२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

अमेरिका बस्दै नेपालमा ठग्दै

Share:
  
- मुकेश पोखरेल
अमेरिकामा व्यापार–व्यवसाय प्रवर्धन गर्ने भन्दै नेपालमा ठगी गर्ने चलन संस्थागत रुपमै बढेको छ।

व्यक्तित्वको दुरुपयोगः २१ चैत २०७२ मा वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले काठमाडौंमा मेलाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा तत्कालीन मन्त्री सोमप्रसाद पाण्डे र गायिका कोमल वलीलाई समेत निम्त्याएर आफ्नो विश्वसनीयता बढाएको थियो।
पञ्चासे हस्तकला उद्योगकी संचालक हुन्, पार्वती शर्मा। पोखराको न्यूरोडमा हस्तकलाको पसल पनि छ, उनको। विभिन्न संचारमाध्यममा नेपाली वस्तुहरूको अमेरिकामा प्रवर्धन गर्ने समाचारहरू आउँदा उनी उत्साहित भइन्। त्यसैबीच, व्यापार प्रवर्धन मेला सम्बन्धी प्रचार–प्रसार गरिरहेको 'वर्ल्ड बिजनेश म्यानेजमेन्ट कन्सल्ट्यान्ट– एलएलसी' ले पोखरामै कार्यक्रम गर्ने भयो। शर्मा भन्छिन्, “उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा पोखरा उद्योग वाणिज्य संघकै हलमा उद्योगी–व्यापारीहरूलाई बोलाएर अमेरिकामा व्यापार–व्यवसाय प्रवर्धन गर्ने अवसर भनेपछि विश्वास भयो।”

कार्यक्रममा आयोजक संस्थाका सदस्य कृष्ण लामिछानेको कुरा सुनेर विश्वस्त भएकी शर्माले फिर्ता नहुने रु.१ लाख २८ हजार (३०० डलर प्रति स्टल) रजिष्ट्रेशन शुल्क बुझाएर चारवटा स्टल बूक गरिन्। स्वस्तिक हस्तकला संचालक सीता गुरुङ र रेम्वो ह्याण्डिक्राफ्ट सञ्चालिका गोमा ढकालले मेलामा सहभागी हुन दर्ता शुल्क बापत जनही रु.३२ हजार १०० बुझ्ाए। उनीहरूका अनुसार, १४–१६ असोज २०७३ मा न्यूयोर्कको म्यानहाटनमा आयोजना हुने भनिएको मेलामा सहभागी मात्र हुने र स्टल राख्ने कुल ५२७ फर्मले रजिष्ट्रेसन गरेका थिए। आयोजक एलएलसीका अध्यक्ष बुद्धि रेग्मी भने ३२३ संस्थाले मात्र रजिष्ट्रेसन गरेको दाबी गर्छन्।

अमेरिकी दूतावासले 'नेपाल एक्जिबिसन एण्ड इन्टरनेशनल ट्रेड शो' मा सहभागी हुन चाहनेहरूको भिसा धमाधम अस्वीकार गरेपछि आयोजकहरूमाथि नै शंका उठेको पञ्चासे हस्तकला उद्योग संचालक पार्वती शर्मा बताउँछिन्। भिसा अस्वीकार हुनुपर्ने अन्य कारणहरू नभए पनि दूतावासले मेला आयोजकहरूको नाम हेरेर आवेदकहरूको कुरै नसुनी अस्वीकार गरेको उनी बताउँछिन्। स्वस्तिक हस्तकलाकी सीता गुरुङ भन्छिन्, “उनीहरूको नियतमा खोट देखेर हामीमध्ये कसैलाई भिसा नदिएको अनुभव भयो।”

मेलामा सहभागी हुन एक संस्थाबाट कम्तीमा दुईजनाले भिसा आवेदन दिएका थिए। यस हिसाबले ५२७ संस्थाबाट कम्तीमा एक हजार भन्दा बढी आवेदक रहेको बुझिन्छ। ती सबले भिसा आवेदन शुल्क बापत प्रतिव्यक्ति १६० डलर (रु.१७ हजार १२०) गुमाए, काठमाडौं आतेजाते र बसाइमा अलग खर्च भयो।

ठगिएका पोखरेली व्यवसायीः गोमा ढकाल, सीता बराल, पार्वती शर्मा, र सीता गुरुङ, पोखरा।

ठग्ने काइदा

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओवामाले २४ फेबु्रअरी २०१६ मा हस्ताक्षर गरेको 'व्यापार सुविधा र व्यापार प्रवर्धन सम्बन्धी कानून' ले ६६ प्रकारका नेपाली वस्तुलाई अमेरिका प्रवेशमा १० वर्षका लागि भन्सार सहुलियत दियो। अमेरिका बसिरहेका बुद्धि रेग्मी, सञ्जय थापा, कृष्ण लामिछाने, अर्जुन सिंह र विष्णु पोखरेलको समूहले यसैबाट नेपाली ठग्ने योजना बनाए। “यस्तो काम दुई देशका सरकारबीच सहमति भएपछि व्यावसायिक संस्थाहरूले मात्र गर्न सक्ने कुरा नेपालमा जानकारी थिएन”, २० वर्षयता अमेरिकामा वकालत गरिरहेका डिल्ली भट्ट भन्छन्, “कतिपयले यसबाट नाजायज फाइदा उठाउन खोजेका हुनसक्छन्।”

'वर्ल्ड बिजनेश म्यानेजमेन्ट कन्सल्ट्यान्ट– एलएलसी' ले त नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग महासंघलाई समेत झ्ुक्याएको पोखरा उद्योग वाणिज्य संघकी सदस्य गोमा ढकाल बताउँछिन्। उनका अनुसार, एलएलसीका रेग्मी, थापा, लामिछाने, सिंह र पोखरेलले नेपालीलाई भिसा सहजताका लागि अमेरिकाको सरकारी तहमै कुरा भएको विश्वास दिलाएका थिए। ढकाल भन्छिन्, “उनीहरूले पर्यटन बोर्ड, उद्योग वाणिज्य महासंघलगायतका संघसँग सहकार्य गरेको देखाएपछि हामी सबैले विश्वास गर्‍यौं।”

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा कार्यक्रमका लागि सहमति दिए पनि पछि एलएलसी पदाधिकारीहरूको विश्वसनीयतामा प्रश्न उठेपछि लोगो प्रयोग नगर्न भनी पत्र काटेको बताउँछन्। महासंघले ६ असार २०७३ मा आफूहरू प्रवर्धक साझेदारबाट अलग भएको र लोगो प्रयोग नगर्न भन्दै एलएलसीलाई पत्र लेखेको थियो। एलएलसीले २१ चैत २०७२ मा काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे उपस्थित थिए। त्यस्ता झेल गरेर सबैलाई ढुक्क बनाएको पोखरा, न्यूरोडस्थित चेरिस्मा फेसन हाउसकी सीता बराल बताउँछिन्।

एलएलसीका अध्यक्ष बुद्धि रेग्मी भने आफूहरूले कसैलाई नठगेको बताउँछन्। आफूहरूले दर्ता शुल्क फिर्ता हुँदैन भनेर पहिल्यै भनेको र मेला नहुँदा आफूहरूकै खर्च भएको बताउँछन्। तर, उनीहरूले ठगी गर्नकै लागि बढी संस्था दर्ता गरेर शुल्क उठाएको स्वस्तिक हस्तकलाकी सीता गुरुङ बताउँछिन्। “सहभागी हुनेहरूले भिसा पाएनन् भन्दै मेला स्थगित गर्ने पनि उनीहरू नै हुन्” उनी भन्छिन्, “उनीहरूलाई त्यो हुँदैन भन्ने पहिल्यै थाहा भएको हुनुपर्छ।”

सञ्जय थापा।
आलस एग्रिकल्चर प्रालि, काठमाडौंकी सञ्चालक अक्षरी लिङ्देन टेलिभिजनमा आएको समाचार र विज्ञापन हेरेर आफू आयोजककहाँ पुगेको बताउँछिन्। तर, पैसाका लागि मिडियाले नभएका कुरा पनि बजाउने गरेको ठगिएपछि थाहा पाएको उनले बताइन्। उनको फर्मबाट अमेरिकामा हुने व्यापार मेलामा दुई जना सहभागी हुने योजना बनेको थियो। त्यसका लागि रु.१ लाख गुम्यो। एलएलसीले नेपालका सबै राष्ट्रिय टेलिभिजन र पत्रपत्रिकाहरूलाई 'मिडिया पार्टनर' राखेर मेला सम्बन्धी समाचार, विज्ञापन प्रवाह गराएको थियो।

यस्तो पनि थियो योजना

धरानका प्रतीक श्रेष्ठको पूर्वेली ढाका टोपी उद्योगमा राजेन्द्र लिम्बूले २०७३ वैशाखमा ढाकाको टोपी, इस्टकोट, ब्यागलगायत रु.१ लाखको सामान अर्डर गरे। तर, सामान तयार भएपछि म्यानपावर व्यवसायी लिम्बूले श्रेष्ठसँग उद्योगमा आफ्नो पनि ५० प्रतिशत लगानी रहेको कागज मिलाइदिन अनुरोध गरे। 'वर्ल्ड बिजनेश म्यानेजमेन्ट कन्सल्ट्यान्ट– एलएलसी' ले न्यूयोर्कमा आयोजना गर्ने मेलामा उद्योगी बनेर जान लिम्बूले त्यसो भनेका थिए।

त्यस्तै; काठमाडौं, मैतीदेवीका पाल्पाली ढाका टोपी व्यवसायी मोहन शर्मालाई चिनजानका प्रकाश आचार्यले उद्योगमा साझ्ेदार भएको कागजात मिलाइदिए एलएलसीले अमेरिकामा आयोजना गर्ने मेलामा जान दुवै जनाको खर्च बेहोर्ने बताएका थिए। राजेन्द्र लिम्बू र प्रकाश आचार्यलाई एलएलसीका हर्ताकर्ताहरूले नै अमेरिका छिर्न त्यो जुक्ति सिकाएका थिए। महिला सीप विकास केन्द्र सिमलचौर, पोखराकी कार्यकारी निर्देशक मनकली खड्का कागजमा सीमित घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरूलाई मेलामा सहभागी गराउन आयोजकहरूले उचालेको बताउँछिन्। “उनीहरू पैसा लिन घरघरै पुगेका थिए”, खड्का भन्छिन्।

चिटिक्क फेसनकी वसन्ता केसीका अनुसार, त्यसबेला गैर–उद्योग क्षेत्रका थुप्रै मानिस लागेको खर्च आफूले बेहोर्ने भन्दै कर्मचारी बनाएर अमेरिका लगिदिनुपर्‍यो भन्दै आएको बताउँछिन्। त्यो जुक्ति आयोजकहरूले नै दिएको उनको बुझाइ छ।

बुद्धिप्रसाद रेग्मी।

'नेपाल फेस्टिवल यूएसए' पनि

एलएलसी खडा गर्नेहरूले न्यूयोर्कको म्यानहाटनमा व्यापार प्रवर्धन मेला आयोजना गर्ने भन्दै दर्ता शुल्कलगायतको बहानामा रु.१ करोड ६३ लाख ५० हजार उठाएको देखिन्छ। अमेरिकामा बसेर संस्थागत रूपमा ठगी गर्नेमा 'नेपाल फेस्टिवल यूएसए' पनि देखिएको छ। यसको फन्दामा पर्नेमध्येका एकजना पर्वतका पत्रकार गणेश पौडेल हुन्। उनले फेसबूकमा सम्पर्क गर्दा यो समूहका शेषराज खतिवडाले नेपालबाट १५ जना पत्रकारलाई अमेरिका ल्याउन लागेको बताएका थिए।

खतिवडाले पौडेललाई तपाईं पनि आउने हो भने काठमाडौंको ग्लोबल आईएमई ब्यांकमा धनी अर्यालको नाममा रहेको खातामा रु.६५ हजार जम्मा गर्न सुझ्ाए। त्यसअनुसार, डेढ वर्षअघि रकम जम्मा गरिदिएका पौडेल त्यसपछि खतिवडाले विभिन्न बहानामा टार्न थालेको र पछि त फेसबूकबाट पनि अन्फ्रेण्ड गरिदिएको बताउँछन्। काठमाडौंमा उनका सम्पर्क व्यक्ति धनी अर्याललाई ताकेता गर्दा 'सबै कुरा प्रक्रियामा छ, उद्योगमन्त्री नवीन्द्रराज जोशीले निर्णय गर्ने वित्तिकै काम हुन्छ' भन्थिन्।

मञ्चपछि एलएलसी

व्यापार सुविधा र व्यापार प्रवर्धन सम्बन्धी अमेरिकी कानून देखाएर ठगी गर्न बनेको 'वर्ल्ड बिजनेश म्यानेजमेन्ट कन्सल्ट्यान्ट– एलएलसी' को सदस्य बन्नुअघि सञ्जय थापा प्रवासी नेपाली मञ्चका संयोजक थिए। त्यसबेला (२४–२६ मे २०१४) उनले 'टेक्सासमा आयोजना हुने नेपाल मेलामा सहभागी हुन' प्रतिव्यक्ति रु.१५ लाख उठाएर १८ जनालाई अमेरिका लैजान खोजेका थिए।

त्यसबेला उनले अमेरिकाका चौडा सडकहरूमा नेपालको राष्ट्रिय झ्ण्डा फहराउन तत्कालीन उद्योगमन्त्री कर्णबहादुर थापालाई पनि निम्त्याएका थिए। त्यसनिम्ति २० जनाको आवेदन परेकोमा अमेरिकी दूतावासले मन्त्री दम्पतीको नाममा मात्र भिसा जारी गरेको थियो। दूतावासमा कसैले उजुरी दिएर मान्छे लैजाने योजना असफल भएपछि थापाले नेपाल मेला स्थगित भएको जनाएका थिए। मन्त्री थापालाई भने उनले अमेरिका घुमाएर पठाएका थिए।

एलएलसीका अध्यक्ष रेग्मी पनि नेपालीलाई अमेरिका लगेर विवादमा पर्दै आएका छन्। उनले २०१५ को अप्रिल ३ देखि जून ७ सम्म कार्यक्रम गर्न संगीता थापामगर, पशुपति शर्मा, प्रमोद खरेल र धुर्मुस–सुन्तलीको जोडीलाई अमेरिका लगेका थिए। तर, कलाकारहरूलाई पैसा नदिएपछि चर्को विवाद भएको थियो। रेग्मीले शिला आले, बद्री पंगेनी, निर्मला खड्कालगायतलाई २९ अगष्ट–२ नोभेम्बर २०१६ मा सांस्कृतिक कार्यक्रम गर्न अमेरिका लैजाँदा पनि पैसाकै विषयमा विवाद भएको थियो।

comments powered by Disqus

रमझम