लुम्बिनीको संस्कृति

Share:
  
- बसन्त महर्जन
लुम्बिनीका मूर्त सम्पदासँग जोडिएर विश्वभरबाट आउने बौद्ध धर्मावलम्बीहरूको अमूर्त सम्पदा संरक्षण र विकास हुनसकेको छैन।

www.indiTales.com
जर्मन विहारभित्रको कलात्मक कृति।
नेपालका ऐतिहासिक–सांस्कृतिक सम्पदा कुनै विदेशीले नदेखाएसम्म नेपाल आफैंले देख्न, चिन्न नसक्ने नै हो त? यो प्रश्न धेरै सन्दर्भमा लागू हुन्छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर थाहा भए पनि त्यो ठाउँ ठ्याक्कै कहाँ छ भन्ने प्रश्नमा बाहिरी विश्वमा माथापच्ची भइरहेका बेला नेपाललाई केही वास्ता थिएन।

सन् १८९६ को अन्त्यतिर जर्मन पुरातत्वविद् डा. ए. फुहररले लुम्बिनी पत्ता लगाएपछि पनि नेपालमा भन्दा विदेशमै ज्यादा चासोे–चर्चा पायो, त्यो विषयले। संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त लुम्बिनी पुगेर, राजा महेन्द्रलाई भेटेर लुम्बिनीको विकासमा ध्यानाकर्षण गराए। लुम्बिनीलाई विश्वसम्पदा सूचीमा राख्ने काम पनि उनैले गरे। त्यसपछि पनि हुनुपर्ने जति नेपालको ध्यानाकर्षण नभएकोले बहस चलाउन सकिने ठाउँ प्रशस्तै छन्।

मूर्त सम्पदाका रूपमा रहेका लुम्बिनीका पुरातात्विक वस्तुहरू अहिले राम्रै किसिमले संरक्षित छन् भन्न सकिन्छ, तर तिनै चिजका कारण आउने बौद्धहरूले गर्ने विभिन्न धार्मिक गतिविधि; जो अमूर्त सम्पदा हुन्– तिनको संरक्षण र विकासमा हामी चुकिरहेका छौं।

बौद्ध स्थल हुनाको सार्थकता त्यहाँ स्वतः सिर्जना हुने बौद्ध वातावरणमा हुन्छ। बुद्ध जन्मस्थल पहिचान भइसकेर पनि लामो समयसम्म लुम्बिनी क्षेत्र उजाड रह्यो, जहाँ अहिले धेरै मात्रामा निर्माण कार्यहरू भइसकेको अवस्था छ। र पनि, अमूर्त सम्पदा संरक्षणको नितान्त अभाव खट्किन्छ। बौद्ध वातावरणमा ध्यान नदिंदा यो अवस्था सिर्जना भएको हो। जबकि, विश्वका विभिन्न मुलुकबाट आउने तीर्थयात्रीको पूजा तथा सूत्रपाठ पनि नहुने हो भने लुम्बिनीलाई 'लुम्बिनी' बनाउने मूर्त संस्कृति पनि कमजोर हुन्छ।

लुम्बिनीको गुरुयोजनाकार वास्तुविद् केन्जो ताङ्गेले लुम्बिनी क्षेत्रभित्र एउटा गाउँ कल्पेका थिए, जहाँ तीर्थयात्रीहरूले पूर्णतः बौद्ध वातावरण पाउन्, जुन अझ्ै साकार भएको छैन। काठमाडौंको स्वयम्भू र खास्ति (बौद्ध) मा एकाबिहानैदेखि बौद्ध चहलपहल शुरू हुन्छ, तर लुम्बिनीमा त्यस्तो छैन। विश्वशान्ति स्तूप सम्बद्ध जापानी संस्था निप्पोन जान म्योहोजीका भिक्षुहरू मायादेवी मन्दिर परिक्रमा गर्न नआउने हो भने त त्यहाँ सुनसानै हुने थियो। हरेक पूर्णिमाको साँझ् सबै विहारका भिक्षुहरू मायादेवी मन्दिर पश्चिमको पटाङ्गिनीमा भेला भएर सूत्रपाठ गर्ने चलनले पनि लुम्बिनीमा बौद्ध वातावरण सिर्जना गर्न धेरथोर सहयोग पुर्‍याउँदै आएको छ। यसलाई साप्ताहिक बनाउन सके अझ् राम्रो हुन्थ्यो।

लुम्बिनीमा विभिन्न देशका उपासक–उपासिकाहरू आ–आफ्नै संस्कृति र परम्पराअनुसारको आचरण गर्छन्। यस हिसाबले लुम्बिनीलाई खुल्ला विश्व बौद्ध संगमस्थल पनि भन्न सकिन्छ। शान्त, स्वच्छ र मैत्रीपूर्ण वातावरण बौद्ध स्थलहरूको विशेषता हो। विहारमा भएको होहल्लाप्रति बुद्धको नकारात्मक टिप्पणी सुनेपछि नयाँ भिक्षुहरू लज्जित भएको र आफूलाई सुधारेको प्रसङ्ग यहाँ स्मरणीय छ। लुम्बिनीमा विभिन्न देशका उपासक–उपासिकाहरू आ–आफ्नै पाराले श्रद्धा व्यक्त गर्छन्, कसैबाट कसैलाई बाधा नपुग्ने गरी। विश्वभरका बौद्धहरूको चलन र आस्थाको संगम लुम्बिनीमा पाइने अमूर्त संस्कृतिको संरक्षण र प्रचार–प्रसारमा सम्बन्धितहरूको ध्यान जान सकेको देखिंदैन।

लुम्बिनीको जर्मन विहारमा ज्यादै महत्वका बौद्ध कलाकृतिहरू छन्। बिहारको ठूलो हलमा क्यामेरा प्रयोग गर्न नदिनुको खास कारण हो– भड्किला पहिरनमा आउने युवा–युवतीले ती धार्मिक चित्रलाई पृष्ठभूमिमा राखेर असहज भावभंगिमाका साथ फोटो खिच्नु। अन्तरंगका लागि एकान्त खोज्नेहरूले पनि लुम्बिनीमा बौद्ध वातावरण बिथोलेका छन्। सबै नेपाली बुद्ध र लुम्बिनीप्रति गौरव गर्छन्, तर बौद्ध स्थलहरूमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने सामान्य जानकारीको अभाव खट्केको छ। बौद्ध स्थलका पदाधिकारी तथा कर्मचारी स्वयंको गैर–बौद्ध क्रियाकलापले पनि बौद्ध वातावरणलाई प्रभावित पारिरहेको देखिन्छ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले १ डिसेम्बर १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राख्दा मूलतः मूर्त संस्कृतिमा ध्यान थियो। अहिलेको विश्व अमूर्त सम्पदा पनि मानव जातिको सांस्कृतिक निधि हो भन्ने मान्यतामा चलेको छ। राष्ट्रसंघको महासभाले नै सन् २००३ मेमा अमूर्त सांस्कृतिक सम्पदाका पक्षहरूलाई संरक्षण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो, जसमा नेपालले २२ जून २०१० मा हस्ताक्षर गर्‍यो। त्यसअनुसार नेपालमा पनि अमूर्त सम्पदा सम्बन्धी काम हुन्छ, तर लुम्बिनीलाई त्यस दृष्टिबाट हेरेको पाइँदैन। यसका लागि पनि युनेस्कोको दबाब नै चाहिने हो कि?

comments powered by Disqus

रमझम