उज्यालो बगैंचा

Share:
  

तस्वीरः गोपेन राई
काठमाडौंको मित्रपार्कस्थित सिंह भिल्लाको बगैंचा।
फूल र बोटबिरुवा रोप्दैमा बगैंचा बन्दैन। बगैंचा बन्न सही व्यवस्थापन चाहिन्छ। सोखसँगै उपलब्ध जमीनको आधारमा पूर्वाधार तयार गरेर मात्र बनाउने हो भने बगैंचा सुन्दर देखिन्छ। जसले मस्तिष्कलाई आनन्द दिने मात्र होइन, घरको शोभा पनि बढाउँछ।

क्रियटिभ गार्डेन डेकोरका सञ्चालक तथा गार्डेन डिजाइनर बिजेश श्रेष्ठको भनाइमा बगैंचा व्यवस्थापनमा बत्तीको विशेष महत्व हुन्छ। खासगरी बगैंचामा उज्याला बत्ती राखिन्छ। “बत्ती राखिएका बगैंचामा गर्मीयाममा बसेर र जाडोमा दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ”, श्रेष्ठ भन्छन्। बेलुकीपख बगैंचामा टहलिंदा शरीरलाई स्फूर्त पनि बनाउँछ। पछिल्लो समय बगैंचा बनाउने तरिकाबारे चासो राख्नेहरु बढेको श्रेष्ठ बताउँछन्।

नेपाल लाइट सेन्टरका सञ्चालक रेशमप्रसाद देवकोटा भने सुरक्षाको लागि पनि बगैंचामा बत्ती प्रयोग गरिनुपर्ने बताउँछन्। “पाहुना आउँदा बगैंचामा बसेर रमाइलो गर्न सकिन्छ, कीरा फट्याङ्ग्राबाट जोगिन पनि सकिन्छ”, उनी भन्छन्।

बत्ती राख्नुअघि बगैंचाको स्वरुपमा ध्यान दिनुपर्छ। उज्यालो बनाउन मात्र होइन; कुनै फूल, बोटबिरुवा तथा कुनै क्षेत्रलाई 'हाइलाइट' गर्न पनि बत्ती राख्न सकिन्छ। बगैंचा क्षेत्रभित्रै स्वीमिङ पुल, पोखरी तथा छहरामा भए भित्रैपट्टि बत्ती राखेर आकर्षक बनाउन सकिन्छ।

नेपाल लाइट सेन्टरका संचालक देवकोटा होटल, रेस्टुरेन्ट बाहेक घर, बगैंचामा पनि फेन्सी तथा स्टाइलिस लाइटको प्रयोग बढ्न थालेको बताउँछन्। “सीधै जमीनमा तथा स्ट्याण्ड राखेर र बगैंचामा प्रकाश पर्ने गरी घरको भित्तामा पनि बत्ती राख्न सकिन्छ”, उनी भन्छन्। बजारमा गोलाकार, वर्गाकार तथा मन्दिर आकारमा फेन्सी लाइट पाइन्छन्। आवश्यकता अनुसार, बत्ती तथा स्ट्याण्डको साइज छनोट गर्नुपर्छ।

बिरुवामा ह्याङ्गिङ लाइट पनि राख्न सकिन्छ। राति आफैं बल्ने र दिनमा बन्द हुने सेन्सर जडान गरिए घरबाहिर हुँदा समेत बत्ती बलिरहन्छ। बत्तीको रंग परिवर्तन भइरहने, बाहिरबाट मानिस आउँदा संकेत दिनेलगायतका सुविधा पनि बत्तीमा जोड्न सकिन्छ। गार्डेन डिजाइनर श्रेष्ठ जाडोमा न्यायो र गर्मीमा शीतल महसूस हुने गरी बत्तीको प्रयोग गर्न सुझाव दिन्छन्।

विद्युत् व्यवसायी महासंघका महासचिव समेत रहेका देवकोटा बगैंचामा बत्तीका लागि सौर्य ऊर्जाको प्रयोग गरिनु उत्तम हुने बताउँछन्। “तर, बत्तीको वायरिङ र सुरक्षाका अन्य उपायबारे भने सावधानी अपनाउनुपर्छ”, उनी भन्छन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम