१-७ असोज २०७४ | 17-23 September 2017

बिर्ताबाट वितलपमा

Share:
  
- ज्ञानमणि नेपाल
बिर्ताबाट पोखरेहुँदै वितलपमा सरेका वैयाकरण नेपालको पुरानो घर र बगैंचाले कुशबिर्ताको इतिहास सम्झाइरहेको छ।

वि.सं. १८०८ मा गोपाल उपाध्याय नेपालले सिक्तेलमा कुशबिर्ता पाउँदा कोटडाँडा दक्षिण, हुलुवा पश्चिम, लुहकिल थुम्कादेखि उत्तर, साउने खोला पूर्व, हुलुवा खोला पश्चिमको घडेरीदेखि दक्षिण व्यासीको पाखे कुडुले र सहेले सिक्तेल खोला खेत, पछि यसको सट्टामा पिखुवा झ्गरे खेत तथा गोगने खोला पश्चिमको जंगल जमीन आहाले खर्क भएकोमा पछि पीताम्बर उपाध्यायलाई वाग्यान लागेकाले उनको अंश जफत हुँदा उनलाई निरंशी नपार्न दाजुभाइ मिलेर कुशबिर्तामै भाग छुट्याई त्यो आहाले खर्क जफतमा पारिदिए।

पछि देवदत्तकै सन्तान चामुनारायणले थरी सरहको राहावाहा कबोल गरी मुखिया भई भोगचलन गर्दै आए। उनकै सन्तान यता आहाले सल्लेनीमा फैलिएका छन्। यता देवदत्तकै अरू सन्तानले कुशबिर्ताको जग्गाजमीन भोगचलन गर्दै रहे। देवदत्तका छोरामा द्यौऋषिका धेरै भाइ छोरा र एउटी छोरी भए। तिनमा माहिला बलभद्र हुन्। अंशबण्डा गर्दा बलभद्रलाई एउटा टुक्रो घरबारी र त्यही पाखामा तीन–चार पाथी बीउ जाने बिरौटो खेत पर्‍यो। त्यति बिर्ताको जमीनले जीविका चल्दैनथ्यो। उनी ४० अध्याय वेद कण्ठ पारेका कर्मकाण्डी ज्योतिषी पनि थिए। उनका यजमान पिखुवा खोलापारि दाँवाका खड्का, पालुवा, पोखरे, पैयापानी र खिकामाछा (भोजपुर) का सबै कार्कीहरू थिए। खोला तरी दुई–तीन कोस पारि धाउन सकसै थियो।

बलभद्रका छोराहरू धेरै भए, कति बढ्दै पनि थिए। घर धान्न सकस परेरै होला जागीर खान मन गरेछन् र के कताको स्नेहले बहीदारको जागीर खान लागेछन्। त्यस जमानामा खरिदार, बहीदार भनेको ठूलै जागीर मानिन्थ्यो। बहीदारले ठूलै क्षेत्रको रकमकलम अर्थात् मालपोत उठाएर सरकारमा बुझाउनुपर्थ्यो। पामाखामदेखि अरुणसम्मका थरी मुखियाले आफ्ना जिम्माको रकमकलम उठाई बहीदारलाई बुझाउनुपर्थ्यो। बहीदारले धनकुटा गोश्वारामा बुझाउथे। त्यसर्थ, रैती जिम्मावालहरू बहीदारलाई ज्यूज्यू गर्थे।

बलभद्रको त्यो जागीर दिगो भएन। अरू जातका बहीदारहरू म्यादभित्र रकम बुझाउन नल्याउने थरी मुखियालाई आफ्ना केटा लाएर बाहुन क्षेत्री रहेछन् भने बाख्राका खोरमा र अरू जातका रहेछन् भने सुँगुरका खोरमा थुनेर असुल उपर गर्थे, तर बलभद्रले त्यस्तो कडिकडाउ गर्न सकेनन्। म्याद थपिदिने र शान्तिले असुल गर्न खोज्दा धेरै रकम बाँकी लाग्दै गयो र तीन वर्षपछि अड्डाबाट कडिकडाउ तागेता हुन लाग्यो। त्यसपछि बलभद्रले संकलन भएसम्मको रकमको भर्पाई र बाँकी बक्यौताको लगत लिएर राजधानी काठमाडौं आई राजीनामा बुझाए। बक्यौता रकम अर्को साल बुझाउनु, अहिले राजीनामा नगर भन्दा पनि उनले मानेनन्। उनले वि.सं. १९०३ मा बहीदार जागीर छाडे अनि कर्मकाण्ड, वेदरुद्री पाठ गर्ने ज्योतिषी मेलोतिर लागे।

बलभद्र पञ्चाङ्ग गन्ने, चिनाटिपन लेख्ने गर्थे। सित्ते्कल बिर्ताबाट पिखुवापारि धाउन अप्ठ्यारो हुँदा सबै चेलाहरूको अनुरोधमा उनी पोखरेमा बसाइँ सरे। उनको बिहे छिमेकी पुरानागाउँका बिर्तावार कोइरालाकी छोरी विष्णुमायासँग भएको थियो।

उनीहरूका आठ भाइ छोरा भएका थिए। बलभद्रकी एउटी बहिनी थिइन्। तिनलाई खोटाङ खुटाका कोइरालालाई दिएको थियो। एउटा छोरो सानो छँदै विधवा भएको पीरले आफ्नो अंश छाडी घरको चलधन मात्र लिएर भरियाहरूका साथ दिंग्ला जान भनेर हिंडिछन् र पोखरे दाजुकोमा आइपुगिछन्। बलभद्रले 'यत्रा हामी दाजुभाइ छौं, तँ एउटी बहिनी बसाई हिंडिस् भने हामीलाई भाइटीका कसले लाइदिन्छ? यहीं बस्' भन्दै पोखरेमै घरबारी र खेतको व्यवस्था गरिदिएछन्।

बलभद्रका चेला दाँवाका अडिमर्दन खड्का धनकुटा गौडामा लप्टन रहेछन्। उनी वर्षेनि दशैंमा घर आउँदा–जाँदा गुरुको दर्शन गर्न भनेर पोखरे पस्ता रहेछन्। उनले “गुरुका यतिका छोरा छन्, दुई भाइ मलाई दिनुहोस्, सिकाई–सधाई जागीरमा लगाइदिन्छु” भन्दा बलभद्रले भनेछन्, “लप्टन साहेब, म पहिल्यै सरकारी सिन्दुर पहिरेर अघाएको, अब सन्तानलाई सरकारी सेवामा लाउँदिनँ।”

तर, लप्टनले आउँदा–जाँदा आग्रह गरिरहँदा बलभद्रले हार्न नसकी 'साह्रै कर गर्नुभयो, मेरा टुहुरा भानिज छन्, यिनैलाई लैजानुहोस् न' भनेर पद्मलाल कोइरालालाई पठाइदिएछन्। पछि उनी खरिदार भए। उनका शाखासन्तान सबै जागीरे भए। अहिलेसम्म उनीहरूलाई जागीर नै फापिरहेको छ। कति त माथिल्लो तहसम्म पुगेका छन्। बूढापाकाहरू 'बहीदारमा सबभन्दा नामी बलभद्र नेपाल नै हुन्, खरिदारमा पद्मलाल कोइराला नै हुन्' भनिरहन्थे, पछिसम्म पनि।

बलभद्रका छोराहरूमा कान्छा वैयाकरण थिए, पढ्नमा असाध्यै चतुर। उनले २० वर्षकै उमेरमै बाबुले जानेका सबै विद्या पढिसकेका थिए। त्यस क्षेत्रमा पुराण भन्ने पण्डितको अभाव थियो। पुराण लाउन कि बोझेकुरुलेबाट कि त काठमाडौंबाट डोलीमा बोकाएर पण्डित ल्याउनुपर्थ्यो। त्यो अभाव पूर्तिका लागि सारा शुभेच्छुकहरूको आग्रहमा बलभद्रले वैयाकरणलाई पढ्न काठमाडौं पठाए। उनले बासँग पनि पढेकै थिए। काठमाडौंमा उच्च शिक्षा लिने चाहना पूरा नहुँदा काशी गएर ज्योतिष धर्मशास्त्र पढेर पोखरे आए।

वैयाकरण घर फर्किंदा दाजुभाइ छुट्टीभिन्न भएर कान्छा र अन्तरे दाजु बाबुसँग बसेका थिए। धेरै भाइ सँगै बस्दा समस्या हुने देखेर आहाले रैकरका मुखिया ऋतुवर्णले वैयाकरण बाबुछोरालाई लगेर घरबारी र बिरौटो खेत दर्ता गरिदिए। वैयाकरणले ७ रुमा घर किनेर त्यहीं बसे। तर, त्यहाँ खेतमा अन्नेत्रीले कचिङ्गल उठाएकाले वैयाकरण पारिपट्टि मावलीको बिर्तामा सरे। चारवटा डाँडामा फैलिएको ज्यादै फराकिलो त्यो बिर्तामा बस्ती कम, पाखो, वनबुट्यान, जङ्गल बढी र बीचबीचमा खोल्साखोल्सी थियो। त्यसलाई पछि पण्डित डाँडो भन्न पनि थालिएको थियो। डाँडो तलको सानो टारमा अघि घुम्ती अड्डा बसेकोले यो नाम रहेको भनिन्छ।

भोटे छापदेखि दक्षिण, बूढी लोहसे पाखादेखि उत्तर, कटुन्जे र गोगने खोला पूर्व, जागीर गाउँको खोल्सादेखि पश्चिम अघि कोशी किनारको फेदीमा सेन राजाबाट तोलादानमा पाएको हुँदा यसमा कुनै सरकारी दस्तुर नलाग्ने भएरै यसलाई वितलप भनिन्छ। पहिले यसको सिरानमा सानो गाउँ भएकाले कटुन्जे दारिमबोटे पुराना गाउँ भनिन्थ्यो। बाह्रैमास सल्लो सुसाइरहने हुँदा पछि बतासे पनि भनिन लाग्यो। त्यसपछि सरकारी पाठशाला स्वीकृत हुँदा स्रेस्तेदारको लेखाइको गडबडीले ओवायुथान पाठशाला भन्ने पनि नाम चल्यो। वायुथान भएको वितलपमा यो नाउँ पनि सार्थकै मानियो। छुट्टै घडेरी र खर्क छैन, धेरै पाखो र जंगल छ। यस बिर्ताको महत्वपूर्ण जग्गा सिक्तेल खोलाको ठूलो ज्यामिरे खेत थियो। (बिर्तावारले यो खेत आठ हजारमा बेच्ता बीस बीसको थुप्रो लक्कु लाएर रुपैयाँ गनेको म सानै छँदा देखेको थिएँ।)

वैयाकरणलाई त्यहाँ जीविका चलाउन संकष्ट भयो। तर, अरुण तर्दा जात जाने युग थियो, त्यो।

'कौशिकीं प्रतरिष्यन्ति नराः क्षुद्भयपीडिताः'

'जीवननिर्वाह भएन वा देशमा उपद्रव उठ्यो भने त्यस्तो आपत्कालमा कोशी पारि जान हुन्छ' भन्ने महाभारतको यही वाक्य सम्झेर वैयाकरण मोरङतिर लागे। वि.सं. १९४१ मा झापाका महन्त जिमीदारले लिलाममा चढेको २५ बिघा जग्गा सरकारी दस्तुर मिनाहा गराई वैयाकरणको नाममा दर्ता गरिदिए। त्यसको आयस्ता पाँच सय मन धान हुन्थ्यो। वैयाकरण केही वर्ष आउजाउ गर्दै गरे, पछि श्रीमती र छोरी लिएर उहीं बस्न गए। परन्तु त्यसबेलाको मोरङको औलो लागेर सबै थलिए। त्यसैबेला चैतको हावाहुरीमा घरमा आगो लागेर सबै भष्म भयो। वैयाकरणले आगो निभाउन पनि दिएनन्।

कोटिहोमको संकल्प गरेर सबै देवार्पण गरी बचेको सुनचाँदी पनि ब्राह्मणसात गरी रित्तोहात पहाड फर्किए। पहिले घर अर्कालाई दिइसकेकाले सानो कुटी बनाएर बसे। वितलपको त्यही रूखो जमीनलाई मलजल गरी उब्जाउ, अब्बल बनाए। सं. १९५० मा त्यहीं घर बनाई वरिपरि पर्खाल लगाई रमाइलो बगैंचा बनाइयो। दिशा मिलाएर वर, पीपल, शमी, डुम्री, पाख्री (पञ्चपल्लव) अरू वनस्पति लतौषधि १०८ र बाह्रै मास फल्ने फलफूल पनि लाइयो। बूढो पुरानो घर र बगैंचा अहिलेसम्म देख्न पाइन्छ। वैयाकरण र उनका जन्तरे दाजुका सन्तान मावलीको यही वितलपमा फैलिएका छन्।


वि.सं. १८८५ को महीपति सेनको स्याहामोहर

श्रीलक्ष्मीनारायण १ वाराहजी १

(कालो छापको ६ कोठामा एकएक अक्षर गरी राजाको नाम अङ्कित छ) स्वोस्ती श्री रुपनारायण त्यादि विविध विरुदावली विराजमान मान्नोन्नत माहाराजाधीराज श्रीहीन्दुपति राजराजेस महाराजाधीराज श्रीश्रीमहीपती सेन नरीन्द्र देवानां सदा समरविजयेनाम्

आगे नाराऐन उपाध्याके तोलाक दान सीकतेल मध्ये मोरा साठी ६० खेत जामी रीया देल आपन बीर्तीकै मकुुस सजल सतील वीछीनकै दीहाल आपन बीर्ती वदिवसहु वसावहु आवाद करहु। आसीरवाद देहु घरे आडी ऐक १ खरक ऐक १ ईती सम्वत् १७८५ साल माह फागुन सुदि १५ रोज मो. फेदी (किनारामा) परवानगी चौतरिआ श्रीसुखदेव राए

(त्यसभन्दा १९ वर्ष पहिले यिनै राजाका मोहरमा यिनै राई चौतरिया छन्। बिर्तावार भवानी शंकर कोइरालाबाट प्राप्त सकल स्याहामोहर मैले नयराज पन्तलाई दिएको थिएँ, जुन जगदम्बा प्रकाशनबाट प्रकाशित पनि भयो।)

comments powered by Disqus

रमझम