सम्बन्ध सेतु

Share:
  
६५ वर्ष पछि पनि गोर्खा रेडियोले बेलायती गोर्खा सैनिक र उनीहरूको परिवारसँगको सम्बन्ध उस्तै गरी जोडिरहेको छ।

तस्वीरहरुः बीएफबीएस गोर्खा
बेलायती गोर्खा सैनिक र परिवारबीच सम्पर्क सूत्रका रुपमा स्थापित गोर्खा रेडियो ६५ वर्ष लागिसकेको छ। यसबीचमा थुप्रै गोर्खा सैनिक सेवानिवृत्त भए, कति शहीद त कति कालगतिमा परे। तर, यो गोर्खा रेडियो भने उसैगरी बजिरहेको छ। ब्रिटिश फोर्सेस् ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) का १८ वटा रेडियो स्टेशनमध्ये सबैभन्दा बढी गोर्खा रेडियो नै सुनिनु पनि यसैको प्रमाण हो।

त्यसो त अवस्था पहिले जस्तो छैन। अहिले धेरै गोर्खा सैनिकका परिवार बेलायतमै बस्न पाउँछन्। बसिरहेका पनि छन्। परिस्थिति फेरिए पनि गोर्खा रेडियोको काम उही छ। त्यहीं बसेका गोर्खा सैनिक र परिवारले पनि रेडियो सुन्छन्। नेपालका घर र गाउँका खबर थाहा पाउँछन्। बेलायत बाहिर खटिएका आफ्ना सन्तानबारे बुझ्छन्। रेडियोले नयाँ–नयाँ घटना, समाचार र मनोरञ्जनलाई विशेष महत्व दिंदै आएको छ। सामाजिक सञ्जालको बलियो प्रभाव हुँदाहुँदै पनि यो रेडियोका श्रोता खासै घटेका छैनन्।

जस्तो, युद्धग्रस्त अफगानिस्तानमा खटिएका गोर्खा सैनिकका लागि रेडियो सुन्न शिविरमै 'रिसिभिङ सेट' को व्यवस्था मिलाइएको हुन्छ। यसबाट सैनिकले नेपाल र बेलायतका साथै विश्वमा के भइरहेको छ भन्ने जानकारी नेपाली भाषा र आवाजमै लिन सक्छन्। द्वन्द्वरत क्षेत्र जहाँ पुग्छन्, सेट बोकेरै लैजान्छन्।

ललितपुरस्थित गोर्खा रेडियोको स्टेशनले बिहान ५:४५ देखि राति ११:४५ सम्म विभिन्न कार्यक्रम प्रसारण गर्दछ। गोर्खा रेडियो ब्रुनाई र बेलायतका १० वटा रेडियो स्टेशनले पनि यहाँको कार्यक्रम बजाउँछन्।

नेपालमा सन् १९५२ मा गोर्खा रेडियोको प्रसारण शुरु भएको थियो। गोर्खा सैनिकको बाक्लो बस्ती रहेको पूर्वी नेपालको धरानबाट यो रेडियो पहिलोपटक सुनिएको थियो। सन् १९८६ मा धरानको ब्रिटिश गोर्खा क्याम्प बन्द भएपछि भने यो रेडियो ललितपुरस्थित ब्रिटिश गोर्खा क्याम्पमा आइपुग्यो।

बेलायत सरकारले गोर्खाली सैनिककै लागि पर्वते मासिक पत्रिका पनि प्रकाशन गर्दै आएको छ। शुरुमा रोमन नेपाली भाषामा प्रकाशित पर्वते नेपालीहुँदै अहिले भने अंग्रेजीमा छापिन्छ।

ललितपुरस्थित गोर्खा रेडियो स्टेशनका समाचार सम्पादक सुमन खरेल निश्चित लक्षित वर्ग भएकाले रेडियोको 'प्रोफाइल' पनि सानो नै भएको बताउँछन्। “तर, गोर्खा सैनिक परिवारमा यो रेडियोको विश्वसनीयता ठूलो छ”, उनी भन्छन्। २२ वर्ष काम गरेको बीबीसी नेपाली सेवा छोडेर खरेल गोर्खा रेडियोमा आबद्ध भएका हुन्।

गोर्खा सैनिक परिवारमा मात्र सीमित भएकाले स्वाभाविक रुपमा गोर्खा रेडियोका श्रोता कम छन्। तर, नेपाल र बेलायतबाहेक भारत, अमेरिका, साउदी अरब, हङकङ र मलेशियामा रहेका नेपालीले पनि रेडियो सुन्ने गरेको पाइएको छ। तर, कम श्रोतालाई बाँधिराख्नु पनि कम चुनौतीपूर्ण छैन। खरेल पुराना श्रोताको आकांक्षा पूरा गर्दै नयाँ श्रोता बनाउन सक्नु नै यतिबेलाको चुनौती रहेको बताउँछन्। “तीन स्थानबाट फरक फरक समयमा प्रसारण हुने भएकाले पनि एउटै सामग्रीले सबैतिर काम नगर्ने समस्या देखिन्छ”, उनी भन्छन्।

रेडियोको सबैभन्दा लोकप्रिय कार्यक्रम परदेशीको सन्देश हो। यो कार्यक्रममार्फत सैनिक र परिवारका सदस्यहरूले आपसमा सन्देश र शुभकामना पठाउन सक्छन्। काठमाडौंको सौगात र स्वर्णिम संगम कार्यक्रम पनि रुचाइएका छन्।

स्काइप र फेसबूकमार्फत टाढा रहेका आफन्तसँग नजिक हुन थालेका बेला गोर्खा रेडियोको प्रभाव कम त भइरहेको छैन? खरेल भने यसमा सहमत छैनन्। नेपालको भौगोलिक विकटता, कम साक्षरता र इन्टरनेटको कम पहुँच तथा महँगो शुल्कका कारण अझै धेरै वर्ष रेडियोको प्रभाव रहने बताउँदै उनी भन्छन्, “त्यसैले रेडियो पत्रकारिताको भविष्य उत्तिकै चम्किलो छ।”

सृजना श्रेष्ठ

comments powered by Disqus

रमझम