बालबालिकामा हड्डी भाँचिने समस्या

Share:
  
- डा. सुमनराज ताम्राकार
बर्खा सकिएर चाडबाडको मौसम शुरु हुँदा बालबालिकाको हड्डी भाँचिने समस्या बढ्ने हुनाले यो बेला अभिभावक विशेष चनाखो हुनुपर्छ।

बालबालिकाको स्वभाव केही नयाँ कुरा जान्ने, चकचक गर्ने हुन्छ तर उनीहरूसँग कतिपय कुराको अनुभव तथा गम्भीरता आकलन गर्ने क्षमता विकसित भइसकेको हुँदैन। यसले गर्दा कतिपय अप्रत्यासित दुर्घटना हुन जान्छन्। जसका लागि घटनास्थलमा नै प्राथमिक उपचारको जरूरत पर्दछ।

घाउ, चोट लाग्नु (काटिनु), हड्डी भाँचिनु, मर्किनु, तातो झ्ोलिलो पदार्थ तथा आगोले पोल्नु, करेन्ट लाग्नु, झुक्किएर विषालु पदार्थ सेवन गर्नु, अनावश्यक बाह्य वस्तु निल्नु, नाक तथा कानमा कुनै चिज अड्काउनु, पानीमा डुब्नु यस्तै केही अप्रत्याशित तथा आकस्मिक दुर्घटना हुन्।

तुलनात्मक रूपमा बालक बढी चकचके हुन्छन्। रूखबाट, पर्खालबाट, भीरबाट लडेर शरीरका विभिन्न भागको हड्डी भाँचिने वा मर्किनेमा बालिकाभन्दा बालक नै बढी हुन्छन्। त्यसमध्ये कुइनाको ठिक्क माथिको हड्डी, हात र खुट्टाको हड्डी बढीजसो भाँचिन्छ भने कुर्कुच्चाको जोर्नी मर्किन सक्दछ।

नेपालको परिप्रेक्ष्यमा वर्षात् मौसममा निरन्तर परिरहने पानीको कारण बाटो चिप्लो हुँदा यस्ता घटना बढी हुने गरेका छन्। साथै दशैंको छेको पारेर चङ्गा उडाउने, काटिएको चङ्गा टिप्ने क्रममा आफ्नो वरिपरिको वातावरणको सही आकलन नगर्दा पनि हातखुट्टा भाँचिने, मर्किने समस्यामा वृद्धि भएको पाइन्छ।

यस्ता अप्रत्याशित घटनाका कारण हाड भाँचिंदा वा मर्किंदा भाँचिएको वा मर्किएको ठाउँ सुन्निने, दुख्ने, रातो हुने, चलाउन गाह्रो हुने, काम नगर्ने हुन्छ। कहिलेकाहीं त छाला छेडिएर (च्यातिएर) भाँचिएको हड्डीको भाग बाहिर पनि निस्कन सक्दछ।

प्राथमिक उपचार गर्दा रगत बग्ने गरी हड्डी भाँचिएको छ भने घाउको ड्रेसिङ (सरसफाइ गरी पट्टी लगाउने) गर्नुपर्दछ। तत्पश्चात् कुन ठाउँको हड्डी भाँचिएको वा मर्किएको छ, उक्त भाग हलचल गर्न नदिन काम्रो (लट्ठी, सानो फलेक, छाता, कडा कागज आदि) बाँधी तुरून्त नजिकको स्वास्थ्य संस्थामा एक्स–रे तथा अन्य आवश्यक उपचार (प्लाष्टर लगाउन, ब्याण्डेज बाँध्न, दुखाई कम हुने औषधि खान आदि) गर्न लैजानुपर्दछ। रोकथामको लागि बच्चाहरूलाई अग्लो ठाउँमा नजान, नचढ्न सम्झाउने तथा होशियारी अपनाउन सल्लाह दिनुपर्दछ। केही गरेर त्यस्तो दुर्घटना भयो भने नलुकाई तुरून्त उपचार गर्न लैजान प्रोत्साहित गर्नुपर्दछ। चङ्गा उडाउने क्रममा अभिभावक निगरानी हुनुपर्दछ भने चङ्गा उडाउँदा अपनाउनुपर्ने सावधानीबारे पूर्व जानकारी दिनुपर्दछ।

बालबालिकालाई लाग्ने चोटपटकमध्ये करीब १५ प्रतिशतमा हाड भाँचिन्छ। शरीरका विभिन्न हड्डीहरूमध्ये उँचाइ (रूख, पर्खाल) बाट खस्दा वा चिप्लो ठाउँ (हिलो बाटो) मा चिप्लिंदा बालबालिकामा बढीजसो कुइनामाथिको हड्डी भाँचिने गर्छ। योे समस्या वर्षात् मौसममा बढी हुने गरेको छ।

कुइनामाथिको हड्डी भाँचिंदा भाँचिएको भाग सुन्निने, दुख्ने, कुइनाको जोर्नी चलाउन नमिल्ने, राताम्य हुने (कहिलेकाहीं रगत जम्यो भने नीलो देखिने) हुन्छ। गम्भीर प्रकारको चोट परेको छ भने भाँचिएको हड्डी छाला छेडेर बाहिर निस्किन सक्छ। यस्तो बेला कुइनामाथि खुल्ला घाउ हुने तथा रगत बग्ने हुनसक्छ। चोट हल्का मात्र छ भने हड्डी चर्किने मात्र वा हड्डी जोड्ने बाक्लो मासु (लिगामेन्ट) च्यातिने हुन्छ। प्राथमिक उपचारको क्रममा रगत बग्ने गरी बाहिरी घाउ छ भने सफा गरेर पट्टी लगाउने गर्नुपर्दछ। भाँचिएको भाग हलचल गर्न नदिन काम्रो बाँध्नुपर्छ। काम्रोका लागि बाँसको भाटा, लट्ठी प्रयोग गर्न सकिन्छ। कुइनामाथिको हड्डी भाँचिंदा यसरी काम्रो बाँध्नुका साथै ब्यान्डेज वा कपडाको माला लगाएर टेवा दिनुपर्ने हुन्छ।

प्राथमिक उपचारपश्चात् अन्य उपचारका लागि तुरून्त अस्पताल लैजानुपर्दछ। हड्डी कस्तो प्रकारले भाँचिएको वा चर्किएको छ, थाहा पाउन एक्स–रे गरेर हेर्नुपर्ने हुन्छ। त्यसैगरी कहिलेकाहीं खाली पेटमा बेहोश हुने औषधि दिएर भाँचिएको भाग अलि तन्काई मिलाउनुपर्ने, पिन (किला) हाल्नुपर्ने र त्यसपछि प्लास्टर राख्नुपर्ने हुन्छ। उपचारको क्रममा प्लास्टर राख्ने, ब्यान्डेज राख्नुको अलावा केही दिनसम्म दुखाइ कम हुने औषधिको आवश्यकता पर्दछ। बाहिरी घाउ छ भने त्यसको मल्हमपट्टी तथा धनुष्टंकार विरुद्ध टीटी सुई पनि लगाइदिनुपर्ने हुन्छ।

comments powered by Disqus

रमझम