बाच्छाको बिजोग

Share:
  
- जीवनप्रसाद राई
सरकारले बूढा गाईगोरु र बाच्छाको व्यवस्थापनमा कि नीति बनाएर रकम खर्चिनुपर्‍यो कि त तिनको निकासी हुन दिनुपर्‍यो।

धनकुटा, भेडेटारका दिनेश कटुवाल २०७० भदौमा केही दिन जिल्ला प्रहरी कार्यालयमा थुनिए। आरोप थियो– गाई निर्यात गरेको। यस्ता घटना नेपालमा बारम्बार भइरहन्छन्। कतिपय ठाउँमा प्रहरीले नजराना लिएर नदेखेझैं गर्दा बूढा गाईगोरुको निर्यात निर्वाध चलेको छ। निकासी वा नियन्त्रण किन? भनेर बहस हुनसकेको छैन।

नेपालमा बूढा गाईगोरुको बिजोगलाई सबैले सामान्य मान्न थालेको प्रतीत हुन्छ। बाच्छाहरूको बिजोग अझ् दुर्दान्त छ। लाग्छ, अवस्था सुधारका लागि गाईगोरु र बाच्छाहरूले देशभरका सडकमा विरोध प्रदर्शन गरिरहेका छन्, तर एकपछि अर्को अधिकारकै भागदौडमा रहेका हामी तिनलाई ठेलठाल पार्दै, तर्कंदै आफ्नो बाटो नापिरहेका छौं। गाईगोरुको शहरी सडक जामबाट वाक्कदिक्क भएका कतिपय चालकहरू नगरपालिका, महानगरपालिका वा सरकारको नाममा दुईचार गाली फलाकेर गाडी अगाडि बढाउँछन्। काठमाडौं, पोखरा, धनगढी, दमकलगायत देशका प्रमुख शहरहरूमा गाईगोरु र बाच्छाको समस्या देखिन्छ। ती चौपायाको समस्यालाई हामी दोपायाको असुविधाको रूपमा बुझने अबुझ् जस्तै भइरहेका छौं।

काठमाडौं र तराईका शहरहरूमा बाच्छाको समस्या अत्यन्तै पीडादायी अवस्थामा देखिन्छ। शहरी इलाकामा गाईपालन गर्नेहरूले बाच्छालाई कि मार्ने कि त सडकमा छाडिदिने गर्छन्। सीमापारि निकासी हुनबाट जोगिएका बूढा गाईगोरुहरूलाई पनि सडकमै छाडिन्छ। यसले गर्दा दैनिक दुर्घटना हुने गरेको छ। तिनलाई ठक्कर दिएर भाग्ने चालकहरू कति छन् भनेर थाहा पाउन घाइते चौपाया गन्दा हुन्छ। पशु अधिकारको क्षेत्रमा काम गरिरहेकाहरूलाई कुकुर व्यवस्थापनमै भ्याईनभ्याई छ।

भक्तपुरको सरस्वतीखेलमा बाच्छाहरूको हरिबिजोग देख्दा यो पंक्तिकार रुन मात्र सकेन। गाई फार्म संचालकहरूले राति–राति सडकमा ल्याएर छाडेका बाच्छाहरूलाई कुकुरहरूले लखेटी लखेटी मार्ने र खाने गर्दारहेछन्। दूधे बाच्छाहरू खाएर होला, भुस्याहा कुकुरहरू पनि डरलाग्दा देखिन्छन्।

गाई फार्महरू खुल्दै जाँदा बेवारिसे बाच्छाको संख्या बढ्दै गएको छ। निर्दयी प्रकारका फार्म संचालकहरू गाई ब्याउने बेलामा बोरा लिएर बस्छन् र बाच्छो भए पोको पारेर फाल्छन्। कतिले बाच्छालाई केही दिन भोको राखेर एकैपटक भरपेट दूध खान दिन्छन्। त्यसरी अघाएको केही घन्टामै बाच्छो ठहरै हुँदोरहेछ। यति निर्दयी हुन नसक्नेहरूले बाच्छाहरूलाई अलि ठूलो बनाएर राष्ट्रिय निकुन्ज वा सडकमा छोड्छन्।

बूढो भएर दूध दिन नसक्ने गौमाताहरूलाई पनि अन्तिम व्यवहार यस्तै गरिनेरहेछ।

रूपन्देहीको टिकुलीगढका शशि शर्मा पौडेलले बाच्छी मात्र जन्मने प्रविधि प्रयोग गरेका रहेछन्। त्यसमा पनि ९० प्रतिशत मात्र सफल भएको उनले सुनाए। त्यही टिकुलीमा जन्मने १० प्रतिशत बाच्छाको अवस्था अन्य ठाउँका बाच्छाको भन्दा फरक छैन। किसानले गोरु छाडेर ट्र्याक्टर चलाउन थाल्नुलाई नराम्रो भन्न मिल्दैन। त्यसो भए बाच्छामाथि जारी यही व्यवहार कायम राख्ने त, 'मनमा हरि' भएका हामी नेपालीले?

यो समस्या आउनुमा गाईपालक कृषक नभई सरकारको अगतिलो नीति दोषी छ। दोषी जो छ, सुधारको दायित्व उसैमाथि बढी हुन्छ। बूढा गाईगोरु र बाच्छाबाट आर्थिक लाभ हुने भए यस्तो अवस्था नै आउँदैन। भैंसी र पाडाले सडक जाम गरेको कतै नदेखिनुले यही भन्छ।

चौपायाको बिजोग व्यवस्थापनमा सरकारले काम थाले टिकुलीगढका शर्मा र काभ्रेका रामबहादुर न्यौपाने जस्ता व्यक्तिहरूको प्रयास सफलतातिर उन्मुख हुन्छ। चौपाया सम्बन्धी सरकारी नीति कि देशभित्रै तिनको उचित व्यवस्थापन गर्ने हुनुपर्‍यो कि त सीमापारसम्म सहज बिक्रीवितरण गर्न दिनुपर्‍यो। सरकारले गाई फार्महरूमा बूढा गाई र बाच्छा पाल्न केही अनुदानको व्यवस्था गर्न सक्छ। त्यस्तै, नगरपालिकाहरूलाई पनि केही अनुदान उपलब्ध गराउन सक्छ, जसबाट छाडा चौपाया जम्मा गरेर पाल्न सकियोस्।

कुनै एक नेपालीको मनको हरि जाग्दैमा यो समस्या समाधान हुँदैन भन्ने कुरा काभ्रेका न्यौपानेको असफल प्रयासले देखाइसकेको छ। उनले पशुपति क्षेत्रमा रहेका बूढा गाई र बाच्छाहरू जम्मा पारेर संरक्षणको भगीरथ प्रयास गरे, तर सकेनन्। सडकमा भौंतारिएका चौपाया संकलन गर्न सजिलो छ, तर तिनलाई घाँसपानी गरेर पाल्न धेरै महँगो पर्छ। सरकारले नै नीति बनाएर केही खर्च नगरे यो काम सम्भव हुँदैन। तर, सरकार उपायहरू अवलम्बन गर्नुको साटो बूढा गाईगोरु निकासी गर्नेलाई थुन्नमा मग्न देखिन्छ। यो त पाखण्ड बाहेक केही होइन।

नौ–नौ महीनामा आइलाग्ने सरकारहरूलाई मात्र के भन्नु, हामी नेपाली नै 'अजिबका जीव' छौं। हामी गाईलाई माताको रूपमा पूजा गर्छौं। तिहारमा एक दिन गोरुको पनि पूजा गर्छौं। तर, त्यो सम्मान पाउन गाईले दूध दिन र गोरुले जोत्न सकिरहनुपर्ने रहेछ। बरु, खानलाई गाईगोरु पाल्नेहरू पोषिलो दाना दिन्छन्, उचित औषधि उपचार गर्छन्, मान्छेलाई जस्तै चिसो, तातो मिलाएर राम्रो ठाउँमा राख्छन्। हामी पुज्नेहरू चाहिं एक बाल्टी दूध दुहेर, एक बिहान जोतेर चर्नलाई भीरमा पठाउँछौं, बूढो भएपछि सडक छँदैछ। कृतघ्नताको पनि एउटा हद हुन्छ नि!

comments powered by Disqus

रमझम