

अहिले झ्यालमा लामो पर्दा लगाउने चलन चलेको छ। पाइपलाई झ्यालको माथिल्लो भागमा लगाएर भुइँसम्म छुने पर्दा लगाउँदा कोठालाई खुल्ला देखाउन सकिन्छ। उज्यालो तथा घाम बढी पर्ने कोठामा बाक्लो र अँध्यारोमा पातलो पर्दा लगाउँदा प्रकाशको संयोजन मिल्ने इन्टेरियर डिजाइनर प्रधान बताउँछिन्।

दुई तहको पर्दा राख्दा दिन र रातको लागि मिल्ने फरक फरक पर्दा राख्न सकिन्छ। गर्मीमा फूल वा अन्य वनस्पति प्रिन्ट गरिएका कपडा छनोट गर्नुपर्छ। हल्का र चम्किला रङका पर्दाबाट घरलाई नयाँपन दिन सकिन्छ। पर्दाको फिनिसिङमा पनि उत्तिकै ध्यान दिनुपर्ने प्रधानको सुझाव छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम