झरी माहात्म्य

Share:
  
- कनक दीक्षित
प्रकृतिको नियम, ओरालोमा पानी बग्छ र ध्यान पुर्‍याइएन भने खतरा निम्तिन्छ।

झम् झम् पानी पर्‍यो असारको रात

बारीबाट बज्न लागे मकैका पात...

रुपा दीक्षित
काठमाडौं उपत्यकामाथि देखिएको बादल।
माधव घिमिरेको यो गीतले सानैदेखि बर्खा र झरीलाई मोहक बनाइदिएको हो। यसैकारण विदेशमा रहँदा पनि त्यहाँको टेलिभिजन प्रस्तोताले घमाइलो दिनलाई राम्रो मौसम र बादल लागेको (धुम्मिएको) लाई 'ब्याड वेदर' भनेको ठीक लाग्दैनथ्यो। हामी नेपाली र अन्य दक्षिण एशियालीलाई घामभन्दा पानी नै मन पर्दछ।

आजै पनि झ्याल बाहिर सानो टुक्रा बारीमा मकैका केही बोट उभिएका छन्, पानी पर्दा तिनका पात बज्दछन् नै। यसको आनन्द बारे के भनुँ! तर, अब आएर बर्खे झ्ारी पर्दा पूर्ण आनन्दित हुन सकिएको छैन किनकि सूचना संचार तथा मुलुकको पूरै भूभागको परिपे्रक्ष्यमा झरी पहिरोको अनि बाढीको पनि पर्याय भएको छ।

अतिवृष्टि हुँदा ओरालो लागेको पानीले ढुंगा–माटो कोतर्दछ, थोपा–थोपा पानी जमीनभित्र पुगेर पहाडका पाखोलाई भारी बनाइदिन्छ पहिरो चल्छ। खहरे, खोला र नदीको पानी एक भएर समथरमा बाढी ल्याउँछ। जथाभावी चुरे दोहनका कारण बालुवा फैलिएको छ र नदी बग्ने सतह उठेको छ। सीमाको दक्षिणपट्टि धेरै ठाउँमा उच्च तटबन्ध बनेकाले माथिल्लो भूभाग र बस्ती जलमग्न हुन्छ। शहरभित्र पानीको निकासले ढल र खोल्सा जलमग्न हुन्छन्, बालबच्चा बगाउँछन्।

यसरी आज बर्खे झरीको बुझाइ फेरिएको छ कतिपयको मनमा। माघे झरीको पनि आनन्द लिनसक्ने अवस्था उस्तै छैन, एक काठमाडौंवासीलाई। मुलुकको भौगोलिक, मौसमी ज्ञान कम र बसोबासबारे संवेदनशीलता थोरै हुँदा माघे झरीको बेला सिरकभित्र गुटुमुटु पर्नुको सन्तुष्टि बताइनसक्नुको थियो। त्यही वृष्टिले हिमाली भेगमा हिमपात हुन्छ, उच्च भञ्ज्याङ र पाखाहरूमा जीवनयापन दुरुह बन्छ। थोरङ्गला, लार्केला जताततै हुने भरिया र पदयात्रीहरूको बिचल्लीले अब मन पिरोल्छ, सिरकले न्यानो दिंदैन।

आजभोलि झरीले थपमा थप बिचल्ली ल्याउन थालेको छ। जिल्ला–जिल्ला (अब प्रान्त–प्रान्त भनौं) मा हचुवा पाराले सडकहरू निर्माण भएका छन्। डोजरमुखी सडक निर्माणले बर्खे पानी निकासको उचित व्यवस्था गरेको छैन। यसले पहिरोको जोखिम झ्ानै बढाइदिएको छ।

जिल्लाका प्राविधिकहरूलाई के भन्नु, मध्य बर्खामा सद्दे राजमार्ग बिगारेर मुग्लिन–जुगेडी खण्डलाई चौडा गर्ने 'काम' भयो, राष्ट्रिय तवरमै। यसले मुलुकको सबभन्दा चलनचल्तीको राजमार्गलाई छिन्नभिन्न पारिदिएको र यात्रुहरूलाई झरीमा ज्यान हत्केलामा राखेर हिंड्नुपर्ने अवस्था बनाइदिएको छ। मुग्लिन–जुगेडी खण्डमा भएको 'काम' ले प्रमाणित गर्दछ– आजकालका प्राविधिक, प्रशासकीय र राजनीतिक नेतृत्वले भूगोल र झरीको पर्वाह नगरी संरचना बनाउँदा रहेछन्।

साधारण झरीले ल्याउने प्रकोप एउटा खालको हुन्छ। तर जब बादल फाटेर लामो अवधिको लागि अतिवृष्टि ('क्लाउड बर्स्ट') हुन्छ, विनाश फैलन्छ। यस्तो अतिवृष्टि ऐतिहासिक कालदेखिकै 'फेनोमेना' हो, हिमालय खण्डमा। यो अध्ययन–अनुसन्धानको विषय भने बन्न सकेको छैन। आज बन्दै गरेका भौतिक संरचना 'क्लाउड बर्स्ट फेनोमेना' लाई मध्यनजर राखेर बनेका देखिंदैनन्।

उदाहरण, काठमाडौंका नदीनालाको जसरी हातखुट्टा बाँधेर, २०२१ सालको नापी अनुसारको 'राइट अफ वे' लाई पर्वाह नगरेर, खुम्चिएको खोंचमा बग्न बाध्य तुल्याएको छ, जसरी 'नदी' लाई 'नहर' बनाइएको छ यसले ढिलोचाँडो ठूलो प्रकोप पेश गर्नेछ। अतिवृष्टिमाथि पर्याप्त विचारै नपुर्‍याएर बनेका बाटो, राजमार्ग, तटबन्ध, नहर, र नयाँबस्ती वेगले बगेको पानीको बाटोमा पर्ने नै छन्। धन मात्र नभई, जनको क्षति हुनेछ।

हरेक १५–२० वर्षमा हिमालय खण्डको कतै न कतै ठूलो 'क्लाउड बर्स्ट' हुन्छ नै, जसले पछिल्लो पटक २०७० असारमा उत्तराखण्डको केदारनाथ र २०६९ असोजमा सिक्किम तथा असममा ठूलो विनाश गर्‍यो। काठमाडौं पश्चिम आसपासको क्षेत्रमा साउन २०५० को 'क्लाउड बर्स्ट' हुँदा पृथ्वी राजमार्ग, कुलेखानी जलविद्युत् आयोजनालगायतका संरचना प्रभावित भए।

मकैको पातमा झरीको तबला सुन्दा मन शान्त हुन्छ, यो जिउनुको अधिकार हो। तर जब भोलि पानी पर्दछ, धेरै र लामो पर्दछ― सोचौं के होला राजधानी उपत्यकामा, जहाँ वागमती र सहायक नदीहरूलाई ढुंगाको पर्खालले बाँधिएको छ। प्रकृतिको नियम– पानीले ओरालो खोज्दछ, र त्यतिबेला वागमती जाग्नेछिन्। वागमतीले हाम्रो खेलाँचीको निकास खोजेको बेला उनलाई दोष नदिऊँ!

comments powered by Disqus

रमझम