२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

वैकल्पिक राजनीतिको उभार

Share:
  
- दिनकर नेपाल
नरेन्द्र मोदीसामु नितिश कुमारको समर्पणले भारतको राजनीतिक इतिहासमा वैकल्पिक शत्तिा्कको 'सत्ता कब्जा' को अभीष्टलाई टेको दिएको छ।

इन्टरनेट तस्वीर
भारतमा 'महागठबन्धन' को अन्त्यभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमार।
१२ जुलाईमा एनडी टीभीसँगको अन्तर्वार्तामा भारतीय इतिहासकार रामचन्द्र गुहाले भनेका थिए– 'नितिश कुमार पार्टी विनाका नेता हुन् र कंग्रेस नेता विनाको पार्टी। नितिश कुमारले कंग्रेसको नेतृत्व लिए मात्र नरेन्द्र मोदीलाई प्रतिपक्षले चुनौती दिन सक्छ, अन्यथा मोदीविरुद्ध उभिन सक्ने कोही देखिंदैन।' कंग्रेस आईका नेता राहुल गान्धीले पेशा परिवर्तन गरे उनी, पार्टी र देशको समेत भलो हुने गुहाको तिखो टिप्पणीले तीन साता कट्न नपाउँदै बिहारको राजनीतिमा अर्को सुनामी आयो, मुख्यमन्त्री उनै नितिश कुमार नरेन्द्र मोदीसँग मिसिन पुगे।

यो घटनाले कंग्रेस, जनता दल (युनाइटेड), राष्ट्रिय जनता दल (आरजेडी) लगायतको 'महागठबन्धन' र बिहारको राजनीतिमा भुइँचालो त ल्यायो नै, त्योभन्दा बढी भारतको राष्ट्रिय राजनीतिको भविष्यको संकेत गरेको छ।

'भालेजुधाइ' को अन्त्य

लालुप्रसादको सत्तारोहणका चाणक्य नितिश कुमार नै थिए। इन्जिनियर नितिश तीक्ष्ण बुद्धि भएका नेता मानिन्छन्। सन् १९९० को बिहार विधानसभामा लालुप्रसाद नेतृत्वको जनता दललाई सत्तामा पुर्‍याएका नितिशले सन् १९९४ मा जर्ज फर्नान्डिससँग मिलेर समता पार्टी बनाए। १९९७ मा लालुप्रसाद आफैं पनि जनता दलमा बसेनन्, आरजेडी बनाएरै पनि सत्तामा रहिरहे। सन् २००१ मा भ्रष्टाचारको अभियोगमा डामिएपछि उनले पत्नी राबडी देवीलाई मुख्यमन्त्री बनाए। यता सन् २००३ मा समता पार्टी र शरद यादवको जनता दल एक भएसँगै नितिश जनता दल (युनाइटेड) का नेता बन्न पुगे।

सन् २००५ मा बिहारमा लालुप्रसाद यादवको पन्ध्रवर्षे शासनलाई भारतीय जनता पार्टी (भाजपा) को सहायतामा परास्त गरेर सत्तामा पुगेका नितिश कुमार भाजपाकै नेतृत्वमा बनेको नेशनल डेमोक्र्याटिक एलायन्समा जोडिन पुगेका थिए। सन् २०१० मा पुनः चुनाव जितेर नितिश दोस्रो पटक बिहारका मुख्यमन्त्री बने। समयक्रममा एनडीएभित्र प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बोकेर अघि बढिरहेका गुजरातका तत्कालीन मुख्यमन्त्री मोदी नै उनका प्रतिस्पर्धी हुन पुगे। त्यसैकारण मोदीलाई होच्याउन उनले कुनै कसर बाँकी राखेका थिएनन्। यतिसम्म कि बिहारमा भाजपाको समर्थनमै चुनाव लडेका उनले मोदीलाई चुनाव प्रचारमा नल्याउन दबाब पनि दिए। यसले नितिश आफैंले पनि नयाँदिल्ली ताकिरहेको संकेत दिन्थ्यो। मोदीको उपस्थिति विना नै ठूलो जनमत हासिल गरेपछि उनको महत्वाकांक्षा झ्नै बढ्यो।

भाजपामा मोदीको बढ्दो प्रभाव र एनडीएमा बीजेपी इतरको नेतृत्व असम्भव देखेपछि नितिशले रणनीति बदले। कंग्रेसको समर्थन पाउने निश्चित भएपछि सन् २०१३ मा उनी एनडीएबाट अलग भए। लालुले उनलाई समर्थन गरेनन्, तर पनि बिहारको सत्ता गुमेन।

सन् २०१४ को लोकसभामा भाजपाको विजय र मोदीको आकाशिएको प्रभाव नाप्दै बिहारमा विरोधी दलहरू एक हुन बाध्य भए। वर्षौंको कटुता बिर्सेर नितिश र लालु मिल्न पुगे। लाचार कंग्रेस नितिश–लालुको अप्राकृतिक 'महागठबन्धन' मा जोडिन बाध्य भयो। तर त्यसको नौ वर्षपछि मोदी उदयले ल्याएको सुनामीले कंग्रेस आईलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएका बेला उनलाई टक्कर दिनसक्ने एकमात्र नेता मान्नेमा इतिहासकार गुहा मात्र थिएनन्, नितिश स्वयं पनि थिए।

सन् २०१५ मा दिल्लीमा आम आद्मी पार्टी र बिहारमा 'महागठबन्धन' को जीतले मोदी विरोधीहरूलाई केही तुष्टि अवश्य मिल्यो। कंग्रेसका नेताहरूले त 'मोदी लहर' भनिएको फोका फुटेको घोषणा नै गरे। तर त्यसपछिका चार वटा राज्यको विधान सभा चुनावमा भाजपा पहिलो पार्टी बन्यो। अब नितिश नयाँ राजनीतिक हिसाबकिताबमा लागे, किनभने मोदी उनीभन्दा धेरै माथि पुगिसकेका थिए।

वास्तविकता कस्तो थियो भने नितिशलाई लालुसँगको असहज लगनगाँठो तोड्ने बहाना मात्र चाहिएको थियो। किनभने, पछिल्लो समय उनी मोदीप्रति सकारात्मक टिप्पणी गर्न थालेका थिए। मोदी सरकारको नोटबन्दी नीतिको खुलेर प्रशंसा गर्नु, पाकिस्तानविरुद्धको 'सर्जिकल स्ट्राइक' को समर्थन गर्नुले त्यसैको संकेत गरिरहेको थियो। हुँदाहुँदा त नितिश र मोदी एउटै मञ्चमा अटाउने भइसकेका थिए। गत जनवरीमा बिहार सरकारको 'नशामुक्त अभियान' को प्रधानमन्त्री मोदीले खुलेरै प्रशंसा गरे।

उता भाजपाका रणनीतिकार पनि नितिश र लालुबीचको भित्री वैमनस्यतालाई फराकिलो पार्ने सूत्रको खोजीमा थिए। यस्तैबीच राष्ट्रपतिका उम्मेदवारलाई समर्थन जुटाउन कंग्रेस अध्यक्ष सोनिया गान्धीको निम्तोमा नितिश अनुपस्थित भए। तुरुन्तै, लालुका छोरा तथा बिहारका उप–मुख्यमन्त्री तेजश्वी यादवमाथि केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले भ्रष्टाचार मुद्दामा छानबीन शुरू गर्‍यो। नितिशले तेजश्वीको राजीनामा चाहे र लालुले ठाडै अस्वीकार गरे। रंगमञ्चमा एक दिवसीय नाटक मञ्चन भयो। नितिशले 'महागठबन्धन' सरकार विघटन गरे र भाजपाको समर्थनमा अर्को सरकार बनाए।

शायद निकट भविष्यमा पनि कंग्रेसको उद्धार हुने छाँटकाँट नदेखेरै हुनुपर्छ, मोदीको प्रभुत्वविरुद्ध विकल्पका प्रखर नेताका रूपमा हेरिएका नितिश नै मोदी सम्प्रभुता स्वीकार्न पुगे। मोदीको उभार रोक्न बनाइएको 'महागठबन्धन' आफैंले अन्त्य गरे। परिस्थिति बुझदै नितिशलाई 'फेस सेभिङ' मा सघाउन मोदी पनि तत्पर देखिए।

स्थानीय राजनीतिको लहर

नितिश र लालु अलग्गिंदाको गम्भीर परिणाम बुझेरै हुनसक्छ, सोनिया गान्धीले फोन नै गरेर असहजताहरू समाधान गर्न दबाब दिएकी थिइन्। महागठबन्धन टुट्दा सबैभन्दा ठूलो घाटा कंग्रेसलाई नै भएको छ। हुन पनि भाजपाको २०१४ को लोकसभा निर्वाचनको नारा नै 'कंग्रेसमुक्त भारत' थियो। अब यो नारामा नितिश पनि मिसिएका छन्।

स्वतन्त्र भारतको इतिहासमा धेरै समय कंग्रेसकै शासन रहेका कारण विद्यमान समस्याहरूको सबैभन्दा बढी दोष स्वतः उसमाथि नै जान्छ। भाजपाको सफलता आम–आक्रोशलाई कंग्रेसप्रति लक्षित गर्न सक्नु नै थियो। तर, त्यसको आधारभूत पृष्ठभूमि भने राष्ट्रको पहिचानमा अन्तरविरोध र त्यसलाई दबाउन गरिएको बौद्धिक प्रयासको असफलता नै थियो।

कट्टर हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघको विचारधारा प्रभावित जनसंघ र विनायक दामोदर सावरकरद्वारा प्रवर्द्धित 'हिन्दू राष्ट्र भारत' को परिकल्पना नै भाजपा राजनीतिको मुख्य आधार हो। तर, धर्मका नाममा टुक्रिएर पाकिस्तान बने पनि भारतीय राज्यको चरित्र धर्म निरपेक्षता नै बनाउने गान्धी–नेहरूको अठोट र संघर्षले 'कृत्रिम आवरण' थपेको थियो। 'हिन्दूवादी' हरू र 'उदारवादी' हरू बीचको वैचारिक संघर्षमा कंग्रेस उदारवादीहरूसँग थियो। त्यसैले हिन्दूवादीहरूले इष्ट इण्डिया कम्पनी विरुद्धको 'भारत छोडो' आन्दोलनमा भागसम्म लिएका थिएनन्।

कंग्रेसको विरोध वा विकल्पमा कोही थिए भने ती हिन्दूवादी नै थिए। सत्ता र संस्थापनविरोधी विचारधाराले समाजको ठूलो तप्काको सहानुभूति सधैं प्राप्त गरिरहेको हुन्छ। भाजपाले त्यसैलाई आधार बनायो। र, जनलहर उठ्यो। फलतः अहिले भारतमा हिन्दूवादी खेमा अभूतपूर्व शक्ति सञ्चयमा लागेको छ।

धेरै राजनीतिक विश्लेषक भाजपाको एकछत्र विजय र मोदीको उदयलाई दक्षिणपन्थी शक्तिहरूको 'कन्सोलिडेसन' को रूपमा हेर्दैछन् भने केहीले यसलाई लोकतन्त्रकै हारका रूपमा अर्थ्याएका छन्। तर, वास्तवमा अहिले विभिन्न माध्यमबाट भारतीय राजनीतिमा वैकल्पिक धार मूलधारमा आएको समय हो।

विशुद्ध राजनीतिक संयोग मान्नुपर्छ कि यतिबेला भारतको वैकल्पिक शक्ति उदय दक्षिणपन्थी रङमा देखिएको छ। आफूलाई उदारवादी शक्ति भन्नेहरू अझ्ै पनि यो 'सुनामी' बुझन नसकेर भ्रमित छन्। अमेरिकामा डोनल्ड ट्रम्पको बौलट्ठी मर्यादाहीन शासनसँग मोदीको बढ्दो तागत दाँजेर लोकतान्त्रिक पद्धतिबारे नै संशय गर्नेहरू पनि छन्। उदाहरणका रूपमा, टर्की र रूसतिर देखाउँदै विश्वभर दक्षिणपन्थको लहर चलेको भन्नेहरू पनि छन्।

विश्वमा दक्षिणपन्थको होइन, स्थानीय राजनीतिक परिस्थिति अनुसारको वैकल्पिक राजनीति मूलधारमा आउने लहर भने चलेको छ। अमेरिकामा ट्रम्पको विजय पनि स्थापित राजनीतिक 'एलिट'हरू विरुद्धको आक्रोशकै प्रतिक्रिया थियो।

हुन त भारतीय राजनीतिमा राष्ट्रिय र क्षेत्रीय दलहरूका आ–आफ्नै प्रभाव क्षेत्र छन्। तर, केन्द्रीय दलहरूको बलले सधैं क्षेत्रीय शक्तिहरूका झ्ुकावलाई प्रभावित पार्ने गरेको छ। मोदीको नेतृत्वमा भाजपाको रोचक विजय यात्राले लोकतन्त्रको अबको बाटोबारे थुप्रै संकेत गरेको छ।

पारम्परिक रूपमा ज्ञान र सञ्चारमाध्यमहरूमा एकाधिकार जमाएका संस्थाहरू निष्त्रि्कय हुन थालेका छन्, जसले राजनीतिक उद्यमलाई नयाँ तहमा पुर्‍याएको छ। जनतासँग सोझै संवाद गर्ने साधन शासक र राजनीतिक आकांक्षीहरूमा उपलब्ध भएका छन्– जसले तुलनात्मक रूपमा कम वा हिंसा विना नै वैकल्पिक धारले शासन व्यवस्थामा सहभागिता खोज्न सजिलो भएको छ।

comments powered by Disqus

रमझम