'टि्वन्स स्तूप' को किंवदन्ती

Share:
  
- बसन्त महर्जन
अज्ञात कुरालाई स्पष्ट शब्दमा अज्ञात नै भन्दा त्यो सूचना भरपर्दो हुन्छ र अनुसन्धातालाई अनुसन्धान गर्न प्रेरित गर्छ।

बसन्त महर्जन
गौतम बुद्ध (इपू ५६३–४८३) सँग सम्बन्धित स्थलहरूबारे नेपालमा अध्ययन–अनुसन्धान भन्दा बढी कल्पना र हल्ला हुने गरेको पाइन्छ। त्यस्ता हल्ला नै स्थापित हुन पुग्दा अध्ययन अनुसन्धानको दरकार नै नपर्ने भयो। यस्तो छ, विडम्बना! त्यसकै उदाहरण बन्न पुगेका छन्, तिलौराकोटको तत्कालीन दरबार (प्रमुख प्रशासनिक भवन) भनिएको पुरातात्विक भग्नावशेषभन्दा पाँचसय मिटर उत्तर र वाणगंगा नदी किनारमा रहेका दुई ठूला स्तूपको भग्नावशेष पनि। ती दुई स्तूप अध्ययन–अनुसन्धान विनाको पहिचान बोक्न विवश छन्।

प्राचीन कपिलवस्तु हेर्न आउनेहरूलाई वितरण गरिने प्रचार सामग्रीमा धम्नीहवास्थित यी दुई स्तूप पनि समाविष्ट छन्, जसलाई 'टि्वन्स स्तूप' नाम दिइएको छ। लुम्बिनी विकास कोष र अन्य निकायबाट प्रकाशित सामग्रीहरूमा तिनलाई बुद्धका बाबु शुद्धोधन र आमा मायादेवीको समाधिस्थल वा तिनका नाममा निर्मित स्तूप भनिएको छ; जुन ऐतिहासिक, पुरातात्विक तथ्य र बौद्ध मान्यतासँग मेल खाँदैन। किनभने, बौद्ध ग्रन्थहरूमा स्तूप बनाउन योग्य भनी उल्लेख भएकामा बुद्ध, अर्हत र चक्रवर्ती राजा मात्र हुन्।

सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) लाई जन्म दिएको सातै दिनमा दिवंगत भएकी मायादेवी अर्हत हुने कुरै भएन। शुद्धोधन पनि मृत्युशैच्चयामा बुद्धको उपदेश सुनेर अर्हत भएका हुन्। यिनको नाममा स्तूप बने/बनाएको कतै उल्लेख छैन। हजारौंको संख्यामा रहेका सबै अर्हतका नाममा स्तूप बन्नु/बनाउने संभव कुरा होइन। त्यतिबेला त्यसको आवश्यकता थिएन पनि। बुद्धका पिता भएका नाताले स्तूप बन्यो कि भन्ने अनुमान गर्ने ठाउँ नभएको होइन, तर नातागोता भएकै आधारमा मानसम्मान वा प्रमुखता पाउने (नातावादको) प्रचलन तत्कालीन समाजमा थिएन। यस अर्थमा, धम्नीहवास्थित 'टि्वन्स स्तूप' शुद्धोधन र मायादेवीको नाममा बनाइएको भन्नु कल्पनाको कुरालाई मान्यता दिनु हो।

ठूलो स्तूप ५२ फिट र सानो २६ फिट डायमिटरको छ। यी दुवैको उत्खनन् बाबुकृष्ण रिजालले गरेका हुन्। अहिले ईंटाद्वारा निर्मित जस्तो देखिए पनि शुरूमा माटोबाटै बनेको र पछि दुई पटक ईंटाले ढाकेको बुझिन्छ। ईंटाको तहभन्दा भित्र अध्ययन गर्ने कार्य ठूलो स्तूपमा मात्र भएको छ। त्यो अध्ययनमा 'नर्थन ब्ल्याक पोलिस वेयर' (एनबीपी) का भाँडाकुँडाहरू पाइएको हुँदा उक्त स्तूप इसापूर्व तेस्रो शताब्दी वरिपरि निर्मित भनेर काल निर्धारण गर्न सकिन्छ।

यी दुई स्तूप शुद्धोधन र मायादेवीको स्मृतिमा बनेका हुन् भन्ने पनि उत्खनन्कर्ता बाबुकृष्ण रिजाल नै हुन्। तर यस भनाइको आधार भने स्थानीय विश्वास वा किंवदन्ती मात्र हो। यस्ता विश्वास वा किंवदन्ती इतिहास अध्ययनमा सहायक आधार मात्र हुनसक्छन्। पुरातत्वका सन्दर्भमा तथ्यगत प्रमाण नै चाहिनेमा रिजालले कल्पनालाई मान्यता दिएको भन्न सकिन्छ। स्थानीय लोकोक्तिले उक्त स्तूपबारे स्थानीयवासी पहिल्यैदेखि जानकार थिए भन्ने अर्थ त दिन्छ, तर यो परम्परादेखि चल्दै आएको नभएर आफ्नो आवश्यकता अनुसार आफैंले सिर्जना गरेको देखिन्छ।

सन् १८९५ मा निग्लिहवास्थित पोखरीछेउमा अभिलेखसहितको अशोक स्तम्भ भेटिनुअघिसम्म प्राचीन कपिलवस्तुको अवस्थितिबारे विज्ञहरू नै अन्योलमा थिए। त्यही 'डिस्कभरी' को आधारमा पूर्वतर्फ लुम्बिनीको खोजी हुन सक्यो भने कपिलवस्तुमै पनि अरू बौद्ध स्थलहरू भेटिए। स्थानीयवासीले पनि पुरातात्विक प्रमाणहरूको प्राप्तिपछि नै बुद्धबारे जानकारी पाउन थालेका हुन्। वास्तविकता यस्तो हुँदाहुँदै बाबुकृष्ण रिजालले स्थानीय विश्वास वा लोकोक्ति भन्दै यी दुई स्तूपलाई शुद्धोधन र मायादेवीसँग जोडिदिए। यो आफैंमा ताजुबको विषय हो। एउटा पुरातत्वविद्लाई यस्तो अभ्यासको छूट छैन।

पुरातत्वको ज्ञान र बौद्ध धर्म–दर्शनबारे जानकारी नभएका आगन्तुकहरूलाई कथा–कहानी हालेर भुलाउन अवश्य सकिन्छ, तर तिनको पनि औचित्य त हुनैपर्छ। पुरातात्विक स्थलहरूको भ्रमण गर्नेहरू सबै सर्सर्ती प्रकृति हेरेर मन भुलाउन वा समय कटाउन मात्र आएका हुँदैनन्। केही बुझौ, सिकौं भनेर आएकाहरूले पाएका सूचनाहरूलाई आधिकारिक मान्छन् र अन्य ठाउँमा पुगेर त्यही कुरा बताउँछन्। तर, कपिलवस्तुका उल्लिखित दुई स्तूप एकै समयका हुन् वा होइनन् भन्नेलगायतका धेरै कुरा अज्ञात रहेको अवस्थामा पनि शुद्धोधन र मायादेवीको नाम जोडेर प्रचारबाजी भइरहेको छ।

comments powered by Disqus

रमझम