शक्तिमा पुर्‍याउने शिक्षा

Share:
  
- मस्त केसी
स्नातक तहमा मानविकी र व्यवस्थापन संकायको अध्ययनले सामान्य जागिर मात्र होइन जुनसुकै क्षेत्रमा नेतृत्वदायी र शत्तिा्कशाली पदमा पुग्ने अवसरको ढोका खोल्छ।

ललितपुर बालकुमारीस्थित काठमाडौं मोडल कलेज।
उच्च शिक्षा अध्ययनकै क्रममा वा लगत्तै जागिर खाने चाहना सबैको हुन्छ। तर, चाहना राखेर मात्र हुन्न। उपयुक्त संकायको छनोट गर्नुपर्छ। त्यसो त पढाइलगत्तै काम पाउन विज्ञान र प्राविधिक विषयहरू नै छान्नुपर्ने कतिपयको मान्यता रहँदै आएको छ। तर, यो पूर्ण सत्य होइन। मानविकी र व्यवस्थापन संकायका विद्यार्थीले पढाइसँगै वा सिध्याउनेबित्तिकै जागिरमा अब्बलता देखाइसकेका/देखाइरहेकै छन्।

देशको भूगोल र आवश्यकता अनुकूलको पाठ्यक्रमकै कारण पछिल्लो समय प्रशासन, लेखा, ब्यांकिङ, व्यापारिक, व्यावसायिक तथा पत्रकारिताजस्ता क्षेत्रहरूमा मानविकी वा व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ। तुलनात्मक रूपमा अन्य संकायभन्दा कम लगानी, मिहिनेतमा बढी प्रतिफल पाउने भएकै कारण विद्यार्थीको रुचिमा पनि कमी आएको छैन। नेपाल मेगा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे बजारमा माग भएकैले मानविकी र व्यवस्थापन विद्यार्थी र अभिभावकको रोजाइमा परेको बताउँछन्।

यतिबेला मुलुकमा कर्पोरेट हाउस, ब्यांकिङ, जलविद्युत्, शिक्षालगायतका हरेक क्षेत्र थप फराकिलो बन्दै गइरहेका छन्। यी सबै क्षेत्रको व्यवस्थापन सम्हाल्ने, आर्थिक र कानूनी पाटो हेर्ने, प्रशासन चलाउने व्यवस्थापन वा मानविकी पढेकाहरूले नै हो। “संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति उत्पादन गर्ने संकाय भनेकै मानविकी र व्यवस्थापन हुन्”, एशियन कलेज फर एड्भान्स स्टडिजका प्रशासन प्रमुख प्रणय घिमिरे भन्छन्।

उपल्लो दर्जाका जनशक्ति उत्पादन गर्ने विषय भएकै कारण मानविकी र व्यवस्थापनलाई 'शक्तिमा पुर्‍याउने शिक्षा' का रूपमा हेरिन्छ। कारण, निजी मात्र होइन, राजनीतिक बागडोर सम्हाल्ने, न्यायालय हाँक्ने, प्रशासनिक संयन्त्र, कूटनीति र सुरक्षा निकायको नेतृत्व गर्ने अधिकांशले यी दुई विषय अध्ययन गरेका हुन्छन्। साउथ एशियन इन्ष्टिच्यूट अफ म्यानेजमेन्ट (साइम) कलेजका डीन प्रा. विजय केसीको तर्कलाई मान्ने हो भने देश चलाउने अधिकांश क्षेत्र वा विभागको नेतृत्वमा मानविकी र व्यवस्थापन पढेकाहरूकै बोलवाला छ।

फराकिलो क्षेत्र

काठमाडौं थापाथलीस्थित एभरेष्ट कलेज।
पहिले पढाइ, अनि जागिर– अन्य विषयको हकमा यो भनाइ सही हुन सक्छ तर मानविकी र व्यवस्थापन संकायमा भने पढाइ र काम सँगै अघि बढाउन सकिन्छ। ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खेम लकाई पढ्दापढ्दै पनि कर्पोरेट हाउस, ब्यांकिङ, पर्यटनलगायत विभिन्न क्षेत्रमा आवद्ध हुन सकिने बताउँछन्। “देशमा विस्तार भइरहेको लगानीसँगै हरेक क्षेत्रमा मानविकी र व्यवस्थापन पढेका जनशक्ति नै चाहिन्छ”, उनी भन्छन्।

व्यवस्थापन तथा मानविकीको क्षेत्र पनि फराकिलो छ। “मानविकी र व्यवस्थापनामा परिवेश अनुकूलका विषय पढाइने भएकाले हरेक क्षेत्रमा विद्यार्थी अब्बल हुन सक्छन्”, साइम कलेजका केसी भन्छन्, “एउटै विषय पढेर पनि फरक क्षेत्रमा आफ्नो क्षमता देखाउन सकिन्छ।” प्रेसिडेन्टल कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी पनि मानविकी र व्यवस्थापन पढेका जनशक्ति राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघसंस्थादेखि राजनीतिसम्म उपयुक्त हुने तर्क गर्छन्।

मानविकीको उँचाइ

समाजबारे फराकिलो र गम्भीर चिन्तन गर्न सक्ने संकाय हो, मानविकी। नेपाल मेगा कलेजका पाण्डे समाजसँग घुलमिल हुने विषय मानविकी मात्रै भएको दाबी गर्छन्। “मानविकीलाई जताततै अवसर नै अवसर छ”, उनी भन्छन्।

रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) बाट पत्रकारितामा स्नातकोत्तर सिध्याएलगत्तै सोलुखुम्बुका मदन राई संयुक्त राष्ट्रसंघ अन्तर्गतको युवा तथा विद्यार्थी विकास कार्यक्रममा आबद्ध भए। “मानविकीमा अन्य संकाय जस्तो निश्चित सीमा वा सीमितता छैन”, राई भन्छन्।

सरकारी जागिरका लागि मात्र मानविकी संकायको महत्व छ भन्ने परम्परागत मान्यता व्यावहारिक रूपमै तोडिएको छ। मानविकीबाट उच्च शिक्षा हासिल गर्नेहरू निजीसँगै गैरसरकारी संस्था, कूटनीतिक नियोग नै हाँकिरहेका छन्। यताका केही वर्षहरूमा मानविकी पढेर विकसित मुलुकहरूमा छात्रवृत्तिमा स्नातकोत्तर र विद्यावारिधि गर्न जाने अवसर बढ्नुले पनि मानविकीको शक्ति प्रमाणित गरेको निम्स कलेजका संयोजक भीम सिग्देलको बुझाइ छ। सिग्देल मिलेर काम गर्ने सूत्र र लचिलोपना सिक्न पनि मानविकी आवश्यक रहेको बताउँछन्। काठमाडौं मोडल कलेजका प्राचार्य सुरेन्द्र सुवेदी पछिल्ला वर्षहरूमा मानविकी संकायमा विविधता बढेकाले पनि नेपाललगायत विदेशमा यो संकायका जनशक्तिले सहजै रोजगारी पाएको विश्लेषण गर्छन्।

काठमाडौ ज्ञानेश्वरस्थित आईएसटी कलेज।
मानविकी संकायअन्तर्गत स्नातक तहमा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, पर्यटन, फेसन डिजाइन, गूड गभर्नेन्स, सामाजिक उद्यमशीलता, सोसल वर्क, मनोविज्ञानलगायतका विषय अध्ययन गर्न सकिन्छ। मानविकीको अर्को विशेषता भनेको कक्षा १२ मा जुन संकाय वा विषय पढेको भए पनि स्नातकमा रोजेको विषय पढ्न पाइन्छ।

व्यावसायिक बीबीए/बीबीएस

सरस्वती मल्टिपल क्याम्पस, काठमाडौंबाट २०६८ सालमा बीबीएस उत्तीर्ण गरेलगत्तै मीनराज अधिकारीले सानिमा विकास ब्यांकमा एसिस्टेन्टको काम थाले। ब्यांकको काम र स्नातकोत्तर तहको पढाइलाई निरन्तरता दिएका उनी हाल ब्यांकको जुनियर अफिसरको रूपमा नयाँबानेश्वर शाखामा कार्यरत छन्।

ब्यांकिङ क्षेत्रमा करिअर बनाउने सोचले विना नेपाली ललितपुरस्थित निम्स कलेजको चारवर्षे बीबीएस तहमा भर्ना भइन्। तर, ब्यांकिङ क्षेत्रमा प्रवेश पाउन उनले चार वर्ष कुर्नै परेन। “पढ्दापढ्दै कृषि विकास ब्यांकमा चौथो तहमा नाम निकाल्न सफल भएँ” उनी भन्छिन्, “जुन उद्देश्य राखेर विषय छनोट गरेकी थिएँ, त्यो पूरा भयो।” स्नातकोत्तर तहको तयारीमा रहेकी उनी अहिले कृषि विकास ब्यांकको मकवानपुर, पालुङ उपशाखामा खटिएकी छिन्।

बीबीएस र बीबीएको आकर्षण बढ्नुमा पढाइ सँगसँगै रोजगारी रहेको कलेज सञ्चालकहरू बताउँछन्। “चारवर्षे कोर्स भएकाले अन्तर्राष्ट्रिय मान्यता त छँदैछ। कर्पोरेट र ब्यांकिङ क्षेत्रमा पनि सजिलै काम पाउन सक्छन्” प्रेसिडेन्टल कलेजका केसी भन्छन्, “विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजरको लाभ पनि छ।” दुवै कोर्समा अनिवार्य रहेको इन्टर्नसिपले विद्यार्थीलाई व्यावहारिक बनाउन र भविष्यमा काम गर्न सहज हुने फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. विनोद खत्री बताउँछन्। “बीबीएस वा बीबीए पढेकालाई करिअरमा धेरै 'अप्सन' छन्” खत्री भन्छन्, “आफैं उद्यमी बन्न चाहनेका लागि पनि बाटो फराकिलो छ।”

हाल त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले बीबीए कार्यक्रम सञ्चालन गरिरहेका छन्। केही कलेजले विदेशी विश्वविद्यालयको सम्बन्धनमा पनि बीबीए कार्यक्रम चलाइरहेका छन्। चार वर्षमा आठ सेमेस्टर पढाइ हुने बीबीएमा इन्टर्नसिपबाहेक सैद्धान्तिक ज्ञानसँगै व्यवस्थापनसँग सम्बन्धित विषयमा सामूहिक छलफल गराइन्छ। विशेषगरी ब्यांकिङ, इन्स्योरेन्स, कर्पोरेट हाउस, बहुराष्ट्रिय कम्पनीमा बलियो उपस्थिति जनाएको कलेज सञ्चालकहरूको भनाइ छ।

साइम कलेजका डीन केसी बीबीए वा बीबीएस अध्ययन गरेका विद्यार्थी विदेशमा समेत अब्बल भएको दाबी गर्छन्। उनी भन्छन्, “विदेशी विश्वविद्यालयमा छात्रवृत्ति मात्र पाएका छैनन्; राम्रो कम्पनीमा काम समेत गरिरहेका छन्।”

हस्पिटालिटीः विदेशमा समेत अवसर

स्वदेश तथा विदेशमा राम्रो अवसर दिलाउने विषयहरू जो–कोहीको रोजाइमा पर्नु स्वाभाविक हो। पछिल्लो समयमा यस्तै एउटा विषयको आकर्षण बढेको छ– हस्पिटालिटी। व्यवस्थापनअन्तर्गतको यो विषय रोजगारमुखी भएकै कारण थुप्रै कलेजले हस्पिटालिटीलाई प्राथमिकतामा राख्न थालेका छन्। यो विषय विशेषगरी होटल, ट्राभल एजेन्सी, एअरलाइन्स, पर्यटन, कर्पोरेट हाउसलगायतका क्षेत्रमा सेवा व्यवस्थापनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न उपयुक्त मानिन्छ।

आईसीटी कलेजकी प्राचार्य सम्झ्ना बस्न्यात तारे होटलदेखि संस्थाको प्रशासनिक व्यवस्थापन र आफैं उद्यमी बन्न सक्ने अवसरकै कारण हस्पिटालिटीमा विद्यार्थी तानिएको बताउँछिन्। “हस्पिटालिटी पढेपछि कोही पनि बेरोजगार बस्नु पर्दैन” उनी भन्छिन्, “पढ्दै काम गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य छ।”

स्वदेशमा मात्र होइन, हस्पिटालिटी पढेकाको माग विश्वबजारमै छ। यहीं पढ्नेहरूले पनि विभिन्न मुलुकमा इन्टर्नसिपको मौका पाउँछन्। जसले गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानका साथै काम गर्न पनि सजिलो हुने एनसीसीएस कलेजका निर्देशक प्रज्वल बानियाँ क्षेत्री बताउँछन्। विदेशमा उपल्लो तहको पढाइ र रोजगारको योजना बनाइरहेकाहरूका लागि पनि हस्पिटालिटी सुहाउँदो विषय रहेको क्षेत्रीको बुझाइ छ।

पर्यटन व्यवसायको विकाससँगै होटल, ट्राभल एजेन्सी, एअरलाइन्स पनि थपिएका छन्। तर, दक्ष जनशक्ति भने कमी नै छ। सम्बन्धित विषय अध्ययन नगरेका जनशक्तिले धानिरहेको अहिलेको अवस्थामा सक्षम र पढेलेखेका जनशक्तिको खोजी हुन थालेको छ। आईएसटी कलेजकी बस्न्यात त्यही भएर पनि यो विषयको महत्व बढेको तर्क गर्छिन्। “होटल तथा पर्यटनमा मात्र होइन, जुनसुकै क्षेत्रमा पनि हस्पिटालिटी जनशक्तिको खाँचो छ”, उनी भन्छिन्।

comments powered by Disqus

रमझम