२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

कलात्मक झ्यालढोका

Share:
  

विभिन्न देवी–देवताका चित्र अंकित बुट्टेदार झ्याल र ढोका काठमाडौं उपत्यकाको मौलिक पहिचान मानिन्छ। यस्ता कलात्मक झ्याल–ढोकाका बुट्टाले कला–कौशलता झल्काएको पाइन्छ। तर, घर निर्माणको प्रचलन फेरिएको छ। काठभन्दा धेरै गुणा बढी कंक्रिट प्रयोग हुन थालेको छ। नयाँ बनेका बस्तीमा मात्र होइन, पुराना बस्तीमा पनि पुनःनिर्माणका क्रममा सिमेन्टेड घरहरु नै बनिरहेका छन्।

नयाँ घरमा आल्मुनियम, स्टील, यूपीभीसीलगायत प्रयोग हुन थाले पनि काठको मोह नघटेको ललितपुर, कुपण्डोलस्थित हिमालयन उड कार्भिङ एण्ड इन्टेरियरका सञ्चालक कवीन्द्र ताम्राकार बताउँछन्। उनको भनाइमा, पहिलेजस्तो घरका धेरैजसो ठाउँमा काठको प्रयोगमा कमी आए पनि हस्तकलाका फर्निचरहरुको प्रयोगमा भने कमी आएको छैन। काठका झ्याल, ढोका, खापा तथा फर्निचरले नेवारी परम्परागत शैली झल्काउँछ। तर, अहिले अन्य समुदायले पनि कलात्मक झ्याल, ढोका राख्न थालेको उनी बताउँछन्।

“आधुनिक घरलाई परम्परागत देखाउन काठका बुट्टेदार झ्याल, ढोका रोजाइमा पर्छन्”, ताम्राकार भन्छन्। उनका अनुसार, पहिले देवताका मूर्ति कुँदिएका काठका झ्याल, ढोका तथा अरु उत्पादन बढी चल्ने गरेकोमा अहिले यसमा समेत विविधता भित्रिएको छ।

इन्टेरियर डिजाइनर सनन श्रेष्ठ सजिलो र तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले आधुनिक रेडिमेड ढोका तथा झ्यालको प्रयोग बढे पनि काठसँगको आत्मीयता नघटेको बताउँछन्। काठलाई प्रकृति र न्यानोपनसँग जोडेर पनि हेरिने गरिएको बताउँदै उनी भन्छन्, “आफ्नो घरलाई कलात्मक बनाउने चाहना धेरैको हुन्छ, यसका लागि काठको कलाको विकल्प छैन।” काठको प्रयोगले मौलिकतासँगै आरामदायी अनुभूतिसमेत गराउने उनको भनाइ छ।

जस्तो कि, मयुरको बुट्टा अंकित झ्याल उपत्यकाको परम्परागत शैलीको उत्कृष्ट कला मानिन्छ। विभिन्न बुट्टामा निर्माण गरिने साना–ठूला आकारका आँखीझ्याल घरभित्र सजाउन धेरैले रोज्ने गरेको व्यवसायी ताम्राकार बताउँछन्। बुट्टेदार झ्याल राख्न प्राकृतिक उज्यालो बढी पर्ने भाग छान्नुपर्दछ। धूलो नछिरोस् भनेर भित्रपट्टि सिसा पनि राख्ने गरिन्छ।

हस्तकलाकै माध्यमबाट बनाइने भएकाले काठका यस्ता उत्पादन तयार पार्न केही समय लाग्छ नै। ताम्राकार मध्यम आकारका बुट्टेदार झ्याल, ढोका तयार गर्न तीन महीनासम्म लाग्ने बताउँछन्। बाहिर राखिने झ्याल तथा ढोकामा अग्राखको प्रयोग गरिन्छ। घरभित्र राखिने सजावटका सामग्री, फर्निचरलगायतमा सिसौ, साल जस्ता काठ प्रयोग गरिन्छ।

काठका झ्याल र ढोकामा धर्म, संस्कृति दर्शाउने परम्परागत बुट्टाबाहेक पुराना शैलीका डिजाइन पनि राख्न सकिन्छ। पछिल्लो समय झ्याल–ढोकामा फूलका बुट्टा राख्ने चलन पनि बढेको व्यवसायी ताम्राकार बताउँछन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम