झिंगाको करामत

Share:
  
- कमल मादेन
ब्याक्ट्रोसेरा प्रजातिका झिंगाले प्रकृतिबाट हासिल गरेको हुँनरले तरकारी किसानलाई थाप्लामा हात राख्न बाध्य पारिरहेको छ।

ब्याक्ट्रोसेरा टाउ।
असार, साउन र भदौ– लहरे तरकारी बढी फल्ने महीना। यतिखेर शहरवासीहरूले समेत कौसी, छत र करेसाबारीमा फर्सी, लौका, घिरौंला आदि लगाएका हुन्छन्। यो सिजनमा पसलहरूमा पनि यिनै तरकारी बढी पाइन्छन्। तर, सबैको समस्या के छ भने, यी तरकारी रोपेर हुर्काउनु भन्दा फल कुहिनबाट जोगाउन मुश्किल परिरहेको हुन्छ। धेरैजसो फल चिचिला र अलिकति ठूलो भएपछि कुहिन्छन्। फलेकामध्ये आधाउधी पनि खिप्ती गर्नेको हात लाग्दैन।

यो सब हुनुमा वनस्पतिविशेषका वंशानुगत कारण नभइकन ब्याक्ट्रोसेरा प्रजातिका झ्िंगाको करामत हुन्छ र नेपालका व्यावसायिक किसान यसबारे थोरबहुत जानकार छन् पनि। विकसित देशहरूका किसानले प्रजातिविशेषका वनस्पतिमा हुने यस्ता समस्या पहिचान गरेर फरक–फरक उपचार पद्धति अपनाएका छन्। उत्पादन सुरक्षामा नयाँ–नयाँ प्रविधि अपनाउनुका साथै धेरै फल्ने, चाँडै पाक्ने 'भेराइटी' को विकास पनि गरेका छन्। नेपालका आम कृषक भने तरकारी र फलफूल कुहिने समस्या केबाट आउँछ भन्ने जानकारीसम्म राख्दैनन्।

ब्याक्ट्रोसेराको बिगार

ब्याक्ट्रोसेरा प्रजातिका झिंगा घरमा आउनेभन्दा भिन्न र ढाडमा फरक रंगका धर्साहरू भएका हुन्छन्। घरमा आउने झिंगा फोहोरमा झुम्मिन रुचाउँछन्, तर ब्याक्ट्रोसेरा प्रजातिका झिंगाहरू तन्दुरुस्त फलफूलमा प्वाल पारेर त्यसभित्र अण्डा प्रवेश गराउँछन्। तिनीहरूले फलफूल र काठमा समेत प्वाल पार्न प्रकृतिबाट तिखारिएको सानो ट्यूबजस्तो हतियार पाएका छन्, जसलाई 'ओभिपोजिटर' भनिन्छ। झयाउँकिरी (सिसाड) समूहको कीराले त 'ओभिपोजिटर' बाट काठमै प्वाल पारेर त्यसभित्र अण्डा घुसाउँछ।

ल्याटिनमा 'ओभम्' भनेको अण्डा हो। ब्याक्ट्रोसेरा झिंगाको त्यो अंगले अण्डा व्यवस्थापन गर्ने भएकाले 'ओभिपोजिटर' भनिएको हो। ब्याक्ट्रोसेरा प्रजातिका पोथी झिंगाहरू भालेसँग संसर्गपछि उपयुक्त वनस्पतिका फल, पात वा लहराको खोजीमा लाग्छन्। झिंगाका प्रजाति अनुसार अण्डा पार्ने वनस्पति फरक हुन्छन्। कुनैले लौका, फर्सी, घिरौंला, करेला त कुनैले अम्बा, आँप, कटहर, कागती, सुन्तला आदिका चिचिला वा फल रोज्छन्। उपयुक्त चिचिला, फल वा पात भेटेपछि तिनीहरूले 'ओभिपोजिटर' चलाएर तीन/चार मिलिमिटर गहिरो प्वाल बनाई भित्र अण्डा घुसाइदिन्छन्। त्यस्ता प्वाल मानिसका नाङ्गा आँखाले देखिंदैन।

झिंगाले अण्डा राखेको एक–दुई दिनमा सूक्ष्म प्वाल वरपर खैरो वा कालो हुन्छ। त्यसबेलासम्म भित्र स–साना कीरा बनिसकेका हुन्छन्, जुन अर्को दुई–तीन दिनमा लार्भामा परिणत हुन्छन्। ती लार्भाहरू आफूले कुहाएको चिचिला, फल, पात वा लहरासँगै भुइँमा खस्छन्। 'ओभिपोजिटर' ले प्वाल पार्दा पसेका हावामा रहेका ढुसी र ब्याक्टेरियाहरूले समेत कुहाउन मद्दत गर्छन्। कुहिएका चिचिलाबाट जमीनमा झ्रेका लार्भा केही दिनमा प्युपा र प्युपाबाट वयस्क झिंगा बन्छन्। अण्डा पारेको १२ देखि २८ दिनसम्ममा वयस्क झिंगा बन्छ। कम्मर साँघुरिएको हुने हुनाले त्यस्ता झिंगालाई कतिले 'कान्छी नानी' त कसैले 'बारुली कम्मर' भन्ने गरेको सुनिन्छ।

ब्याक्ट्रोसेरा कुकुरबिटी।
प्राणी विज्ञानमा 'ब्याक्ट्रोसेरा' नाम पाएको झिंगाले तरकारी र फलफूल नै कुहाउँछ। आरडी गौतम, शक्तिके सिं र राजेश कुमार लिखित पुस्तक म्यानेजमेन्ट अफ इम्पोटेन्ट फ्रूट फ्लाइज विथ फोकस अन देयर आइडेन्टिफिकेसन का अनुसार, नेपालमा ब्याक्ट्रोसेरा कुकुरबिटी, ब्याक्ट्रोसेरा डर्सालिज, ब्याक्ट्रोसेरा जोनाटा, ब्याक्ट्रोसेरा टाउ, ब्याक्ट्रोसेरा स्कुटेलारिज, ब्याक्ट्रोसेरा काउडाटा र ब्याक्ट्रोसेरा करेक्टस् प्रजातिका झ्िंगा पाइन्छन्। अन्य स्रोतहरूमा ब्याक्ट्रोसेरा योशीमोटोइ, ब्याक्ट्रोसेरा डाइभर्सस् र ब्याक्ट्रोसेरा मिनाक्स् पनि पाइएको जानकारी छ। केबी श्रेष्ठको सर्भेइल्यान्स अफ फ्रूट फ््कलाइल अनुसार सन् १९९४–१९९६ ताका काभ्रेमा ब्याक्ट्रोसेरा कुकुरबिटी, ब्याक्ट्रोसेरा डर्सालिज, ब्याक्ट्रोसेरा जोनाटा, ब्याक्ट्रोसेरा टाउ, ब्याक्ट्रोसेरा स्कुटेलारिज र ब्याक्ट्रोसेरा योशीमोटोइ पाइएको थियो।

अन्य प्रजातिको बिगार

कुकुरविटेसी परिवारका फलमा लाग्ने झिंगालाई ब्याक्ट्रोसेरा कुकुरबिटी भनिन्छ। कुकुरबिटेसी परिवारमा लौका, फर्सी, काँक्रा, जुकुनी, स्क्वास, खरबुजा, तितेकरेला आदि पर्छन्। ब्याक्ट्रोसेरा कुकुरबिटीलाई 'द मेलन फ्रूट फ्लाइ' वा 'मेलन फ्लाइ' पनि भनिन्छ। त्यसो त कुकुरबिटेसी परिवारका फलफूलमा अन्य प्रजातिका झिंगाले पनि उत्तिकै हानि पुर्‍याउँछन्। ब्याक्ट्रोसेरा डर्सालिज झिंगा विशेषतः कुकुरविटेसी परिवारअन्तर्गतको तितेकरेलामा बढी आकर्षित हुन्छ। यो प्रजातिका झिंगाले एभोकाडो, कागती, कफी, अम्बा, आँप, मेवा, गोलभेंडा, हलुवावेद आदिमा पनि फूल पार्छ। यसको अर्को नाम 'द ओरिन्टल फ्रूट फ्लाइ' हो। यस वर्ष पंक्तिकारले ललितपुरको भैंसेपाटीमा लगाएको लौकामा ब्याक्ट्रोसेरा डर्सालिज भेटेको छ।

ब्याक्ट्रोसेरा करेक्टस् प्रजातिका झिंगाले अम्बा कुहाउँछ। यसले छिप्पिएकै फलमा पनि अण्डा पार्छ। अण्डाबाट कीरा निस्कने अवस्था भए पूरै फल कुहिन्छ। अन्यथा, फलमा स–साना काला दाग वा गिर्खाजस्तो आकृति देखिन्छ। अम्बामा आकर्षित हुने अर्को प्रजातिको झिंगा ब्याक्ट्रोसेरा जोनाटा हो। यसले आँप र आरूसमेत कुहाउँछ। त्यस्तै, ब्याक्ट्रोसेरा टाउले टमाटरसहित १४ भन्दा बढी परिवारका वनस्पति कुहाउने मानिन्छ। यो प्रजातिको झिंगा हिउँदमा पनि सक्रिय देखिन्छ। काठमाडौं उपत्यकामा लौका कुहाउनेमा यो पनि एक हो। कुल ब्याक्ट्रोसेरामा टाउको संख्या भने अत्यन्त थोरै रहेको मानिन्छ।

त्यसैगरी, लौका र फर्सी कुहाउने ब्याक्ट्रोसेरा काउडाटा र ब्याक्ट्रोसेरा स्कुटेलारिज हो। यिनीहरूले फल मात्र नभई मुन्टा, पात, लहरा नै कुहाउँछन्। त्यस्तै, 'चाइनिज साइट्रस फ्लाइ' भनिने ब्याक्ट्रोसेरा मिनाक्स् प्रजाति सन् २००६ मा धनकुटा र तेह्रथुममा पाइएको थियो। यिनीहरूले सुन्तला भुसुक्क पार्छन्। झिंगाका ब्याक्ट्रोसेरा योशीमोटोइ र ब्याक्ट्रोसेरा डाइभर्सस् प्रजातिले भने के–के कुहाउँछन् भनेर जानकारीमा आएको पाइएको छैन।

नियन्त्रणका उपाय

किसानले तरकारी तथा फलफूल कुहिनबाट जोगाउन झिंगालाई 'गन्धपासो' थाप्ने गरेका छन्। यो एक किसिमको यौनगन्ध हो। यौन संसर्गको मौसममा प्राणीको शरीरले विशेष किसिमको गन्ध छाड्छ। पोथी झिंगाबाट निस्कने त्यस्तै कृत्रिम गन्ध बनाएर त्यसमा विषादी मिसाई फलफूल बगैंचामा राखिन्छ। प्लास्टिकको थैलामा राखिने त्यस्तो विषादीलाई 'फेरोमेन ट्र्याप' भनिन्छ, जुन चुसेर भाले झिंगाहरू सखाप हुन्छन् र पोथीहरूले संसर्ग गर्न पाउँदैनन्।

लहरे तरकारी बाली र फल जोगाउन भिन्दाभिन्दै सुगन्ध भएका 'फेरोमेन ट्र्याप' बजारमा पाइन्छ। यसबाहेक, कुहिएका फलफूल वा तरकारी जम्मा पारेर तीन फिट गहिरो खाडलमा पुर्नु वा डढाउनुलाई झिंगाको प्रकोप नियन्त्रण गर्ने अर्को उपाय मानिन्छ। अन्यथा, कुहिएका फलफूलबाटै केही दिनपछि ब्याक्ट्रोसेरा प्रजातिका अनेक झिंगा निस्कन्छन्।

नेपालका आम कृषक अझैसम्म ब्याक्ट्रोसेरा जातिका झिंगाबारे बेखबर छन्। यो प्रजातिलाई मात्र नियन्त्रण गर्न सक्दा पनि तरकारी तथा फलफूल उत्पादन जोगाउन सकिन्छ। यस्ता झिंगाबारे पाठ्यपुस्तकमै जानकारी समेट्न सके राम्रो हुन्छ, तर अहिलेसम्म हाम्रा विश्वविद्यालयबाट प्राणी तथा कृषि विज्ञानमै उच्च शिक्षा हासिल गर्नेहरू पनि यसबारे बेखबर रहेको विडम्बना छ। दोष कस–कसलाई दिने?

comments powered by Disqus

रमझम