१-७ असोज २०७४ | 17-23 September 2017

नेपाली क्रिकेटका पिता

Share:
  
क्रिकेट विकासमा अविश्रान्त योगदानका कारण जयकुमारनाथ शाह (८९) पूरै एशियामै सम्मानित व्यत्तिा्कत्वमा गनिन्थे।

एसीसी ट्रफी–१९९६ क्वालालम्पुर, मलेशिया। नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता। पहिलो खेलमा बाङ्लादेशसँग पराजित नेपाली टोली जापानसँगको जितपछि थोरै हौसिएको थियो, तर ८ सेप्टेम्बरमा फिजीसँग २५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली खेलाडीहरू १३४ मै अलआउट हुनपुगे।

“पछाडि होइन, अगाडिको खेल हेरेर तयारी गर्नुस् भनेर हौसला दिनुभयो, त्यसको तीन दिनपछि बु्रनाइलाई ६४ रनले हरायौं”, जयकुमारनाथ शाहको त्यस दिनको प्रेरणा स्मरण गर्दै टोलीका सदस्यसमेत रहेका किरण राणा भन्छन्।

खेलाडीका लागि मात्र होइन, शाहका लागि यो प्रतियोगिता ऐतिहासिक थियो। कारण, उनी तत्कालीन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष थिए। जुन पदमा उनी ४० वर्षसम्म रहे।

विडम्बना, सेप्टेम्बरकै ६ तारिख (२१ भदौ) मा ८९ वर्षको उमेरमा शाहले धर्ती छाडे। “हामीले एक युग गुमाएका छौं, उहाँ नेपाली क्रिकेटका भीष्मपितामह हुनुहुन्थ्यो”, राणा भन्छन्।

क्रिकेटका पर्याय

नेपाली क्रिकेट र जयकुमारनाथ शाह आपसमा पर्याय मानिन्छ। अझ भन्ने नै हो भने, शाह अघिअघि र क्रिकेट पछिपछि जस्तो देखिन्छ। १८ जेठ, १९८७ (१३ मे, १९३०) मा कुपण्डोल, ललितपुरमा जन्मिएका शाहको बाल्यकाल दरबारमै बित्यो। त्यतिबेला क्रिकेट शाह र राणा खलकमा मात्रै सीमित थियो। उनले सात वर्षकै उमेरमा दरबारमै बल र ब्याट समाते। अध्ययनका लागि भारत जाँदा पनि क्रिकेट खेले।

नेपाल फर्किएर २००३ सालमा क्यान स्थापना गर्दा शाह १६ वर्षका मात्र थिए। यो उनको राणा र शाहमा खुम्चिएको क्रिकेटलाई सर्वसाधारणसम्म पुर्‍याउने पहिलो प्रयास थियो।

त्यतिबेला क्रिकेटमा राज्यको लगानी थिएन, 'क्रेज' पनि थिएन। युवा शाहले व्यक्तिगत लगानीमा क्रिकेटलाई हुर्काए। “नेपालमा क्रिकेटको शुरुआत शाहले नै गर्नुभएको हो” क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, “क्रिकेटप्रतिको उहाँको सोखले नै आज हामी यहाँसम्म आइपुगेका हौं।”

शाह क्यानको अध्यक्ष भएकै बेला २०४५ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एफिलियट सदस्यता र २०५३ मा एसोसिएट सदस्यता प्राप्त गर्‍यो। त्यही वर्ष हो, एसीसी ट्रफीमा नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता। २०६३ सम्म क्यानको नेतृत्व सम्हालेका शाह एशियाली क्रिकेट काउन्सिल (एसीसी) को उपाध्यक्ष समेत भए। २०६० मा आईसीसीको 'लाइफटाइम सर्भिस अवार्ड' पाएका शाहलाई अष्ट्रेलियाको मेलबर्न क्रिकेट क्लब (एमसीसी) ले सम्मानस्वरुप आजीवन सदस्यता प्रदान गरेको थियो। यी सबै सम्मान पाउने उनी एक्ला नेपाली हुन्।

जय ट्रफी

शाहले बाँचुञ्जेल क्रिकेट मात्र सोचे। त्यसैले आजको नातिपुस्ताका खेलाडीहरू पनि उनको कुरा गर्नासाथ श्रद्धाले झुक्छन्। नेपाली राष्ट्रिय टोलीका खेलाडी शरद भेषवाकरलाई शाहको कुरा गर्दा सन् २००२ मा दुबईबाट फर्किएको यू–१५ टोलीको याद आउँछ। “हामीलाई निकै माया र सम्मान गर्नुभएको थियो” भेषवाकर आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्झना गर्दै भन्छन्, “क्रिकेट खेल्दा पहिलो पटक सम्मान र क्रिकेट सामग्री उपहार पाएको उहाँबाटै हो।”

शाह आफ्नै खर्चमा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पठाउँथे। क्रिकेट प्रतियोगिताहरू आयोजना गर्थे। त्यसैको उपज हो, जय ट्रफी। २०३७ मा उनैले शुरु गरेको उक्त प्रतियोगिता क्रिकेटको एउटै मात्र राष्ट्रिय प्रतियोगिता थियो।

जय ट्रफी प्रतियोगिताको शुरुआत गर्दादेखि नै शाहको लक्ष्य सन् २००७ को नेपाली टोलीलाई विश्वकप खेलाउने थियो। यसबारे खेलाडी, प्रशिक्षक र खेल अधिकारीहरूसँग कुराकानी गर्ने गरेको भेषवाकरलाई पनि सम्झना छ। “२००७ को त खेल्न सकेनौं, तर; २०१४ को विश्वकप खेलेर उहाँको सपना पूरा गर्‍यौं”, उनी भन्छन्।

चार दशकसम्म क्यानको नेतृत्वमा एकछत्र राज गरेका कारण बेलाबेला 'तानाशाही' को आरोप खेपे पनि आजको नेपाली क्रिकेट बनाएका उनैले हुन्। अन्तिम पटक ६ भदौमा क्यानको विशेष साधारणसभाबाट सम्मानित शाहमा 'क्यान निलम्बन' कै चिन्ता थियो। अहिलेको घिनलाग्दो राजनीतिक हस्तक्षेपबाट बचाउँदै क्रिकेटको विकास गर्नु उनीप्रतिको राष्ट्रिय सम्मान हुनेछ। नयाँ पुस्तामा शाहको योगदान बताउन भने २०६३ पछि बन्द भएको जय ट्रफीको पुनरावृत्ति नै हुनेछ।

बच्चु विक


जनताका भाका

श्रोताबाट 'ठाडो भाका शिरोमणि' उपाधि पाएका भेडीखर्के साइँलाले राज्यबाट केही पाएनन्, बरु सक्दो दिएर गए।

२०३० सालको शुरुआततिर लमजुङस्थित हाँडेटार सिंचाइ आयोजनाको उद्घाटन गर्न राजा वीरेन्द्रको सवारी भयो। सवारीमा दीर्घराज अधिकारी 'भेडीखर्के साइँला' ले ठाडो लोकभाका सुनाए। तर, जसै राजा फर्के, गाउँमा एउटा हल्ला चल्यो। हल्लाको सार थियो– भेडीखर्के साइँलाले गीतमा 'सानो राजा नेपालमा, ठूलो राजा चीनमा...' वाक्यांश घुसाए; जसबाट राजाले अपमानित महसूस समेत गरे।

यो हल्ला मात्र थियो। तर, अहिलेको जस्तो संवादमूलक सामाजिक सञ्जाल नभएको त्यो बेला हल्लाले पनि उनको छवि धमिल्याउन धेरथोर असर भने गर्‍यो। गाउँघरमा धेरै पछिसम्म हल्लाले ठाउँ लिइरह्यो। वास्तविकता पछि मात्र थाहा भयो, उनलाई गीत गाउन निम्त्याइएको ठाउँमा नगएकै कारण बेखुस व्यक्तिहरूले यस्तो हल्ला चलाएका रहेछन्।

दीर्घराज अधिकारी (भेडीखर्के साइँला)

(वि. सं. १९९०–२०७४)

तर, आफूविरुद्ध अनर्गल प्रचार हुनुअघि नै भेडीखर्के साइँला जनस्तरका सिद्धहस्त गायक भइसकेका थिए। जात्रा, सामाजिक जमघट र रसरङका महफिलमा उनको माग हुन्थ्यो। ठाडो भाका गाउने कलाकारको कुनै कमी नभए पनि गीतमा मायापिरती, धर्मकर्मका अनेक टुक्का जोड्ने उनको विशिष्ट कला थियो। स्वर पनि खास थियो।

'बाहुनले गाउनुहुँदैन' भन्ने जमानामा बाउआमाको आँखा छलेर गाउन थालेका उनको परिवार २००६ सालमा लमजुङको तुर्लुङकोटबाट परेवाडाँडामा बसाइँ सर्‍यो। बेग्लै सामाजिक परिवेशमा मिसिन पुगे पनि ठाडो भाकाको डफ्फासँग उनको सङ्गत कायमै रह्यो।

२०३५ सालमा रेडियो नेपालमा गीत रेकर्ड गर्न राजधानी आउँदाको तीतो अनुभव २०५३ सालमा मात्र पूरा गर्न पाए, चलचित्र निर्देशक प्रदीप उपाध्यायको सहयोगमा। उपाध्यायको टोली सुन्दरबजार (लमजुङ) धाएर अल्ट्रासाउण्ड प्रालिमार्फत भेडीखर्के साइँला र भक्तिमाया दुरा (वि.सं. १९८४–२०६९) को स्वरमा गीत रेकर्ड गरे।

अल्बमको नाम जुराइयो, सेरोफेरो। २०६० सालमा आरबीए फिल्मस्ले उनी र ज्ञानुमाया थापाको स्वरमा अर्को श्रव्य अल्बम निकाल्यो, जुन अहिले पनि यूट्यूबमा भेटिन्छ।

दशकौं गाउँघरका भाकाको सेवा गरे पनि भेडीखर्के साइँलाका कुरा २०५० को दशकदेखि मात्र आमसञ्चारमाध्यममा देखिन र सुनिन थाले। तर मिथकीय पात्रजस्तो गरी गरिने कतिपय बखानले उनको मात्र होइन अन्य प्रतिभाको पनि अवमूल्यन गर्ने गरेको छ। ठाडो भाका गाउन सक्ने भेडीखर्के साइँला मात्रै हुन् भन्ने दलिल पनि सुनियो, जुन गलत थियो।

दुई सय वर्षको भाका

कर्पुटारे भाका, लमजुङे भाका, दुरा भाकालगायत विभिन्न नामले चिनिने ठाडो भाकाको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ। बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीसले १८७४ सालामा झ्याउरेमा 'सालैजो' भाका शुरुआत गरेको र त्यसको परिमार्जित रूप नै ठाडो भाका भएको प्रसंग कालिभक्त पन्तको पुस्तक 'हाम्रो सांस्कृतिक इतिहास' मा उल्लेख छ।

१९१४ सालमा धौलागिरिबाट कास्कीको हंसपुरमा बसाइँ सरेका बौद्धसिङ गुरुङले आफूसँगै ल्याएका ठाडो भाकालाई मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले विस्तार गर्ने काम गरे भनेर धर्मराज थापाले 'गण्डकीको सुसेली' पुस्तकमा लेखेका छन्। यो भाकालाई जनस्तरमा लोकप्रिय बनाउने काममा हाँडीखोला (दुराडाँडा, लमजुङ) का देउबहादुर दुरा र रबैडाँडा (कास्की) का पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) को भूमिका पनि विशेष मानिन्छ। उनीहरू पुरुष भए पनि केटा र केटी बनेर गीत गाउँथे भन्ने भनाइ छ। संस्कृतिविद् डा. जगमान गुरुङको भनाइमा यी दुईले मायाप्रेम, धर्मदर्शन मात्र होइन फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे।

१९७० सालतिर देउबहादुर र पञ्चसुब्बाको घम्साघम्सीपूर्ण गीत सुन्न करापुटारमा शिवरात्रि तथा फागुपूर्णिमाको अवसरमा लाग्ने मेलामा ठूलो भीड लाग्ने गरेको प्रसंग कालिभक्त पन्तले पुस्तकमा कोट्याएका छन्। केटा―केटाबीच गीत गाउँदा दर्शकलाई त्यति रमाइलो नलाग्ने भएकाले देउबहादुर दुराले नेटा (लमजुङ) की मैरानी दुरालाई गाउन सिकाए। त्यसपछि मात्रै केटा र केटीबीच ठाडो भाका गाउने प्रचलन शुरु भएको मानिन्छ।

२६ भदौमा देहत्याग गरेका भेडीखर्के साइँलाले जनस्तरमा निकै माया र सम्मान पाए। तर, राज्यस्तरबाट भने उनलाई खासै वास्ता गरिएन। यतिसम्म कि ओखतीमूलो गराउन नसक्दा पनि राज्य निर्मम रहिरह्यो।

ठाडो भाकालाई युगौंसम्म जीवन्त राख्नु नै भेडीखर्के साइँलाप्रतिको साँचो श्रद्धा हुनेछ। र, यसका लागि नन्दमाया दुरा, बुद्धिमान दुरा 'धम्पू', उत्तम गुरुङ, शिवा दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, यमबहादुर दुरा, सीता दुरालगायतका प्रतिभाहरुले काँध थाप्नुपर्नेछ।

यमबहादुर दुरा

comments powered by Disqus

रमझम