नारायणहिटी राष्ट्रपति भवन

Share:
  
- कनकमणि दीक्षित
गणतन्त्रलाई बलियो लोकतान्त्रिक जगमा बसाउन राष्ट्रपति पदलाई मर्यादा चाहिन्छ, जो शीतलनिवासले दिन सक्दैन।

नारायणहिटी।
अधिकांश जनता जनआन्दोलन २०६२–६३ मा लागेको ज्ञानेन्द्रको निरंकुश राजतन्त्र ढाल्न थियो, राजसंस्था नै सिध्याउन होइन। सडकमा आन्दोलित हुँदा या दुवाकोट हिरासतमा बस्दा गणतन्त्र नै मूल या साइड अजेण्डा भएको मलाई थाहा छैन। जनआन्दोलनले गणतन्त्र मागेको भन्ने 'फल्स् न्यारेटिभ' हो; बौद्धिक वृत्त र नागरिक समाजले प्रष्ट नबोल्दा, आन्तरिक र बाह्य दबाब लोकतान्त्रिक दलले थेग्न नसक्दा गणतन्त्र आयो।

राजसंस्थाको पुनरोदयको वकालत भने यस पंक्तिकारले गरेको होइन, पहिले वा अहिले। माओवादी छिरेको पुनर्स्थापित संसद्ले जब गणतन्त्र घोषणा गर्‍यो, केहीले त्यो आजैसम्म स्वीकारेका छैनन्, यो पंक्तिकार जस्तै कैयौंले भने यसलाई जे भयो स्वीकार्ने परिणति (फेट् अकम्प्ली) को रुपमा लिए। मुलुकलाई स्थिरता र प्रगतिको बाटोमा लैजान पारित गणतन्त्रलाई लोकतान्त्रिक लिकमा राख्नु जरुरी थियो, किनकि पुष्पकमल दाहाल र बाबुराम भट्टराईको हातको 'गणतन्त्र' ले त नेपाललाई उत्तरकोरिया जस्तो 'लोकतान्त्रिक जनगणतन्त्र' बनाउने पक्का थियो। त्यसैले केहीलाई राजसंस्थाको विदाइले पूरै एकदशक पिरोलेको छ भने बाँकीले उपस्थित गणतन्त्रलाई लोकतान्त्रिक लिकमा राखिरहन ऊर्जा खर्चेका छन्।

गणतन्त्र नेपाललाई स्थायित्व दिन र लोकतान्त्रिक बनाइराख्न वर्तमान व्यवस्थाले स्थापना गरेको राष्ट्रपति पद र यसको मर्यादामा आँच आउन दिनुहुन्न। तर, स्वभावतः गणतन्त्रको रक्षक हुन पुगेका राष्ट्रपतिलाई एकपछि अर्को प्रधानमन्त्री, सरकार र मातहतका कर्मचारीतन्त्रले अपहेलना गरेको छ। यो प्रथम राष्ट्रपति रामवरण यादवले भोगेको तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत खेप्दै आएको कुरा हो।

गणतन्त्र आयो भनेर मात्र गर्व गर्नुमा केही तुक छैन, लोकतान्त्रिक राखिराख्न सकियो भने मात्र यसको उपादेयता रहन्छ। हाम्रा लोकतान्त्रिक दलका नेतृत्वहरू धेरै कमजोर, भ्रष्ट तथा विदेशी प्रभूमुखी भएको कारण भन्ने अवस्था आएको छ– लोकतन्त्रलाई राजनीतिक दलहरुबाट जोगाउनुपर्ने अवस्था आउन सक्दछ। यसकारण पनि गणतन्त्रको राष्ट्रप्रमुख पदलाई टेको दिन, जग बलियो पार्न आवश्यक छ।

राष्ट्रपति पद मर्यादामा टिकेको हुन्छ(आफूले राख्ने/राख्न सक्ने र अरुले दिने)। नेपाली 'पोलिटी' ले राष्ट्रप्रमुखलाई कति मर्यादा दिएको छ, विदेशीले र विशेषगरी छिमेक चीन र भारतले नियालिरहेको हुन्छ। राष्ट्रपति पद र व्यक्तित्वलाई राम्रो व्यवहार नगर्दा सरकारी संरचना (राजनीतिक तथा कर्मचारीतन्त्र) लाई बढी चलखेल गर्ने ठाउँ हुन्छ। यसैले, राष्ट्रपति आलंकारिक पद मात्र हो भनेर अपहेलना गर्नु उचित हुँदैन।

राष्ट्रप्रमुखको पदसँग बल र शक्ति भन्दा मर्यादा बढी गाँसिएको छ। अहिलेको कार्यालय शीतलनिवासले एउटा ऐतिहासिक थलोको हिसाबले राष्ट्रपतिको मर्यादा बढाउन भूमिका त खेलेको छ, तर पर्याप्त छैन। सैनिक 'गार्ड अफ् अनर' देखि मीटिङ हल र अफिससम्मका कुरा गणतन्त्र नेपालको राष्ट्राध्यक्षको आवश्यकता र मर्यादा सुहाउँदो छैन।

उता नारायणहिटी दरबार खाली छ, जसले नेपाल राज्य तथा नेपाली जनताको गणतान्त्रिक व्यवस्थाको प्रतीकको रुपमा रहेको राष्ट्रपति पद र संस्थाको 'रोल' लाई राम्ररी थेग्न सक्दछ। यो भवन ऐतिहासिक नभई राजा महेन्द्रको पालामा (२०२६ सालमा) अर्किटेक्ट बेन्जामिन के पोकको डिजाइनमा अहिलेको मुख्य भवन निर्माण भएको हो। आधुनिक र परम्परागत शैलीको 'फ्यूजन' भएको यो भवन नेपाल र नेपाली सुहाउँदो छ, यसलाई आफ्नो पुरानै काममा लगाउनु पर्‍यो।

नेपालको 'राष्ट्रपतित्व' लाई 'सस्पेन्डेड एनेमेशन' मा राख्नु भनेको यसै पनि गणतन्त्रलाई भित्रभित्रै कमजोर तुल्याउनु हो। राष्ट्रपति पद आसीन व्यक्ति होइन, लामो सार्वभौम इतिहास बोकेको राष्ट्रको मर्यादाको प्रतीक हो, जसलाई यथोचित सम्मान दिंदा नै नेपाललाई हेर्दा विदेशीका आँखामा सम्मान झल्कन्छ।

नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ, तर संग्रहालय बनाइनुपर्ने त राजा वीरेन्द्रको वासस्थान श्रीसदन हो। दरबार हत्याकाण्डमा मारिएका राजपरिवारको सादाजीवन श्रीसदनमा देखा पर्दछ– बैठक कोठा, शयन कक्ष, डेरिङ ड्रअर, आदि इत्यादिमा। वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजन त्यो दिन त्रिभुवन सदन पुग्दा जुन अवस्थामा थियो श्रीसदन आज त्यही अवस्थामा छ। त्यसलाई अब संग्रहालय बनाइनुपर्छ।

नारायणहिटी दरबारलाई एउटा अपुरो–अविश्वसनीय संग्रहालय कायम राखेर नेपाल राज्यले आफैंलाई घात गर्दैछ, नेपालको शान राख्न सक्ने र राष्ट्रपतिका कार्यलाई चाहिने 'स्पेस' तथा साजसज्जा भएको ठाउँ उपयोगहीन राखेर।

नेपालमा ऐतिहासिक राजसंस्थाको संग्रहालय चाहिएको हो भने त्यसको लागि हनुमानढोका दरबार पनि छँदैछ। राजा वीरेन्द्रको परिवार मात्र सम्झाउने संग्रहालय चाहिने हो भने श्रीसदन उपयुक्त छ।

कतिपयको मनमा लागेको हुनुपर्छ, राजनीतिक दलका शीर्षस्थहरू गणतन्त्रबारे विश्वस्त नभएको हुनाले नारायणहिटी दरबार खाली राखिएको। यस्तो अन्योलको अवस्था थप कायम राख्नुहुँदैन। राष्ट्र संकटमा पर्दा चाहिने संस्था हो, राष्ट्रपति।

comments powered by Disqus

रमझम