सेतो पुतलीको आतंक

Share:
  
- सविता श्रेष्ठ
अचानक आँखामा संक्रमण भई ज्योति नै गुम्न सक्ने 'सापु' रोग लाग्नुको रहस्य पत्ता नलागेसम्म सेतो पुतलीबाट बच्नु नै एकमात्र उपाय ठानिएको छ।

तस्वीरः बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्र
सापु रोग लागेकी बालिका।
आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, चाँडो–चाँडो ज्योति कम हुँदै जाने, चिप्रा नआउने र खासै नदुख्ने लक्षण पाइएमा सिजनल हाईपरएक्युट पानुभिआइटिस (सापु) हुन सक्छ। आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग यस वर्ष पनि देखिन थालिसकेको छ। काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक, महोत्तरी, चितवन र भारतबाट समेत यो रोगका बिरामी काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा आउने क्रम जारी छ।

प्रतिष्ठानका अनुसार, सन् २००४ यता करीब ४०० को संख्यामा सापुका बिरामी उपचारार्थ आएका छन्। यसबाहेक बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रमा पनि सापु लागेका बिरामी आउने गरेका छन्।

कसरी लाग्छ त सापु रोग? चिकित्सकसँग समेत स्पष्ट उत्तर छैन। चिकित्सकहरू यो रोगको प्रमुख कारण सेतो पुतली हुनसक्ने अनुमान गर्छन्। “सेतो पुतलीको पुच्छरको रौंमा हुने रसायन आँखामा प्रवेश गर्ने र त्यसैले रोग निम्त्याउने आकलन छ”, तिलगंगाकी आँखा रोग विशेषज्ञ डा. अनु मानन्धर भन्छिन्। उनी केही बिरामीको आँखामा पुतलीको झुस भेटिएको, केहीले अस्पताल आउँदा सेतो पुतली समेत समातेरै ल्याएको र कतिपय अभिभावकले बालबालिकाले पुतलीसँग खेलेपछि लक्षण देखिएको बताउने गरेकाले पनि सेता पुतलीलाई कारण मानिएको उनी बताउँछिन्। वर्षायाम सकिने ठीक यही समयमा पुतलीको प्रजनन् शुरू हुने भएकाले पनि यो बेला सापुका बिरामी धेरै देखिएका हुनसक्ने चिकित्सकको ठम्याइ छ।

आँखामा हुने प्रमुख तीन पत्र र पानीलाई समेत असर गर्ने यो रोग लागेका धेरै बिरामी ढिलो अस्पताल पुग्छन्। तत्काल उपचार शुरू नगरिए आँखाको ज्योति गुम्छ, आँखा सुक्छ। सन् २०१५ मा तिलगंगा प्रतिष्ठानमा आएका १०७ जना सापुका बिरामीमाथि अध्ययन गरेकी डा. मानन्धरको भनाइमा आधा जतिले आँखाको ज्योति नै गुमाउनुपरेको थियो।

उपचारमा आउनेमध्ये ६५.५ प्रतिशत १६ वर्ष मुनिका र ७० प्रतिशत पहाडी क्षेत्रबाट आएका थिए। “अस्पताल आएका अधिकांश बिरामीको आँखाको कर्नियाको केही भाग कोतरिएको पाइएकोले कुनै माध्यमबाट संक्रमण गराउने ब्याक्टेरिया तथा भाइरस बाहिरी भागहुँदै भित्रसम्म पुगेको देखिन्छ”, डा. मानन्धर भन्छिन्।

नेपाली रोग!

तस्वीरः तिलगंगा आँखा प्रतिष्ठान
नेपालमा सन् १९७५ मा पोखरामा पहिलोपटक यो रोग देखिएको थियो। तर, शुरूमा यसलाई 'ट्युमर' भनियो। सन् १९७९ मा डा. मदन उपाध्यायको टोलीको अध्ययनले यसलाई सिजनल हाईपरएक्युट पानुभिआइटिस (सापु) रोगको नाम दियो। तर, कारण भने प्रष्ट भएन।

त्यसपछिका करीब २० वर्ष यो रोग देखिएन। तर, सन् २००० पछि फेरि देखियो, २००४ पछि भने बढी नै आउन थाल्यो। डा. उपाध्यायका अनुसार, अहिलेसम्म सापुबाट प्रभावित भएर अस्पताल आइपुग्नेको संख्या ७०० भन्दा बढी छ। तर, अस्पताल नै नआइपुगेका बिरामीको संख्या भने यसको चार गुणासम्म बढी हुनसक्ने उनी बताउँछन्।

रोग देखिएको चार दशक नाघिसक्दा पनि यकिन कारण पत्ता लागेको छैन। कारण खोज्न मुसा र गिनीपिगमा अनुसन्धान गरे पनि सफलता हात लागेन। “कुनै बिरामीमा ब्याक्टेरिया र कुनैमा भाइरस भेटिएकोले यही हो भन्न सकिने अवस्था अझ्ै छैन”, डा. उपाध्याय भन्छन्।

तिलगंगाकी डा. मानन्धरले बिरामीको आँखाको भिट्रस फ्ल्युड (संक्रमित पानी) जाँच गर्दा ४५ प्रतिशतमा ब्याक्टेरियाको संक्रमण पाएकी थिइन्। यसबाट यो रोग सिजनल एन्डप थालमाईटिस समेत भएको पाइएको उनी बताउँछिन्। विशेषगरी चोटपटक लाग्दा र शल्यक्रिया गर्दा हुने संक्रमणबाट यो रोग लाग्छ। “तर सिजनल इन्डप थालमाईटिस देखिएका सबै बिरामी अरू रोगबाट संक्रमित भएको पाइएन”, उनी भन्छिन्। उनी भारत र भूटानमा यो रोगका एकादुई केस बाहिर आए पनि खासै खोजी नभएको बताउँछिन्।

तत्काल उपचार

कहिलेकाहीं र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग भएको स्वयं चिकित्सकहरू नै बताउँछन्। “समयमा नै उपचार नपाए बिरामीले आँखाको दृष्टि क्षमता त गुमाउँछ नै आँखा सुकेर कुरुप समेत बनाउँछ”, डा. उपाध्याय भन्छन्। सुकेका आँखामा क्रिष्टलको कृत्रिम आँखासमेत राखिदिने गरेको उनी बताउँछन्।

बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रकी डा. रञ्जु खरेल (सिटौला) आँखामा पिप जम्नुअघि अर्थात् ४८ घण्टाभित्रै उपचार थालिए दृष्टि बचाउन सकिने बताउँछिन्। उनका अनुसार, शल्यक्रिया गरेर आँखाभित्र जमेको पिप र फोहोर पानी हटाउने 'भिट्रेक्टोमी' विधिबाट रोगको उपचार गरिन्छ।

यो रोगबाट जोगिने कसरी त? डा. मानन्धर अहिलेका लागि सेता पुतलीको झ्ुसको संक्रमणबाट बच्नु नै उत्तम उपाय भएको बताउँछिन्। सेता पुतली साँझ्, बेलुका सेतो बल्बको वरिपरि बढी झुम्मिने भएकाले पहेंलो रङको चिम तथा बल्ब प्रयोग गर्नुपर्ने उनको सुझाव छ। “पुतली छोइहालियो भने राम्ररी हात नधोई आँखा छुनुहुन्न” उनी भन्छिन्, “झयाल, ढोकामा जाली लगाउने, झुल लगाएर मात्र सुत्ने गरे पनि धेरै हदसम्म बच्न सकिन्छ।”

लक्षण

आँखा अचानक रातो हुनु।

उज्यालोमा हेर्न गाह्रो हुनु।

आँखाको कालो भागको बीचमा सेतो देखिनु।

छिटोछिटो ज्योति कम हुदै जानु।

पाकेजस्तो देखिए पनि चिप्रा नलाग्नु, नदुख्नु ।

comments powered by Disqus

रमझम