२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

दराजमा खप्पर

Share:
  
- प्रकाश सिंह, बाजुरा
नेकपा (एमाले) को बाजुरा जिल्ला कार्यालयको दराजमा रहेको मानव खप्परले न्याय पर्खेको ११ वर्ष भयो।

प्रकाश सिंह
नेकपा (एमाले) को बाजुरा कार्यालयमा ताराचन्द्र रेग्मीको खप्पर देखाउँदै जिल्ला सचिवालय सदस्य अमर खड्का।
नेकपा (एमाले) को 'शान्ति र प्रजातन्त्रका लागि जनअभियान' का क्रममा सदरमुकाम मार्तडीबाट गाउँ हिंडेका पार्टीका तत्कालीन बाजुरा जिल्ला उप–सचिव ताराचन्द्र रेग्मी २३ फागुन २०६० कुल्देवमाण्डौको मौरे पुगेका थिए। त्यहींबाट नियन्त्रणमा लिएर लगेका तत्कालीन नेकपा माओवादी कार्यकर्ताहरूले उनलाई 'सफाया गरेको' विज्ञप्ति १२ चैतमा जारी गरे।

कोल्टीका रेग्मीलाई माओवादीले चन्दा नदिएको, कोल्टीमा सेना राखेको लगायतका आरोप लगाएका थिए। २०५७ सालतिरबाट कोल्टी क्षेत्रमा प्रभाव जमाउन थालेको माओवादीले उनीसँग रु.३० लाख चन्दा मागेको थियो। असार २०५९ मा माओवादी कार्यकर्ताले रेग्मीलाई नभेटेपछि उनकी श्रीमती शान्ता रेग्मीलाई निर्घात कुटपिट गरेका थिए। (हे. बक्स)

असोज २०६३ मा एमालेका बाजुरा सचिव कर्णबहादुर थापाको अगुवाइमा रेग्मीको शव उत्खनन् गरिएको थियो। थापाका अनुसार, बाजुराको छतारासँग जोडिएको अछामको ऋषिदहमा नियन्त्रणमा राखिएका रेग्मीलाई हत्या गरेर खाल्डोमा पुरिएको थियो। स्थानीय एक वृद्धले देखाएको खाल्डो खोतल्दा अस्थिपञ्जरसँगै 'शान्ति र प्रजातन्त्रका लागि जनअभियान' को ब्यानर भेटिएपछि शव उनकै हो भन्ने विश्वास गरिएको उनले बताए। अहिले वैकल्पिक केन्द्रीय सदस्य रहेका थापा भन्छन्, “पछि न्याय खोज्न प्रमाण हुन्छ भनेर शव उत्खनन् गरी खप्पर पार्टी कार्यालयमा ल्याएर राखेका हौं।”

अहिले एमालेको बाजुरा सचिव रहेका रेग्मीका भाइ बलदेव यही खप्परलाई प्रमाण मानेर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी गर्न लागेको बताउँछन्। एमाओवादीका नेता–कार्यकर्ता भने द्वन्द्वकालका घटनालाई यतिबेला उचाल्न नहुने बताउँछन्। नाम उल्लेख नगर्ने शर्तमा माओवादी केन्द्रका एकजना जिल्ला नेताले रेग्मीको सफाया पार्टीकै निर्देशनमा भएकोसम्म बताए।

बुवाको सपना

२० वर्षअघि २०५४ सालको स्थानीय निकाय निर्वाचनमा ताराचन्द्र रेग्मी कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला चार वर्षकी उनकी छोरी सृष्टि (२४) कोल्टी समेत गाभिएर बनेको बूढीनन्दा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन्। उनलाई बुवा निर्वाचित हुँदाको पल थाहा छैन, तर उनका अधुरा योजना धेरै सुनेकी र सम्झेकी छन्।

ताराचन्द्र रेग्मी नून–चामलको सहज आपूर्तिका लागि गाउँमा घोडेटो बाटो पुर्‍याउन चाहन्थे। अहिले सडक 'अर्जेन्ट' बनेको सृष्टि बताउँछिन्। उनी सडक सञ्जालसँगै व्यावसायिक कृषि, प्राविधिक शिक्षा र गाउँमै रोजगारी सिर्जनालाई उच्च मह140व दिएर काम गर्ने बताउँछिन्। “संविधानले स्थानीय तहका उप–प्रमुखलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्ने तीन सदस्यीय न्यायिक समितिको संयोजक तोकेको हुनाले मेरो मुख्य जिम्मेवारी न्यायिक क्षेत्र हुनेछ” सृष्टि भन्छिन्, “त्योसँगै पूर्वाधार विकासलाई अगाडि बढाएर बुवाको सपना साकार पार्छु।”

ताराचन्द्र ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागीर छाडेर गाविस अध्यक्ष बनेका थिए। इन्जिनियरिङकी स्नातक उनकी छोरी सृष्टि पनि बाजुरा जिल्ला प्राविधिक कार्यालयको जागीर छाडेर उपमेयरको चुनाव जितेकी हुन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियूकी केन्द्रीय सदस्य समेत रहेकी उनी मानव विकास सूचकांकमा ७५औं नम्बरमा रहेको बाजुरामा केही गरेर देखाउने बताउँछिन्। सृष्टि भन्छिन्, “महिला सशक्तीकरण अभियानसँगै छाउपडी प्रथा र बालविवाहको अन्त्य पनि मेरो 'मिसन' हो।”


“न्याय पाउनुपर्‍यो, शहीद घोषणा हुनुपर्‍यो”

शान्ता रेग्मी, ताराचन्द्र रेग्मीकी श्रीमती
असार २०५८ मा उहाँ नेपालगञ्ज जानुभएको थियो। २७ असार हामी रोपाइँमा थियौं। तेरो श्रीमान् कहाँ छ भन्दै खेतमै आएका माओवादीले हामीलाई पिटेर बेहोश पारे। पछि गाउँलेले बोकेर घर ल्याएर बचाए। उपचारका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म धाउनुपर्‍यो। पिठ्यूँमा कुटाइको खत अझै हराएको छैन। बेलाबेला दुख्छ, औषधि गरिरहनु परेको छ।

माथिबाट भीम रावलले उहाँलाई 'पार्टीको कार्यक्रम लिएर गाउँ जानू, माओवादीसँग कुरा भएको छ, केही गर्दैनन्' भनिरहेका थिए। अनि उहाँ फागुनमा नेपालगञ्जबाट आउनुभएको थियो। रावलले तीन पटक चिठी पठाएका थिए। त्यसमध्ये एउटा मैले लुकाएकी थिएँ, दुइटा उहाँको हातमा परेको थियो। अनि उहाँ दीपकजंग गिरीसँग मार्तडी जानुभयो, त्यसको केही दिनमै अपहरण भएको खबर आयो। अलि दिनपछि 'म सकुशल छु, चिन्ता नमान्नु, आइहाल्छु' भन्ने चिठी आयो। त्यसको केही दिनमै उहाँको हत्या भएको सुन्नुपर्‍यो।

त्यो बेला माओवादीका नरेन्द्र र पवनले हत्या गरेको सुनेको हो। उहाँको खप्पर पार्टीले ल्याएर राखेको पनि सुनेको हो। हाम्रो कामले हैन, पार्टीको कामले गएका हुनाले उहाँलाई शहीद घोषणा गर्नुपर्छ, हामीले न्याय पाउनुपर्छ भनिरहेकी छु। हत्या गर्नेहरूलाई पक्रेर कारबाही गर्नुपर्‍यो। माओवादी भीरमा लडे पनि शहीद हुने, पार्टीको काममा खटेका मेरा श्रीमान् किन नहुने? धेरै पत्रकार, नेता, सरकारका प्रतिनिधि आए तर अहिलेसम्म केही भएको छैन।

comments powered by Disqus

रमझम