सफाइ सुविधा

Share:
  

६ वर्षअघि दुई वटा कोठामा राखेको बाक्लो कार्पेट फोहोर भएको भन्दै बौद्ध, काठमाडौंका हेम शाक्यले नयाँ फेर्ने सोच बनाए। तर, बजारमा भाउ बुझ्दा चकित भए। त्यसपछि बीचको बाटो रोजे अर्थात् पुरानो कार्पेट सफा गरेर पुनः प्रयोग गर्ने। “आफैंले सफा गर्न गाह्रो भएपछि कम्पनीलाई दिएँ, अहिले त कार्पेट राम्रो र आकर्षक भएको छ”, उनी भन्छन्।

केही वर्ष प्रयोग गरेपछि सोफा, कुर्सी–टेबल, पार्केट, टायल, मार्बलमा चमक हराउँदै जान्छ। पुराना देखिन थाल्छन्। तर, बजारमा पुराना सामानलाई सफा, चिटिक्क र आकर्षक बनाउन 'क्लिनिङ' र 'रिनोभेसन' सुविधा दिने व्यावसायिक कार्यालयसमेत खुल्न थालेका छन्। प्रायः व्यावसायिक भवन, कार्यालयहरूले प्रयोग गर्ने यो सेवा पछिल्लो समय आवासीय घरले समेत उपयोग गर्न थालेको मोर्डन क्लिनिङ एण्ड सर्भिसिङका प्रबन्धक खेम विष्ट बताउँछन्। “पछिल्लो तीन–चार वर्षयता घरहरूबाट समेत काम आइरहेको छ”, उनी भन्छन्।

साइन क्लिनिङकी प्रबन्ध निर्देशक बिना श्रेष्ठ पछिल्लो दशकमा बनाइएका अधिकांश घरको फ्लोरमा पार्केट राखिने भएकाले पार्केट क्लिनिङको काम धेरै आइरहेको बताउँछिन्। “पुराना सामानबाटै काम चल्ने भएकोले नयाँ किनिराख्नुपर्ने खर्च जोगिन्छ” उनी भन्छिन्। सरसफाइ गर्न समय नहुनेका लागि पनि यो सुविधा लाभदायक भएको उनको भनाइ छ।

साइन क्लिनिङ
धेरै प्रयोगसँगै सामान चाँडै पुरानो देखिनुको अर्को कारण सरसफाइमा कमी हुनु पनि हो। त्यसैले पनि नियमित रुपमा सरसफाइ गर्नु आवश्यक ठानिन्छ। पार्केट, मार्बल, टायल, कार्पेट तथा लिभिङ रुममा राखिने सोफाहरूमा सबैका आँखा जाने भएकाले यी सामग्री फोहोर देखिंदा घरको सौन्दर्यमै असर पुग्छ।

सरसफाइका क्रममा मार्बल तथा टायलमा लागेको सिमेन्ट, दाग मेशीनद्वारा हटाइन्छ। मोर्डन क्लिनिङ एण्ड सर्भिसिङका प्रबन्धक विष्ट सामानको गुणस्तरमा कुनै असर नपारी जतनसाथ सरसफाइ गरिने बताउँछन्। “सिसालगायतका संवेदनशील सामग्री भने हातले नै सफा गरिन्छ” उनी भन्छन्, “सरसफाइका नयाँ–नयाँ प्रविधि पनि प्रयोग गरिन्छ।”

सामान मात्रै होइन, पूरै घर सरसफाइ गर्ने पनि व्यवसाय शुरु भएको छ। मोर्डनका विष्ट आफ्नो संस्थाले वार्षिक सरसफाइको सुविधा दिने गरेको बताउँछन्। “सामान प्रयोगको मात्रा हेरेर वार्षिक तथा अर्धवार्षिक रुपमा घर सरसफाइको सहमति गर्न सकिन्छ”, उनी भन्छन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम