१-७ साउन २०७४ | 16-22 July 2017

निष्ठाका पर्याय

Share:
  

(१९८५ –२९ असार २०७४)
प्रायः सुतीको कमिज–सुरुवाल, कालो चश्मा र खैरो ज्वारीकोटमा सजिएर हिंड्थे, रामहरि जोशी। महात्मा गान्धीका अनुयायी उनी 'अहिंसा र शान्ति' का पक्षपाती थिए। विश्लेषक पुरञ्जन आचार्यको भनाइमा, नेपाली कांग्रेसका संस्थापक जोशीमा सन्त नेता कृष्णप्रसाद भट्टराई जस्तै 'त्याग र सादगी' थियो। ३० असारमा पशुपति आर्यघाटमा उनको अन्तिम श्रद्धाञ्जलीमा देखिएको लामो लाम जोशीको निष्ठाप्रतिकै श्रद्धा थियो।

ललितपुरको बखुम्बहाल पुर्ख्यौली भएका जोशीको जन्म ४ जनवरी १९२८ मा सर्लाहीको सदरमुकाम मलंगवामा भएको थियो। उनका बाजे सत्यमान जोशी राणाशासनको मध्यकालताका ललितपुरबाट सर्लाही बसाइँ सरेका थिए। बाबु तीर्थलाल जोशीले भारतबाट झिकाएका शिक्षकमार्फत घरबाटै उनको प्रारम्भिक शिक्षा शुरु भएको थियो। विज्ञान र अंग्रेजी विषय पढ्न भने उनी करीब ३० किलोमिटर टाढा भारतको सीतामढीको विद्यालय भर्ना भए। त्यहींबाट १९४२ मा मेटि्रक उत्तीर्ण गरेका जोशीले बनारस हिन्दू विश्वविद्यालयबाट १९४५ मा आईएस्सी र कलकत्ता विश्वविद्यालयबाट १९४७ मा बीएस्सी पास गरे।

जोशी कलकत्तामा पढिरहेकै बेला २५–२६ जनवरी १९४७ (१२–१३ माघ २००३) मा भवानीपुरस्थित खाल्सा हाईस्कूलमा नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। प्रथम महाधिवेशनबाटै कांग्रेस राजनीतिमा जोडिएका उनी राणाशासनको विरोधमा उत्रेपछि २००४ सालमा ललितपुरस्थित नक्खु जेलमा थुनिए। २००७ सालको जनक्रान्तिमा अग्रणी भूमिका खेलेका जोशी राणाशासनको अन्त्यपछि पनि थुनिने क्रम रोकिएन। पञ्चायत विरोधी आन्दोलनमा लागेबापत २०२९ सालमा केन्द्रीय कारागार काठमाडौं र २०४६ मा जिल्ला कारागार, सर्लाहीमा जेल जीवन बिताए। २०४८ र २०५१ सालमा सर्लाही–३ बाट सांसद् निर्वाचित जोशी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा शिक्षा मन्त्रीसमेत बनेका थिए।

सांसद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी युवाकालमै कांग्रेस राजनीतिमा लागेका जोशी लोकतान्त्रिक आन्दोलन र निष्ठाको राजनीतिका पर्याय बन्न सफल रहेको बताउँछन्। त्यसो त राजनीतिक मात्रै होइन जोशीको सामाजिक तथा साहित्यिक व्यक्तित्व पनि उत्तिकै सशक्त थियो।

बहुआयामिक

१९५७ मा कलकत्तास्थित बङ्गवासी कलेजबाट अंग्रेजी साहित्यमा एमए गरेका उनी २०१० सालमा सर्लाहीको पब्लिक हाईस्कूलमा शिक्षक भए र त्यही स्कूलमा ३७ वर्षसम्म प्रधानाध्यापकको रुपमा सेवा गरे। सांसद् अधिकारी जागीरका लागि भन्दा पनि सेवाभावले उनी शिक्षण पेशामा लागेको बताउँछन्। कांग्रेस राजनीतिमा सक्रिय भइसकेका उनले काठमाडौंमा होइन सर्लाहीमै शिक्षाको ज्योति बाल्न चाहेको बुझ्न गाह्रो छैन। उनकै सक्रियतामा २०२७ मा सर्लाहीमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो।

बनारसमा रहँदा जोशी जनता र हिमालय सन्देश साप्ताहिक पत्रिकाको सह–सम्पादक, काठमाडौंबाट प्रकाशित हुने राष्ट्र पुकार पत्रिकाको संचालक समिति, आजीवन सदस्य र नेपाल पुकार को सम्पादकको रुपमा समेत काम गरे। कविता, कथा, निबन्ध, नाटक अनुवाद आदिमा पनि उनको कलम चलेको देखिन्छ। २००० सालमा पटनाबाट प्रकाशित किसोर पत्रिकामा छापिएको 'जागरण गान' जोशीको पहिलो कविता हो। उनले २०१४ सालमा झंकार र २०१५ सालमा नयाँ सवेरा कविता संग्रह प्रकाशित गरे। रामवृक्ष बेनीपुरीको नाटक नेत्रदान हिन्दीबाट नेपालीमा अनुवाद गरेका जोशीको नेपालके अमर सहिद (२०१५), बाल विज्ञान परिचय भाग १–४ (२०१९), सामान्य विज्ञान परिचय भाग ६ र ८ (२०२४), नेपालको नोभेम्बर क्रान्ति (२०४८), २०४६ सालको आन्दोलनः विश्वको आँखीझ्यालबाट (२०५३), अतीतका केही सम्झ्ानाहरू (२०५६), आत्मकथा तथा नेपाली कांग्रेस (२०६७) र अँध्यारोबाट उज्यालोतिर (२०७१) पुस्तक प्रकाशित छन्।

सर्लाही, महोत्तरी, सिरहालगायतका क्षेत्रमा कांग्रेसको संगठन बनाउनमा जोशीको महत्वपूर्ण योगदान रहेको विश्लेषक आचार्य बताउँछन्। उनका अनुसार, २०४६ सालपछि कांग्रेस निष्ठाको राजनीतिबाट उपभोक्तावादी बन्दै गएपछि जोशी प्रभावहीन देखिन थालेका थिए।

कांग्रेस सुधार अभियानअन्तर्गत जोशीले पार्टीको नवौं (वैशाख २०५३) र दशौं राष्ट्रिय महाधिवेशन (माघ २०५७) मा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए। अविवाहित जोशीको त्यो उम्मेदवारी पदभन्दा पनि पार्टीलाई निष्ठाको राजनीतितर्फ डोर्‍याउने प्रयास थियो। “अस्तित्वमा रहुञ्जेलसम्म जोशीले आफूलाई समाजवादी चिन्तन र गान्धीवादी निष्ठामा कायम राख्न सके, यस्तो आत्मबल जोकोहीमा पाइँदैन”, आचार्य भन्छन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम