राखीको सामाजिक अर्थशास्त्र

Share:
  
- चन्द्रकिशोर
भारतीय चलचित्रको प्रभावमा 'रक्षाबन्धन' त्यागेर 'राखी' भित्र्याएको मधेशी समाजको काँधमा अब यो पर्वलाई महिला सशक्तीकरण र सद्भाव संस्कारका रुपमा अनुवाद गर्नुपर्ने दायित्व छ।

चन्द्रकिशोर
मधेशमा साउन पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व अचेल 'राखी' भनी चिनिन थालेको छ। सम्पूर्ण मधेशमा लोकप्रिय भए पनि राखीको परम्परा केही दशकअघिको मात्र हो। त्यसअघि रक्षाबन्धन भनिने यो पर्वमा गुरुले शिष्यलाई, मान्यजनले हितैषीलाई हातमा रक्षा–सूत्रका रुपमा डोरो बाँध्ने परम्परा थियो। म सानो छँदा हजुरबुवा र ठूलोबुवाले डोरो बाँधिदिनुभएको सम्झना छ।

पहिले कात्तिकमा भ्रातृ द्वितीया (भैया दुज) भाइ–बहिनीबीचको पर्वको रुपमा मनाइने गरिन्थ्यो, जुन आजसम्म पनि छ। राखी मूलतः दाजुभाइ–दिदीबहिनीको पर्व हो। तर, खासगरी भारतीय चलचित्रहरूको प्रभावसँगै मधेशी समाजभित्र राखी हावी अनि रक्षाबन्धन लोप भइरहेको छ। लाग्छ, हाम्रो रक्षाबन्धन अरुको राखीसमक्ष आत्मसमर्पण गरिरहेको छ। र, यसका लागि जिम्मेवार अरु होइन, हामी मधेशी नै बनिरहेका छौं।

उदाहरण नै हेरौं, २०३० को दशकमा भारतमा 'जय सन्तोषी माँ' चलचित्र खूब चल्यो। त्यसको असर यताको मधेशमा यति दह्रोसँग पर्‍यो कि मानिसमा 'सन्तोषी माता' को व्रत बस्ने, अनुष्ठान गर्ने फेसन नै चल्यो। अहिले त तराईका विभिन्न गाउँ, शहरमा सन्तोषी माताको मन्दिर नै बनाइएको छ। एउटा यस्तो 'माता' जसको पूजा त परै जावस् नामसमेत मधेशी समाजमा त्यसअघि कहिल्यै सुनिएको थिएन।

त्यसो त राखीका केही रोचक सन्दर्भ पनि छन्। मधेशमा राखी पर्व कारागारमा पनि मानिन्छ। कारागारका बन्दीहरूलाई सामाजिक संस्थाहरूका दिदीबहिनीहरू गएर राखी बाँध्छन्। कुनै संस्थाहरूले सार्वजनिक रुपमै राखी बन्धन कार्यक्रम पनि राख्छन्। कतै विद्यालयहरूले राखी बनाउने प्रतियोगिता नै आयोजना गर्नेसँगै मधेशी र पहाडी समुदायका दाजुभाइ–दिदीबहिनीबीच एकअर्कालाई राखी बाँधेर विश्वास र भरोसा प्रकट गर्ने प्रयत्नको पर्वका रुपमा पनि यो पर्व अनुवाद हुन थालेको छ।

तर, राखी पर्वलाई बदलिंदो मधेशको सन्दर्भमा यसरी मात्र परिभाषित गरेर पुग्दैन। यताका दशक जसरी राखीको प्रचार बढ्दो छ, मनाइने क्रम पनि उसैगरी झ्ााङ्गिदैछ। र, राखीका सामग्रीको कारोबार फस्टाएको छ। बजारमा महँगा महँगा राखी बिक्री हुन थालेका छन्। विडम्बना चाहिं, भारतबाटै राखी पर्व भित्रिएजस्तै राखीको अर्थतन्त्रमा भारतीय उत्पादनले नै कब्जा जमाएको छ।

राखी पर्वमा बहिनी पक्षबाट भाइलाई हातमा रङ्गीचङ्गी एवम् सजावटयुक्त रक्षा–सूत्र बाँध्ने गरिन्छ। भाइलाई मीठा मीठा खानेकुरा पनि खुवाइन्छ। बहिनीले भाइलाई राखी बाँधेपछि भाइपक्षबाट सधैंका लागि बहिनीको रक्षा गर्ने प्रतिबद्धता आउने राखीको पुरानो प्रचलन हो। जस्तो कि, हिन्दी चलचित्रहरूमै पनि महिलाले पुरुषलाई राखी बाँधेपछि भाइ–बहिनीको नातासँगै ती महिलालाई आपत् पर्दा पुरुषले रक्षा गरेको, सेनाका जवानलाई राखी बाँधेर सीमा रक्षाको आग्रह गरिएको, भाइ–बहिनीको प्रेम र आत्मीयता देखाउन राखीको गीतसमेत राखिएको थुप्रै प्रसंग पाइन्छन्।

यो पर्वको माध्यमबाट भाइ–बहिनीमा प्रेम, सद्भाव फैलिने आशा गरिन्छ। तर, विचारणीय कुरा त के हो भने पुरुषले मात्र महिलाको रक्षा गर्न सक्छन् भन्ने परम्परागत पुरुष सत्ताकै वकालत राखी पर्वले गरिरहेको छ।

अहिलेको समयमा बहिनीको सुरक्षाको स्वरुप फेरिंदै गएको छ। चौखटभित्र कैद गरेर र मानवीय अधिकारहरूबाट वञ्चित गरेर कुनै पनि भाइले बहिनीको रक्षा गर्न सक्दैन।

एउटी बहिनी एक्लै बस्दा होस् वा ससुरालीमा, जबसम्म अधिकार, सशक्तीकरण र महिला स्वाभिमानको कुरा गर्दिनन्, माइतीमा भाइहरूको सहृदयता पाइराखेकी हुन्छिन्। तर जब स्वतन्त्रता चेत राख्न, परम्परामाथि प्रश्न उठाउन थाल्छिन्, सम्बन्धहरू धर्मराउँछन्।

बहिनीहरूमा बढ्दो जागरुकताले मधेशी समाजमा भाइ–बहिनीको नातामा नयाँ मोड ल्याइरहेको छ। त्यसकारण यो पर्वलाई बहिनीहरूको सामाजिक र आर्थिक स्थितिसँग जोडेर हेर्नुपर्छ। पैतृक सम्पत्तिमा बहिनीहरूको बराबरी हक व्यवहारमै स्थापित हुनुपर्छ। महिला सशक्तीकरणको प्रयत्नमा सघाउ नपुर्‍याइञ्जेलसम्म यो पर्वको सांस्कृतिक महत्व स्थापित हुन सक्तैन। बदलिंदो समयसँगै पर्वहरूमा आधुनिक जीवनका सरोकारहरूलाई खोज्नुले नै पर्वलाई सार्थक र मौलिक बनाउनेछ।

comments powered by Disqus

रमझम