१-७ असोज २०७४ | 17-23 September 2017

आम आक्रोश

Share:
  

२०४८ सालमा धरानमा भएको पहिलो विमल गुरुङ राष्ट्रिय प्रतियोगितात्मक कविता गोष्ठीमा प्रथम भई चर्चा कमाएका कवि सन्तोष थेबेको पहिलो कविता–कृति भने ठ्याक्कै २५ वर्षपछि मात्र प्रकाशित भएको छ– फालेलुङ र काबेली बजार। यद्यपि, उनले कविता लेख्न थालेको भने ४० दशकको शुरुदेखि नै हो।

नेपाली कविताको आधुनिक कालमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधव घिमिरे आदि कविहरुले यो विधालाई समृद्ध बनाउने काम गरेका छन्। रिमालकै गद्य कवितालेखनको शैलीलाई पछ्याएका थेबे यतिबेला संग्रहकै कारण पुनः चर्चामा छन्। उनका २२ वटा कविता स्वच्छन्दतावादी, प्रगतिवादी भावधारामा रचना गरिएका छन्। कवितामा देशको राजनीतिक, सामाजिक, आर्थिक विकृति र विसङ्गतिप्रति विद्रोहको भावना मात्र होइन राष्ट्रियता, देश र प्रकृतिप्रेम पनि मुखरित भएको पाइन्छ।

पुस्तक फालेलुङ र काबेली बजार

लेखक सन्तोष थेबे

प्रकाशक मोती संस्मरण समिति, धरान

पृष्ठ ७२

मूल्य रु.१५०

कविले ग्रामीण समाजमा बाल्यकाल व्यतीत गर्ने सन्दर्भमा देखेभोगेका विषयहरुलाई कविताको बीजका रुपमा लिंदै सर्वसाधारण व्यक्तिका जीवन भोगाइलाई साङ्केतिक रुपमा चित्रण गरेका छन्। गाउँबाट सुखसुविधा खोज्दै र आर्थिक उपार्जनको सपना सजाउँदै शहर छिर्नेहरुको जीवन एकाएक कहालीलाग्दो अवस्थामा परिणत हुने विषयलाई उनले 'साग बेच्ने केटी' शीर्षकमा प्रस्तुत गरेका छन्―

“सुन्दर शहरको सुन्दर कोठाभित्र

चोलीको तुना चुँडिदियो

निधारको टीका पुछिदियो

शहरलाई हेर्ने सुन्दर आँखाभित्र फुलो पारिदियो।”

फालेलुङ र काबेली बजार मा कविले सुन्दर संस्कृतिभित्रको अप्राकृतिकताको कालो बादल मडारिएको संकेत गरेका छन्। निरीह र निमुखा व्यक्तिहरुले हक र अधिकारको कुरा उठाउँदा उल्टै प्रताडित बन्नुपर्ने अवस्थालाई उनले 'विधिलाई विडम्बना नमान्दा' कवितामार्फत चियाउन खोजेका छन्। 'माटोको सौन्दर्य' मा 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' भन्ने देशप्रेमको भावमा बहेका कवि 'नजर', 'सरु' जस्ता कवितामा व्यक्तिप्रेममा लीन देखिन्छन्। खराब राजनीति गरेर देशमा अराजकता फैलाउने र आन्दोलन गर्नेहरुलाई सर्प र भ्यागुतासँग तुलना गर्छन्।

वर्णसंयोजन तथा पदयोजनका कारण कविताहरु गेयात्मक र मिठासयुक्त बनेका छन्। व्यङ्ग्यात्मक तथा बिम्ब, प्रतीक एवम् मिथक प्रयोगका दृष्टिले समेत थेबेका कविता सबल र सशक्त छन्।

थेबेले मानव जीवनको सेरोफेरो, जन्मभूमिको प्रेम, गरीबीको पीडा आदिलाई कविताको केन्द्रीय कथ्य बनाएका छन्। पहाडी परिवेशको सुन्दर प्रकृतिलाई उनले हृदयदेखि नै मनपराएका छन्। कवितामा उनले बाल्यकाल सम्झिएका छन्, काबेली र सङ्क्रान्ति बजार घुमेका छन्। बाल्यकालका घटना, पात्र, वनस्पति र कीटपतङ्गलाई कवितामा उनले विभिन्न बिम्ब र प्रतीकका रुपमा स्थान दिएका छन्।

शहरको चिच्याहट, अव्यवस्था, अराजकता र विकृतिप्रति कविले आक्रोश प्रकट गरेका छन्। स्थिर राजनीतिक व्यवस्थाको चाहना एवम् शान्ति, सुरक्षाको कामना उनका कवितामा व्यक्त भएका छन्। देशको अस्तित्व र पहिचान गुम्न नदिन सम्बन्धित निकायको ध्यानाकर्षणमा 'बेथा लागेको शहर' मा कवि भन्छन्–

“अस्ति सीमानामा देश छाम्न गएको थिएँ

एक्कासि मुटु खुम्चिएर गाँठो पर्‍यो

म बसेको शहर पनि टेण्डरमा छ रे।”

डा. महानन्द तिमिल्सिना


श्लील शिक्षा

यौनका विषयमा अझै पनि खुलेर कुराकानी हुँदैन। कतिसम्म भने स्वास्थ्य विषय पढाइ हुँदा यौनसँग सम्बन्धित पाठलाई कतिपय शिक्षकले पढाउनै छोडिदिन्छन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले त्यही यौनकै विषयमा पुस्तक नै लेखेका छन्, मात्र यौनका कुरा। सञ्चारमाध्यममा स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबारे लेख्दै र बोल्दै आएका ताम्राकारले यो पुस्तक यौन स्वास्थ्यमै सीमित पारेका छन्।

यौन सम्बन्धी १०२ वटा विषयवस्तु समेटिएको पुस्तक 'यौन मनोविज्ञान' बाट शुरु हुन्छ। समय अगावैको यौन सम्पर्कले पार्ने शारीरिक तथा मानसिक प्रभाव, त्यसले ल्याउने समस्या लेखकले प्रष्टसँग लेखेका छन्। बालविवाह, बहुपति प्रथा तथा बहुविवाहलगायतका कुराले यौन जीवनमा पार्ने असरका विषयमा पनि विवेचना गरेका छन्।

पुस्तक मात्र यौनका कुरा

लेखक डा. सुमनराज ताम्राकार

प्रकाशक बुकआर्ट नेपाल

पृष्ठ १३२

मूल्य रु.१९५

लेखकले समस्या मात्र होइन, यौनजीवन स्वस्थ बनाउने जीवनशैली पनि सुझाएका छन्। यौनलाई भोजन, मोटोपनसँग जोडेका छन्। हृदयघात, क्यान्सर, मधुमेहसँगको यौनको सम्बन्ध पनि उठाएका छन्। एचआईभी/एड्स र त्यसले पार्ने शारीरिक, मानसिक तथा सामाजिक प्रभाव चर्चा गरेका छन्।

धुलिखेल अस्पतालमा कार्यरत ताम्राकारले बिरामीका यौन समस्याले परिवार तथा समाजमा पारेको प्रभाव राम्ररी अनुभूत गरेका छन्। बिरामीसँगको दैनन्दिनको कुराकानीले पनि पुस्तक सजीव बन्न पुगेको छ।

यौन स्वास्थ्यबारे जोकोहीलाई सही जानकारी लिन र दिन पुस्तक उपयोगी छ। अझ किशोर–किशोरीको मनोविज्ञानलाई ध्यानमा राखेर केही थपघट तथा परिमार्जन गर्ने हो भने पुस्तकले थप चेतना फैलाउन सक्दथ्यो।

comments powered by Disqus

रमझम