१-७ साउन २०७४ | 16-22 July 2017

क्यानभासमा मनसुन

Share:
  

नीलो फेवातालसँगै जोडिएको पोखरा उपत्यका। चारैतिर हरिया डाँडाहरु, उत्तरमा ठिङ्ग उभिएका माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला। खेत जोत्दै र धान रोप्दै हिलोमा खेलिरहेका खेताला र रोपाहारहरु। हिमालसँग ठोक्किनै खोज्ने बादलका ढिस्काहरु।

मनसुनमा झुल्किने पोखराको यही दृश्य पोखरेली कलाकारले क्यानभासमा उतारेका छन्। तिनै चित्रहरु 'मनसुन चित्रकला प्रदर्शनी' को दोस्रो संस्करणमा २३–३० असारमा पोखरा आर्ट ग्यालरीमा प्रदर्शन गरिएका छन्। वरिष्ठ कलाकार दुर्गा बराल 'वात्स्यायन' सहित ३३ कलाकारका ६६ कलाकृति प्रदर्शन गरिएको चित्रकार एलिटा गुरुङले बताइन्।

पोखरा आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएका चित्रकला हेर्दै दर्शक।

नेपाली खेती प्रणालीको परम्परागत अभ्यासलाई देखाइएका कलाकृतिमा हिमाल छेउछाउका ग्रामीण जीवन र बस्तीका दृश्य मनमोहक रहेछन्। वर्षात्मा कहर बनेर आउने बाढीपहिरोका दृश्य पनि क्यानभासमा उतारिएका छन्। कवि तीर्थ श्रेष्ठले प्रदर्शनीको प्रशंसा गर्दै कला र मनसुनबीच रहेको विशेष सम्बन्ध कलाकृतिमा झ्ाल्किएको बताए।

पोखराका कलाकारका चित्रकलामा पानी रङकै अधिक प्रयोग हुन्छ र यहाँ प्रदर्शन गरिएका चित्रमा पनि त्यो झल्किन्छ। देशका अन्य भागभन्दा बढी पानी पर्ने र फेवाताल भएकोले कलाकारमा पनि पानी रङको प्रभाव परेको आयोजक सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष मनोज तामाङ बताउँछन्। मनसुनसँग मानिसको परम्परागत सम्बन्ध रहेको बताउँदै अर्का चित्रकार विश्वराज पराजुली भन्छन्, “प्रकृति र मानिसबीचको सम्बन्ध चित्रमार्फत उजागर गरेका छौं।”

प्रदर्शनीमा चित्रकार झाविन्द्र गुरुङले प्रतिस्थापन (स्टेलेसन) कलाको माध्यमबाट बनाएको दोस्रो विश्वयुद्धका भिक्टोरिया क्रस विजेता लक्ष्मण गुरुङको चित्र विशेष आकर्षण थियो। विभिन्न रङका ढुङ्गाका स–साना टुक्रा जोडेर बनाएको यो चित्रको मूल्य रु.४ लाख तोकिएको छ। यो चित्र बनाउन चार महीना लागेको उनी बताउँछन्। हिमाली क्षेत्रमा यार्सागुम्बा खोजिरहेका संकलकलाई अर्का चित्रकार देवेन्द्र गुरुङले क्यानभासमा उतारेका छन्।

यो चित्रकला प्रदर्शनीले कलाकार र पाठकबीच अन्तरक्रिया गर्ने अवसर पनि जुटाएको प्रदर्शनीका संयोजक दलबहादुर गुरुङ बताउँछन्।

युवराज श्रेष्ठ, पोखरा


न्यूयोर्कमा ट्राभलिङ किम्फ

मौलिक नेपाली वृत्तचित्र तथा लघुचलचित्र समावेश ‘काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)’ २८ असारमा न्यूयोर्कमा सम्पन्न भएको छ ।

नेपालमा हरेक वर्ष हुने किम्फ तीन वर्षदेखि ‘ट्राभलिङ किम्फ’ का रुपमा देश बाहिर पनि आयोजना गरिंदै आएको छ । २०१५ मा हङकङबाट शुरु भएको ट्राभलिङ किम्फको यो तेस्रो संस्करण हो । हिमाल एसोसिएसन, नेपाल र न्यूयोर्कबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका एभरेष्ट टाइम्स को आयोजनामा न्यूयोर्कस्थित शेर्पा किदुङको हलमा किम्फ आयोजना गरिएको थियो । ‘ईन सर्च अफ देवकी’, ‘वियोण्ड द वाइट केन’, ‘मेला’, ‘बाह्रखरी लौरो’ र ‘भुसको लोग्ने’ वृत्तचित्रसँगै केही लघुचलचित्र प्रदर्शन गरिएका थिए ।

न्यूयोर्कमा आयोजित किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु विद्यालयलाई प्रदान गरिने स्थानीय आयोजक आङछिरिङ शेर्पाले बताए । यसअघि पनि सोलुखुम्बुको चाँगेस्थान मावि, केरुङ र सेर्गा वागाम प्राविलाई सहयोग गरिएको थियो ।

दुर्गम क्षेत्रका विद्यालयका लागि सहयोग जुटाउनका साथै वृत्तचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ट्राभलिङ किम्फ आयोजना गरिंदै आएको जनाएको छ । न्यूयोर्कपछि हङकङ र मकाउमा ट्राभलिङ किम्फ आयोजना हुने ट्राभलिङ किम्फका संयोजक डम्बरकृष्ण श्रेष्ठले बताए ।

ङिमा पाख्रिन, न्यूयोर्कमा

comments powered by Disqus

रमझम