नेपाली यसरी लेख्ने

Share:
  

“हिजो–आज सबबाट एकमुखको माग यही भइरहेछ– सिद्धान्तकौमुदीका सूत्र जस्तै गरी नेपाली व्याकरण हामी घोक्न सक्तैनौं, तसर्थ ज्यादै सजिलो, ज्यादै छोटकरी, ज्यादै उदार कुनै नियम भए हाम्रो लेखाइमा एकता होला।”

माग आजकै पुस्ताको जस्तै लाग्छ। तर, १९९१ सालमा नेपाली भाषा प्रकाशिनी समिति (नेभाप्रस) ले नेपाली कसरी शुद्ध लेख्ने? पुस्तिका प्रकाशन गर्नुको अन्तर्य यही रहेछ। प्रस्तावनामै यसो लेखिनुबाटै स्पष्ट संकेत पाइन्छ।

विडम्बना, राणा प्रधानमन्त्री जुद्धशमशेरकै पालामा समस्या ठानिएको नेपाली भाषाका समस्या संघीय गणतन्त्र नेपालमा पनि समाधान हुन सकेनन्। 'विद्यालय' पढेका शिक्षक अहिले विद्यार्थीलाई चाहिं 'विद्यालय' सिकाइरहेका छन्। 'शहर' बसेकाहरु एकाएक 'सहरवासी' बनेका छन्। 'कोशी' को पानीमै आश्रितहरुलाई कतिखेर नदी पातलिएर 'कोसी' बन्यो पत्तै छैन। अवस्थामा कुनै परिवर्तन नआए पनि हिजोका 'गरीब' आज 'गरिब' बनेका छन्।

पुस्तक नेपाली कसरी लेख्ने?

लेखक शरच्चन्द्र वस्ती

प्रकाशक शिक्षक मासिक

पृष्ठ १४९+१५

मूल्य रु.३००

'नेपाली भाषालाई सरल बनाउन' नेपाल प्रज्ञा प्रतिष्ठानले २०६९ सालमा प्रकाशित गरेको नेपाली बृहत् शब्दकोश को नवौं संस्करणले गरेको 'वैज्ञानिक परिवर्तन' धेरैका लागि सरकारद्वारा जबर्जस्ती लादिएको कानून बन्यो। संस्कृतबाट आएका तत्सम शब्द जस्ताको तस्तै लेख्ने, संयुक्त अक्षरलाई खुट्टा काटेरै लेख्नुपर्ने, उच्चारण अनुसार नै लेखिनुपर्ने जस्ता थुप्रै निर्देशनलाई त्रिभुवन विश्वविद्यालय समेतले आँखा चिम्लिदिंदा आज थुप्रै विद्यार्थी 'फूल' र 'फुल' मा भेद छुट्याउन नसक्ने बनेका छन्।

भाषाभित्रको यो भाँडभैलोले संसारभर छरिएका नेपाली जनमानसलाई आफ्नो कखरामाथिको ज्ञानमै संशय पैदा गराउँदै प्रश्न गर्न बाध्य तुल्याएको छ– हामीले लेखिरहेको गलत हो भने सही के हो त? भाषाकर्मी शरच्चन्द्र वस्तीको नयाँ पुस्तक नेपाली कसरी लेख्ने? ले यसको सूत्रबद्ध जवाफ पस्कने जमर्को गरेको छ।

नेपाली कसरी लेख्ने? अवधारणाका साथ शुरु हुने पुस्तकले हिज्जे, शब्द, वाक्य, अनुच्छेद र शैलीमा विशेष जोड दिएको छ। त्यसपछिको परिशिष्टमा लेखक शब्दानुशासनमा वर्ण, शब्द, बनोट, रुपविस्तार र वाक्य निर्माणका सतर्कताबारे विस्तार गर्छन्। अन्त्यमा हिज्जेको हेक्का शीर्षकमा प्रायः गलत लेखिने २९०७ शब्दका सही रुप दिइएका छन्। जस्तो, 'अछुत' नभई 'अछूत', 'अतित' नभई 'अतीत', 'सकृय' नभई 'सक्रिय', 'स्वेत' होइन 'श्वेत', 'सन्यास' होइन 'संन्यास', 'सत्मार्ग' होइन 'सन्मार्ग' आदि।

पुस्तकको विशेषता भनेकै सरल हुनु हो। आफूले पहिल्यै जानिसकेका जस्ता लाग्ने कतिपय कुरा पुस्तक पढिरहँदा गलत पुष्टि हुदा नयाँ कुरा सिक्न पाएको अनुभूति हुन्छ। सर्वनाम प्रयोगको उदाहरण हेरौं– म संगीतकार होइनँ तर त्यसमा मेरो रुचि छ (रुचि केमा संगीतमा कि संगीतकारमा?) लेखकका यस्ता प्रश्नले वाक्यको सही शब्दको प्रयोग नभएको छर्लङ्ग पार्छ।

पुस्तकमा नारायणगोपालले गाएका दुईवटा गीतका शब्दका गल्ती पनि औंल्याइएको छ। कालिप्रसाद रिजालरचित आँखाछोपी नरोऊ भनी बोलको गीतमा रहेको 'परेलीका ओठबाट आँसु झ्ारिरह्यो...' भन्ने वाक्यमा लेखक ओठबाट आँसु झार्छ र? भनी अशुद्धि देखाउँछन्। दिनेश अधिकारीको रचना 'तिमी जुन रहरले' गीतको 'रक्ताम्य ती तिम्रा अधरहरुमा, न मैले कहिल्यै हरियाली पोतें' हरफमा लेखक टिप्पणी गर्छन्– रक्ताम्यको अर्थ हो– रगतपच्छे/रगत लतपतिएको। प्रेमिकाका अधर (ओठ) कसको रगतले लतपतिएका?

'मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं' मा कृत्रिमपन देख्ने लेखक बरु 'जाँडरक्सी खाएर गाडी नहाँक्नोस्' भन्नुमै नेपाली पारा र प्रभावकारिता देख्छन्। पुस्तकले सिद्धान्त रटानबाट भन्दा व्यावहारिक प्रयोगबाट जनमनबाट भाषाको वैधानिकता खोजेको बुझिन्छ, जसले नेपाली भाषाको सर्वस्वीकार्यतासँग सोझ्ाो सम्बन्ध राख्छ।

पुस्तकमा कतै कतै संयुक्त क्रियापद नजोडिएका मात्र होइन, अंग्रेजीका हिज्जेमै पनि फरक देखिन्छ। लिभ (बाँच्नु) र लीभ (विदा) मा ह्रस्व र दीर्घको तर्क र लामोको अंग्रेजी लेखाइ 'लंग' लेख्नुमा लेखकले दह्रो तर्क दिन सकेका छैनन्। 'शब्दको स्वरुप ठीक भएपछि मात्र लेखाइ ठीक हुन सक्छ' कि हुन्छ? लेखक स्वयं अन्योल लाग्छन्। लेखकको अघिल्लो पुस्तक हाम्रो भाषा का कतिपय उदाहरण दोहोरिएका छन्।

२०६९ सालको शब्दकोशको शैली विरुद्धको अभियानमा संलग्न लेखक स्वयंको सक्रियतामा नेपाली भाषा प्रयोगकर्ता समूहद्वारा गोजी पुस्तिका नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले–२०६९) जारी गरिएको थियो। यस्तै दबाबबीच एक वर्षअघि प्रज्ञा प्रतिष्ठानले शब्दकोशको विवादास्पद नवौं संस्करण खारेज गरी संशोधनसहित पुरानै स्वरुप अपनाएर दशौं संस्करण निकाल्ने निर्णय पनि गर्‍यो। तर, विद्यार्थीलाई पढाइने गलत हिज्जे सुधार्न अझै निर्देशन दिइएको छैन। यसले यो पुस्तकको सान्दर्भिकता बढाइदिएको छ।

नेपाली कसरी लेख्ने? सिकाइसकेपछि वस्तीजस्ता भाषाविद्को दायित्व हुन्छ– 'नेपाली कसरी बोल्ने?' ज्ञानको खाँचो पूर्ति गर्ने। यसो गर्नसके नेपाली लेख्दा, बोल्दा आधाआधी अंग्रेजी घुसाउनेहरुले फाइदा लिनसक्थे।

रविन गिरी

comments powered by Disqus

रमझम