२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

मनसुनमा जोमसोम

Share:
  
- शन शुमेकर

जून, जुलाई र अगस्ट; यी तीन महीना पर्यटकका लागि 'अफ सिजन' भनिंदै आएको छ। कारण हो, मनसुन। कति बेला पोल्ने घाम लाग्छ र कति बेला पानी दर्कन्छ, पत्तै हुन्न। धमिलो आकाश र चट्याङ पर्ने समय पनि यही हो।

मनसुनका बेला पर्यटकलाई नेपाल आउन प्रोत्साहित नगर्ने पुरानै चलन हो। तर, यतिबेला मुस्ताङ नगएर के गुमाएछु भन्ने कुरा भने पुग्नेलाई बाहेक अरुलाई पत्तै हुन्न। लाग्छ, मनसुनमा पर्यटक आउनुहुन्न भन्ने सूचना नै गलत हो। अन्नपूर्ण क्षेत्रमा पर्ने जिल्लाहरूमा मनसुनका बेला पनि पर्यटकहरूले मज्जाले रमाइलो गर्न सक्छन्, जोमसोमस्थित होटल ओम्स होमका सञ्चालक टि्रपल पी गुरुङ भन्छन्, “त्यसै पनि मुस्ताङ असाध्यै कम पानी पर्ने ठाउँ हो, यहाँका अग्ला डाँडा छिचोलेर मनसुनी बादल आउनै सक्तैन।”

तस्वीरः शन शुमेकर

तथ्यांक हेर्ने हो भने मेमा स्वाट्टै कम हुने पर्यटकको संख्या अगस्टसम्म ओरालो नै लागेको देखिन्छ। सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई भने पर्यटकका लागि उत्कृष्ट सिजन मानिन्छ। त्यसैले पनि मनसुनका बेला बढी पर्यटक चाहिने गुरुङको तर्क छ। “सरकारले मनसुन पर्यटन प्रवर्द्धन गर्नुपर्छ”, उनी भन्छन्।

मुक्तिनाथ मन्दिरको तीर्थयात्रा र माथिल्लो मुस्ताङ पदयात्राका लागि यो जिल्ला प्रसिद्ध छ। मुक्तिनाथ तीर्थयात्राका लागि त भारतबाट समेत श्रद्धालुहरू आउँछन्। तर, पोखरादेखिको सडकबाटोको अवस्था र पहिरोले धेरैलाई अत्याउँछ। हवाइजहाज पनि भनेको समयमा उड्दैन।

हाल ओमन बसिरहेकी दक्षिण भारतकी प्रिया गिरिधरन मुक्तिनाथ आउने पहिलेदेखिको इच्छा बल्ल पूरा भएकोमा दंग देखिन्थिन्। “यो नआई नहुने तीर्थस्थल हो तर बाटोमा पाएको दुःख भनिसाध्य छैन”, उनी भन्छिन्। मुक्तिनाथस्थित होटल बब मार्लेका सञ्चालक कर्म गुरुङ बाटो गतिलो बन्नसके मुक्तिनाथ जानेहरूकै कारण मनसुनमा पनि व्यवसाय राम्रो हुने बताउँछन्।

मुक्तिनाथ पुगिसकेपछि भने बाटोको दुःख बिर्सिइन्छ। यहाँबाट तलतलका जंगलदेखि उच्चपर्वत शंृखला र त्यसभन्दा माथिका सुक्खा ठाउँहरूको रोमाञ्चक दृश्य देखिन्छ। आठ हजार मिटरभन्दा बढी उँचाइका धौलागिरि र अन्नपूर्ण हिमाल बीचमा बगिरहेको कालीगण्डकी नदीको खोंच पनि देख्न सकिन्छ, जुन विश्वकै गहिरो हो।

“पवित्र तीर्थस्थल, अति सुन्दर दृश्यावलोकन, फुर्सदमा आनन्द, साहसिक यात्रा, मुस्ताङमा सबैका लागि सबै कुरा छ”, कागबेनीमा होटल रेड हाउससमेत चलाइरहेका टि्रपल भन्छन्, “मस्तिष्कबाट 'अफ सिजन' को धारणा हटाउन मात्र बाँकी छ।”

comments powered by Disqus

रमझम