पौष्टिक आहारको अभाव

Share:
  
पौष्टिक आहार रोकिएपछि एचआईभी/एड्स विरुद्धको औषधि एन्टि रेट्रो भाइरल (एआरभी) सेवन गरिरहेका संक्रमित समस्यामा परेका छन्।

प्रकाश सिंह
बूढीगंगा नगरपालिका–९ बाजुराका विकास विक जिल्ला अस्पतालमा उपचार गराउँदै।
तीन वर्षको उमेरदेखि एचआईभी/एड्स विरुद्धको औषधि एआरभी खान थालेका बूढीगंगा नगरपालिका–९ बाजुराका विकास विक (१३) लाई रगतको कमि भएको छ। बाजुरा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि रिफर गरिएका विकाससँगै संक्रमित उनकी आमा मीनालाई पनि समस्या देखिएको छ। उनका बुवाको एचआईभी संक्रमणकै कारण मृत्यु भएको थियो।

बूढीगंगा नगरपालिका–८ की जला रावलले एआरभी सेवन गर्न थालेको सात वर्ष भयो। एआरभीले सजिलो महसूस गर्दै आएकी उनलाई चार वर्षयता भने खासै फरक नदेखिएको बताउँछिन्।

आठ वर्षअघि श्रीमान्को मृत्यु भएसँगै संक्रमित भएको थाहा पाएकी बूढीगंगा नगरपालिका–१० की लालीदेवी साउदलाई पनि उस्तै समस्या छ। एआरभी खाए पनि स्वास्थ्य समस्या ज्यूँका त्यूँ छ। उठबस गर्नै असहज हुने, काम गर्न नसकिने र कमजोरी महसूस गर्न थालेपछि अस्पताल गएकी उनलाई चिकित्सकले रगतको कमि भएको सुनाए।

एआरभी सेवन गर्ने यहाँका अधिकांश संक्रमितमा रगतको कमि देखिन थालेको छ। एआरभी सेवन गरेपछि संक्रमित भएको महसूस नगर्ने उनीहरू केही वर्षयता केही न केही स्वास्थ्य समस्या देखिन थालेपछि अप्ठ्यारोमा परेको बताउँछन्।

एआरभी सेवन गर्दा आवश्यक पर्ने पौष्टिक आहार खान नसकेका कारण अधिकांश संक्रमितमा रगतको कमिलगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका चिकित्सक डा. दुर्गा महर्जन भन्छन्, “पोषण विना एआरभी सेवन गर्नाले स्वास्थ्य कमजोर हुने, रगतको कमि हुने समस्या आएको हो।” विश्व स्वास्थ्य संगठनका अनुसार एआरभी सेवनकर्ताहरूले पोषणयुक्त खाना अनिवार्य रूपमा खानुपर्छ।

२०६९ माघदेखि एआरभी सेवनकर्ताहरूले पौष्टिक आहार पाउन छोडेपछि यो समस्या देखिएको हो। स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य महाशाखाले एआरभीसँगै दिने गरेको पौष्टिक आहार बजेटको अभाव भएको जनाउँदै रोकेको छ। पौष्टिक आहार रोकिएपछि संक्रमितमा समस्या देखिएको बाजुराको बाह्रविस स्वास्थ्य चौकी प्रमुख कुलबहादुर रावल बताउँछन्। स्वास्थ्य संस्था पुग्ने अधिकांश संक्रमितले एआरभी सेवन गरेपछि पौष्टिक आहार खान नपाएको बताउने गरेको उल्लेख गर्दै उनी भन्छन्, “आर्थिक अवस्था कमजोर भएका छन्। दैनिक छाक टार्न त समस्या हुन्छ, पौष्टिक आहार खान सक्ने अवस्थाका छैनन्।”

संक्रमितहरूको संस्था बाजुरा प्लसका अनुसार पौष्टिक आहार रोकिएपछि एआरभी खाइरहेका बाजुरामा १०५ र देशभरि १२ हजार ४४६ संक्रमित प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि २८ हजार ८६५ संक्रमित रहेका छन्।

आयोगमा उजुरी

पौष्टिक आहार रोकिएपछि संक्रमितहरूले स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था गुहारे। बाजुराका प्रमुख जिल्ला अधिकारी, सांसद् तथा नेताहरूमार्फत आग्रह गरे तर केही सीप लागेन। गत वर्ष स्वास्थ्य मन्त्रालय पुगेर तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापालाई भेटेर पनि समस्या सुनाए। कतैबाट सुनुवाइ नभएपछि ६ भदौमा राष्ट्रिय मानवअधिकार आयोग, क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका छन्। “स्वास्थ्य मन्त्रीलाई भन्दा पनि केही सीप चलेन, अहिले मानवअधिकार आयोग गुहारेका छौं” बाजुरा प्लसका सदस्य अमर महत भन्छन्।

आयोगलाई दिएको उजुरीमा सरकारले पौष्टिक आहार रोकेर आफूहरूको बाँच्न पाउने अधिकारबाट बञ्चित गर्न खोजेको उल्लेख गरेका छन्। पौष्टिक आहार विना एआरभी सेवन गर्दा रगतको कमि हुन गई स्वास्थ्य समस्या आइरहेको उजुरीमा उल्लेख छ।

संक्रमितहरूले उजुरीमार्फत उठाएको विषय गम्भीर भएकोले स्थलगत अध्ययन गरिने आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दीपकजंगध्वज कार्की बताउँछन्। “बाँच्न पाउने अधिकारबाट बञ्चित गरिएको भन्ने गम्भीर सवाल हो। अध्ययन गरेर आवश्यक पहल गर्छौं” कार्की भन्छन्।

प्रकाश सिंह, बाजुरा

comments powered by Disqus

रमझम