साहसिक यात्रा

Share:
  
- युवराज श्रेष्ठ, पोखरा
प्याराग्लाइडिङ, बञ्जी जम्प, ट्रेकिङसँगै पोखरामा थपिएको क्यानयोनिङले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याइरहेको छ।

क्यानयोनिङ गर्दै अभिनेत्री सिर्जना सुब्बा।
३ भदौमा पञ्चेबाजा चलचित्रको छायांकनका लागि पोखरा पुगेकी अभिनेत्री सिर्जना सुब्बा अलिकति समय पाउँदा पनि घुमघाममा निस्किहाल्थिन्। पोखरामाथिको हरिपाउँ डाँडामा छायांकन चलिरहँदा पनि वरिपरिका पहाड चहारिन्। १० भदौमा जब पूरै दिन फुर्सद पाइन्, त्यसपछि भने कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ घलेल पुगिन्, क्यानयोनिङका लागि।

प्याराग्लाइडिङ, बञ्जी जम्प, टे्रकिङको अनुभव लिइसकेकी सिर्जना क्यानयोनिङ अरु भन्दा रोमाञ्चक लागेको बताउँछिन्। उनी भन्छिन्, “खेलको आ–आफ्नै आनन्द हुन्छ, क्यानयोनिङ अझै विशिष्ट रह्यो।” डोरीको सहायताले पहराबाट झ्ार्दा डर लागेको उनी सुनाउँछिन्। “झरनाको बीचमा पर्ने पानीभित्रको खोंच पुग्दा केही याद नै आएन”, घलेलको कुदी झरनाबाट निस्केपछिको अनुभव सुनाउँदै अभिनेत्री सिर्जना भन्छिन्, “छाँगाबाट झरेर बाहिर निस्केपछिको जस्तो आनन्दको अनुभूति अरु केहीले दिन सक्दैन।”

क्यानयोनिङको कमाल

त्यही दिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अध्ययनरत बुटवलकी पूजा थापा (२३) क्यानयोनिङकै लागि घलेल पुगेकी थिइन्। पहराबाट पानी सँगसँगै झर्ने तरिका सिकेर पूजा जब कुदी झरनामाथि पुगिन्, डरले थर्थर काँप्न थालेको बताउँछिन्। नडराउन् पनि कसरी? पहराबाट देखिने छङ्गाछुर भीर डरलाग्दो छ।

यो झरना डरलाग्दो मात्रै होइन, मनमोहक पनि छ। फोहोराबाट झरेका पानीका छिटा उडिरहेको बादल जस्तै प्रतीत हुन्छन्। र तिनले झरना नजिक पुग्दा क्षणभरमै निथ्रुक्क भिजाउँछन्। जति डर लागे पनि यो सब नियाल्दा कुदी झरनासँगै नझरेर कोही भाग्दैन। हेर्दाहेर्दै डर आफैं हराएको पूजा बताउँछिन्।

पहराको सिरानमा किला गाडेर बाँधिएको डोरीको मद्दतले विस्तारै छहरै–छहरा तल ओर्लिंदा पूर्व सतर्कता अपनाइन्छ। सुरक्षाका लागि विशेष पोशाक, कम्मर र खुट्टाको कापदेखि डोरीसहितको लुगा तथा टाउको जोगाउन हेल्मेट लगाइन्छ। छाँगा अवरोहण गर्दाको अनुभव सुनाउँदै पूजा भन्छिन्, “शुरुआतमा आफूलाई स्पाइडरम्यान जस्तो महसूस भयो। बीचमा पुग्दा त सकुशल झ्ार्न सक्छु भन्ने आशा नै मर्‍यो।”

कुदी झरनाको पहरामा यस्तो ठाउँ पनि छ, जहाँ बाहिर झरना झरिरहेको हुन्छ, मान्छे भित्र अक्करमा ओझेल परिन्छ। त्यो ठाउँमा रोकिंदा बोल्ने र भन्ने कुरा केही नरहेको सम्झिंदै उनी भन्छिन्, “मृत्युको अनुभूति भयो।”

त्यहाँबाट तल झरेपछि क्यानयोनिङ गाइडले डोरी तानेर बाहिर निकाल्छ। त्यस्तो बेला हातले डोरी समातिराख्नु पर्दैन, त्यसमै झुण्डिइन्छ। गाइडले 'दुवै हात डोरीलाई सारेजस्तो गरी छाती अघि राख्न' तलबाट दिएको निर्देशन पालना गर्दा एक्कासि तल झरेको पत्तै पाइन्न, झसङ्ग मात्रै हुन्छ।

अझ तल पुगेपछि गाइडले डोरी छोडिदिंदा एकाएक तलाउमा डुबुल्की लगाएझै डुबिन्छ। पानीमा डुब्दा डर लागे पनि बाहिर निस्किंदा आनन्द आएको बताउँदै उनी भन्छिन्, “ठूलो युद्ध जितें जस्तो भयो।”

१० भदौमै घलेल पुगेका इलामका विनोद राई (३२) भने क्यानयोनिङ गर्दा रमाइलो भएको बताउँछन्। पहिलो पटक डराई–डराई क्यानयोनिङ गरेकोले दोस्रो पटक आएको सुनाउँदै उनी भन्छन्, “पानी धेरै भएकोले चुनौती थियो, मज्जा पनि भयो।”

गाउँभरि गाइड

कास्कीको माछापुच्छ्रे–९ घलेलको झरनामा क्यानयोनिङका लागि तयारी अवस्थामा पूजा र उनका साथी।
घलेलका युवा व्यवसायी राम गुरुङलाई क्यानयोनिङको शुरुआत गर्न त्यति सजिलो भने भएन। पोखरा र आसपासमा क्यानयोनिङ गर्न नपाइने भए पनि उनले नेपाल क्यानयोनिङ एसोसिएसन, ट्रेकिङ्ग एजेन्सी एसोसिएसन नेपाल (टान) लगायतका संघसंस्थालाई सम्भाव्यता अध्ययन गर्न लगाए। १ माघ, २०७० मा सम्भाव्यता अध्ययन गरिएपछि कुदी झरना क्यानयोनिङका लागि उपयुक्त भएको र व्यावसायिक खेलाडीका लागि ७५ मिटर तथा पर्यटकका लागि ४५ मिटरको तल झरना उपयोग गर्न सकिने देखिएको थियो।

त्यसका लागि गाइड आवश्यक थिए। अमेरिकी क्यानयोनिङ एकेडेमीका रिच काल्सनलाई बोलाएर तालीमको व्यवस्था गरे। भोटेकोशीमा १६ युवालाई १० दिनसम्म तालीम दिएपछि भने गाउँले नै क्यानयोनिङ गर्न थालेको उनी बताउँछन्। त्यसपछि मात्रै १ वैशाख, २०७१ देखि 'पोखरा क्यानयोनिङ' शुरु भएको हो। त्यतिबेला तालीम लिएका सबै युवा वैदेशिक रोजगारीमा गएको बताउँदै उनी भन्छन्, “अब गाउँमा सबै गाइड भइसकेका छन्।”

अहिले पोखरा क्यानयोनिङमा सुनिल गुरुङ, स्वीकार विक, देवेन्द्र विक, सन्तोष विक र अनिल विक गाइडका रुपमा काम गर्छन्। शुरुआतमा डर लागे पनि अहिले त सामान्य लाग्ने गरेको गाइड सुनिलको भनाइ छ।

उसो त शुरुआतमा विदेशी पर्यटकमा निर्भर रहेको पोखरा क्यानयोनिङ अहिले भने स्वदेशी पर्यटकले नै भरिभराउ हुन्छ। त्यसमा पनि युवा धेरै आउने गरेको पोखरा क्यानयोनिङका प्रबन्धक रामेश गुरुङ बताउँछन्। उनी भन्छन्, “क्यानयोनिङ गर्दाको फोटो पनि उपलब्ध गराउन थालेपछि आकर्षण बढेको छ।”

comments powered by Disqus

रमझम