१-७ असोज २०७४ | 17-23 September 2017

बंगुरबाट करोडपति

Share:
  
- जीवनप्रसाद राई
विल्कुलै शून्यबाट उठेकी ४३ वर्षीया माहिली दनुवारले बंगुरपालनबाट करोडको जायजेथासँगै जीवनभरलाई हुने उद्यम खडा गरेकी छिन्।

जीवन राई
“जीवनमा दुःखसँग लड्नुपर्ने रहेछ, आइपरेको काम गर्न तयार हुनुपर्ने रहेछ। एक–दुईबाहेक असल मान्छे नै धेरै भेटिंदा रहेछन्, हातमा पैसा पनि अडिन थाल्दोरहेछ। अहिलेसम्म मैले जानेको कुरा यत्ति हो!”

यो भनाइ हो, काभ्रेको पाँचखाल नगरपालिका–१२, बालुवाकी ४३ वर्षीया माहिली दनुवारको। नागरिकताको नाम उमा दनुवार भए पनि उनलाई सबैले माहिली भनेर चिन्छन्। पाँचखालको तामाघाटमा उनको बंगुर फार्म, स्लटरहाउस, तरकारी खेतीलगायतको कारोबार छ। एक छोरा, एक छोरी र पतिका साथमा व्यस्त दिन बिताउँदै आएकी उनी अहिले आफूले चाहेको समय आएको बताउँछिन्। “भ्याई नभ्याई आफ्नै काम छ, पत्याउने साहू–महाजन र ब्यांकहरू छन्” उनी भन्छिन्, “मान्छेको जातले योभन्दा धेरै त के खोज्नु र!”

यति भनेपछि बुझिन्छ उनीसँग पैसा पनि छ, पाँचखालमा दुई वटा पक्की घर र तीन रोपनी जमीन त सबैले देखेकै छन्। यो उनको ३८ वर्षको आर्जन हो।

३८ वर्षअघि उनी पाँच वर्षकी छँदा बनिबुतो गरेर परिवार पालिरहेका बाबु बिते। त्यसको एक वर्षमा आमाले दोस्रो बिहे गरिन् अनि चार वर्षको भाइ र तीन वर्षकी बहिनीको पनि एक्लो अभिभावक माहिली बनिन्। उनीभन्दा माथिकी दिदी पहिल्यै बितेकी थिइन्। त्यसरी भाइबहिनी च्यापेर सडकमा आइपुगेकी माहिलीले गरेको दुःख भनिसाध्य छैन। उनले पाएका जति सबैखालका श्रम गरिन्, एकै दिन तीनचार ठाउँको काम भ्याइन्। तर, अहिले शिक्षक बनेका भाइ विद्यालय गइरहेको देख्दा उनलाई त्यसबेलाको दुःख पनि सुख नै लाग्छ। उनी भन्छिन्, “बहिनीलाई पढाउन नसकेकोमा चाहिं दुःखै लाग्छ।”

दुःखकै बीच माहिली कृषि, उद्यमशीलतालगायतका तालीमसँगै अनौपचारिक शिक्षाका कक्षा भ्याएर साक्षर भइन्। माहिलीले जसको जे काम गर्दा पनि इमानसाथ गरेर सबैको विश्वास जितिन्। त्यही विश्वासले गर्दा कतिले चल्तीको ज्यालाभन्दा बढी दिन्थे, जसले उनलाई भाइबहिनी हुर्काउन सजिलो भयो। कतिपय अवस्थामा उनले सोच्दै नसोचेको पारितोषिक पनि पाइन्। कृषि उद्यम गरेर करोडपति बनेकाहरू खोज्ने क्रममा गत महीना माहिली निवास पुगेको यो अभियन्तालाई उनले एउटा चाखलाग्दो प्रसंग सुनाइन्। काठमाडौंबाट बंगुरको बीउ पाठा लिएर आउने क्रममा माहिलीलाई गाउँका एकजना चिनारुले भनेछन्, “जग्गा बेच्नुपर्ने भयो, तिम्रो चिनजान धेरै छ, किन्ने कोही भए भनिदेऊ है।”

उनले सोच्दै जाँदा भक्तपुरका अधिवक्ता राधेश्याम सुवाललाई सम्झेर 'जग्गा चाहिएको छ भने पाँचखालमा छ है सर' भनिछन्। भोलिपल्टै भक्तपुरबाट आएका मान्छेलाई जग्गाधनीसँग भेट गराइदिएर उनी आफ्नो काममा लागिन्। उनीहरूले गाउँका अरूको पनि खेतबारी मिलाएर जमीनको ठूलो कारोबार गरेको माहिलीलाई थाहै भएन। एक बिहान सुवालले फोन गरेर मालपोतमा बोलाउँदा उनलाई मुद्दामा मुछिएँ कि भन्ने डर लागेछ। दिउँसो डराई–डराई मालपोत कार्यालयमा पुग्दा वकीलले त रकमको थैलो पो उनको हातमा राखिदिएछन्।

त्यसअघिसम्म उनलाई जग्गा कारोबारमा कमिशन पाइन्छ भन्ने थाहै थिएन। पहिलो पटकको त्यो काम पनि उनले चिनजानका मानिसले भनेका हुनाले 'नाथे एक फोन' गरेकी थिइन्। “तर, सुवाल सरले यो कारोबारमा तिमीले पाँचप्रतिशत कमिशन पाउनैपर्छ भन्दै रकम दिनुभयो” उनी भन्छिन्, “त्यस्ता मानिस पनि मैले काभ्रेमै भेटें।”

के गर्नुभो त त्यत्रो पैसा?

“के गर्नु र, बहिनीले दुःख पाइरहेकी थिई, त्यसैलाई ६ लाखको घर किनिदिएँ। काम नलाग्ने देवरले हैरान खेलाइरहेका थिए, २ लाख जति उनलाई दिएँ। बाँकी व्यवसायमै लगाएँ”, माहिलीले फरर्र भनिन्।

२०३१ असोजमा जन्मेकी माहिली दनुवार जति मिहिनेती छिन्, उति नै दिलदार पनि। २०५७ माघमा धनकुटा, खुवाफोकका कुलप्रसाद याक्खासँग विवाह गरेकी उनले घर गएर केही वर्ष बुहारीको परम्परागत कर्तव्य पनि पूरा गरिन्। त्यसबेला बिरामी ससुरालाई डोकोमा बोकेर धरानको अस्पतालमा झारेर उपचार गरिन्। जेल परेका देवरलाई छुटाउन अड्डा अदालत धाइन्। ससुराको मृत्युपछि काभ्रे नै फर्केर पुरानै काममा लागिन्। पाँचखालमा उनले काम नगरेका कुनै संस्था र कम्पनी पनि छैनन्। त्यसअघि उनले व्यक्तिविशेषका घरमा काम गरिन्। काम पाएपछि जसको पनि, जे पनि पूरै मन लगाएर गर्ने। एक ठाउँको काम सकिएपछि फिलिली कुदेर अर्को ठाउँ पुग्ने। त्यही क्रममा सडक मजदूर याक्खासँग उनको आँखा जुधेको थियो।

तरकारी खेतीसँगै बंगुरपालनमा हात हालेपछि भने उनको पेशामा स्थिरता आउन थाल्यो। २०५४ सालमा गैर–सरकारी संस्था सिप्रेडले दिएको आयमूलक कृषि तालीम लिएकी उनले बंगुरमा पनि काम गर्दै तालीम लिइन्। अहिले माउको पेटभित्रै मरेको पाठा निकाल्ने बाहेक अरू सबै उपचारमा आफैं पारंगत छिन्, माहिली। तरकारी र बंगुरको मासु दैनिक काठमाडौं पठाउने उनको आफ्नै गाडी छ। ठ्याक्क हिसाब नगरेको भए पनि तरकारीबाट वर्षमा रु.३ लाख र बंगुरका पाठा र मासुबाट समेत गरी रु.१५ देखि रु.२० लाख आम्दानी हुने गरेको माहिली बताउँछिन्।

स्लटरहाउसका उपकरण जुटाउने क्रममा उनी गलत मान्छेहरूको फेला परिछन्। ती उपकरणको मूल्यमा शंका लागेपछि काठमाडौं गएर कालीमाटीका पसलहरू चहार्दा रु.१० हजार पर्ने चिज रु.८० हजारमा; रु.३० हजार पर्ने रु.३ लाखमा भिडाएको थाहा पाएको उनी बताउँछिन्। त्यसअघि २०५९ सालमा पतिलाई विदेश पठाउँदा पनि उनी फँसेकी थिइन्। “मैले त पटक्कै जान दिएकै थिइनँ, तर उहाँले नै हैरान पारेपछि पठाएको, नौ वर्षमा उल्टै सवा लाख नगद पठाएर फर्काउनुपर्‍यो”, माहिली भन्छिन्।

भएछ के भने, एजेन्टहरूले रु.१ लाख लिएर याक्खालाई साउदीको तलबै नदिने कम्पनीमा पठाइदिएछन्। काम गर्दागर्दै छतबाट लड्दा पनि उनले उपचार पाएनछन्। त्यसपछि विरक्तिएर अर्कै कम्पनी खोज्न भागेका कागजातविहीन उनी प्रहरीको फन्दामा परेछन्। गोजीमा एक पैसा छैन, शरीरमा गोजी भएको कपडा पनि छैन। “त्यो खबर पाएपछि मेरो भोकतिर्खा हरायो” माहिली भन्छिन्, “तुरुन्त पैसा पठाएर काठमाडौंमा लिन जाँदा त उहाँ एउटा जाँगे र स्यान्डो भेष्ट मात्र लाएर एअरपोर्टबाट निस्कनुहुन्छ। दिउँसो घर जान नमानेपछि राति लिएर आएँ।”

अहिले याक्खा श्रीमतीले थालेको कारोबारको एउटा महत्वपूर्ण खम्बा बनेर खटिरहेका छन्, हरबखत सँगसँगै। कक्षा १० र यूकेजीमा पढिरहेका छोराछोरी पनि बिहान–बेलुका आमाबुबासँगै खट्छन्। बंगुर फार्म र स्लटरहाउसमा पाँच जनालाई नियमित रोजगारी दिएकी छन्। तरकारी खेतीमा मौसमी कामदार लगाउँछन्। अरूबेलाको काम दम्पतीले सक्छन्। यो वर्ष उनीहरूले बंगुरका पाठा मात्र पाँचसय वटा बेचे, सरकारका कृषि निकायलाई समेत गरेर। एउटा ड्युरेप बंगुरको पाठाको मूल्य अहिले रु.५ हजार छ। “पैसाको चिन्ता छैन” माहिली भन्छिन्, “माग र दिएको वचन पूरा गर्न सकिंदैन कि भन्ने 'टेन्सन' हुन्छ।”

माहिलीलाई व्यवसाय विस्तार गर्न पूँजीको समस्या छैन। उनी फार्ममा पाठाको लागि १०० माउ र मासुको लागि कम्तीमा ४०० बंगुर पाल्न चाहन्छिन्। जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय, ब्यांकलगायतका संघ–संस्थाले पनि उत्साहित गरिरहेका थिए, तर फ्याट्ट स्वाइनफ्लूको हल्ला चलिदियो। अब उनीसँग घाटा खेप्दै केही समय पर्खनु भन्दा अर्को उपाय छैन। “बेमज्जा त हुन्छ नि” उनी भन्छिन्, “तर, काम गर्न छाड्ने कुरा हुँदैन।”

माहिली दनुवार साहस, संघर्ष र सफलताको गतिलो उदाहरण हुन्। सरकारको थोरै सहयोगमा पनि उनी जस्ता किसानले धेरै गरेर देखाउन सक्छन्। उनलाई अहिले कृषि उद्यमी सम्बन्धी विशेष तालीम र अवलोकन भ्रमणको अवसर चाहिएको छ, जसले ठूलै आकारको रोजगारी सिर्जना हुने हिसाबले काम गर्न उत्प्रेरित गरोस्। महिला उद्यमशीलताबारे शहरका तारे होटलमा कार्यक्रम गर्नेहरूले पनि माहिली जस्ता किसानतिर हेर्नु जरूरी छ।

comments powered by Disqus

रमझम