२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

प्रकृतिको विद्रोह

Share:
  

लेखक हान काङ।
“दाइ, मैले पनि मासु छाड्न कत्ति खोजें, तर सकिनँ। यो किताबले भेजिटेरियन बन्न सहयोग गर्ला?” अचानक एक युवाको यस्तो प्रश्नले मेरो एकाग्रता भंग भयो।

म हान काङको दि भेजिटेरियन पढिरहेको थिएँ, तिलगंगा आँखा अस्पतालमा पालो पर्खिबस्दाको समय कटाउन। उपन्यासको विषयवस्तु र शाकाहारीबीच सोझो सम्बन्ध थिएन। त्यसैले मसँग ती युवाका लागि सुहाउँदो जवाफ थिएन। “यो किताबमा मासु छोड्न सघाउने 'टिप्स' छैन। बरु एउटी महिलाको यस्तो गज्जबको कहानी छ, जो आफूलाई रुखमा रुपान्तरित भएको ठान्छे।” मेरो कुरा सुनेर युवा अक्क न बक्क भए।

दक्षिण कोरियाली लेखिका हान काङको उपन्यास दि भेजिटेरियन को नाम मात्रै सुन्ने हो भने जोकोहीमा यस्तै लाग्न सक्छ। तर, होइन। उपन्यासले मासुको कुरा त गर्छ, तर त्योभन्दा धेरै बढी मानव हिंसा, पुरुष वर्चस्व र प्रकृतिसँग सरोकार राख्छ। सन् २००७ मै कोरियन भाषामा प्रकाशित तर २०१५ मा अंग्रेजीमा अनुवाद नहुँदासम्म खासै चर्चा नकमाएको यो उपन्यासले २०१६ को म्यान बुुकर इन्टरन्याशनल पुरस्कार पाएपछि त कुरै बेग्लै भयो। अहिलेसम्म यो उपन्यास १४ भाषामा प्रकाशित भइसकेको छ।

मासु खपतमा दक्षिण कोरियाली समाज अगाडि छ। त्यही समाजकी पात्र योङ्ग हे सपनामा मान्छेको क्रूर हिंसा र रगत देखेपछि मासु खान छाड्छे। तर, उनको यस्तो निर्णयले परिवारमा 'सुनामी' ल्याउँछ। श्रीमान्, बुबा, आमा सबै उनको विपक्षी बन्छन्। कहाँसम्म भन्ने बुबाले उनलाई बलजफ्ती कोच्याएर मासु खुवाउन खोज्छन्। एउटा पार्टीमा योङ्ग हेलाई पारदर्शी पहिरनमा देखेपछि आफूलाई असुहाउँदी र अटेरी भन्दै श्रीमान्ले सधैंका लागि छाड्ने घोषणा गर्छन्। उपन्यासको तीनमध्ये पहिलो भाग दि भेजिटेरियन को घटनाक्रम हो यो।

उपन्यासको दोस्रो भाग 'मंगोलियन मार्क' मा योङ्ग हेको भिनाजु देखापर्छ। यस्तो चिह्न जसलाई जर्मन चिकित्सक इर्भिन वाल्जले 'मंगोलियन स्पट' नाम दिएका छन्। योङ्ग हेको गुप्ताङ्गमा जन्मजात मंगोलियन मार्क रहेको सपनामा देखेकै कारण ऊप्रति निर्लिप्त हुन्छ। ऊ सालीको नाङ्गो शरीरमा विभिन्न रंगका फूल र रंग भर्न थाल्छ। सालीसँगको असक्तिले घर भताभुंग हुन्छ।

पुस्तक दि भेजिटेरियन (उपन्यास)

लेखक हान काङ

प्रकाशक पोर्तोबेल्लो बुक्स

पृष्ठ १८३+१३, मूल्य रु.८००

पेन्टिङ्गको वहानामा कामवासना पूरा गर्ने भिनाजुको इच्छाबीच नै उपन्यासले 'सर्रियल टर्न' लिन्छ। योङ्ग हेको योनीबाट रुखका जराहरू उम्रन थाल्छन्। ऊ तोडले भाग्छ। भिनाजुले नग्नकला र कामेच्छा पूर्तिको मनसायले कलाको शक्ति र कोरियाली समाजमा व्याप्त पितृसत्तात्मक सोच सतहमा ल्याएको देखिन्छ। साथै, योङ्ग हेको मौन विद्रोहलाई वाणी दिन खोजिएको पनि प्रतीत हुन्छ।

उपन्यासको तेस्रो भाग 'फ्लेमिङ टि्रज' मा आइपुग्दा योङ्ग हे माछा–मासु मात्र होइन, निराहार जीवन बाँच्न थाल्छे। दैनिक जीवनमा आवश्यक खाना, यौनसुख जस्ता कुराबाट टाढा बस्छे। मानसिक अस्पताल भर्ना गरिएकी उनलाई दिदी बाहेक सबैले त्याग्छन्। तर, मान्छेका क्रूरता र मासु नखाएकोमा उसलाई गरिएको व्यवहार सम्झ्ोर ऊ रुख नै बन्न रुचाउँछे। आफूलाई रुखमा परिणत भएको महसूस गर्छे। शरीर दिनहुँ कमजोर बन्दै जान्छ। 'दिदी हेर त। मेरो शरीरभरि पात उम्रेका छन्। हातमा पलाएका जराहरू जमीनभित्र गाडिंदैछन्। म टाङ्ग फट्याएर बस्न चाहन्छु ताकि मेरो गुप्ताङ्गमा रंगीचंगी फूल फुलोस्', स्वैरकल्पनाले भरिएको उपन्यासको एक प्रसंगमा योङ्ग हे भन्छिन्।

प्रमुख पात्र योङ्ग हे भए पनि उपन्यासमा कथावाचनका भाग छिचोल्नेमा क्रमशः श्रीमान्, भिनाजु र दिदी छन्। तर उसको मौनता शक्तिशाली हतियारको रुपमा देखिन्छ उपन्यासभर। मौनतामार्फत नै उनको विद्रोह घनीभूत रुपमा प्रकट भएको छ, सुसन केनको गैरआख्यान क्वाइटः द पावर अफ इन्ट्रोभर्टस् इन अ वर्ल्ड द्याट कान्ट स्टप टकिङ मा वर्णित अन्तर्मुखी पात्रहरूजस्तै।

मुख्य चरित्रले पहिरन, यौनजीवनप्रति उदासीनता देखाउनु मात्र होइन, मासु नखानु र अन्त्यमा निराहार रहनु सबै सन्दर्भले लेखक हान काङको बढ्दो पर्यावरणीय चिन्ता प्रकट गर्छ। पर्यावरण दोहन रोक्न कोरियाली साहित्यको दरिलो हस्तक्षेपका रुपमा पनि उपन्यासलाई लिन सकिन्छ।

उपन्यासकार काङको लठ्याउने लेखन शैली र भावलाई अनुवादक डेबोरा स्मिथले न्याय गरेकी छन्। पुस्तक 'लस्ट इन ट्रान्सलेशन' को दोषबाट मुक्त छ। यो अनुवादकको ठूलो सफलता हो।

पुस्तकले शाकाहारी बन्ने चाहना त पूरा नगर्ला। तर विषाक्त ग्यास उत्सर्जनमा निर्लज्ज्ा लागेका तर जलवायु परिवर्तनका मुद्दाहरूप्रति उदासीन शक्तिराष्ट्र र नेताहरूलाई भने पुस्तकले सोच्न बाध्य गराउन सक्छ।

गणेश खनिया


के खाने? के नखाने?

लेखक डा. अरुणा उप्रेती।
प्रत्यक्ष वा अप्रत्यक्ष, परिचित वा अपरिचित सबैसँग सन्चो–विसन्चोपछि सोधिने दोस्रो प्रश्न हो, 'खाना खानुभयो?' जवाफमा जोकोहीलाई मनलागी खाइसकें वा खाएको छैन भन्ने छूट छ। तर डा. अरुणा उप्रेती र लक्ष्मण अधिकारीको पुस्तक खाना खानुभयो? (हाम्रा भान्साबारे बजारका भ्रम) ले भने सत्य बक्न बाध्य पार्छ।

प्रश्नवाचक पुस्तकले 'खाइसकें वा खाएको छैन' भन्ने उत्तरमा मात्र चित्त बुझ्ााउँदैन। के के र कति खाइयो भन्ने जवाफ पनि माग गर्छ। बदलिंदो जीवनशैलीसँगै खानपान संस्कारमा आएको परिवर्तनले ल्याएको विकृतिको चिरफार गर्दै पुस्तकले पाठकलाई आफैंभित्र घोत्लिन, दाँज्न र सच्चिन समेत घच्घच्याउँछ।
पुस्तकमा समाविष्ट १५ वटै लेख खाना र स्वास्थ्यकै सेरोफेरोमा केन्द्रित छन्। शुरुआतमै लेखकद्वयले 'उपभोक्तालाई जागरुक गर्नुपर्छ' भनेर पुस्तक तयार पारेको उल्लेख गरेका छन्। केही पूर्वप्रकाशितलाई पुनर्लेखन गरिएको र केही नयाँ समेटिएको यो पुस्तकले खानपिनसँगै जोडिएको बजारलाई पनि उधिनेको छ।

'चिसो पेयको झ्ोल' लेखमा बजार र नाफामुखी कम्पनीका गलत प्रचारको भण्डाफोर गरिएको छ। चिसो पेयले दाँतलाई असर पार्ने त छँदैछ त्यसमा मिसाइएका रसायनले स्वास्थ्यमा पार्ने दीर्घकालीन असर बारे पनि पुस्तकले मसिनोसँग केलाएको छ। त्यस्तै शक्ति बढाउने नाममा बजारमा आएका इनर्जी ड्रिङ्कले उल्टै शक्ति क्षीण बनाउने वैज्ञानिक तथ्य पनि प्रस्तुत गरिएको छ। जसका लागि देश–विदेशका अध्ययन–अनुसन्धान र उदाहरणसमेत पेश गरिएको छ।

चिसो पेयपदार्थ, इनर्जी ड्रिङ्क, जंक फूडका विषयमा पढ्दा तर्सिएका पाठकलाई ढुक्क हुने गरी परम्परागत खाद्यान्न प्रयोग गर्न सुझाइएको छ। जस्तो 'हामीले हेपेका' फर्सीका मुन्टा, आलु, आलस, सिस्नो, गिठ्ठा–भ्याकुर, तरुलका परिकार र तिनले दिने पौष्टिक तत्वको बारे लोभ्याउने गरी बयान गरिएको छ। यी बालबालिका, गर्भवती तथा सुत्केरीका लागि मात्रै होइन, अरुका लागि पनि महत्वपूर्ण रहेको बताइएको छ। 'तीतो मेथी र करेलाको मीठोपन' र 'स्वस्थ रहन सन्तुलित आहार' जस्ता लेखले स्वास्थ्यप्रति अझ सजग गराउँछ।

पुस्तक खाना खानुभयो? (हाम्रा भान्साबारे बजारका भ्रम)

लेखक डा. अरुणा उप्रेती र लक्ष्मण अधिकारी

प्रकाशक पब्लिकेसन नेपालय

पृष्ठ २०९+११,

मूल्य रु.३४५

पुस्तकमा समेटिएका रक्तअल्पता, चिनीसँग सम्बन्धित रोगहरु, मोटोपनबारेका लेखले खाना कसरी र कति खाने भन्ने पनि सिकाउँछन्। योसँगै 'ओहो औषधि! हत्तेरिका औषधि!!!' ले अलिकति विसन्चो हुनेवित्तिकै औषधि खाइहाल्ने प्रवृत्तिका हानिबारे पनि सचेत गराउँछ।

विज्ञापनले पारेको असर र खाद्यान्न मिसावटबाट पीडित उपभोक्ताका पीडा पनि पुस्तकमा अटाएका छन्। गोरो हुने नाममा प्रयोग गरिने क्रिमको खराब पक्षलाई अध्ययन–अनुसन्धानका तथ्य, निचोड र उदाहरणसमेत दिई बुझ्िाने भाषामा लेखिएको छ। खानपानबारे थप अध्ययन र जानकारी गर्न चाहनेका लागि सन्दर्भ सामग्रीले सहयोग पुर्‍याउने देखिन्छ।

पाठकलाई बाँधिराख्न लेखका बीच–बीचमा उदाहरण, प्रसङ्ग दिइएका छन् तर लामो वर्णनका कारण रोचक भने बन्न सकेका छैनन्। एउटा विषयसँग मिल्ने लेख लगत्तै राख्दा पाठकलाई सजिलो हुन्थ्यो तर यसको सिलसिला मिलेको छैन। विषयवस्तुका आधारमा फरक–फरक खण्डमा राख्न सकिएको भए झनै सजिलो हुनेथियो। विषयवस्तु, तथ्यांक र लेखाइका हिसाबले पुस्तक विश्वासिलो र संग्रहणीय छ।
खाना खानुभयो? अब उत्तर दिने पालो पाठकको हो।

बच्चु विक

comments powered by Disqus

रमझम